Monday, May 28, 2018

छोपछाप अर्थात् छताछुल्ल



किताब चैँ गज्जब लेख्नु भएछ हौ लक्ष्मणजी !

 नलुकाई भन्नुपर्दा व्यङ्ग्य मलाई पन पर्ने विधा थिएन। त्यसका पनि कारण छन्। सबैभन्दा प्रमुख त व्यङ्ग्य भनेर लेखिएका रचनाहरूमा हुने भाषिक दीनता। तल्लो स्तरको अभिव्यक्ति, अश्‍लीलता र भद्दा लाग्ने हरफहरूले पढ्नै मन नलाग्ने। अनि पढिहाले पनि हाँस पनि नउठ्ने। भैरव अर्याल पछि लेखिएका व्यङ्ग्यहरू खासै पढिएनछ। यसलाई आफ्नै कमजोरी मान्छु।


साप्ताहिक नेपालमा 'झटारो' स्तम्भका लेखहरू भने यदाकदा रुचिसाथ पढ्ने गर्थेँ। तर त्यही पनि नियमित थिएन। कारण विविध थिए। त्यतातिर नजाऔँ। तिनै स्तम्भकार लक्ष्मण गाम्नागेको व्यङ्ग्य कृति "छोपछाप" पढिसकेपछि भने व्यङ्ग्यका बारेमा मेरो विचारले "युटर्न" लिएको छ। यति राम्ररी व्यङ्ग्य लेखिन सकिँदो रहेछ। आहा !! साँच्चै लोभलाग्ने !!

---

छोपछाप एउटा उच्चस्तरको अभिव्यक्ति भएको व्यङ्ग्यकृति हो। "फुहडपन"बाट कोसौँ टाढा। पढ्दा मज्जा आउने। व्यक्तिगत, जातिगत, क्षेत्रगत, देशगत, ... आक्षेप कहीँ कतै नभएको। हाम्रै परिवेश र विकृतिमाथि ठ्याक्क घनले हिर्काएको। यसरी हिर्काएको कि कहीँ कतै पनि विमति नहुने। खुत..खुत.. गरेर एक्लै हाँस्न मिल्ने(बसमा यात्रा गर्दा र अस्पतालमा बिल तिर्न लाइनमा बस्ता पनि म मान्छेले थाहा पाउने गरि खुत..खुत.. हाँसेको छु। अझ शौचालयमा सम्झिँदै हाँस्तै पनि गरेको छु)। दुईचार जना जम्मा भएर अलल्लिँदै हास्न पनि सकिने। हामी सपरिवार बसेर दुई तीन लाइन पढ्दै हाँसेको हाँस्यै पनि गरेका छौँ। यी हरफहरू लेख्दा पनि हाँसै उठिरहेको छ। अनि नि लक्ष्मणजी, तपाईँ चाहिँ कत्तिको हास्नुहुन्छ नि ?

मोबाइल फोनको नेटवर्कका प्रतापले तपाईँले "जमल"लाई "जङ्गल" सुनेको चाहिँ साह्रै मन पऱ्यो। अझै पनि कहिलेकाहीँ यो "फोरजी" नेटवर्क पनि त्यस्तै त हुन्छ नि। अनि यो घटना सम्झेर तपाईँ र भाउजू हाँस्नुहुन्छ कि हुन्न। मेरो चाहिँ यो हाँस्ने स्थायी साथी बन्यो है अब। भूमिकाको भुमरीमा हाँस्याहाँस्यै हुने भइयो अब।

अनि अधिकारी पधिकारी... अहो...! हामी पनि केटाकेटीमा ठ्याक्तै त्यस्तै त थियौँ। हाम्रामा अलिक भिन्न थिए भन्ने तरिका। जस्तै "अधिकारी पधिकारी पादको भारी, तीन सय जन्तीलाई भोकले मारी।", "अचार्जले अचार कुट्यो पोखरेलले पोख्यो, निरौलाले निहुँ खोज्यो गोतामेले गोद्‌यो।" हाम्रा राई साथीहरू भन्थे - "बाहुन काठा लपलपे, पानीको धारा तपतपे।" हामी भन्थ्यौँ - "राई फाक्चे किरूवा, अलैँचीको बिरूवा।" .. अरू कति हो कति। त्यो कुनै कपट, रिस, राग, विद्वेष, केही पनि नभएको बचपन ठ्याक्कै आँखै अगाडि आयो। कुनै जातिगत गन्ध थिएन, वैर थिएन। हामी सबै अँगालो हालेर यी हरफहरू गाउँदै हिँड्थ्यौ। यति राम्ररी बचपनको हाँसो ल्याइदिएकामा लक्ष्मणजीलाई जति धन्यवाद दिए पनि नपुग्ने भो अब।

अनि नि लक्ष्मणजी मेरा पनि कति हो कति नमस्तेको नास भएको छ। तपाईँकै जस्तै। नमस्ते गर्दा देखिदिएनन् भने लाजले डल्लो परिन्छ। अनुहारै रातोपिरो हुन्छ। तर अचेल चाहिँ म अलिक बाठो भएको छु। धेरै नजिक नगई नमस्ते गर्दिनँ र अलिक शङ्का लाग्यो भने साह्रो "नमस्ते है ....." कराउँछु र देखेपछि मात्र हात जोड्छु। तपाईँलाई पनि यो सुझाव काम लाग्ला कि !

फेरि, मोबाइलमा डल्ला फुटाउने त अचेल कतिले गर्छन् कति। अझ बन्दुकै पढ्काउने, कार रेसमा जित्ने। केके हो केके। मान्छे साह्रै मिहिनेती भएका छन्। हाम्रा एक जना दाजुले "घोप्टे रोग" भन्नुहुन्छ। सबै हातमा त्यै मोबाइल लिएर घोप्टिएको घोप्टियै। अनि घोप्टे रोगको उपचार चाहिँ कुन अस्पतालमा गर्ने, अर्को किताबमा लेखौँ है लक्ष्मणजी।

अब चाहिँ म एक्लै हाँस्छु भन्दिनँ। सबै साथीभाइ, इष्टमित्र, बन्धुबान्धव, देवीदेवता, किन्नरकिन्नरी, भुतभुतनी, पतिपत्नी, दिदीभाइ, दिदीभेना, सालासाली, सासूससुरा, आमाबुबा, काकाकारी, मामामाइजू, फुपूफुपाजू, हजुर्बाहजुर्आमा, जीजुबाजीजुआमा... सबैलाई "छोपछाप" उधिनेर मरीमरी हाँस्ने मौका दिन्छु। 

आखिर म त्यस्तो स्वार्थी कहाँ छु र.... हैन त लक्ष्मणजी !!

---

Monday, May 7, 2018

स्याबास दिनेश ! एक अँगालो शुभकामना !!


