Monday, December 21, 2015

मोहम्मद गल्लीको मुहब्बत




कुनै दिन थिए जतिबेला मोहम्मद गल्लीको एक छेउदेखि अर्को छेउ म लुखुरलुखुर हिँडी रहन्थेँ। आज कैयन् वर्षपछि त्यही मोहम्मद गल्लीमा घण्टा दुएक बिताउन आइपुगेँ। अचम्मै लाग्दछ जीवनको गति। कहाँबाट कहाँ पुगिने। आफू जिन्दगीलाई एक तरिकाबाट डोऱ्याउन खोज्यो, उसले लैजान्छ तानेर अर्कैतिर।
वर्षौँ पहिले बुबासँग हात समाउँदै हिँड्दा मोहम्मद गल्लीमा भुटेका चनाहरूको बास्नाले मुख रसाउँथ्यो। बुबाले पनि मन बुझेर पच्चीस पैसाको एक सोली तात्ताको चना किनिदिनुहुन्थ्यो। दार्जीलिङको जाडामा ताता चनाहरू चबाउँदै हिँड्दा अचम्मकै सन्तुष्टि प्राप्त हुन्थ्यो।
घिर्लिङ मुन्तिरका कोइला दोकानहरूबाट अलिअलि उकालो लागेर मोहम्मद गल्ली छिरे पछि देब्रेपट्टि लहरै भुटेका चना, मटर, मकै, भटमास, बदम आदि बेच्ने दोकानहरू थिए। कोइलाका चुल्हामा ठूल्ठूला काला कराहीमा खस्रो बालुवामा मिसाएर कोही चना भुटिरहेका हुन्थे भने कोही बदाम भुटिरहेका। किन्ने  मानिसहरू पनि कोही सोलीमा कोही ससाना कागजका थुँगामा तात्तातो चना वा मटर, भटमास वा बदाम, किनेर कोही झोलामा राख्थे भने कोही चपाउँदै हिँड्थे। उसबेलाका सात आठवटा दोकानहरू घटेर अहिले दुईवटामा झरेछन्। ती दोकानका ठाउँहरू कुनै कस्मेटिक दोकानले, कुनै फेन्सी कपडा पसलले र कुनै मिठाइ पसलले लिएछन्। आफ्नो जीवनसँग कतै एउटा प्रेमको धागो गाँसिएको मोहम्मद गल्ली करिब तीस वर्षपछि छिर्दा लाग्यो मोहम्मद गल्लीले पनि आफ्नो काँचुली फेरेछ। म पनि त त्यही दुब्लो पातलो पिलन्धरे कुमुद कहाँ छु र !
मेरा आँखाहरूले मोहम्मद गल्ली छिर्दाको देब्रे पट्टिको पहिलो दोकान खोजीरहे। तर त्यहाँ त खटियामा फिँजाइएका पुराना किताब र पत्रिकाहरू केही थिएनन्। रिडर्स डाइजेस्टका मनमोहक पृष्ठहरू, कादम्बिनीको कालचिन्तन, धर्मुयुगका विश्लेषणहरू, सारिकाका कथाहरू, सरिता र मुक्ताका सामयिक विचारहरू केही थिएनन्। मेरो बालापनको साथी विस्डम, नन्दन, र लोटपोटको अत्तो पत्तो थिएन। ती शालीन र सुन्दर लाग्ने अक्षरहरू भएका किताब र पत्रपत्रिकाका ठाउँमा थिए, नुहाउने साबुनहरू, स्याम्पोहरू, लिपस्टिकहरू, फेसवासहरू र केके केके। मैले खोजेको दोकान कतै सरेको छ कि भनी मेरा आँखाहरूले आसलाग्दो दृष्टिले यताउती हेरे। खुट्टाहरू मोहम्मद गल्लीको पल्ला छेउसम्म पुगे। तर कहीँ त्यो दोकान देखिएन। खुट्टाहरू फेरि पहिलेकै ठाउँमा फर्केर आए। आँखाका आशाहरू कतै भेटिएलान् भनी मुखले जान्न खोज्यो तर, उत्तर दिने आँखाहरूले यसरी हेरे मानौँ कुनै अठारौं शताब्दीको मानिस आएर सोधीरहेको छ - कुनै एउटा इतिहासमा बिलाइसंकेको एउटा पुराना पत्रपत्रिका बेच्ने दोकान। मैले बुझेँ मेरो मुख नै धेरै बाठो भएको हो।
निकै बेर अल्मलिएँ पनि। किन म त्यस ठाउँमा तीस वर्ष अघिको दोकान खोजीरहेको छु। किन तिनै आदरणीय चाचाजीलाई खोजीरहेको छु जसले मलाई कुनै गनगन नगरी लोटपोटको पढ्न दिन्थे। नन्दन पढ्न दिन्थे। दिनमानका पन्ना पल्टाउन दिन्थे। रिडर्स डाइजेस्टका पन्ना पल्टाउन दिन्थे। मलाई यति थाहा थियो मेरा बुबाले यही पसलबाट रिडर्स डाइजेस्ट, कादम्बिनी, धर्मयुग किन्नुहुन्थ्यो र आफ्नो सानो तर समृद्ध घरेलु पुस्तकालयमा सजाउनुहुन्थ्यो। हुनसक्छ म त्यही बाबुको छोरो भएकाले मलाई उनको स्नेह प्राप्त भएको हो कि। अन्यथा अरू कुनै बालबालिकाले नपाउने सुविधा मैले किन पाउँथे र ? म तिनीसँगको साइनो अहिले आएर बुझ्ने भएको छु तर ती छैनन्। भएका भए सबैभन्दा पहिले तिनलाई आदरसहित प्रणाम गर्थेँ र भन्थेँ - "हेर्नुहोस् चाचाजी, तपाईँले पढ्न र किन्न दिएका किताब पढेरै म यत्तिको भएको हुँ नि। हैन त ?"   
