Wednesday, October 31, 2018

मिस यु दीपक दाजु !!


लाग्छ विधाताले कहिलेकाहीँ हिसाब लेख्न गल्ती गर्छन्। नत्र किन कम उमेरकाहरू पहिले नै मर्छन् ? जिन्दगीका कति धेरै हिसाबकिताब मिलेकै हुँदैनन्, सास टक्क रोकिन्छ, मुटु चल्न छोड्छ र मष्तिस्क बिसाउँछ। पञ्चतत्त्वले बनेको शरीर त्यतै गएर विलीन हुन्छ। यसो हुनुमा के मानिसमात्रको हात हुन्छ त ! कि विधाताले नै उमेर तोकेर पठाउँछन् यस धरतीमा ! यो कुरा नबुझेर म आज पर्यन्त अलमलमा छु। अलमल अझ जारी छ, लाग्छ कहिल्यै टुट्दैन यो अलमल। मानिसले आफ्नो मृत्युको दिन थाहा पाउने भए कति राम्रो हुँदो हो ! कि साह्रै नराम्रो हुँदो हो ? तर आफ्ना निकटका मानिसहरूले चोला परिवर्तन गर्दा चित्त रुन्छ, हृदय काम्छ र आँखाहरू ओभाउने नामै लिँदैनन्।
सम्झिन्छु, कक्षा पाँचमा पढ्थेँ हुँला। खै कताबाट हो सुट लगाउने रहर जाग्यो। सुट कस्तो हुन्छ भन्ने कुरा बाले लगाएर फोटो खिचेको हुनाले त्यही फोटो देखेर र फिक्कलमा बेचिने पोस्टरहरूमा सिनेमाका नायकहरूले लगाएको मात्र देखेको हुँ। तर सुट लगाउँदा ठूलो मान्छे भइन्छ, अर्थात् जसतसले सुट लगाउन पाउँदैन र सुट लगाउन पाउने निक्कै भाग्गेमानी हुन्छन् भन्ने लाग्थ्यो। तर सुट लगाउने रहर त लागिसक्यो, अनि आमालाई सुट लगाउने भन्दै गनगन गर्न पनि सुरु गरियो। आमाले त कताबाट किन्दिनु, कि त बालाई भन्नुपऱ्यो। बालाई भन्दा गाली खाइने ठूलो जोखिम थियो, रहरका भरमा बाले सुट किनिदिने कुरै थिएन। बाको कठोरता सम्झँदा अहिले पनि डर लाग्छ। अनि फेरि बा दार्जीलिङबाट करिब महिनामा एक पटक जसो आउने। दुईएक दिन बसेर फेरि जाइहाल्ने। यसरी मेरो सुटको रहर बुर्लुक्क उफ्रिएर दीपक दाजुको पोल्टामा पऱ्यो।
केही दिनको पर्खाइपछि बेलुका अबेर दाजु आउँदा लुगाको एउटा पोको बोकेर आउनुभयो। अगेनाका डिलमा बसेर पोको खोल्नु भयो। 'ल भाइ, तेरो सुट हेर्।' भन्नुभयो। मैले दुवै कपडा हेरेँ। पोकामा दुई थरिका कपडा देखेर म अलमलिएँ। अलमलिएको देखेर 'कुन मन पऱ्यो ?' भनी सोध्नुभयो। मैले कपडा राम्ररी छामेँ। बालक बुद्धि, दुईमध्ये चिल्लो कपडा देखाएँ र भनेँ 'यो मन पऱ्यो।' दाजुले हाँस्दै कपडाको पोको लिनुभयो र दमाईलाई सिलाउन दिने कुरा गर्नुभयो। अनि सुरु भयो कहिल्यै नसक्किने प्रतिक्षा। मनको चञ्चलता थामेर नसक्नु। केही गर्न मन नलाग्ने। हरेक बखत त्यही सुटका कुरा मात्र मनमा खेल्ने। कता सिलाउन दिने, कसलाई दिने भन्ने कुराको मलाई चासो रहेन। सुट लगाएको र हिरोझैँ गमक्क परेको कल्पनामै आफूलाई हराइरहेँ।  
धेरै दिनको प्रतिक्षा पछि सुट आयो। हेरेँ - सुट त मैले रोजेको कपडाको छैन। अर्को चाहिँ कपडाको छ। राम्ररी हेर्दै लाँदा मैले भित्री हाल्ने कपडा रोजेको रहेँछु। त्यस्तो देखेपछि आफ्नो मूर्खताप्रति लाज पनि लाग्यो। तर खुसीले त आकाशै छुँलाजस्तो गरी उफ्र्यौँ की जस्तो पनि लाग्यो। के गरौँ कसो गरौँ भै रहने। अनि सुट लगाएर करफोक स्कुल जान पनि थालियो। सुट मैलिन्छ कि भनेर अलिक अलग्ग पन्छिएर बस्न, थोरै नक्कल पार्न, अलिक धेरै गजक्क पर्न पनि थालियो। साथीहरू मज्जाले खेल्दा उभिएर हेर्न  थालियो। सुटले ल्याएको तो गजक्कपन, त्यो धाक, अहो व्यक्तित्वको त कुरै अर्कै।
स्कुलबाट फर्कि आउँदा माघे स्कुलको ग्राउन्डमा साथीभाइ फुटबल खेल्न थाले। मलाई पनि खेल्न बोलाए। म भने गजधम्म परेर माघे स्कुल उक्लिने बाटातिर उभ्भिएँ। साथीहरू कटाक्ष गर्न थाले - 'ऊ हेर् न। उहाँको सुट मैलिन्छ क्या। सुट लगाएर कसैले फुटबल खेल्छ ?' भन्न त साथीहरूले सही नै भनेका थिए। सुट लगाएर फुटबल खेल्दा मैलिन्थ्यो। अनि सुट मैलाएकामा घरमा गाली खाइने डर पनि त्यत्तिकै थियो। तर जति खेलौँ खेलौँ लागे पनि सुट लगाएको गर्वले साथीहरूसँग फुटबल खेल्न दिएन। सुटले कतै एक्ल्याउने हो कि भन्ने त्रास मनमा पस्न थालेको थियो।
जिन्दगीको पहिलो सुट किनिदिने मेरा दीपक दाजु अब हुनुहुन्न। सम्झिन्छु, कति दुःख सुखका कुरा गर्नुहुन्थ्यो। घरपरिवारका कुरा गर्नुहुन्थ्यो। अप्ठ्यारो परेका कुरा गर्नुहुन्थ्यो। सहज हुँदा कुरा गर्नुहुन्थ्यो। दाजुसँग कुरा गर्न थालेपछि समय बितेको थाहा नहुने। दाजु मलाई इतिहास, संस्कृति, जीवनशैली आदिका कुरा सुनाउने। म उहाँलाई विज्ञानका कुरा सुनाउने, प्रविधिका कुरा सुनाउने। विषय हाम्रा विपरित ध्रुवका थिए। तर हाम्रो कुराको केमिस्ट्री असाध्यै मिलेको थियो। तपाईँ इतिहासको जण्ड विद्यार्थी कति छिटै आफैँ इतिहास हुनुभयो। तपाईँसँग कुरा गर्न, छलफल गर्न भनी राखेका मेरा कुराका पोकापन्तुरा मैले खोल्नै नपर्ने भो। अब म तिनलाई कता पन्छाऊँ ?
अनि मेरो मानसपटलमा झल्झली आउँछ कक्षा पाँचको पूर्व व्यावसायिक शिक्षाको क्लास। जीवनराज पौडेल सरले कक्षामा आएर भन्नुभएको थियो - "ल अब चित्र बनाउन सिक्नुपर्छ, सबैले वाटर कल पेन्टिङ बक्स लिएर आउने।" चित्र  बनाउन त पेन्सिलले अलिअलि आउँथ्यो नै। चित्रकलामा रुचि पनि असाध्यै थियो। तर यो वाटर कलर पेन्टिङ बक्स के हो तुरुन्तै कल्पनामा आएन। किताबमा चित्र पनि थिएनन्। घर आएर पहिले आमालाई भने। आमाले ती अङ्ग्रेजी जस्ता शब्दमा कान्छाले के मागेको बुझ्नुभएन क्यारे। दाजुतर्फ देखाइदिनुभयो। आमाले दाजुलाई देखाएपछि उहाँलाई नै फर्माइस तेर्स्याएँ। त्यो दिन सायद आइतबार थियो। दाजुले 'ल बिहीबार फिक्कल गएर ल्याइदिउँला' भन्नु भयो। मलाई त्यो अनौठो जिनिस बिहीबारसम्म पर्खिन सानो सकस भएन। समय त कटाउनै पऱ्यो। घरी फूलबारीमा गएर टाइगर लिलीका थोप्ला गन्न थालेँ घरी बिरालाका जुँगा तान्न।
त्यो मेरो जिन्दगीको पहिलो वाटर कलर पेन्टिङ बक्स। चित्र बनाउन चाहिने पानीमा घोलिने रङहरू। चित्रकला सिकाउनका लागि नै बनाइएका र बेचिएका। त्यो पेन्टिङ बक्स पाएपछिको खुसी म अहिले पनि शब्दमा व्यक्त गर्न सक्तिनँ। तिनै बट्टाबाट पानीमा रङ घोलेर चित्र बनाउन सिकेँ। पहाडको चित्र, रूखको चित्र, नदीनालाको चित्र, देशको मानचित्र, मानिसको चित्र। चित्रको सुन्दरताले अचम्म ढङ्गले लठ्याएको थियो मलाई। चौध अञ्चललाई बेग्लाबेग्लै रङ लगाएर मैले बनाएको नेपालको मानचित्र देखाउँदै कक्षामा सरले भन्नुभएको थियो - देख्यौ, यस्तो हुन्छ मानचित्र। म खुसी र गर्वले गजक्क परेको थिएँ। त्यो खुसी र गर्वमा आधा चाहिँ तपाईँको प्रेम मिसिएको थियो दीपक दाजु। एक पटक कक्षा पाँचमा पढ्ने कान्छो भाइले भन्नासाथ जुन प्रेमले मलाई वाटर कलर पेन्टिङ बक्स ल्याइदिनुभयो, जुन स्नेहले दिनुभयो, त्यो म कसरी बिर्सूँ ?
चित्र बनाउने त्यही सोखले मैले पछि थुप्रै चित्रहरू बनाएँ। बासँग पढ्न दार्जीलिङ गएपछि चित्र बनाउने कामलाई निरन्तरता दिएँ। चार्ट पेपरमा बनाएका चित्रहरूले दार्जीलिङ रकउडको त्यो काठको घरका भित्ताहरू सजिएका थिए। दीपक दाजु, त्यही वाटर कलर पेन्टिङ बक्सका रङहरू चिनेर चित्र बनाउन सिक्ने क्रममा मैले जीवनका रङहरू चिनेँ। जिन्दगीको इमानदार रङ चिनेँ। छलकपटको रङ चिनेँ। आँसु दुःखले मात्र नभई छलले पनि झर्दा रहेछन् भन्ने चिनेँ। तर ती रङहरू चिन्न मलाई धेरै समय लाग्यो। तपाईँले चिनाएका रङले नै मेरा जीवनमा रङ भरिएका छन्।
तपाईँलाई अरू के भनूँ र ? शब्द नै सकिन्छन्। तपाईँको स्नेह र प्रेमलाई शब्दमा नै व्यक्त गर्न कसरी सकूँला र ?
श्री विष्णुले तपाईँलाई काखैमा राखून्। शब्दाञ्जलीका यिनै हार चढाएँ।