"आख्यान लेखन बृहत्तर सत्यमा पुग्नका लागि बुनिने झुटहरूको शृङ्खला हो।" - खालिद हुसेनी

जीवन धेरै कुरा हो र  एकएक वटा जीवन सबैले पाएका हुन्छन्। सबैको जीवन एउटै हो र धेरै अलग पनि हो। यो जीवन शकुन्तला उर्फ सकूसँग पनि हुन्छ, दुष्यन्त उर्फ दुस्सिन्तेसँग पनि हुन्छ। यी दुईका बाल लीलाहरूसँग जीवन झनै मुस्कुराएर बाँच्छ। अनि किशोरवय र वयस्क उमेरका उतारचढावहरूबीच जीवन तछारिएर, चिल्लिएर, उम्लिएर जीवन उम्दा बन्छ। अनि भुस्कलवाको साँडे, वा केटाहरूले मिसलाई अभिवादन गर्न आविष्कार गरेको नयाँ सम्बोधन, वा गाउँमा वस्तु चराउँदा दुस्सिन्तले भनेका कथाहरू, वा सकूले दुस्सिन्तसँग "भरत" माग्दै गरेको लडीबुडी, वा रिसाएर च्याँट्ठिएर गरेका लीलाहरू, वा फडिन्द्रे र सकूको बिहे, वा सकूको पुलिसको जागिर ...., ...., .... नै जीवन्त जीवन हुन्। यी सबै झुटहरूलाई दिनेशले बृहत्तर सत्य खोज्नका लागि बुनेका छन्। "सीमारेखा" सत्यतिर पुऱ्याउने झुटहरूको ताना-बाना हो।

दिनेशका पात्र अभूतपूर्व रूपले सफल छन्। त्यस्तै खलपात्र पनि। सकूले दुस्सिन्तलाई गरेको प्रेमलाई नै हामी पूर्वेलीहरू साँचो अर्थमा प्रेम भन्छौँ। हामीकहाँ प्रेम गर्ने मानिसले आफ्नो प्रेमी वा प्रेमिकामा शारीरिक सुन्दरता वा अन्यान्य विशेष गुण खोज्दैन। हामीकहाँको प्रेममा कुनै सर्त हुँदैन, कुनै स्वार्थ हुँदैन। हाम्रो प्रेम हृदयबाट बग्छ, भलै त्यो हृदयलाई विज्ञानले 'ब्लड पम्पिङ अर्ग्यान' किन नभनोस्। हामी मस्तिष्कले होइन, हृदयले नै प्रेम गर्छौँ।

दुस्सिन्त र सकूसँग देखिएका पात्रहरू अनेक छन्, आफ्नो भूमिकामा ठ्याक्कै मिल्ने। पुलिस पुलिसिया नै देखिन्छ। शिक्षक शिक्षक नै। शिक्षक पात्रका "चरित्र"मा भने विविधता छ। मणिमुकुन्द सइसाप, भावना मिस आदि जीवन्त छन्। बस एक जना "आभा" चाहिँ कतै लुकेकी हुन् कि भनेझैँ लाग्छ।

सुरुवाले नामको पात्रको पुनरागमनले कथामा अत्यन्त रोचक मोड दिन्छ। थोरै भूमिका भएको तर बिर्सिनै नसकिने पात्र बन्छ सुरुवाले।

चिमामान्दा अदिचीले भनेको "डेन्जर अफ सिङ्गल स्टोरी"बाट पुस्तक राम्ररी बचेको छ। दुस्सिन्तेले सकूलाई पहिले बेवफा ठाने पनि पछि सकूका उद्गारले ऊ प्रेमले छताछुल्ल बन्छ। सिक्काका दुई पाटाहरूले बनेको न हो जीवन।

सकूका बा र फणिन्द्रेको खलनायकीले घरीघरी आङ सिरिङ्ग पार्छन्। दुष्ट्याइँमा हदैसम्म पर जानसक्ने क्षमता राख्ने यिनीहरूको प्रस्तुतिकरणले मलाई चाहिँ रिसले दाह्रा किट्ने बनायो।

मलामी गएकाहरूको संवेदनहीन कुराकानीले हामीबीचबाट परानुभूति बिलाएर गएको आभास दिलाउँछन्।

घेराबनी, धनगढी, इटहरी र अन्य स्थानहरूको चित्र कस्तो बनेको छ, त्यो चाहिँ पाठकले उपन्यासै पढेर पत्ता लगाउनु पर्ला ? मैले यो उपन्यासको कथा भनेको हो र ? हैन नि !

स्याबास दिनेश ! एक अँगालो शुभकामना पनि !!



Monday, March 12, 2018

इबरा: सादर नमन


उहिले १९७७ सालको मार्च महिनामा म माघेबाट बुबासँग दार्जीलिङ गई सरकारी माध्यमिक विद्यालयमा कक्षा सातमा भर्ना भएको थिएँ। त्यो साल घटेका केही घटनाहरूले इतिहास निर्माण गरेका छन् र तिनले मेरो मस्तिष्कमा अमिट छाप छोडेका छन्।

त्यही साल भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीका नेता ज्योतिन्द्र बसु पश्चिम बङ्गालका मुख्यमन्त्री भएका थिए। १९७७ देखि बङ्गालको सत्ता लिएको सो पार्टीले लगातार पैँतिस वर्षसम्म शासन गऱ्यो।

उता केन्द्रमा भने जनता पार्टीका नेता मोरारजी देसाई प्रधानमन्त्री भएका थिए।

त्यही साल पहिलो पटक नेपाली साहित्यले भारतको प्रतिष्ठित "साहित्य अकादमी" पुरस्कार पाएको थियो। सो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली साहित्यकार हुनुहुन्थ्यो इबरा। उहाँलाई "नेपाली उपन्यासका आधारहरू" ग्रन्थका लागि सो पुरस्कार दिइएको थियो।

त्यही साल अखिल भारतीय नेपाली भाषा समितिको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री मोरारजी देसाइले नेपाली विदेशी भाषा हो भनेका थिए। हामी केटाकेटीमाझ उनी 'पिसाब पिउने' अद्भूत नेताका रूपमा परिचित थिए। आखिरी उनको बुद्धि पनि त त्यस्तै रैछ।

त्यही साल इबराले आफूले प्राप्त गरेको अकादमी पुरस्कार नगद सहित दिल्लीतिरै हुइँक्याउनु भएको थियो।

त्यही साल हामी ठिटाहरू(हाम्रो सरकारी स्कुल ठिटाहरूका लागि मात्र थियो) लामबद्ध भई नारा घन्काउँदै दार्जीलिङको चोक बजार पुगेका थियौँ। त्यहाँबाट नारा घन्काउँदै चौरस्ता पुगेका थियौँ। नारा हुन्थे – "भाषा हाम्रो प्राण हो।"; "भाषा हामीलाई चाहिन्छ चाहिन्छ।" "...." "...."