तर मेरो दुर्भाग्य ती चाचा छैनन्। न त तिनको दोकान नै छ। छन् त केवल सोकेसमा सजाइएका सृङ्गारका सामान। मनको सजावट गर्ने जिनिसको ठाउँ तनको सजावट गर्ने जिनिसले लिएछ। राम्रै होला। यसो सोच्दा लाग्छ तीस वर्ष पहिलेका बुबालाई "बडे भैया नमस्कार!" भन्दै पुराना किताबहरूको ठेली अघि सारीदिने ती चाचाजीलाई अहिले खोजेर कहाँ पाउनु ? तर मन न हो, कहाँ मेरो नियन्त्रणमा बस्छ र ?
ती चाचाजीको दोकान पर्तिर हुने गर्थ्यो एउटा घरेलु हातहतियारको दोकान। त्यस पर्तिरबाट सुरु हुन्थे लहरै भुटेका चना, मटर, मकै, भटमास र बदाम बेच्ने दोकान। हामीले चना किन्ने गरेको चाहिँ तेस्रो दोकान हुने गर्थ्यो। एकजना दाह्री पालेका बूढा मानिस गल्लामा बस्थे र भित्र पट्टि एउटा धुवाँ र धुलोले बुट्टा पनि चिन्न नसकिने गरि मैलिएको ढाका टोपी लगाएको मानिस ठूलो कराहीमा कहिले चना त कहिले मकै त कहिले बदाम भुटिरहेका हुन्थे। दाह्री पालेका बूढा मानिस बडो विचित्र स्वभावका थिए। साह्रै कम बोल्थे। उनको दृष्टि कतै अनन्ततिर सोझिएको भान हुन्थ्यो। ध्यानमा बसेका योगीजस्ता देखिन्थे। पहिले बुबासँग त्यता जाँदा पर हामीलाई देख्ने बित्तिकै सोलीमा चना भर्न थाल्थे। पछि कलेज जाने भएपछि म एक्लै मोहम्मद गल्लीमा जान थालेँ। चाचाजीको किताब दोकानमा निकैबेर अलमलिएपछि चनाको दोकान अगाडि पुग्थेँ। दाह्रीवाला हजुर्बाकहाँ चनाको सोली तयार हुन्थ्यो। कहिले पच्चीस पैसा दिन्थेँ, कहिले गोजीमा सुको हुँदैनथ्यो। तर ती हजुर्बाले मलाई कहिल्यै भोकै पठाएनन्। कलेजबाट एक घण्टे बाटो हिँडेर चार बजे फर्किँदा भोकले र थकाइले लखतरान हुन्थेँ। उनलाई मेरो फर्किने बेला थाहा भैसकेको थियो। मेरो चना सोलीमा तयार हुन्थ्यो। थुप्रै पल्ट सित्तैमा चना खाएपछि मलाई साह्रै सकस भयो र उनलाई भनेँ - "दादाजी, कतिन्जेल मलाई सित्तैमा चना खुवाउनु हुन्छ ? मैले पैसा दिन सकिनँ भने, तपाईँलाई घाटा लाग्ला नि !"
उनका चाउरी परेका हातहरू उनका दाह्रीमा पुगे, उनले दाह्री मुसारे र भने - "बाबु, व्यापार सधैँ पैसाका लागि मात्र गरिँदैन। तिमीजत्रै मेरो नाति छ, अनि मैले मेरो नातिलाई खुवाएको पैसाको म कसरी ताकेता गर्छु र ? छ भने देऊ, छैन भने म मेरै नातिले खाएको सम्झिन्छु।"
अनि त्यसपछि मलाई लाग्यो, व्यापार गर्ने मानिसहरूले ग्राहकमा आफन्त पनि खोज्दा रहेछन्। बडो विचित्रको अनुभूति भयो। मोहम्मद गल्लीमा छिर्नु र ती दादाजी(हजुर्बा)को दोकान जान छुटाउनु भनेको असम्भवप्राय कार्य भयो।
चना आदिका दोकानहरूको पल्लो छेउमा एउटा किराना पसल हुने गर्थ्यो। त्यो अझै पनि रहेछ। त्यस्को विपरित दाहिने पट्टि एउटा मिठाइ पसल थियो "मधुर मिलन मिष्टान्न भण्डार।" त्यो पनि अझै पनि रहेछ। तीस वर्ष अघि खाएका लालमोहनले मुख रसायो। भित्र पसेँ र बसेँ। काउन्टरमा बसेको मानिसलाई सोधेँ - "भाइ तीस-पैँतीस वर्ष अगाडि यहाँ को बस्नुहुन्थ्यो ?"
तिनले मलाई विस्फारित नेत्रले हेरे र सोधे - "किन ?"
मैले भनेँ - "त्यसबेला हप्तामा एकपटक म मेरो बुबासँग यहाँ लालमोहन खान आउँथे।"
तिनलाई के लाग्यो कुन्नि, काम गर्ने केटालाई भने - "ए भाइ, उहाँलाई एक प्लेट लालमोहन देऊ त ।"
एक प्लेट लालमोहन मेरा अगाडि आइपुग्यो। चम्चाले काटेर एक गाँस खाँदा, मेरो दृष्टि आफ्नै झोलामा पुग्यो जसमा मैले बुबाको मृत्यु दर्ताको प्रमाणपत्र बोकेको थिएँ। मैले मेरो मुखको लालमोहन निल्न सकिनँ, र त्यहाँबाट फुत्त निस्किएर चोकबजारतिर हान्निएँ।