Tuesday, September 11, 2018

बा, मलाई क्षमा गर्नुहोस् है!


 २०७५ भाद्र  २५ सोमबार।



हिजो कुशे औँसी थियो। आज भाद्रशुक्ल प्रतिपदा। बुबाको तिथि। बहत्तर सालमा बुबा परलोक हुनुभयो। बासँग गर्न भनी साँचेका थुप्रै कुरा बाँकी थिए। बचपनमा आफूले बालाई दिएको दु:खप्रति माफी माग्नु थियो। बाको स्वास्थ्य स्थिति देख्दा सय वर्ष त सजिलै बाँच्नुहुन्छ जस्तो लागेको थियो। कुरा कसरी गर्ने, कहाँबाट सुरु गर्ने योजना बनाइरहेकै थिएँ। बालाई पीर पर्न नदिइ आफ्नो पश्चाताप स्वीकार गर्नु थियो। तर मैले यी कुरा गर्नै नपाई दुई महिना थलिएर बा परलोक जानुभयो। मैले गर्ने भनेका कुरा बाँकी नै रहे। मैले माफी माग्न पाइनँ। 'तपाईँको सन्तानका रूपमा जन्मिएर कृतकृत्य भयौँ' भन्नै पाइनँ।


परलोक हुनुभन्दा करिब एक वर्ष अघिदेखि बा आफूलाई छोराछोरीले केके गर्दा खुसी लाग्यो र केके गर्दा कृतज्ञ छु भन्ने कुरा सुनाउन थाल्नु भएको थियो।  मैले उहाँको खुट्टा भाँचिएर उपचार गराउन इटहरीमा राख्दा उहाँलाई समय कटनी हुन्छ भनी बाबा रामदेवले सिकाएका आसन र प्राणायमहरूको सिडि बजाइदिने गरेको थिएँ। उहिले बनारसमा पढ्दैदेखि बा आसन/प्राणायाम गर्नुहुन्थ्यो। उहाँको ज्ञानको स्रोत संस्कृतका पतञ्जलि योगसूत्रदेखिए लिएर आरोग्य-प्रकाश र गीता प्रेस गोरखपुरका प्रकाशनहरू थिए; विशेषगरि कल्याण मासिक पत्रिका। कल्याणका वार्षिक विशेषाङ्कहरू पनि उहाँ नछुटाई हेर्नुहुन्थ्यो। त्यस सिडिमा रामदेवले अन्त्यन्त सरल किसिमले योग र प्राणायाम सिकाएका थिए, साथसाथै कुन रोगका लागि कस्तो आसन वा प्राणायाम गर्नु पर्ने पनि विस्तारसँग बताएका थिए। बालाई सो सिडि साह्रै मन परेको रहेछ र पछि बारम्बार भन्न थाल्नु भएको थियो - "म कान्छा छोराप्रति दुई कुराका लागि कृतज्ञ छु : पहिलो - मलाई उपचार गर्दा त्यो रामदेवको सिडिसँग परिचित गराएकाले; र दोस्रो - आमालाई खुट्टा भाँचिँदा धरान लगेर उपचार गराएकाले।" मलाई लाग्छ यी दुवै कुरा बाबु छोरासँग कृतज्ञ हुनुपर्ने कुरै होइनन्। यी त छोराछोरीका कर्तव्य हुन्। मैले त आफ्नो क्षमताले भ्याएसम्मको कर्तव्य न गरेको हुँ। म बालाई त्यसो भन्न खोज्थेँ। भन्थेँ पनि। तर बा फेरि केही बेरमा त्यही कुरा गर्न थाल्नुहुन्थ्यो। मलाई भने लज्जाबोध हुन्थ्यो र सम्झिल्याउँदा अझै पनि त्यस्तै हुन्छ।

बा आयुर्वेदिक उपचार पद्धतिमा असाध्यै विश्वास गर्नुहुन्थ्यो। जीवनभरि अत्यावश्यक हुँदा बाहेक कलिल्यै एलोप्याथिक औषधि लिनु भएन। आफ्नो बिमारीका लागि सकेसम्म पुस्तकहरू अध्ययन गरेर, कविराजकहाँ गएर, भेट गरेर नभए सोधेर आयुर्वेदिक उपचार मात्र गर्नुहुन्थ्यो। बाका कोठामा अहिले पनि तिनै आयुर्वेदीय औषधिहरूको जीवनदायिनी सुगन्ध आउँछ। पहरेजमा बसेर, शरीरलाई आवश्यक न्यूनतम खानेकुरा खाएर सधैँ खुसी रहने र अध्ययन गरिरहने बाको बानी थियो।  मानिसले बाँच्नका लागि आवश्यक मात्र खानुपर्छ भन्ने सिद्धान्तलाई उहाँले अक्षरश: पालना गर्नु भएको थियो। शल्यक्रियाजस्ता जटिल आधुनिक प्रक्रियाका लागि मात्र उहाँ आधुनिक चिकित्सा पद्धति अँगाल्न तयार हुनुहुन्थ्यो। त्यो पनि केही उपाय नलाग्दा मात्रै।