नेपालबाट आएको धेरै नभएकाले मैले धेरै कुरा बुझ्न बाँकी थियो। किन भाषा मागेको हो थाहा पनि थिएन। साथीहरूलाई सोध्यो उनीहरू पनि त्यस्तै। एउटा साथीले निकै बुझेझैँ गरेर भन्यो – "भाषा पाए पछि नोटमा नेपालीमा लेखिन्छ रे क्या नेपालीमा पनि।"

ट्वाल्ल परेर नोट ओल्टाइ पल्टाइ हेरेपछि एकापट्टि विभिन्न भाषाहरूमा नोटको मूल्य लेखिएको हुँदो रहेछ भन्ने चाल पाएको थिएँ। नारा उरालेर लखतरान भै घर आएपछि बुबालाई नै सोधेँ। बुबाले भारतीय भाषाहरू, संविधानको आठौँ अनुसूची, साहित्य अकादमी पुरस्कार, इबराका विषयमा विस्तारमा भनेपछि अलिक बुझेँजस्तो लाग्यो।

अनि त पछिका नारा उराल्न औधि जोस पनि चढेको थियो। स्कुले जीवनभरि थुप्रै पल्ट हामी ठिटाहरू नारा उराल्दै दार्जीलिङका बाटाहरूमा तलमाथि गरिहिँड्यौँ। पछि नर्थ पोइन्ट गएर विज्ञान पढ्न थालेपछि थर्ड डाइमेन्सनको कुरा पढियो। अनि पो दिमागभित्र कतै बिजुली बल्यो - तेस्रो आयाम अर्थात् थर्ड डाइमेन्सन। साहित्य धेरै बुझ्दिनँथे, तर रुचि भने त्यही पढ्नतिर गयो।

त्यसताका तेस्रो आयामको खुब कुरा हुन्थ्यो। विशेष गरी सरहरूबीच कुरा हुँदा, तीनवटा नाम मज्जाले लिइन्थे। इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभ। तेस्रो आयामको यति धेरै प्रभाव थियो कि, वैरागी काइँलाको कविता "मातेको मान्छेको भाषण: मध्यरातको सडकसित" माध्यमिकको कोर्समै थियो र संयोग पनि कस्तो पढाउने गुरु पनि मेरा बुबा नै हुनुहुन्थ्यो।

बालककालका कल्पनाहरू पनि कति अनौठा हुने। अहिले सम्झिल्याउँदा आफैँ छक्क पर्छु। इबराको कथा रातभरि हुरी चल्योको शीर्षकले नै मलाई रूझाएको थियो। कल्पना गर्थेँ आफैँ त्यो कथाको पात्र हुँ, मलाई नै हुरीले दिक्क बनाएको छ, टिनको छाना उडाएर लग्यो भने के गर्ने ? रकउडको एकपाखे घरमा बर्खेझरिको गडङ्डङ् बर्सिरहँदा झ्यालबाट तल हेर्दै यो झरिले घर सोहोरेर छ्याङ्छ्याङे पुलमुनि पुऱ्याउला भन्ने डरले अत्तालिई रहन्थेँ। रकउडको नाक ठोकिने भीरमा बनेको हाम्रो घर पहिरोले अहिले लग्यो, भरे लग्यो भनेझैँ हुन्थ्यो। सातै दिन झरि परेपछि अन्त ओत लाग्न जाँदा पनि मनबाट भने कथा उत्रिएन, डर उत्रिएन। उसो त दार्जीलिङमा झरि पर्न थालेपछि सात दिन त के महिना दिनसम्म पनि रोकिन्न। रातभरि हुरी चल्छ, रातभरि झरी पर्छ। त्रासै त्रास। त्रासै त्रास।

कक्षा नौ( हो कि दस बिर्सेँ)मा बुबाले वैरागी काइँलाको कविता पढाइ रहँदा विचित्रका कल्पनाले दिमाग भरिन्थ्यो। दार्जीलिङको चोकबचार सुनसान हुन्थ्यो। औँसीको कालो रातमा पोलबत्तीहरूले उज्यालो छरेको देखिन्थ्यो। त्यस्तो सुनसान सडकको बीचैमा एउटा मातेको मान्छे वैरागी भेषमा भाषण ठोक्दै गोलघरबाट चोक अनि मोडिएर थानातिर जान्थ्यो र फेरि फर्किन्थ्यो। बुबाले कविता वाचन गरिसक्दा र अर्थ समेत लगाउँदा म यिनै कल्पनामा डुली हिँड्थेँ। वैरागी काइँला साँच्चै वैरागी हुन् अर्थात् वीतरागी साधु हुन् जस्तो लागिरहने। धेरै पछि मात्र यो भ्रम तोडियो र उनलाई मैले सशरीर चिनेँ।

तेस्रो आयामको चमत्कार थियो त्यो।

इबरा करफोकमा पढाउँदा हाम्रै घरमा बस्नु भएको थियो रे। म जन्मिनुभन्दा करिब १०/११ वर्ष पहिले। उहाँ बुबाका घनिष्ट मित्र हुनुहुन्थ्यो। दार्जीलिङमा हुँदा बुबा बारम्बार उहाँकहा जाइराख्‍नु हुन्थ्यो। साहित्यका बहस हुन्थे। कुराकानी प्रशस्त हुन्थे।

इबराका छोराले हामीलाई नर्थ पोइन्टमा केमिस्ट्री पढाउनुभएको थियो। देशपद सरको पढाउने शैली अब्बल त थियो नै, उहाँ इबराका छोरा भन्ने जानेपछि श्रद्धा झन चुलिएर आउँथ्यो। आज देशपद सरलाई शोक परेको छ। हामीलाई शोक परेको छ। सम्पूर्ण नेपालीलाई शोक परेको छ।

आमाले बारम्बार भन्नुभएको छ - इन्द्रबहादुरलाई एकपल्ट देख्न मन लागेको छ। पहिले यही घरमा बस्नु भएको। तिमीहरू कसैले उनलाई लिएर आओ न।

तर आज मसँग आमालाई दिने जबाफ छैन। म भन्नै सक्तिनँ – आमा अब इबरा कहिल्यै आउन सक्नुहुन्न। उहाँ त बाको साथी गैसक्नुभयो।

मलाई जिन्दगीभरि यही पछुतो लागिरहने भयो। पोहोर परारै उहाँलाई गएर बिन्ती बिसाएको भए सायद आउनुहुन्थ्यो कि। आमाले उहाँसँग धित मरून्जेल कुरा गर्नुहुन्थ्यो होला कि।