Tuesday, August 18, 2015

सिर्जनाको सुरिलो सुर


अनुभूति
 
सिर्जनाको सुरिलो सुर



            लाग्छ विषय जटिल समाएको छु। मानिसले कति जान्दछ र कति सिक्न सक्छ जस्तो  सीमाहीन विषयका बारेमा कति पो भन्न सकिएला र ? आफ्ना बारेमा भन्नुपर्दा लाजले भुतुक्कै हुनु त छँदैछ, त्यसमाथि कति अहम् भरिएको भन्ने हुन् कि भन्ने डरले अक्षरहरू नै काम्न थालिसकेझैँ लाग्छ। जे होस् यी मेरा अहम् वाणी नभएर हृदयका कुनै कुनामा बसेका सम्झनामात्र हुन् आफ्नो चेतनाको प्रारम्भिक कालदेखि सिकाइ र जिज्ञासाका अनेक पर्याय बने र सँगै हिँडिरहे जो अझै हिँडिरहेका छन्।

            स्मृतिको कुइनेटामा पहिलो दृश्य-चित्र तात्कालिन पूर्व-व्यावसायिक शिक्षक लालबहादुर सुब्बाको रहेको छ। लालबहादुर सरको देख्तै प्रभावित हुने व्यक्तित्व थियो। सेतो पूरा बाहुलाको सर्ट र बदामी रङको पेन्टमा धेरैजसो उहाँलाई मैले देखेको हुँ। गोरो अनुहारमा चमकमा अलिकति छड्के बनाएर ढाकाले अझ सुन्दरता थपेझैँ लाग्थ्यो। कक्षामा पढाउँदा उहाँ कालो पाटीमा लेखेर सौझै विद्यार्थीहरूतिर फर्केर ठूलो स्वरमा स्पष्ट बोल्नुहुन्थ्यो र मलाई उहाँजति जान्ने कोही लाग्दैनथे। बौद्धधामदेखि एघार किलोमिटर हिँडेर करफोक आइपुग्ने लालबहादुर सरले पढाएका  कुरा स्मृतिमा यति धेरै समय रहलान् त्यसबेला त सोचेको थिएन नै। कक्षा चारमा पढ्ने सिँगाने बबुरो म बाहिर हुत्तिएर अरू साथीहरूझैँ पाङ्ग्रा र खोप्पी खेल्नुको साटो अरू कुराहरूमा नै रमाइरहेको हुन्थेँ। लगभग एकलकाँटे भइसकेको मेरो पाङ्ग्रा खेल्ने रुचि नभएर पनि हैन, तर स्वभाव नै मूलधारबाट अर्कै केही गर्ने बनेछ। लालबहादुर सरले कार्पेन्ट्री पढाउँदा कालोपाटीमा सुन्दर चित्र कोरेर यो चाहिँ चिर्ने आरी 'रिप स' र यो चाहिँ गिँड्ने आरी 'क्रसकट स' भन्दा घरमा जेठा देपाले चलाएको आरी कुन होला भनेर चिन्तित भएको मानसपटलमा अझै ज्यूँ का त्यूँ छ। अर्को दिन काठ चिल्याउने रन्दाका विशेष विदेशी अवतारहरू सरले देखाउनुभयो। लाग्थ्यो संसारभरिमा मानिसले बनाएका कुरामध्ये सबैभन्दा सुन्दर कुरा नै यिनै रन्दाहरू हुन्। मन फुरुङ परेर हातले सुमसुम्याउँदा धारले चिसिक्क पारेर रगत चुहाएपछि मात्र ती हतियारै रहेछन् भन्ने बोध भयो। सुन्दर गुलाफसँग काँडा पनि त हुँदो रैछ।