बामा दु:ख र पीडा लुकाउन सक्ने अद्भूत क्षमता थियो। कहिल्यै बिचरा हुनु भएन। माघेमा हुँदा लडेर गोलीगाँठाको जोड्नी खुस्किए पछि मैले उहाँलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेँ। त्यहाँ हप्तादिन जति बसेर अपरेसन गरी स्टिल इम्प्लान्ट राखेर करिब एक महिनामा पछि आउनुपर्ने भयो। यस अवधिमा कति ओहोर दोहोर गरिरहनु भन्ने लागेकाले मैले बुबालाई इटहरी पचरुखीस्थित आफ्नै डेरामा राखेँ। प्लास्टर गरेको खुट्टा तन्काएर सुतिरहनुपर्दा कति पीडा भयो होला, कहिल्यै भन्नु भएन। म दिनका दिन स्कुल गएर आउँदा बेलुकी बुबालाई सधैँ हाँसिरहेकै पाउँथे। दिसा-पिसाब गराउँदा हतेर्दै लानु पर्ने, धुन सहयोग गर्नुपर्ने हुँदा, हरेक पटक उहाँका अनुहारमा कृतज्ञताका भाव देख्थेँ। कैयन् पटक आफू बिरामी भएकाले छोराले दु:ख पायो भन्ने किसिमको भाव अनुहारमा मैले देखेको छु। अझ यतिबेलाको एउटा घटनाले बाप्रति श्रद्धा भाव अझ बढेर आउँछ। खुट्टाको अपरेसनको पीडाले गर्दा तिघ्राका कापमा बाघे निस्किएको रहेछ। त्यस्तो बाघे त्यसै पनि पीडादायी हुन्छ, अझ प्लास्टर गरेको खुट्टाको पीडा त छँदैछ। करिब एक महिना इटहरी बसुन्जेल बाले कहिल्यै बाघे निस्केको कुरा गर्नुभएन। आफूलाई असाध्यै पीडा भएर कोल्टे फेरिरहेको, छटपटि गरेको कुरा पनि सुनाउनु भएन। पछि बाघे आफैँ जाति भयो रे। यो कुरा मैले त्यहीबेला चाल पाएको भए, डाक्टरकहाँ लैजान्थेँ, उपचार हुन्थ्यो, बाको पीडा कम हुन्थ्यो। तर उहाँले यो कुरा धेरै पछिमात्र सुनाउनु भयो त्यो पनि मलाई हैन, आमालाई। आमाले किन नभनेको भनी सोध्दा, छोरालाई त्यसै पनि पीर परेको छ, कति पीर थप्नु, कति खर्च थोपर्नु भन्नु भएको थियो रे। बा अब म तपाईँलाई के भनूँ ? कसरी भनूँ ? कतै यसरी पनि प्रेम गर्छन् त आफ्ना छोराछोरीलाई ?

बाले छोराछोरीको पढाईका लागि के पो गर्नु भएन र ? दार्जीलिङ बस्दाखेरिका कुरा म अहिले झल्झली सम्झन्छु। बाको पछि लाग्दै म पनि बजार जान्थेँ। चोकबजारको सब्जी मन्डीमा सब्जी किनिसकेपछि हामी मोहम्मद गल्लीमा छिर्थ्यौँ। मधुर मिलन मिष्ठान्न भण्डारमा पसेर कहिले सिङ्गडा खान्थ्यौँ, कहिले लाल मोहन खान्थ्यौँ, कहिले जुलेबी खान्थ्यौँ। कहिले त्यही गल्लीमा किनेको तात्तातो भुटेको चना सोलीमा किनिदिनुहुन्थ्यो। म तातो चना चबाउँदै बाका पछि लाग्थेँ। त्यही मोहम्मद गल्लीको सेकेन्ड ह्यान्ड पुस्तक र पत्रिका पसलमा गएर अलमलिन बालेनै सिकाउनु भएको थियो।  बा भने कहिले सब्जीका, कहिले चामलका, कहिले काठ-कोइलाका, कहिले पत्थर कोइलाका झोला बोकेर अघिअघि हिँड्नुहुन्थ्यो र मलाई दिनु बोक्न दिनु भएका पत्रिका च्पाप्दै म पछि लाग्थेँ। मैले कैयन् पटक बालाई म झोला बोक्छु भनी मागेको पनि छु, अनुरोध गरेको छु तर जहिले पनि 'तँ नाथे के बोक्छस्, मै बोक्छु' भन्नुहुन्थ्यो। म दुब्लो पातलो र कमजोर थिएँ। स्वास्थ्य बिग्रिरहन्थ्यो। यस्तो लिखुरे छोरालाई कसरी बोकाउनु भन्ने लाग्थ्यो होला उहाँलाई। पछि पनि आफ्नो झोला कहिल्यै मलाई बोकाउनु भएन। आफ्नो भारी सकुन्जेल आफैँ बोक्नुहुन्थ्यो।  बाको यस्तो स्नेह प्राप्त गर्ने विरलै भाग्यमानीमा म पर्छु।

पढ्ने विद्यार्थीलाई काम लगाउनु हुँदैन भन्ने सिद्धान्त बाको थियो। सानीमा कहिलेकाहीँ माइत गएका बेला भात पकाउने देखि लिएर भान्साको सरसफाई र भाँडा मस्काउने काम पनि आफैँ गर्नुहुन्थ्यो। अलिक पछि म स्नातक पढ्न थालेपछि मलाई साह्रै लज्जाबोध भयो र एकदुई पटक मैले भाँडा मस्काउने कोसिस पनि गरेँ। तर त्यतिबेला पनि भाँडाकुँडा छुन दिँदै दिनु भएन। म कोठामा बसेर मन गह्रौँ बनाएर पढिरहन्थेँ, उता बा भान्सामा जुठा भाँडा मस्काइरहनुहुन्थ्यो। यो प्रेम र स्नेहका लागि बालाई मैले के नै पो दिन सकेँ र ? पितृऋण कहिल्यै चुकाउन सकिँदैन भन्छन् विद्वानहरू, हो जस्तै लाग्छ, मन गह्रौँ हुन्छ।

आफूले गरेका केही गल्तीहरूका लागि बासँग माफी माग्नु छ। मैले बाको जीवनकालमै माफी माग्छु भनेर योजना मात्र बनाइ रहेँ। तर ईश्वरले मेरो योजना पूरा गर्न बाको उमेर ९२ वर्षबाट माथि जान दिएनन्। बाको आयु कम्तीमा सय वर्ष हुन्छ भन्ने मेरो अनुमानले काम गरेन। मैले बासँग माफी माग्नै पर्ने तीनवटा प्रमुख घटना छन् :