यसपालि माघे गएर आमालाई ध्रुव तारा देखाउँदै एउटा कुरा भन्न मन लागेको छ – उ.... आमा ... इन्द्रबहादुर राई।

इबरालाई यहीँबाट आँखाभरि आँसु भरेर श्रद्धासुमन टक्र्याएँ। 

देशपद सर, तपाईँलाई पनि समवेदनाका यिनै दुई शब्द टक्र्याएँ।

Tuesday, January 30, 2018

"यार" – एकजना टाढाको यारको गन्थन


सुविख्यात भारतीय लेखक खुसवन्त सिंहले आफ्नो अटोबायोग्राफी "ट्रुथ, लभ एन्ड अ लिटल मलिस"मा कतै उल्लेख गर्नुभएको छ- उहाँले "वुमन एन्ड मेन इन माइ लाइफ" लेखेर प्रकाशित भएपछि, कतिपयले बोलचाल र सम्पर्क त बन्द गरे नै, आफ्नो कमजोरी संसार सामु प्रकट गऱ्यो भनेर उनीसँग सधैँका लागि सम्बन्ध त्यागे। कतिपयले भने सम्बन्धलाई प्रगाड बनाए। यस्तो भएकामा खुसवन्त सिंहलाई कुनै दुखेसो थिएन। उहाँले मानिसहरूसँगका आफ्ना सम्बन्धहरू स्पष्टसँग राख्‍नुभएको छ। अरू त अरू, वेश्यालय गएर स्त्रीगमन गरेको कुरा पनि उहाँले नलुकाई लेख्‍नुभएको छ। मलाई लाग्छ, खुसवन्त सिंह एउटा लेखकका रूपमा इमानदार रहनुभयो।
मलाई लाग्छ नयनराज पाण्डेजीको "यार" पनि एउटा लेखकीय इमानदारिताको उदाहरण हो। भलै यो आत्मकथा होइन, तर मलाई के लाग्छ भने, यदि उहाँले आत्मकथा लेखिहाल्नुभयो भने यस पुस्तकका धेरै भागहरू त्यसमा पर्नेछन्। आफ्नो योग्यता, क्षमता र सफल पारेका कामहरूको फेहरिस्त बनाएर, आफूलाई बखान गरेर लेखिएका पुस्तकहरूको भीडमा एउटा इमानदार पुस्तक आएको छ "यार"। नयनजी म तपाईँलाई जति चिन्थे, यो पुस्तक पढेपछि धेरै चिन्ने भएको छु। अब मलाई तपाईँसँग बोल्न धक मान्नुपर्नेछैन। तपाईँले यो पुस्तक लेखेर मलाई(साथै अरूलाई पनि होला ?) धेरै आफ्नो बनाउनु भएको छ।
"औँलादेखि सुरु भएर पण्डित"मा अन्त्य भएको तपाईँको "यार" एउटा साबिती बयान हो। के तपाईँलाई पुस्तक लेखेपछि मन हलुँगो भएको छैन ? कति मनको बोझ थियो मनमा ? साँच्ची भन्नुस् त। ठूलो भारी बिसाएर लामो नयनको कल्पना छ मेरो मनमा यतिखेर।
मलाई लाग्छ, यो पुस्तक तपाईँको संस्मरणमात्र हैन, यो त तपाईँले भनेजस्तै तपाईँको उचाई नाप्ने इन्चिटेप हो। र नढाँटी भनौ मैले तपाईँको उचाई नाप्दा इन्चिटेप छोटो भयो है नयनजी। तपाईँको उचाइ ह्वात्तै बढ्यो कि, इन्चिटेपहरू छोटिन थाले ? कुरा बुझिनै हाल्नुहुन्छ क्यारे।
हामीले पनि ठानेका छौँ, भोगेका छौँ – असल मानिएका कैयन मानिसहरूको अहम उनीहरूको अस्तित्वभन्दा अग्लो हुँदो रहेछ। देखेका छौँ, कविताभन्दा अग्ला अहम भएका कविहरू। देखेका छौँ, कथाभन्दा लामो घमण्ड भएका कथाकारहरू। खै के भनौ र म पनि यिनै मध्ये पर्दो हुँ ! तर तपाईँलाई हेर्ने दृष्टिकोण चाहिँ मेरो उही रहेन। अर्कै भयो र सुखद भयो। म खुसी छु। गद्‌गद् छु।
बाल्यावस्थामा तपाईँकै जस्ता घटनाहरू हामीसँग पनि घटेका छन्। अलिअलि उपद्रो हामीले पनि गरेका छौँ। अलिकति अरूलाई हेपेका छौँ। मेरो हकमा भने, मैले केहीलाई हेपेको छु र अरूबाटै धेरै हेपिएको छु। कतिपय अवस्थामा पीडित भएको छु। कुनै दिन लेखेँ भने तपाईँलाई देखाउँला नयनजी मेरो बालापनको चकचक, छुद्र्याइँ, कप्ट्याइँ। औँला, इजार, अखाडा, आदिको परिवेश, संस्कृति, भूगोल भिन्न भए पनि भावना चाहिँ एउटै हो नयनजी। किशोरवयमा पनि यिनै कुराले काम गर्छन् जस्तो लाग्छ।
वयस्क भएपछिका यी सम्झनाहरूमा भने, तपाईँ साँच्चिकै पोखिनुभएको छ। विज्ञानले सबैभन्दा विवेकशील प्राणी मानिसलाई मान्छ। तर विज्ञानको यस कुरामा मलाई कहिलेकाँही शङ्का लाग्छ नयनजी। मानिस कहिलेकाहीँ विवेक गुमाएर जनावर भन्दा तल खसिदिन्छ र ठान्छ म अग्लिएँ। मानिसले मात्र हो नि जानीजानी गलती गर्ने, अरूको चित्त दुखाएर रमाउने। जनावरहरूले त कहिल्यै त्यसो गर्दैनन्। अझ अचम्म लाग्दो त के छ भने, बिभर, उल्लू, राजहाँस, गिब्बन जस्ता प्राणीले जीवनपर्यन्त एउटासँगमात्र सम्बन्ध राख्छन् रे। अझ प्याराकिट(लभबर्ड्स) भन्ने चराको त भाले वा पोथीमध्ये एउटा मऱ्यो भने अर्को चाहिँ चिन्ताले नै सकिन्छ रे।
विवाहेत्तर सम्बन्धमा तपाईँको स्वीकारेको बयानले मलाई केही विचलित पनि बनायो किनकि त्यो कल्पनाबाहिरको कुरा थियो। फेरि लाग्यो, गलती त मानिसबाटै हुन्छ नि हैन। तपाईँले जुन किसिमले आफ्नो जिन्दगीलाई सम्हाल्नुभयो त्यो नै पर्याप्त छ। भाउजूले जुन काम गर्नुभयो त्यसका लागि सतत् नमन उहाँलाई। "पति, पत्‍नी और वह" बाट उहाँले नै त हो नि "पति-पत्‍नी" बनाएको हैन र ? महान् मानिसहरू हाम्रै छेउमा हुँदा पनि कहिलेकाहीँ हामी देख्दैनौँ नयनजी। दोष तपाईँको हैन, समाज यस्तैछ, संसार यस्तै छ।
कतिपय साथीहरू त्यस्ता हुन्छन् जसलाई हामी भित्रबाट चिन्दै चिन्दैनौँ। ती त्यति राम्रा हुन्छन् कि हाम्रो दृष्टि तिनमा पर्दा पनि पर्दैन। अनि फेरि त्यस्ता पनि हुन्छन् जसलाई हामी आवश्यकताभन्दा बढी चिन्छौँ। तपाईँले पनि त त्यसै गर्नुभएको छ, हैन ? कतिलाई कम चिन्नुभएको छ र कतिलाई चाहिनेभन्दा धेर। हामी सबैको जिन्दगीमा धेरथोर त्यस्तै त हो नि।
"यार" हाम्रो समाजको एउटा चित्र हो। समाज अलिक एब्सट्र्याक्ट छ। तर "यार" पढेपछि हामी समाज केही बुझ्छौँ। "यार" पुरुष मनको एउटा आत्मस्वीकृति पनि हो। यसलाई  पढेपछि हामी आफूलाई पनि केही चिन्छौँ। पच्चीसैवटा "यार"को कुरो कोट्याइनँ। ती त पुस्तक समीक्षकले गरिनैहाल्छन्। म समीक्षक हुँदै होइन। यो मेरा मनमा लागेका कुरा मात्र हुन्।
एउटा सानो प्रसङ्ग। इटहरी छाडेर काठमाडौँ आउन लाग्दा गाडीमा सामान लोड गर्न केही स्कुलका सहयोगी कर्मचारीहरूको सहयोग लिएँ। जसजसले सहयोग गरे, केही पैसा चिया खाऊ भनी दिएँ। सबैले लिए, तर एकजनाले पटक्कै लिन मानेनन्। रात्रीकालिन सुरक्षा गार्डको पदमा रहेका तिनले भने – "सर, पैसा जिन्दगीमा सबैथोक होइन, पैसाभन्दा माथि र पर्तिर धेरैथोक छ।" म निशब्द भएँ। एउटै शब्द निस्केन। यही त हो नि जिन्दगी, हैन नयनजी।
अन्त्यमा यी दुई ओटा दोहाले "यार"मा र हाम्रो जीवनमा ठूलो अर्थ राख्छन् :
१.      रहिमन धागा प्रेमका, मत तोरो चटकाय
टुटे पे फिर ना जुरे, जुरे गाँठ परी जाय।