            यी औजारप्रति उत्पात् प्रेमले घरमा भएका सरसामान प्रयोगको अति उत्साही सृङ्खला सुरु गरायो। दुईचार दिन अघि स्कुलको क्यारामको सेतो काठको गोटी कुनै छुस्क्याहाले हुइँक्याइदिएछ। मैले राम्रैगरी नापजोख गरेँ। एउटा काठको गोटी त कसो नबन्ला र। औजार छँदै थिए, उत्साह छँदै थियो। घर पुगेर दाउरा कटेराबाट सबैभन्दा सुरिलो पैयुँको हाँगो टिपि ल्याएँ। यसमा एउटा फाइदा थियो। हाँगाको मोटाई ठ्याक्कै क्यारामको गोटीको गोलाईसँग मेल खान्थ्यो। भित्र गएर केही दिन अघिमात्र अर्झापेर ल्याएको बाम्फोक लुकाउँदै दाउरा कटेरा गएँ। अचानामा देब्रे हातले हाँगो अँठ्याएर दाहिने हातले एक चोट हान्दा फुत्तै क्यारामको गोटी निस्किन्छ भन्ने काँचो र जड विश्वास छँदै थियो। बाम्फोक बजारेँ। क्यारामको गोटी त कस्तो बन्यो कुन्नि देब्रे हातको कान्छी औँलो चिरिएर दुई फ्याक। रूने हास्ने कुरा सबै त्यतै सकिए। उपद्रो पक्रा पर्ला भनेर हात जति लुकाउँदा पनि भलभली बगेको रगतले दिएको बयान नै काफी थियो बाको हप्काइ खान। धन्न आमाले 'बजिया उपद्रो गर्छस्' भनेर ओखतीमुलो गरिदिएपछि बाँचिएछ भन्ने लाग्यो। त्यसपछि त मेरा नजरबाट ती हातहतियार यसरी गायब भए मानौ ती अस्तित्वमा नै छैनन्।

            जीवनराज सर। कालो वर्णका अलिक मोटा सर हुनुहुन्थ्यो उहाँ। प्राय खरानी रङको स्वीटर र ढाका टोपीमै सजिनु हुन्थ्यो र कक्षा अगाडि कुर्सीमा गजधम्म बसेर पढाउनु हुन्थ्यो। पाँचौ कक्षामा साह्रै डरलाग्दा यिनै जीवनराज सरले चित्रकला सिक्नलाई वाटर कलर पेन्टिङ बक्स र बुरुस चाहिन्छन्, सबले ल्याउने भनेर फर्मान जारी गरे पछि यो के जन्तुको नाम भनेर औडाहा भयो दिनभरी। बुरुसका नाममा दाँतमा घस्ने र जुत्ता चम्काउने मात्र देखेको मलाई यी जीनिस कस्ता हुन्छन् भन्ने खसखसले पिर्नुसम्म पिरोल्यो। बेलुका आमासँग कुरा गर्दा आमाले दाजुतिर कुरो घुमाएपछि पर्खिनुबाहेक केही उपाय रहेन। व्यग्र भएर अँगेनामा अगुल्टो झोस्तै दाजुको प्रतिक्षा गर्दो भएँ। जागिर खाएर बेलुका घर आएका दाजुअगाडि फर्माइस तेर्स्याएपछि विहीबार फिक्कलमा पाइएछ भने ल्याइदिने कुरा गर्नुभो। त्यो तीन दिन पछिको विहीबार.... अहो... कहिले आउने। समय घरी कटाउन फूलबारीमा गएर टाइगर लिली फूलका थोप्ला गन्न थालेँ घरी बिरालाका जुँगा तान्न।

            वाटर कलर र बुरुस। प्लास्टिकका बट्टा भित्र चौकुने बाह्रवटा कोठा र प्रत्येकमा बेग्लै रङ। छेउमा अलिक नराम्रो बुरुस। एउटा फाल्टु पनि। भेटे पछि त निकै बेर हेरेको हेर्‍यै भएँछु। अनि सुमसुम्याउन पनि भ्याएँछु। कति खुसी लागेको थियो त्यसबेला। एउटा युद्ध जितेझैँ, विजेता भएझैँ। त्यसपछि त कापीका पन्ना धमाधम घट्न थाले। गाली खाने डर त छँदै थियो। माथ्याड कोठाको काठको भुइँमा थच्चिएर पेन्टिङ गर्न निकै तन्मय भएरै लागिएछ। भोकतिर्खा पनि बिर्सिएको तबमात्र थाहा हुन्थ्यो जब आमाले बोलाउनु हुन्थ्यो। स्कुलमा सरले गृहकार्य स्वरूप नेपालको नक्सा बनाएर त्यसलाई चौध अञ्चलमा विभाजित गरेर रङ लगाई ल्याउने भनेकाले त्यसैमा लागियो। पेन्सिलले नक्सा कोरी सकेर रङ लगाउने हतारो त छदैँ थियो। हातहरू लर्बराउँदै रङ लगाउँदा चित्रको माथिल्लो भागमा तुप्लुक्क खैरो रङ चुहियो। ल फसाद। त्यत्तिकै लतपत्याएर फैलाएँ, सबैतिर अलिक होसियार भएर रङ लगाएँ र चित्र सुकाएँ।