१.  म कक्षा नौमा पढ्थेँ। बाले पढाउने स्कुल गभर्नमेन्ट हाइ स्कुलमै पढ्थेँ। अझ नेपाली विषयमा त बाकै विद्यार्थी पनि थिएँ। दार्जीलिङमा सानीमाको सङ्गतले छपक्कै उतै पट्टिको भएको थिएँ। अर्थात् सानीमा कुरा नकाट्ने भैसकेको थिएँ। सानीमाले आफूलाई 'दु:ख' पाएकी 'अबला' नारीका रूपमा चित्रित गर्नुभएको थियो। मलाई पनि विश्वस्त पार्नु भएको थियो। उहाँका हरेक कुरा मलाई सही लाग्थे। सानीमाका नजरमा बाले उहाँलाई झुक्क्याएर बिहे गर्नु ठूलो अपराध थियो। सानीमाका माइतीमा हजुर्बा, हजुर्आमा, मामा, सानीमा सबै त्यसै भन्थे। झुक्क्याएको कुराको बेली विस्तार लाउँथेँ। म पत्याउँथे र बालाई अलिक अर्को नजरले हेर्न थालिसकेको थिएँ। सानीमाको माइत मेरो माओल बनेको थियो। माओलीको लोलोपोतोमा म डुबेको थिएँ। त्यस वर्षको तीजमा सानीमा माइती टिस्टा बजार गएपछि दसैँसम्म उतै बस्ने चिट्ठी आयो।  फोन दुर्लभ थियो र सञ्चारको माध्मय चिट्ठी नै थियो। चिट्ठीमा मलाई जसरी भए पनि दसैँमा टिस्टा पठाइदिनु भन्ने उर्दी उहाँको थियो। बाले इमानदारीका साथ सो चिट्ठी मलाई देखाउनुभयो। सानीमाको 'डक्ट्रिन'ले पूरापूर प्रभावित भएको मलाई टिस्टै जान मन लाग्यो। बासँग 'म टिस्टै जान्छु नि त' पनि भनेँ। तर बाले पोहोर पनि टिस्टा गएको यसपाली घर(इलाम) जानुपर्छ भन्नु भयो। बाको कुरा ठीक थियो। सानीमा र उहाँको माइतीले मलाई 'आफ्नो' बनाइसकेकाले बाको कुरा मलाई  मन परेन। म तर्क गरेर बासँग जित्न पनि सक्तिनथेँ। के उपायले टिस्टा जाऊँ त भन्ने लागिरहँदा, भागेर जाने निर्णयमा पुगेँ। त्यसताका बा बेलुकी सधैँजसो पण्डितनी आमैकहाँ गफ गर्न जानु हुन्थ्यो। म घरमा बसेर पढिरहन्थेँ। कहिले पढ्दापढ्दै निदाउँथे पनि। कहिले बा फर्केर आउँदा निदाएकाले ढोका खोल्न गाह्रो हुन्थ्यो। सायद त्यो दिन षष्ठी थियो - बेलुकीको खाना खाइसकेपछि सधैँझैँ बा पण्डितनी आमैकहाँ जान तयार हुनु भयो। यही मौका छोपेर मैले भनेँ - "बा, बाहिरबाट ताला लगाएर जानु है। म निदाउन सक्छु, ढोका खोल्न गाह्रो हुन्छ।" बाले केही प्रतिवाद नगरी 'हुन्छ, अलिक पढेर सुत्लास्' भनी बाहिरबाट ताला लगाएर जानु भयो। बा गएको करिब आधा घण्टापछि म पछाडिको ढोकाबाट बाहिर निस्केँ। सिँढी ओर्लँदै तल्लो घरकी आन्टीको घरमा गएँ। उहाँलाई आफूलाई टिस्टा जान मन लागेकाले र बाले माघे लाने भएकाले भाग्नु परेको बताएँ। रातभरि सुत्न दिन र बालाई केही नभन्न पनि अनुरोध गरेँ। सानीमासँग सधैँ बसाउठा गर्ने तल्लो घरकी आन्टी(सानीमाले दिदी साइनु लगाएकी)ले नमान्ने कुरै थिएन। ढोका खोलेर सुत्ने खाट देखाइदिइन्। गएर सुतेँ। मुटुको चाल तीब्र भएको थियो। निदाउन सक्छु जस्तो लागेको थिएन। तर एकछिन पछि निदाएँछु। 

म निदाएपछि बा खोज्न आउनुभएछ। रुन मात्र सक्नुभएको थिएन रे।  'यति राति कहाँ गयो कता खोज्न जाऊँ ?' भन्दै उकालो लाग्नुभएको थियो रे। भोलिपल्ट मैले चाल पाएँ। एक मन त तुरुन्तै दौडेर गई गोडामा ढोगी माफी मागौँ भन्ने पनि लागेको हो। तर फेरि टिस्टाको निम्ताले मन जित्यो नराम्रो लाग्दालाग्दै पनि म बाछेउ जान सकिनँ। छोरो राति सुतेका ठाउँबाट हिँडेको थियो। कति छटपटिनु भयो होला ? हृदयमा कस्ता भाव आए होलान् ? कति दिनसम्म निदाउन सक्नु भएन होला ? भागेर पक्कै टिस्टा गयो भन्ने त लाग्यो नै होला। त्यस्तै भगौडे छोराको पीडा बोकेर घर जाँदा आमाले के भन्नुभयो होला। ती दिन सम्झिँदा मन अहिले पनि उदास हुन्छ, हृदयमा 'हुक' उठ्छ। नगर्ने काम गरेझैँ लाग्छ। यता आमाले दसैँमा त कान्छो छोरा आउँछ र मुख देख्न पाउँछु भनी गरेको प्रतिक्षा पनि व्यर्थै भयो। मैले बासँगसँगै आमालाई पनि पीडा दिएको थिएँ। पक्कै ती मेरा कुप्रयासहरू थिए। तिनका लागि बासँग माफी माग्नु थियो। भन्नु थियो - 'बा, मैले दार्जीलिङमा राति भागेर जुन पीडा तपाईँलाई दिएँ, त्यसका लागि क्षमा गर्नुहोस्।' तर मैले बासामु त्यसो भन्ने मौकै पाइनँ। बा रिसाउनुभयो वा मैले ढिलो गरेँ। अहिले म बासँग क्षमा मागी रहन्छु। तर बाले मलाई क्षमा दिएको मैले कसरी थाहा पाउने ?

२. २०४५ सालको कुनै महिनाको कुनै गते। ठ्याक्कै सम्झन्नँ। दार्जीलिङको रकउडमा बनाएको घर बेचेको दिन। दार्जीलिङमा गोर्खाल्यान्डको आन्दोलन चरम सीममा पुगेको समय थियो त्यो। त्यहाँ बस्न नसक्ने भएकाले घर बेच्ने निर्णयमा पुगेका थियौँ हामी सबैजना। घर किन्ने मानिस थिए धुलाबारी मोडमा किराना दोकान गर्ने महेश घिमिरेका आफन्त। महेशका भाइको घर दार्जीलिङको हाम्रो घरदेखि ठीक मन्तिर थियो। उनी मार्फत नै खरीदकर्तासँग सम्पर्क भएको थियो। उनी अलिक मोटा र हँसिला थिए। सानीमाका कुरामा उनी पनि विश्वस्त थिए। आफ्ना 'दु:खडा' सुनाएर सानीमाले प्राय: सबै छरछिमेकीलाई आफ्नो पक्षमा पारीसक्नुभएको थियो। उनीसहित घर किन्ने मानिनसले घरको मूल्य बाको हातमा नदिएर सानीमा हातमा दिने निधो गरेका रहेछन्, वा सानीमाले त्यस्तो व्यवस्था मिलाउनु भएको थियो। कचहरीमा घर-जग्गा पास गरेर आइपुगेपछि, दार्जीलिङ चोकबजारको एकजना मारवाडीको दोकानमा पैसाको लेनदेन भयो। पण्डितनी आमैले किस्ताबन्दीमा दिएको चार पोल भिरालो जग्गामा कति हो कति दु:ख झेलेर बाले बनाएको सानो काठको घर थियो त्यो। घरको जम्मा मूल्य किन्नेले भा.रू. ४५,०००/- सानीमाका हातमा राखिदिए। सानीमाले थपक्क त्यो पैसा लिएर गन्दा पनि नगनी ब्यागमा हाल्नुभयो। बाले भन्नुभयो - 'खै त्यो पैसा यता ल्याऊ।" सानीमाको जबाफ रूखो थियो - "म सिलिगुढीको स्टेट बैङ्कमा राख्छु।" बाले 'म पनि त पैसा खेर फाल्दिनँ, कति योजना छन् मेरा, तिमीहरूकै  लागि यत्रो दु:ख गरेर घर बनाएँ, अहिले मेरो हातमा एकै पैसा नपर्नु ?' भन्दा पनि सानीमाले मान्नु भएन। मैले स्नातक पढिसिध्याएको थिएँ तर मेरो बुद्धि सानीमाको 'डक्ट्रिन'ले 'इन्डक्ट्रिनेटेड' थियो। मैले यी सबै क्रियाकलाप मूक दर्शक भएर हेरेँ। बाको कालो र निराश मुख हेरेँ। जीवनमा सबै आशा सकिएको झैँ बाको क्लान्त अनुहार हेरेँ। दु:खका आँसुले भरिएका आँखा हेरेँ। अहिले म सम्झन्छु, बालाई दोस्रो बिहे गरेकामा सबैभन्दा पछुतो त्यसदिन लागेको हुनुपर्छ। निराशाको गर्तमा डुबेका बालाई त्यत्तिकै छाडेर म सानीमासँग हिँडेँ। ती घिमिरे दाइ पनि निस्किए। बाहिर निस्केपछि उनले हाँस्दै भने - "अब बूढा बासँग तपाईँहरूको सम्बन्ध रहेन।" मैले फनक्क फर्केर उनको दाँत झर्नेगरि मुखमा हिर्काउनु पर्नेथियो। सानीमाको हातबाट ब्याग खोसेर बालाई लगेर पैसा दिनुथियो। तर मैले त्यसो गरिनँ। मैले अपराध गरेँ बा। तपाईँलाई अपमान र तिरस्कारबाट जोगाउन सकिनँ। मलाई क्षमा गर्नुहोस् बा।