२.      उमर भर गालिब यही भूल करता रहा
धूल चेहरे पे थी, आइना साफ करता रहा।

इति.....।

Wednesday, December 13, 2017

नम्रता - एउटा वियोगान्त प्रेमकथा

कृष्ण अविरलको परिचय दिइराख्नुपर्छ होला जस्तो लाग्दैन। रक्तकुण्डदेखि अविरल बगेको उनको लेखनयात्रालाई नजिकबाट नियाली रहेका छौँ हामी पाठकवृत्त। अहिले त झनै आफ्नो प्रकाशन संस्था "मञ्जरी पब्लिकेसन्स" खोलेर दुर्लभप्राय पुस्तकहरूलाई पुनर्प्रकाशित गर्दै लाने र अन्य भाषाका कृतिलाई नेपाली अनुवादमा छाप्ने उनको प्रयाशलाई प्रशंसा गर्नै पर्छ। नेपाली साहित्यको श्रीवृद्धिमा यस कार्यले गर्ने योगदानको मूल्याङ्कन समयले गर्नेनैछ। आफ्नै प्रकाशन संस्थाबाट निस्किएको उनको पछिल्लो उपन्यास "नम्रता"ले एउटा सार्वकालिक प्रश्न तेर्स्याएको छ - के प्रेम गर्नु अपराध हो ?
प्रेम विषय नै यस्तो साश्वत विषय हो जसका बारेमा अनादि कालदेखि लेखिँदै आएको छ, र मानिसका हृदयमा प्रेम रहुन्जेल लेखिइरहने छ। स्त्री-पुरुषको प्रेमका विषयमा अनेकन दु:खान्त कथाहरू लेखिए-पढिए, नाटक लेखिए-खेलिए, फिल्महरू बनाइए-हेरिए र अझै पनि यो क्रम निरन्तर जारी छ। प्रेम यस्तो विषय हो जसलाई पढेर मानिस कहिल्यै थाक्तैन, र कहिल्यै बिर्सिँदैन पनि। पौराणिक कालका प्रेमकथाहरूमा राधा-कृष्ण, शकुन्तला-दुष्यन्त, सावित्री-सत्यवानजस्ता प्रेम कथाहरू छन् भने पछिकामा अनारकली-सलीम, रानी रूपमती-बाजबहादुर, हीर-राँझा, सोहणी-माहिवाल, ढोला-मारू आदि भारतीय साहित्य-इतिहासका दुखान्त प्रेमकथाका उम्दा उदाहरण हुन्। अझ अरबी साहित्य त दुःखान्त प्रेमकथामा अब्बल मानिन्छ। लैजा-मजनू, कैस-लुबना, अन्तरा-अबला, आदिका कथाहरू हामी पाउँछौँ। फारसी साहित्यमा शीरीं-फरहादको प्रेमकथा संसार प्रसिद्ध छ। नेपाली साहित्यमा मुनामदनजस्तो प्रेमकथाले हाम्रो हृदय सराबोर भिजाएको भिजायै छ। मालती-मङ्गले पनि हाम्रो हृदयमै बसेका छन्।
नम्रता-गोविन्दको दुःखान्त प्रेमकथा लिएर कृष्ण अविरलद्वारा लेखिएको उपन्यास हो "नम्रता"। यसमा कृष्ण अविरलले किशोर वयका नम्रता र गोविन्दको प्रेम अङ्कुरणदेखि दुःखान्तसम्मका प्रसङ्गहरूको गाथा गाएका छन्। भावनाहरू कलिलै हुँदा, शरीर कलिलै हुँदा, प्रेम के हो भन्ने कुरा थाहै नहुँदै, एउटा रूमालबाट सुरु हुन्छ नम्रता र गोविन्दको प्रेम कहानी। एउटी स्कुल पढ्ने किशोरी र कलेज पढ्ने किशोरको भद्रपुरको सेरोफेरोमा पचासको दशकमा लेखिएको कथाले तत्समयको राम्रो चित्र देखाएको छ।
मानिस स्वभावैले करूणाप्रिय हुनुपर्ने हो। विवेक र चेतना भएको प्राणी भएकै कारण मानिसहरूले "प्रेम"जस्ता कुराहरूको अनुभूति गर्न सक्छ। तर चार्ल्स डार्विनको अर्ग्यानिक इभोल्युसनले त मानिसहरू पशुहरूबाटै विकसित भएका हुन भन्छ। यही कारणले होला मानिसको मनभित्र पशुत्वको अंश पनि घुसेको। पशुत्वसम्म त ठीकै पनि थियो होला, सबै मानिसहरूमा हुने एनिमल इन्स्टिन्क्टलाई त्यति घृणा गर्नुपर्ने पनि हुँदैन किनकि यसमा त्यति हिंसा हुँदैन। तर मानिसभित्र पसेको आसुरी वा राक्षसी प्रवृत्ति भने खतरनाक कुरा हो। प्रेम, अपनत्व, स्नेहजस्ता कुरालाई सजिल्यै लत्याइदिनसक्छ आसुरी प्रवृत्तिले। हिंसादेखि अरू केही देख्तैन यस्तो प्रवृत्तिले। "नम्रता"का खडानन्द यस्तै आसुरी प्रवृत्तिका जिउँदा उदाहरण हुन्। आफ्नो सामाजिक प्रतिष्ठा( वा अहम?) र राजनैतिक पहुँचलाई कायम राख्नका लागि जस्तोसुकै हिंसा गर्न पनि तयार हुने उनको