            अर्को दिन कक्षामा डराउँदै सरलाई चित्र देखाएँ। गर्जेर 'तैँले नै बनाको हो ?' भनेर सोधनी हुँदा झन्डै सुराल भिजेको। थरर्र हुँदै 'हो' मुद्रामा मुन्टो हल्लाएपछि, 'जा ठाउँमा गएर बस।' हुकुम भयो। लुरुलुरु गएर बसेँ। एकछिन पछि सन्दर्भ झिकेर कालो पाटीमा चित्र अड्याउँदै 'यी हेर यस्तो पो हुन्छ चित्र भनेको। तिमेरू लम्फूहरूले के जानेका छौ र ?' भन्दा मन फुलेर कुप्पा भइसकेको थियो। पछाडिको बेन्चमा बस्ने एउटा छुस्केले 'सर त्यो नेपालमाथि चाहिँ केहो ?' भनेर सोधीहाल्यो। अब गाली खाइने भयो भनेर फुलेको मन हावा निस्केको फुटबल ब्लडरजस्तो हुनै लागेको थियो। तर सरको जबाफ पत्याइनसक्नु सुन्दर थियो। सरले 'गधा ! त्यति पनि जान्दैनस्, नेपालमाथि बादल लागेको।' भन्दा मन त फुलेकै थियो नाक पनि अग्लिएर सगरमाथाझैँ भएको थियो। त्यसबेला कलाकारका नाममा अरनिको मात्र पढेको थिएँ। अरू केहीलाई चिन्दिनथेँ, नत्र आफूलाई बाङ्देल वा पिकासो नै ठान्थेँ कि !

            अनि त साथीसँग मिलेर सुन्दर बगैँचाको निर्माण गर्दा होस् या दाउका कटेराको बलेँसीभित्रको छहारीमा मेथीको साग उमारेर खाँदा होस्, सिर्जनाको सुन्दर सुरले मलाई गाँजिसकेको थियो।

            करफोक विद्या मन्दिरलाई कक्षा छमा विदा गरेर सीमारेखा फुत्त नाघी दार्जीलिङमा कक्षा सातमा भर्ना हुन पुँगे। नेपालकै सामाजिक शिक्षा पुस्तकको पानामा देखिएका गान्धी दार्जीलिङ गएपछि त भारतीय नोटहरूबाट फुत्त निस्केर मेरा हृदयमा नै स्थायी डेरा जमाएर बसे। बाको पुस्तकालयमा भेटिएको सत्यको प्रयोग कनिकुथी पढेपछि तिनै गान्धीले मेरा अनेकन् प्रश्नहरूको जबाफ दिएका छन् र मलाई म बनाउन औधी सघाएका छन्। आत्मनिर्भरता, सिर्जना र सुकर्मको अनौठा प्रतिरूप गान्धी यसरी आराध्य बने।

            दार्जीलिङको रकउड नाम गरेको सहरी गाउँमा सल्लाका काठले बनेको हाम्रो घर थियो। त्यसै घरको एउटा कुनामा एउटा बूढो सिङ्गर मेसिन उँघेर बसिरहन्थ्यो। बेलाबेला बाका उध्रेका सुरुवाल, सानीमाका चोलाहरू खटखट आवाजसित टाल्नुबाहेक अरू बुढिनु मात्र त्यस मेसिनको नियति थियो। पूर्व व्यावसायिकका सिर्जनशील काम छुटेर मेरो सातो गएझैँ भएको थियो। एक त आमालाई छाडेर सानीमासँग बस्नु त्यै माथि केही गर्न पनि नपाउनु। कत्रो बित्यास्।

            अनि अचानक एकदिन लुरे आँट पलायो। बा घर इलाम गएका बेला मौका छोपी खाजाको पैसाबाट जोगाएका रुपियाँले चोकबजारको सहकारी पसलबाट सबैभन्दा सस्तो सुती कपडा किनी ल्याएँ। फर्किँदा माथ्लाघर सलमा आन्टीकाँ गएर 'रेपिडेक्स होम टेलरिङ कोर्स' पनि मागी ल्याएँ। यो पुस्तक सानीमाले सिलाई सिक्छु भनेर अड्डी कसेपछि बाले मन नलागी नलागी किनिदिनुभएको थियो। सानीमाले दुईचार पन्ना पल्टाउनुबाहेक कुनै लछारपाटो लगाउनुभएको थिएन। मैले भने सबै चित्रहरू हेर्न र सिलाईका कला पढ्न भ्याइसेको थिएँ।