३. म कक्षा नौको विद्यार्थी भएको थिएँ। कक्षा आठमा पहिलो भएर कक्षा नौमा पुग्दा बा असाध्यै खुसी हुनु भएको थियो। आफ्ना छोराछोरीले प्रगति गरेको कुन बाबुआमालाई मन पर्दैन र ? छोराले राम्रो पढेकाले बाका मनमा अब छोरालाई राम्रै पढाउनुपर्छ भन्ने लागेको थियो होला। रकउडको त्यही घरमा आफ्नो कोठामा बोलाएर भन्नुभयो - "हेर् छोरा, तैँले पढाइमा पारा ल्याउँछस् जस्तो लाग्यो। अब राम्रो पढेर आयुर्वेदाचार्य बन्नु पर्छ। आयुर्वेदको विशेषज्ञ। राम्रो पढेर साइन्समा इन्टरमेडिएट पास गर्। त्यसपछि बनारस वा दिल्लीमा आयुर्वेद पढ्न जानुपर्छ। तर त्यसको पढाइ संस्कृतमा हुन्छ। अहिलेदेखि अलिअलि पढिस् भने त्यसबेला सम्म तँ संस्कृत जान्ने भैसक्छस्।ल अब टुप्पी कसेर पढ्ने।" यति भनी सकेर एउटा पुस्तक दिनुभयो। पुस्तकमात्र हैन, पुस्तकमा कहाँबाट पढ्न सुरु गर्ने भनेर चिनो लगाइवरी दिनुभयो। म पनि फुरुक्क पर्दै किताब बोकेर आफ्नो कोठातिर लागेँ। त्यसदिन त पहिलो भएको ह्याङ्गओभर र दिवास्वप्न देख्तै बित्यो। अर्को दिन बाले चिनो लगाएर दिएको ठाउँ पल्टाएँ। नामका तीन वचन(एकवचन, द्विवचन र बहुवचन) र सातवटा विभक्ति(प्रथमा, द्वितिया, तृतिया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी)मा हुने रूपहरूको तालिका रहेछ। पहिलो पानामा 'राम' शब्दका रूपहरू रहेछन् - राम:, रामौ, रामा:, .....। अनि अर्कोमा 'गज' । त्यस्तै... अर्कोमा.....त्यस्तै... अर्कोमा।  एकदुई वटा भएता पढ्थेँ पनि हुँला तर मैले ती पृष्ठका पृष्ठ तालिका पढेर याद गर्ने आँट गरिनँ। आफ्नो कोर्सका कुरा पढ्दै गएँ। पछि बाले पनि सायद बिर्सिनुभयो होला। कुरा उठेन। अहिले यस उमेरमा आएर पूर्वीय दर्शन र संस्कृतको महत्त्व बुझेपछि मैले ठूलो मौका गुमाएँछु जस्तो लागिरहेछ। संस्कृत साहित्यका मनिषी आफ्नै घरमा हुँदा उहाँको शिक्षाबाट वञ्चित हुनु, मेरो दुर्भाग्य रह्यो। पछुतो छ। बासँग क्षमा मागेर फेरि संस्कृत पढ्न सुरु गर्ने इच्छा थियो। तर यो पनि अधुरै रह्यो। अहिले बालाई यति मात्र भन्न सक्छु - "बा, मलाई क्षमा दिनुहोस् है।"

बा, मलाई क्षमा गर्नुहोस् है !

---


Saturday, June 23, 2018

फुटबल सपना


माहौल विश्वकपमय भएको छ। चोक, बजार, चियापसल, गाडी, पार्क, बैङ्कमा लाइन लागेका मान्छे विश्वकपकै कुरा गरिरहेका हुन्छन्। कतिपय त आफ्नो प्रिय टिमको जर्सी नै लगाएर बजार घुम्न निस्केका देखिन्छन्। राति हरेक घरबाट होहल्ला सुनिन्छ। अर्जेन्टिनालाई जिताउन पूजाआजा गरेर हाम्रा देवताहरूलाई नै भ्रममा पार्न पनि भ्याएका छन्। अझ गोल भयो भने त आवाजले चन्द्रमा छुन खोज्छ। नेपाल विश्वकपमय भएको छ।

मैले फुटबल खेल्न थाल्दा विश्व कप के हो सुनेको पनि थिएन। विश्वमा त्यस्ता खेल पनि खेलिन्छन्, प्रत्यक्ष देख्न पाइन्छ, आफ्नो टिमले जित्दा उफ्रेर छानै छेड्न पाइन्छ भन्ने कुराहरू मनको अन्तरकुन्तरमा पनि थिएन। किनकि रेडियोदेखि पर्तिर कल्पना आएको पनि थिएन। देख्तादेख्तै टिभी आयो, ब्ल्याक-एन्ड-ह्वाइट, अनि कलर। क्याथोड रे ट्युबवाला कलर टिभीको उमेर पनि धेरै रहेन। ५१ सालको विश्वकप त्यस्तै टिभीमा हेरियो काठमाडौँमा। हुँदाहुँदा अब एलसिडि पनि पछाडि परेर एलइडिका पर्दामा विश्वकप हेर्न पाइएको छ। अझ मोबाइलमै, ल्यापटपमै हेर्न पाइएको छ। ए विषयान्तर भएझैँ भो।

थोत्रे मोजामा झत्ता खाँदेर खेलिन्थ्यो पहिले। तर झत्ता भेटिए पनि मोजा दुर्लभ नै हुन्थे। मोजाको गोली लात्तिले हान्नु नै फुटबल थियो। गोलपोस्ट बनायो, दुईचार भाइ भेला भयो अनि हान्यो। फुटबल कसरी खेलिन्छ, केही थाहापत्तो थिएन। एकमात्र उद्देश्य साथीबाट खोसेर गोल छिराउने हुन्थ्यो।

अलिक ठूलो भएपछि गाउँघरका साथीभाइ मिलेर पैसा उठाई फुटबल किन्ने भैयो। किपर, ब्याक, फर्वर्ड आदि के हुन् भन्ने पनि जानिँदै गइयो। खेल मैदान थियो विशाल(त्यस बेला त्यस्तै लाग्थ्यो, पछि एक पटक चन्द्र ग्राउन्ड गएपछि र करफोकको मैदान डोजरले बनाएपछि मात्र ठूला ग्राउन्ड हुँदारहेछन् भन्ने थाहा पाएको) श्री भवानी प्रा.वि. माघेको खेल मैदान। दुई पट्टि अग्लाअग्ला बाँसका गोलपोस्ट। जति पटक उफ्रिँदा पनि नभेटिने। चारैतिर डाँडाहरू र डाँडाका भित्ता ग्राउन्डका सीमाना।

पहिलो पटकको फुटबल फिक्कल गएर किनेको थियो कसैले, अहिले नाम सम्झना रहेन। तर त्यो सानो एक नम्बरको छालाको फुटबल थियो। त्यस बेला पाइने फुटबलमा फुटबल अलग्गै र भित्रको ब्लडर अलग्गै आउँथ्यो। गोलो फुटबलको एक ठाउँमा चिरेर ब्लडर छिराउने ठाउँ बनाइएको हुन्थ्यो चिराका दुई तिर लेस बाध्ने जुत्ताझैँ प्वाल हुन्थे जहाँ लेस छिराएर फुटबल कस्नु पर्थ्यो। फुटबलको ब्लडरमा एउटा लामो टुटी हुन्थ्यो जसबाट हावा हालिन्थ्यो। ब्लडरलाई फुटबल भित्र घुसारी हावा हालीसकेर टुटी बीचमा दोबारी बाँध्नु पर्ने र लेसले कस्नु पर्ने। टुटी राम्ररी दोबारेन भने हावा निस्किने। यो अलिक गाह्रै काम भएकाले हामी ठूलाहरूको सहयोग लिन्थ्यौँ। हामी फुच्चेहरूको टोलीमा केही ठूला मानिस पनि थिए, माथ्लाघर दामोदर निरौला(करफोकका हेडसर, नाताले भतिज)कहाँ बस्ने सूब्बा जेठा र माइला । तर मोजे फुटबल खेलेका केटालाई साँच्चैको फुटबल पाउँदा त के भो के भो। कति रमाइलो गरी कति म्याच खेलिए, कति गोल छिराइए, वा बललाई खुट्टैले छुन पाएन की ! तर जे होस्, कहिलेकाहीँ ठूला केटाहरूको हैकम खेपेरै भए पनि टिममा घुस्न चाहिँ पाइन्थ्यो। फुटबल छुनै नपाई खेलमैदानमा यताउति दौडिएको दौडियै गर्दा पनि आनन्द नै आउँथ्यो।