प्रवृत्तिले नम्रताको कलिलो प्रेमलाई सजिलै कुल्चिन्छ, किस्ताबन्दीमा, एकपल्ट अलिकति हिंसा गर्दै, पछि अलिक बढाउँदै। शारीरिक सहित मानसिक यातनाको एउटा सृङ्खला बन्छ जसले अन्त्यमा नम्रता विक्षिप्त बन्छिन्, खडान्दकै कारण, उनकै घरमा। अहिले पनि हामीले घरभित्र देख्ने किसिमको पारदर्शी चश्माले हाम्रा समाजका घरहरू हेर्नु हो भने, खडानन्द जस्ता पात्र हरेक दोस्रो घरमा भेटिनसक्छन्। भेटिन्छन् पनि। खडानन्द यस्तो पात्र हो जसले आममानिसको भातभान्सोदेखि लिएर सबै सपनाहरू खाइदिन्छ। पञ्चायतकालमा हुने गरेको ऐलानी जमिनलाई आफ्नो नाममा पार्ने काम अहिलेको कथित लोकतन्त्रमा खुल्लम खुल्ला हुन्छ र अहिले त्यस्ता खडानन्दहरूलाई गन्न पनि सकिन्नँ। मैले "नम्रता" पढ्दा, खडानन्दको जस्तो चरित्र उभ्याएकामा अविरललाई कतै दोष दिने ठाउँ भेटिनँ। उनले त्यत्तिकै सफलताका साथ उभ्याएका छन्, एकजना असल पात्र खडानन्दका भाइ धर्मानन्दलाई। धर्मानन्दजस्ता मानिस भएकै कारण हाम्रो समाज बाँचेको छ। तिनैजस्ता राम्रा मानिस छन् र देश बाँचेको छ, हामी बाँचेका छौँ।
नम्रताकी आमा नन्दिनी(उर्फ खडिनी) एउटी पीडित पत्नीहुन् जसको जिन्दगी खडान्दको चाकरी र घरधन्धामै बित्छ। आफ्नो भन्ने कुरामा नाम पनि आफ्नो नभएकी नन्दिनीले कहिल्यै सपना देख्ने गरी सुत्न पनि पाइनन्। जिन्दगीका सुनौला सपना त परै जाऊन्, निद्रामा देखिने सपना पनि नन्दिनीजस्ता नारीलाई नसीब हुँदैनन्, त्यस्तो सामाजिक परिपाटी छ हाम्रो। पतिपत्नी एउटै रथका दुई पाङ्ग्रा हुँदै होइनन्। हाम्रो अतिपुरुष प्रधान समाजमा यो भनाइ बिलकुलै लागू हुँदैन। खुसी र आनन्द के हुन्, तिनलाई के थाहा ! जिन्दगी बाँच्नुको सार्थकता तिनै घरधन्धा, अलमल र गाली खाँदै बित्ने।
उपन्यासको कथावस्तु आफैँमा सुन्दर छ। पढिरहँदा कताकतै आँखाका कुना भिज्छन्, कतै अनौठो लाग्छ, कतै अलिअलि झर्को पनि लाग्छ। नम्रताको कलिलो वयको प्रेमले पछ्याएको बाटो, दुरूह उनका आफ्नै बाबुका कारणले छ, उनको प्रेमीको गरिबीका कारणले छ, हाम्रै सामाजिक मान्यताले छ। पुरुषहरूभित्र रहेको आसुरी वृत्तिले छ।
गोविन्द हरेक आमाबाबुको सपना हो। हामी नेपालीकै सपना होइन र ? चाहे गरिब हुन् या धनी कसले आफ्नो छोराछोरीलाई राम्रो बाटोमा हिँडेको देख्न चाहँदैन र ? गोविन्दको छटपटी पनि राम्ररी उतारेका छन् अविरलले। पात्र र परिवेश अनुसारको पात्रीय विशेषता उनको पुस्तकको राम्रो पाटो।
अर्को सुन्दर कुरा, अविरलले पात्रलाई जे बोलाए, त्यही लेखे। लेखेको र बोलेको साह्रै मिलेको। संवाद अत्यन्त स्वाभाविक। संवादले कतै पनि कृत्रिमताको झल्को दिँदैन।
यति हुँदाहुँदै पनि, उपन्यास पढिरहँदा, कहीँ कतै केही छुटेजस्तो, अलिकति केही नपुगेजस्तो, दृश्यचित्र बनाउँन खोज्दा केही गायब भएजस्तो अनुभूति गरेँ मैले। नम्रताले पाएको यातनाको मात्रा अनुसार उनका प्रकट वेदना केही कम भएजस्तो, गोविन्दको उकुसमुकुस पनि केही कम फुलेको बेलुनजस्तो, दृश्यचित्रमा बाटामा पानी कम परेजस्तो, खेतीमा घाम कमलागेजस्तो। साँझ-बिहानको मोहकता कतै बिलाएजस्तो, कतै फूल कम फुलेजस्तो। पाटा कुहिएको कम गनाएजस्तो, दूध मझेरीमा नपोखिएजस्तो। कतै तुलना धेर भएजस्तो कतै "बारी" धेर भएजस्तो, कतै "मानौँ" धेर भएजस्तो। कतै केही नभएको भए पनि हुनेजस्तो। त्यस्तै..त्यस्तै..।
अब कृष्ण अविरलको सातौँ उपन्यास पनि प्रखर रूपमा प्रकट होस् भन्ने शुभकामना सहित।
- कुमुद अधिकारी