            गज्जबको उत्साह भरिएको थियो मनमा। पुस्तकबाट नक्साको लेआउट हेर्दा काठको भुईँमा कपडा बिछ्याएँ। माटाको टेलरिङ चकले आकृति कोरेँ। मेटेँ। फेरि कोरेँ। पाँचपल्ट पछि आ जेहोला भन्ने लाग्यो र चित्त बुझाएँ। पित्तलको बीँड भएको लगभग सिङ्गर मेसिनजत्तिकै पुरानो सानदार कैँची समाते। सानदार किन भने मलाई त्यो कैँची साँच्चिकै राम्रो लाग्थ्यो र अर्को कुरा छुन पनि पाइन्नथ्यो। हात थरर्र कामे। लामो सास तानेर आ बिग्रे पनि आफ्नै पैसा जान्छ भन्ठानेर कैँची चलाएँ। दिनभरी लगाएर बुढिँदो सिङ्गर मेसिलाई जीवन्तता दिएँर र साँझपख सर्ट तयार पारेँ। बक्रम थिएन, कलर र कफमा थोत्रा कपडाको बक्रम हालेँ। बत्ती बालेर भए पनि टाँकघर काटेँ, बुनेँ र पुराना सर्टहरूबाट काटेर टाँक लगाएँ।

            सर्ट सिइसकेपछि लगाइहेर्नुपर्‍यो भन्दा झ्याप्प बत्ती निभ्यो। सर्ट सिउने धुनमा दिउँसोको भोक र तिर्खा पनि बिर्सेँछु। असाध्यै गलेको अनुभव गरेँ र खाटमा डङरङ्ग पल्टिएँ।

            निकैबेर पछि बत्ती आएपछि हतारहतार सर्ट लगाएर ऐना अघि उभिएँ। कलर एकापट्टि अलिक लामो भएछ, टाँकघर कोही साना कोही ठूला भएछन्, सिलाइको टाँका कतै बाक्लो कतै पातलो भएछ। गोजी निकै माथि परेछ। तर त्यति हुँदाहुँदै पनि मैले सिएको लुगा सर्ट नै भएकामा खुसीले नाचौँनाचौँ नै लागिरहेको थियो। अनुहारमा युद्ध जितेको सैनिकजस्तो तेज फैलिएको ऐनाले नै बताइरहेको थियो। चोकबजारको डि.सि.एम कपडा पसलको पोस्टरमा देखिएको अमिताभझैँ सुन्दर भएको भान भैरेहेको थियो। खै कस्तो कस्तो भन्नै नसकिने। रिङ्क सिनेमाको मेटिनी सो हेरेर गफिँदै ढिलो गरेर घर आउँदा सानीमाले निर्माणको अनौठो अनुभूतिले सराबोर भएको र नयाँ सर्ट लगाएको केटो घरमा पाउनु भयो।

            यो लुरे आँटले गोडा दुएक राम्रै काम गर्‍यो। 'सर-सामान' चलाउलास् भन्ने बाको अनुच्चरित धम्कीबाट बाचेँ। दुई दिन पछि बा फिर्ने बित्तिकै सर्ट लगाएर देखाएँ। 'ए ! सिउँदो रछस् त।' बाको बिरलै देखिने हसिँलो अनुहारबाट निस्किएको यो वाक्य मैले अब निर्बाध बूढो सिङ्गर मेसिन चलाउन सक्ने लाइसेन्स थियो। निर्माण र सीपको यो लतले आफ्ना र परिवारका लागि थुप्रै किसिमका लुगाहरू सिउन सिकायो, रङ र किसिमको संयोजनबाट सुन्दर लुगाहरू सिउन सकिन्छ र सिलाइमा पनि कलाकारिता छ भन्ने बुझायो, काम जुनसुकै पनि सुन्दर हुन्छ भन्ने बोध गरायो। र आफूले सिर्जना गरेको कुराको प्रयोगको एकदमै अनौठो खुसी पनि दिलायो।