हामी कर्नर पनि हान्थ्यौँ, पेनाल्टी पनि हान्थ्यौँ। फुटबल मैदानमा रेखाङ्कन चाहिँ भाटाले कोरेर गरिन्थ्यो। चारैतिर डाँडाका भित्ता भएकाले गोली बाहिर जाने समस्या हुन्नथ्यो र ग्राउन्डको सीमाना पनि कोर्नु नपर्ने। फुटबलको बुट त देखेको धेरै पछि मात्र। जति खेलियो खाली खुट्टाले खेलियो।

केही समयपछि फुटलबलको नम्बरमा बढोत्तरी भई चार नम्बरमा पुगियो। चार नम्बरको फुटबल किन्नेमा सूब्बा जेठा र माइला पनि थिए। एक पटक यस्तै चार नम्बरको फुटबल खेलमा मस्त थियौँ। सेतो फुटबल थियो तर केही मैलिएको। कसैले गोल हान्दा फुटबल बाँसको पोल काटेर मास्तिरको मकैबारीमा गयो। म सायद त्यही टिममा ब्याक बसेको थिएँ, फुटबल लिन दौडिएँ। कान्लामाथि उक्लेर बल लिएर आएँ र खेल फेरि सुरु भयो। तर एकैछिनमा सूब्बा जेठा कड्किए - "यो कल्ले बिगाऱ्यो हाँ फुटबल ! अस्ति त किनेको कसरी थोत्रियो ?" यदि भनेर खेल हुँदाहुँदै फुटबल समाते भुइँमा राखे र दाहिने हातको मुड्किले बजारे। यसपछि मात्र मैले त्यस फुटबललाई ध्यान दिएर हेरेँ । फुटबल फुत्त उफ्रियो र भुइँमा झऱ्यो। ब्लडर खाद्ने दूलो च्यादिएर ठूलो भएको रहेछ र आधा ब्लडर बाहिर निस्केको रहेछ। मैले फुटबल ल्याउँदा केही हेर्दै नहेरी जुन देखेको थिएँ त्यही ल्याएको थिएँ। यो हामीले अघि खेलेको फुटबल छँदै थिएन।

मलाई सूब्बा दाइदेखि असाध्ये डर लाग्यो। किनकि मकैबारीमा फुटबल लिन मै गएको थिएँ। गर्न त मैले केही गरेको थिइनँ र पनि कति हो कति डर लाग्यो। फेरि मकै बारीमा गएर खोज्ने सुद्धि पनि आएन। ककसले केके भने, केके गरे त्यो पनि चाल पाइनँ। घर चाहिँ पक्कै गइएछ।

यो हाम्रो फुटबल ग्याङ्गमा सूब्बा जेठा, सूब्बा माइला, जितबहादुर राई, कुमार दर्जी, राम दर्जी, जीवन भट्टराई, हरिकृष्ण निरौला, केदार शर्मा, भरत अधिकारी, रूपनारायण आचार्य, अनन्त भट्टराई, थीरप्रसाद ढकाल आदि थियौँ।(कसैको नाम छुटेमा वा बढी भएमा, सम्बन्धित पाठकले कमेन्टमा गई सच्चाउन सक्ने जानकारी यहाँ गराइन्छ।)

यो घटनापछि फेरि त्यही ग्राउन्डमा फुटबल खेलेको थाहा छैन। करफोक विद्यामन्दिरमा कक्षा ४,५ र ६ पढ्दा पूर्व-व्यावसायिकले यति धेरै तान्यो कि फुटबलतिर ध्यानै गएन।

कक्षा ७ मा दार्जीलिङ गएपछि भने फुटबल खेल्ने सुशुप्त इच्छा कतै चलमलाएजस्तो गऱ्यो। अनि टिफिनमा लुसुक्क फुटबल खेल्न एउटा टिममा छिर्न थालेँ। एक दिन सुट हान्दा दाहिने खुट्टाको बूढी औँलो बिरामी भयो। घर आएपछि बालाई देखाउनु पऱ्यो नै। माया गर्नु हुन्छ कि भनेको बा त गर्जिनु पो भयो - "खबरदार फुटबल खेल्लास्। हातगोडा भाँच्चिएलान्।" अनि मनको कुनामा बसेको पेले बन्ने सपना उम्रिन नपाउँदै मऱ्यो।

अचेल आफूलाई खेलाडीमा भर्चुअल्ली रूपान्तरित गरेर फुटबल खेल्छु। मज्जा आउँछ। यसो गर्दा विश्वकप नि खेल्न पाइन्छ। जित्न पनि पाइन्छ, हार्न पनि पाइन्छ।
***

Monday, June 18, 2018

हृदयभरिको श्रद्धासुमन डा. देवकोटा


विश्वकप फुटबलले मन अल्मलिएको थियो। बडो विचित्रको मनस्थितिमाझ सामाजिक सञ्जालमा प्रवेश गर्दा साह्रै दुःखलाग्दो समाचार देख्नु पऱ्यो। डा. उपेन्द्र देवकोटा रहनुभएन। भनौँ उहाँको पार्थिव देह हामीमाझ रहेन। श्रद्धाञ्जली मात्रै दिन सक्यौँ हामीले, जीवन दिने र लिने त ईश्वर न हो।

तपाईँका अनुभवहरू 'देश सञ्चार' मार्फत पढ्दै थियौँ। कति अनुभव पढ्नै भ्याएका छैनौँ, तर जति पढ्यौँ त्यतित्यति तपाईँमाथि श्रद्धा बढेर गयो। तपाईँका स्कूले जीवनका जीवन्त अनुभवले कहिलेकाहीँ मनलाई तीतो पनि बनायो, कहिलेकाहीँ मीठो पनि बनायो। सङ्घर्षका गाथाले कति धेरै उर्जा दिए।  

तपाईँको निगुरो मोह 'कान्तिपुर'मा पढेपछि, बजारमा निगुरो देख्तै तपाईँलाई सम्झिने भयौँ। निगुरो हामीलाई पनि असाध्यै मीठो लाग्छ डा. देवकोटा। तर आजकल निगुरोमा युरिया हाल्छन् रे। जङ्गलमा घेरेर राखेका निगुरो बारी हुन्छन् रे। त्यहाँ मल छर्छन् रे। अनि टिपेपछि नओइलाओस् भनेर पानीमा युरिया मिलाई छर्किन्छन् रे। हो देवकोटा तरकारीको गाँसैपिच्छे विषादी र रासायनिक मल खान बानी परेका छौँ हामी। लेख पढेपछि लाग्यो कतिपटक त तपाईँले पनि त्यस्तै निगुरो खानु भयो होला। तपाईँका तिर त अझ न्युरो भन्दारहेछन्। न्युरो सर्जनलाई मन पर्ने तरकारी न्युरो। अब त यही कुरा पनि बिझाउन थाल्यो। तपाईँले अब न्युरोको स्वाद कसरी लिनुहोला ? अब हामीले नै कसरी न्युरोको तरकारी निल्न सकौँला !