Thursday, November 16, 2017

भुइयाँ - एउटा एक्टिभिज्म


यज्ञशको निजात्मक अनुभूतिहरूले सराबोर रहेको कृति 'भुइयाँ'ले हामीमाझ एउटा प्रश्न तेर्स्याएको छ – के जमिन नभएको मानिस मानिस होइन ? यदि हो भने किन उसले यही धरतीमा यति विघ्न दुःख र पीडा खेप्नुपर्छ ? लाग्छ हामी मानिसहरूबाट मानवता नामको कुनै चीज गायब भैसक्यो। वा मानवताको परिभाषा फेरिएको हुनसक्छ – हामी कथित उपल्लो स्तर(जमिनवाला, धेरै जमिनवाला र नक्कली सुकुम्बासी)का मानिसहरूको मानवतामा कपट र दुष्ट्याइँ पनि सामेल छन्। हामी परपीडक भएका छौँ। मान्छेलाई दुःख दिएर आनन्द लिन्छौँ। अझ यो कपट र दुष्ट्याइँ त जेनेटिक क्यारेक्टर नै हो कि क्या हो ? जिनमै पुस्तौँ पुस्तादेखि सर्दै आयो। रूप फेरियो होला तर आउनचाहिँ आयो – कतै अनुदानका रूपमा, कतै आश्वासनका रूपमा, कतै छलका रूपमा, कतै के कतै के का रूपमा !
भारतीय लेखिका अरून्धति रोय मलाई मन पर्ने लेखिका हुन्। उनका उपन्यास भन्दा पनि निबन्धहरू र ती निबन्धहरूमा उनले उठाएका तर्क दमदार हुन्छन्। उनी सामान्य मानिसका बारेमा लेख्छिन्। पूँजीबजारबाट पिल्सिएका, कर्पोरेट बजारको पैसाबाट डढेका, प्रकृतिलाई तहस नहस पार्ने सरकारी ठूला योजनाहरूमा डुबेका, जङ्गलमा पनि बस्न नदिई लखेटिन लागेका, सरकारको आवरणमा गरिएको आमहत्याबाट मृत्यु भएका, आदि आदि मानिसहरूको आवाज उनका निबन्धहरूमा पाइन्छन्। पीडितका लागि बोल्ने, पीडितका पक्षमा बोल्ने, र भारत सरकारलाई आच्छु आच्छु पार्ने लेखिका हुन अरून्धति। त्यसैले उनी एउटी लेखिका त हुन् नै एउटी एक्टिभिस्ट पनि हुन्। अरून्धतीको एक्टिभिज्मले के कति काम गऱ्यो त्यो मैले यहाँ उल्लेख गर्न नपर्ला।
मैले भुइयाँ पढ्तै गर्दा मलाई नेपालमा पनि एउटा लेखक एक्टिभिस्ट जन्मियो है जस्तो लाग्यो। एक्टिभिस्टको भूमिकामा मतान्तर हुन सक्ला तर भुइयाँले ती मानिसहरूका आवाज बोलेको छ जो लेख्न पढ्न सक्तैनन्। लेख्न पढ्न सके पनि तिनको पहुँच आमसञ्चारमा माध्यममा कदापि पुग्दैन। किनकि आमसञ्चारका माध्मय पनि बिक्ने सामग्री मात्र प्रसारित गर्छन्। जसले उनीहरूलाई पाल्छ तिनीहरूकै मात्र जयजयकार गर्छन्। यस्तो स्थितिमा धरतीको सबैभन्दा नजिक बस्ने मानिसहरू – सबै किसिमले भुइँमा सुत्ने, कपडा लगाउन नसक्ने, त्यही भुइँमा अन्नपात उमारेर जीवन धान्नु पर्ने –ले त्यही धरतीको उपयोग गर्न नपाउनु, पाए पनि खोसेर लगिनु, एक ठाउँबाट लखेटिनु, अर्को ठाउँमा पनि उभिन नपाउनु, एक छाक राम्रो खान त परै जाओस्, लाज छोप्न कपडा पनि नपाउनु.... वा नदिइनु के समाचार बन्ला र ? उनीहरूको समाचारले मानिसहरूको हृदय कतै छोला र ?
भुइँया पढ्दा सोचिनसक्नुको पीडा भयो – कारण स्पष्ट छः हामी कथित उपल्लो वर्ग, सत्ता, पूँजीबजार, कर्पोरेट जगत कति अमानवीय भैसकेछौँ भन्ने लाग्यो। सरकारले कमैया मुक्तिको घोषणा गर्छ - कुनै कमैया मुक्त हुँदैन। राजनैतिक दलहरू गएर सुकुम्बासी बस्ती बसाल्छन् – वन उपभोक्ता समितिले लखेट्छ। दलितका लागि अनेकन् आयोग बन्छन् र कोठे बैठकमा सकिन्छन्। छुवाछूत कानुनमा कहाँ छ र ? व्यवहारमा पो छ त। पानी छोइने, खानेकुरा छोइने, के छोइने, के छोइने। खासमा भन्ने हो भने यो धरती त धेरै अछूतहरूले छोएका छन्, किनकि उनीहरूसँग जुत्ता चप्पल लगाउने कुनै पैसा छैन। नाङ्गै खुट्टा हिँड्छन्, नाङ्गै शरीर सुत्छन्। धरतीमा यति धेरै अछूतहरूले छोएको धरतीमा हामी कथित उपल्लो जातले किन बस्ने, धरतीकै माध्यमबाट छोइहालियो। साँच्चै छूवाछूतबाट बच्ने नै हो भने एउटा उपाय छ – सबै ठूलाबडाहरू मङ्गल ग्रहमा गएर बस्ने। त्यहाँ चाहिँ बलदेव राम पुग्न सक्तैनन्। ग्यारेन्टी छ।
मान्छेले त मान्छेलाई खेद्‌यो खेद्‌यो, प्रकृतिले पनि त्यसै गर्छ। पहिरोलाई पनि तिनकै बस्ती चाहिने, बाढीलाई पनि तिनकै घर चाहिने। हुन त मान्छेले नै प्रकृतिले खेद्‌ने सीमासम्म पुऱ्याएर राखेका हुन् नि उनीहरूलाई। नत्र किन रातभरि टर्च बाल्दै बाढीले बगाउला कि भनेर हेरिरहनुपर्थ्यो? नत्र किन वन उपभोक्ताहरूले लखेटिरहन्थे ? नत्र किन खान नपाएर काखको बालक मर्थ्यो ? नत्र किन....? नत्र किन......?