            अलिक पछि म लिखुरे पोखरेल भानदाइकहाँ हँडिया बुधबारे गएँ। बडेमानका सखुवाका खाँबामा अड्याएको टाँडे घरका मालिक ठूलो स्वरका भानदाई एकपल्ट बोल्दै सातो जान्थ्यो। तिनैका सुपुत्रले सखुवाको खाँबामा स्पीकर अड्याएर माइक्रोफोन लेख्या देखेपछि विज्ञानको स्नातकको भित्री कसैले च्यातेझैँ लाग्यो र सानो स्वरले गर्जिएजस्तो गरेँ - 'हे भतिजा, स्पीकर टाँसेर किन माइक्रोफोनको नाम लेख्दा भयौ ?' भतिजा शान्त साधकजस्ता बोले - 'काकाश्री, यसले माइक्रोफोनको काम पनि गर्छ नि त। याँ बोलेको माथ्याड सुन्न बनाको नि।' विशुद्ध अङ्ग्रेजी पढेका यी बबुरा कसरी विज्ञानमा यति जान्ने भए भएर जिल्लिँदै थिए, उनैले 'यसरी सिकेँ' भनी बेलीबिस्तार लगाए। अनि इलेक्ट्रोनिक्स नामको भूत चढेपछि त्यसले यस लिखुरे शरीरलाई कति दौडायो भनेर साध्य छैन।

            कुनैबेला दार्जीलिङको लाडेन्ला रोडमा भएको एकमात्र इलेक्ट्रोनिक पसलमा देखेको स्वेत श्याम टी.भी. आफैँ एसेम्बल गरौँला र दसौँलाई गरिदिऊँला भन्ने त मनको कुनै अन्तरकुन्तरमा थिएन। स्वनिर्मित टीभीमा दूरदर्शनको सुरभि कार्यक्रम हेर्दा, कार्यक्रम सञ्चालक सिद्धार्थ र रेनुका सँगै बसिरहेको छु जस्तो लाग्यो। अनुहारमा झल्केको सन्तोष र फुर्किएको मन छाती खोल्न मिल्ने भए खोलेर देखाइदिने थिएँ। तर त्यो सम्भव थिएन। ती मेरा भानदाइका साधक छोरा मेरा द्रोणाचार्य बने।

            स्टिरियो सेट एसेम्बल गरेर डायर स्ट्रेट्सका गीत घन्काउँदै नाच्दा वा बिस्मिल्ला खानका सहनाई वादन सुनेर तुरुक्क आँसु चुहाँउँदा हुने मनको उतार चढावलाई के भन्ने खै। कस्तो पो लाग्न थाल्यो भने जिन्दगीको वास्तविक आनन्द त मैले बाहेक कसले पो लिएको छ र ? कतै अहम छिरे जस्तो। आफूभन्दा अरू कोही केही नभएजस्तो ? कस्तो कस्तो ? जे पनि आफैँ गर्ने नसाले कहाँ पो छोड्यो र ?

            कालोपाटीमा चक घोट्ने काम पाएपछि यै मान्छेलाई वायरिङ गर्ने झ्वाँक पलायो। एकजना दाइलाई पनि सिकाइवरी गाउँका दसवटा घरमा बिजुली जडान गरियो। अलिकति ज्याला पनि पाइयो र जान्नेले गरेको भनेर मान्छेले फुर्क्याउँदा मन फेरि फुलेर कुप्पा त हुने नै भो। अनि त रमाइलै रमाइलो। थोरै जानेकैले फ्यूज जाने बित्तिकै अँध्यारामा बस्नु परेन। थोरै गडबडी हुँदा मिस्त्री बोलाउनै पर्ने बाध्यता परेन। तर यसले एउटा भने बेफाइदा गर्‍यो, स्वीच बिग्रेकाले वा बल्ब फ्यूज भएकाले सँधैको 'क्यान्डल लाइट डिनर' भने गर्न पाइएन।

            गर्दै भन्दै जाँदा दुई पाङ्ग्रे भटभटे चढ्न पनि जुर्‍यो। भटभटेका कान बटार्न नजानेकाले नयाँ भटभटे किनेर घरसम्म ल्याउन पनि एकजना ढुङ्गाना थरका मित्रलाई गुहार्नु पर्‍यो। धरानबाट इटहरी आउन्जेल ती मित्रका मुखबाट उपदेशको खोलो हुलुलु बगिरहेकै थियो भने म बबुरो पछाडि बसेर आफ्नै भटभटेमा अर्को मालिक पल्टेको हेरिरहेको थिएँ। के गर्नु र, उपायै थिएन। ती मित्रलाई अजस्र धन्यवाद टक्र्याएपछि, एकपल्ट दुईपल्ट गर्दै कान बटार्न म जान्ने भएँ। लुरे आँट त मलाई आएकै थियो। केही दिन पछि राजमार्गमा पनि कुदाउन थालेँ। आफैँ किनेर सिकेको, व्यक्तित्वमा अर्को एउटा धाक जम्यो। भटभटेमा जिउ तनक्क पारेर बसो अनि कान बटार्‍यो, आफू भुइँमा नभएर आकाशमा उडेझैँ लाग्ने। कराएर सबैलाई सुनाउँदै हिडौँ कि जस्तो लाग्ने। कसैकसैले खिल्ली उडाए कि ? उडाए उडाउन्।