१७/१८ घण्टासम्म शल्यक्रियाको टेबलछेउ उभिएर मानवका सबैभन्दा जटिल तन्तुहरूलाई ठीक बनाउँदै गर्दा तपाईँका आफ्नै तन्तु कति दुखे होलान्। तपाईँले भन्नु भएको रहेछ, स्कुले जीवनमा समयमा खान नपाएकाले/नमिलेकाले लामो समय नखाई बस्न सक्ने 'सहनशक्ति(एन्ड्युरेन्स)' प्राप्त भएको हो। हामी जाबो चार घण्टा भोको बस्न नसक्ने(नचाहने?)ले तपाईँको त्यो विलक्षण क्षमता कसरी पो देख्नु र ! तर त्यही विलक्षण क्षमताका कारण तपाईँ डा. उपेन्द्र देवकोटा बन्नुभयो। करोडौँ नेपालीका मनमा बस्नुभयो। अरू कोही भए, आफ्नो क्षमताको अहम् देखाउँथे होलान् तर तपाईँले त त्यही गाउँले दिएको क्षमता देखाउनुभयो। यो तपाईँको महानता हो डा. देवकोटा।

तपाईँले भन्नुभएको रहेछ - जे काम गर्दा पनि भित्तो छेड्नेगरि गर्नुपर्छ। यो उक्तिलाई आफ्नो जीवनको जीवनरेखा बनाउन सके धेरै नेपालीले उन्नति गर्थे भन्ने लाग्छ। तपाईँले जे गर्नुभयो भित्तै छेडेर गर्नुभयो। भित्तो नछेडी, त्यो स्तरको ज्ञान, कौशल, मानवता, देशप्रेम कहाँबाट आउँथ्यो र ? हामी आफ्नो असफलताको दोष अर्कालाई दिन बानी परिसक्यौँ। कहिलेकाहीँ त लाग्छ यो हाम्रो 'जेनेटिक' विशेषता बनीसक्यो। हामी त भित्तामा एउटा वालकाँटी पनि ठोक्न नसक्ने रहेछौँ, एकातिर ठोकिहेऱ्यो, छिरेन भनेर अर्कातिर ठोकिहेऱ्यो। त्यसरी 'मेडियोक्रिटी'ले भित्तो ठोक्दा ठोक्दै मान्छेको जीवन सकिँदो रहेछ। भित्तो छेडेर अर्कापट्टिको सुन्दर संसारमा पुग्न नपाई हामी नेपालीहरूले जीवन समाप्त पार्नु परेको छ। तपाईँजस्तो विलक्षण मेहनती केही नेपालीहरूले नै यो देशलाई सुन्दर बनाएका छन्। हामी 'मेडियोकर'हरूले तपाईँहरूमाथि गर्व गर्न पाएका छौँ।

तपाईँले युरोपमा भोगेको रङ्गभेदले मन साह्रै अमिल्यायो। पश्चिमका देशहरू लोकतन्त्रको नारा भट्याएर थाक्तैनन्। तर उनीहरूको मनको मैलो लुकेको ठाउँ देख्नै सकिन्नँ। हामी नेपाली ज्यान फालेर अमेरिका जान्छौँ जहाँ पाइला-पाइलामा गोराहरूले 'एसियाली कुकुर' भनेर हेप्छन् । त्यहाँ अझै पनि गैर-गोराहरू त्यति नै प्रताडित छन्। बेलायत आफूलाई सबैभन्दा सभ्य सम्झन्छ तर उसको मनमा भएको मैलो देख्नेमा तपाईँ पनि पर्नुभयो। दुःखद कुरा हो, प्रिय देवकोटा !

तपाईँसामु सशरीर उभिएर एक पटक चरणस्पर्श गर्ने मन थियो। तपाईँको आशीर्वाद लिने मन थियो। अनि अचानक तपाईँको बिरामीको खबर आयो। बिरामी बेलामा भेट्न गएर दुःख थप्न मन लागेन। मनमनै प्रार्थना गरेँ, मन्दिरमा गएर गरेँ। अमर न्यौपानेले भनेझैँ कुनै जादू होस् र तपाईँ स्वस्थ भएको खबर सुन्न पाइयोस् भन्ने लाग्थ्यो। तर त्यसो भएन, जादू भएन। तपाईँ माथि आकाशमा जानुभयो। त्यहाँ तपाईँ जहिल्यै विश्वले देख्ने तारा भएर बस्नु हुनेछ। हामी आजीवन तपाईँलाई हृदयमा राख्नेछौँ। 

तपाईँलाई विष्णु भगवान्ले वैकुण्ठमा आफ्नै काखमा राखून्। हृदयभरिको श्रद्धासुमन।

Monday, May 28, 2018

छोपछाप अर्थात् छताछुल्ल



किताब चैँ गज्जब लेख्नु भएछ हौ लक्ष्मणजी !

 नलुकाई भन्नुपर्दा व्यङ्ग्य मलाई पन पर्ने विधा थिएन। त्यसका पनि कारण छन्। सबैभन्दा प्रमुख त व्यङ्ग्य भनेर लेखिएका रचनाहरूमा हुने भाषिक दीनता। तल्लो स्तरको अभिव्यक्ति, अश्‍लीलता र भद्दा लाग्ने हरफहरूले पढ्नै मन नलाग्ने। अनि पढिहाले पनि हाँस पनि नउठ्ने। भैरव अर्याल पछि लेखिएका व्यङ्ग्यहरू खासै पढिएनछ। यसलाई आफ्नै कमजोरी मान्छु।


साप्ताहिक नेपालमा 'झटारो' स्तम्भका लेखहरू भने यदाकदा रुचिसाथ पढ्ने गर्थेँ। तर त्यही पनि नियमित थिएन। कारण विविध थिए। त्यतातिर नजाऔँ। तिनै स्तम्भकार लक्ष्मण गाम्नागेको व्यङ्ग्य कृति "छोपछाप" पढिसकेपछि भने व्यङ्ग्यका बारेमा मेरो विचारले "युटर्न" लिएको छ। यति राम्ररी व्यङ्ग्य लेखिन सकिँदो रहेछ। आहा !! साँच्चै लोभलाग्ने !!

---

छोपछाप एउटा उच्चस्तरको अभिव्यक्ति भएको व्यङ्ग्यकृति हो। "फुहडपन"बाट कोसौँ टाढा। पढ्दा मज्जा आउने। व्यक्तिगत, जातिगत, क्षेत्रगत, देशगत, ... आक्षेप कहीँ कतै नभएको। हाम्रै परिवेश र विकृतिमाथि ठ्याक्क घनले हिर्काएको। यसरी हिर्काएको कि कहीँ कतै पनि विमति नहुने। खुत..खुत.. गरेर एक्लै हाँस्न मिल्ने(बसमा यात्रा गर्दा र अस्पतालमा बिल तिर्न लाइनमा बस्ता पनि म मान्छेले थाहा पाउने गरि खुत..खुत.. हाँसेको छु। अझ शौचालयमा सम्झिँदै हाँस्तै पनि गरेको छु)। दुईचार जना जम्मा भएर अलल्लिँदै हास्न पनि सकिने। हामी सपरिवार बसेर दुई तीन लाइन पढ्दै हाँसेको हाँस्यै पनि गरेका छौँ। यी हरफहरू लेख्दा पनि हाँसै उठिरहेको छ। अनि नि लक्ष्मणजी, तपाईँ चाहिँ कत्तिको हास्नुहुन्छ नि ?

मोबाइल फोनको नेटवर्कका प्रतापले तपाईँले "जमल"लाई "जङ्गल" सुनेको चाहिँ साह्रै मन पऱ्यो। अझै पनि कहिलेकाहीँ यो "फोरजी" नेटवर्क पनि त्यस्तै त हुन्छ नि। अनि यो घटना सम्झेर तपाईँ र भाउजू हाँस्नुहुन्छ कि हुन्न। मेरो चाहिँ यो हाँस्ने स्थायी साथी बन्यो है अब। भूमिकाको भुमरीमा हाँस्याहाँस्यै हुने भइयो अब।

अनि अधिकारी पधिकारी... अहो...! हामी पनि केटाकेटीमा ठ्याक्तै त्यस्तै त थियौँ। हाम्रामा अलिक भिन्न थिए भन्ने तरिका। जस्तै "अधिकारी पधिकारी पादको भारी, तीन सय जन्तीलाई भोकले मारी।", "अचार्जले अचार कुट्यो पोखरेलले पोख्यो, निरौलाले निहुँ खोज्यो गोतामेले गोद्‌यो।" हाम्रा राई साथीहरू भन्थे - "बाहुन काठा लपलपे, पानीको धारा तपतपे।" हामी भन्थ्यौँ - "राई फाक्चे किरूवा, अलैँचीको बिरूवा।" .. अरू कति हो कति। त्यो कुनै कपट, रिस, राग, विद्वेष, केही पनि नभएको बचपन ठ्याक्कै आँखै अगाडि आयो। कुनै जातिगत गन्ध थिएन, वैर थिएन। हामी सबै अँगालो हालेर यी हरफहरू गाउँदै हिँड्थ्यौ। यति राम्ररी बचपनको हाँसो ल्याइदिएकामा लक्ष्मणजीलाई जति धन्यवाद दिए पनि नपुग्ने भो अब।

अनि नि लक्ष्मणजी मेरा पनि कति हो कति नमस्तेको नास भएको छ। तपाईँकै जस्तै। नमस्ते गर्दा देखिदिएनन् भने लाजले डल्लो परिन्छ। अनुहारै रातोपिरो हुन्छ। तर अचेल चाहिँ म अलिक बाठो भएको छु। धेरै नजिक नगई नमस्ते गर्दिनँ र अलिक शङ्का लाग्यो भने साह्रो "नमस्ते है ....." कराउँछु र देखेपछि मात्र हात जोड्छु। तपाईँलाई पनि यो सुझाव काम लाग्ला कि !