यज्ञशको कलमले यस्तै यस्तै लेखिरहून्। उनको एक्टिभिज्म थोरै भए पनि सफल बनोस्। शुभकामना।

Sunday, May 28, 2017

भूकम्पमा मल्हमपट्टी - एउटा पाठकको निजानुभूति

डा. रवीन्द्र समीरको एघारौँ कृति 'भूकम्पमा मल्हमपट्टी'ले २०७३ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गऱ्यो। उक्त समारोहमा लेखको परिचय दिँदै प्रा.डा. महादेव अवस्थीले भन्नुभाथ्यो - सहृदयी चिकित्सक। उहाँले भनेको सही हो। तर म मेरा आत्मीय मित्र डा. रवीन्द्र समीरलाई म त्यसभन्दा धेरै माथि देख्छु।
उहाँले २०७२ सालको महाभूकम्प पछि आयोजना गरेका निशुल्क स्वास्थ्य शिविरहरूको स्वर हो यो पुस्तक। यसमा अक्षरहरू पढिँदैनन्, सुनिन्छन्, गमिन्छन्, हृदयङ्गम गरिन्छन्।
भूकम्पले ध्वस्त पारेको तन र मनलाई सुमसुम्याउने नरम हातहरूले भोगेका दुःख र वेदनाहरू छताछुल्ल पोखिन्छन्। पुस्तकमा हामी उहाँसँगै यात्रा गर्छौँ, विकट पहाडका वस्तीहरूमा। घर भत्किएर बनेका खण्डहरहरूमा। माटो र ढुङ्गाको थुप्रोलाई यही हो मेरो घर भनी देखाउँदा, तपाईँ हाम्रो मन पनि कुँडिन्छ। सरकारी संयन्त्रको गैरजिम्मेवारीले मनमा रिसको आगो बाल्छ। भलाद्मीहरूका सत्कर्मले हामीलाई भित्रैसम्म भिजाउँछन्। नेपाली सेनाले गरेको उद्दारपछि मानिसले यहाँका सेना देउता हुन् भन्ने सुन्दा छाती गमक्क फुल्छ। मानिसका दुःखले हामीलाई पनि दुखाउँछ। पीरै पीरले सहन नसकी रक्सीको सहारा लिएका बिरामीहरूले खाएको रक्सी पनि गनाउँछ। डा. समीरलाई भोक लाग्दा हामीलाई पनि भोक लाग्छ। उहाँ थाकेर लखतरान हुँदा हामी पनि थाक्छौँ। मानिसहरू काम गर्न छोडी आसे भएको देख्ता हामीलाई पनि दिक्क लाग्छ। बारीका तरकारी र अन्न खान छोडी चाउचाउ माग्न लाइन बसेको देख्ता हामीलाई पनि रिस उठ्छ। डा. समीर जता जानुहुन्छ हामी त्यतै जान्छौँ। डा. समीरलाई साथ दिने, मनोज गजुरेलजस्ता कलाकारसँगै हामी पनि हाँस्छौँ। कोमलीकान्तझैँ हामी पनि गाउँछौँ।
डा. समीरको प्रशंसा गर्नु भनेको उहाँलाई अपमान गरेको झैँ लाग्छ। उहाँ प्रंशसा - पुरस्कारबाट टाढै रहेर मानव सेवा गर्ने मानव हुनुहुन्छ। उहाँले आफ्ना पुस्तकको बिक्रीबाट आएको लेखकस्व, पाएका पुरस्कारहरूमा आफ्नै आर्जन थपेर तिनै बिरामीका लागि औषधि किन्नुहुन्छ। टाउकामा ठूलो ऋणको भारी बोकेर मान्छेलाई उपचार गर्दै हिँड्नुहुन्छ। सरकारको स नपुग्ने ठाउँमा पुग्नु भएको छ। मानिसलाई उपचारभन्दा बढी अपनत्व दिनुभएको छ, मानिसमा मानिसप्रति, डाक्टरी पेसाप्रति गुमिसकेको विश्वास जगाउनुभएको छ। दीपा भाउजूले डा. समीरका कदममा कदम मिलाउनु भएको छ। अन्य सहयोगी हातहरूले उहाँको होस्टेमा हैँसे मिलाएका छन्। भूकम्प नजाँदै पनि देशका दूर-दराजका ठाउँमा गएर महिनामा एउटा निशुल्क स्वास्थ्य शिविर चलाउने विरलाकोटी मानव हुनुहुन्छ उहाँ। उहाँले मानिसलाई मानिसै देख्नुहुन्छ, नीजि क्लिनिकका डाक्टरलेझैँ पाँच सयको नोट देख्नुहुन्न। आफ्ना देशका मानिसको दुःख उहाँको पनि दुःख हो। उहाँका साथीहरूको दुःख उहाँको पनि हो।
यति गर्दा पनि अभिमानको नामोनिसान छैन उहाँमा। पुराण वाचनमा दानवीर भएर नाम फुकाउने कुनै रहर छैन। कतै शिलालेखमा नाम कुँदियोस् भन्ने छैन। नामको कुनै लोभ छैन। उहाँले कुनै ब्यानरमा काम गर्नु भएन। म शिविर गर्दैछु भनेर हल्ला गर्नुभएन। जहाँ बिरामी छन्, त्यहीँ जानुभयो। बिरामीका घरमा पस्दा उहाँ घरमा नपसेर मनभित्र पस्नुभयो। उहाँले दवाईमात्र दिनुभएन, जीवन दिनुभयो, बाँच्नुको सार्थकता दिनुभयो।
पहिले उहाँका फेसबुक स्टाटस पढ्दा लाग्थ्यो, मैले पनि कतै सहयोगी हात बढाएको भए हुन्थ्यो होला। अब पुस्तक पढेपछि किन त्यसो गरिनँ भनेर पछुतो लागेको छ।
यी प्रशंसाका शब्द होइनन्। मैले उहाँको सङ्गतमा जे देखेँ त्यही लेखेँ। अघि नै भने नि, प्रशंसाले उहाँको अपमान गर्न म चाहन्नँ।
अन्त्यमा,
उहिले मुगल बादशाहका दरबारमा एकजना महादानी अब्दुर्रहीम खानखाना हुने गर्नुहुन्थ्यो । उहाँ जहिले पनि दान दिन हात उठाउँदा आँखा झुकाउनुहुन्थ्यो रे। एक दिन गोस्वामी तुलसीदासले सोधी पठाउनुभएछ -
सीखे कहाँ नवावज ऐसी देनी देन।
ज्यों- ज्यों का उँचो करो लोन्त्यो नीचे नैन।
खानखानाले यस्तो उत्तर दिनुभएछ -
देनहार कोउ और है, भेजत सो दिन रैन,
लोग भरम हमर हमपर घरें यातें नीचे नैन।

अरू अब के भनूँ र ? के लेखूँ र ?
-0-