            भटभटेका पनि आफ्नै कथाव्यथा जन्मिए। किन्दा तीनपल्ट सम्म सित्तैमा सर्भिसिङ गरिदिने साहूको वाचा थियो। तीनै पल्ट धरान गएर कलाम मिस्त्रीले सर्भिसिङ गरेको नियालेर हेरेपछि चौथोपल्ट त कसो आफैँ गर्न नसकिएला भन्ने लाग्यो। हुँदै भएनछ भने घिसार्दै मेकानिककहाँ लाने त छँदै थियो। अनि विस्तारै सिट खोलेँ, ट्याङ्की खोलेँ र अलग्गै राखेँ, कार्बुरेटर खोली पाटपूर्जा सबै खोलेर पेट्रोलले धोइवरी फिट गरेँ। एयर फिल्टरलाई मट्टितेलमा धोएर सुकाएँ। चक्का खोली ब्रेकसू खाक्सीले घोटेर सफा गरेँ। चेन पनि खोलेर मट्टितेलमा धोएँ र ग्रिज लगाएँ। मोबिल पुरानो फ्यालेर नयाँ भरेँ। खोलेका सबै नटबल्टु लागे कि लागेनन् भनेर फेरि हेरेँ। ओहो...सकेपछि स्टार्ट पो नहोला कि जस्तो लाग्यो। तर पहिलो किक मै भटट आवाज गरेपछि लाग्यो ल.... काम गरिएछ। फेरि नाक फुलेर सगरमाथा भैगयो। भित्र फुलेर ढकमक्क भैरहेको हर्ष फुत्तै ओठमा पो निस्कियो। आनन्दको नयाँ लहर उठ्यो। अर्कोपल्टको सर्भिसिङमा ह्यान्डलको बियरिङ पनि फेर्न भ्याएँ। बेलाबखत टाढाको यात्रा गर्दा एउटा ट्युब, हाते पम्प र केही औजार बोकेर हिँड्न थालेँ, बाटामा कतै पङ्चर भयो भने तुरुन्तै बनाउने र कुदाउने नियत थियो। घरमा त पङ्चर बनाएकै थिएँ। तबैदेखि अहिले बाह्र वर्ष सम्म भटभटे सुमसुम्याएको सुमसुम्यायै छु र उसले पनि मलाई माया गरिरहेकै छ। अँ कहिलेकाहिँ नुहाइदिन नभ्याउँदा चाहिँ आफैँलाई दिक्क लाग्छ।  

          समय बदलियो। प्रविधिको जमाना आयो। साथै घर-कार्यालयमा कम्प्युटर भित्रिए। कम्प्युटरको आधारभूत संरचना र चलाउने तरिका कति मित्रहरूले सिकाए त्यसभन्दा बढी चेलाहरूले कुनै कन्जुस्याइँ नगरिकन सिकाए। कुनै वेला शिक्षा दिएर गुरुको अहङ्कार बोकेका कुरा कतै बिलाए र आफ्नै चेलाहरूलाई गुरु थापेर नयाँ कुरा सिक्दा हदै सम्मको आनन्द आयो। तिनै चेलाले देखाएको बाटोमा हिँडेर कम्प्युटरबाट सक्दो फाइदा लिने प्रयत्न गरेँ र अहिले आफूलाई चाहिएको सो प्रविधिको ज्ञान मसँग छ।

            कम्प्युटरमा देवनागरी लिपिमा लेख्ने प्रविधि 'युनिकोड' प्रचार गर्न सहयोग गर्न पाएकामा गर्व महसुस हुन्छ। यस प्रविधिलाई अझ अगाडि बढाएर पुस्तकहरू पनि युनिकोडमा सजिलै प्रकाशित गर्न सकिन्छ भनी प्रचार-प्रसार गर्न आफ्ना तीनवटा पुस्तकहरू युनिकोडमै तयार गरेँ। यसमा श्रद्धेय दादाजी श्री कमलमणि दीक्षितज्यू र मदनपुरस्कार पुस्तकालयका मित्रहरूको ठूलो सहयोग प्राप्त छ  । अब त बानी यस्तो बस्यो कि कलम र कापी पाखा लागे, लेख्न र अनुवाद गर्न खोज्यो भने औँलाहरू सोझै किबोर्डतिर लम्किन्छन्। छिटो पनि हुने, काँटछाँट गर्न सजिलो पनि हुने। फोहोर पनि नहुने।

            सिर्जनाका यस्ता सुरहरूमा बग्नुको मजै बेग्लै। लाग्छ, सिर्जनशीलता सबैमा जन्मजात हुन्छ, फरक त्यति हो कसैले यसको भरपूर उपयोग गरेका छन्, कसैले न्युन। ज्ञान आर्जनको असीमिततालाई आत्मसात गर्दा मैले जिन्दगीलाई राम्ररी भोगेँ जस्तो लाग्छ। कतै यहाँ मेरो 'म जान्दछु' भन्ने अहम् झल्किएको भए क्षमा पाउँ, मैले त्यसो गर्न खोजेको चाहिँ पटक्कै होइन।          

***
कुमुद अधिकारी