फेरि, मोबाइलमा डल्ला फुटाउने त अचेल कतिले गर्छन् कति। अझ बन्दुकै पढ्काउने, कार रेसमा जित्ने। केके हो केके। मान्छे साह्रै मिहिनेती भएका छन्। हाम्रा एक जना दाजुले "घोप्टे रोग" भन्नुहुन्छ। सबै हातमा त्यै मोबाइल लिएर घोप्टिएको घोप्टियै। अनि घोप्टे रोगको उपचार चाहिँ कुन अस्पतालमा गर्ने, अर्को किताबमा लेखौँ है लक्ष्मणजी।

अब चाहिँ म एक्लै हाँस्छु भन्दिनँ। सबै साथीभाइ, इष्टमित्र, बन्धुबान्धव, देवीदेवता, किन्नरकिन्नरी, भुतभुतनी, पतिपत्नी, दिदीभाइ, दिदीभेना, सालासाली, सासूससुरा, आमाबुबा, काकाकारी, मामामाइजू, फुपूफुपाजू, हजुर्बाहजुर्आमा, जीजुबाजीजुआमा... सबैलाई "छोपछाप" उधिनेर मरीमरी हाँस्ने मौका दिन्छु। 

आखिर म त्यस्तो स्वार्थी कहाँ छु र.... हैन त लक्ष्मणजी !!

---

Monday, May 7, 2018

स्याबास दिनेश ! एक अँगालो शुभकामना !!


"आख्यान लेखन बृहत्तर सत्यमा पुग्नका लागि बुनिने झुटहरूको शृङ्खला हो।" - खालिद हुसेनी

जीवन धेरै कुरा हो र  एकएक वटा जीवन सबैले पाएका हुन्छन्। सबैको जीवन एउटै हो र धेरै अलग पनि हो। यो जीवन शकुन्तला उर्फ सकूसँग पनि हुन्छ, दुष्यन्त उर्फ दुस्सिन्तेसँग पनि हुन्छ। यी दुईका बाल लीलाहरूसँग जीवन झनै मुस्कुराएर बाँच्छ। अनि किशोरवय र वयस्क उमेरका उतारचढावहरूबीच जीवन तछारिएर, चिल्लिएर, उम्लिएर जीवन उम्दा बन्छ। अनि भुस्कलवाको साँडे, वा केटाहरूले मिसलाई अभिवादन गर्न आविष्कार गरेको नयाँ सम्बोधन, वा गाउँमा वस्तु चराउँदा दुस्सिन्तले भनेका कथाहरू, वा सकूले दुस्सिन्तसँग "भरत" माग्दै गरेको लडीबुडी, वा रिसाएर च्याँट्ठिएर गरेका लीलाहरू, वा फडिन्द्रे र सकूको बिहे, वा सकूको पुलिसको जागिर ...., ...., .... नै जीवन्त जीवन हुन्। यी सबै झुटहरूलाई दिनेशले बृहत्तर सत्य खोज्नका लागि बुनेका छन्। "सीमारेखा" सत्यतिर पुऱ्याउने झुटहरूको ताना-बाना हो।

दिनेशका पात्र अभूतपूर्व रूपले सफल छन्। त्यस्तै खलपात्र पनि। सकूले दुस्सिन्तलाई गरेको प्रेमलाई नै हामी पूर्वेलीहरू साँचो अर्थमा प्रेम भन्छौँ। हामीकहाँ प्रेम गर्ने मानिसले आफ्नो प्रेमी वा प्रेमिकामा शारीरिक सुन्दरता वा अन्यान्य विशेष गुण खोज्दैन। हामीकहाँको प्रेममा कुनै सर्त हुँदैन, कुनै स्वार्थ हुँदैन। हाम्रो प्रेम हृदयबाट बग्छ, भलै त्यो हृदयलाई विज्ञानले 'ब्लड पम्पिङ अर्ग्यान' किन नभनोस्। हामी मस्तिष्कले होइन, हृदयले नै प्रेम गर्छौँ।

दुस्सिन्त र सकूसँग देखिएका पात्रहरू अनेक छन्, आफ्नो भूमिकामा ठ्याक्कै मिल्ने। पुलिस पुलिसिया नै देखिन्छ। शिक्षक शिक्षक नै। शिक्षक पात्रका "चरित्र"मा भने विविधता छ। मणिमुकुन्द सइसाप, भावना मिस आदि जीवन्त छन्। बस एक जना "आभा" चाहिँ कतै लुकेकी हुन् कि भनेझैँ लाग्छ।

सुरुवाले नामको पात्रको पुनरागमनले कथामा अत्यन्त रोचक मोड दिन्छ। थोरै भूमिका भएको तर बिर्सिनै नसकिने पात्र बन्छ सुरुवाले।

चिमामान्दा अदिचीले भनेको "डेन्जर अफ सिङ्गल स्टोरी"बाट पुस्तक राम्ररी बचेको छ। दुस्सिन्तेले सकूलाई पहिले बेवफा ठाने पनि पछि सकूका उद्गारले ऊ प्रेमले छताछुल्ल बन्छ। सिक्काका दुई पाटाहरूले बनेको न हो जीवन।

सकूका बा र फणिन्द्रेको खलनायकीले घरीघरी आङ सिरिङ्ग पार्छन्। दुष्ट्याइँमा हदैसम्म पर जानसक्ने क्षमता राख्ने यिनीहरूको प्रस्तुतिकरणले मलाई चाहिँ रिसले दाह्रा किट्ने बनायो।

मलामी गएकाहरूको संवेदनहीन कुराकानीले हामीबीचबाट परानुभूति बिलाएर गएको आभास दिलाउँछन्।

घेराबनी, धनगढी, इटहरी र अन्य स्थानहरूको चित्र कस्तो बनेको छ, त्यो चाहिँ पाठकले उपन्यासै पढेर पत्ता लगाउनु पर्ला ? मैले यो उपन्यासको कथा भनेको हो र ? हैन नि !

स्याबास दिनेश ! एक अँगालो शुभकामना पनि !!



Monday, March 12, 2018

इबरा: सादर नमन


उहिले १९७७ सालको मार्च महिनामा म माघेबाट बुबासँग दार्जीलिङ गई सरकारी माध्यमिक विद्यालयमा कक्षा सातमा भर्ना भएको थिएँ। त्यो साल घटेका केही घटनाहरूले इतिहास निर्माण गरेका छन् र तिनले मेरो मस्तिष्कमा अमिट छाप छोडेका छन्।

त्यही साल भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीका नेता ज्योतिन्द्र बसु पश्चिम बङ्गालका मुख्यमन्त्री भएका थिए। १९७७ देखि बङ्गालको सत्ता लिएको सो पार्टीले लगातार पैँतिस वर्षसम्म शासन गऱ्यो।

उता केन्द्रमा भने जनता पार्टीका नेता मोरारजी देसाई प्रधानमन्त्री भएका थिए।

त्यही साल पहिलो पटक नेपाली साहित्यले भारतको प्रतिष्ठित "साहित्य अकादमी" पुरस्कार पाएको थियो। सो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली साहित्यकार हुनुहुन्थ्यो इबरा। उहाँलाई "नेपाली उपन्यासका आधारहरू" ग्रन्थका लागि सो पुरस्कार दिइएको थियो।

त्यही साल अखिल भारतीय नेपाली भाषा समितिको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री मोरारजी देसाइले नेपाली विदेशी भाषा हो भनेका थिए। हामी केटाकेटीमाझ उनी 'पिसाब पिउने' अद्भूत नेताका रूपमा परिचित थिए। आखिरी उनको बुद्धि पनि त त्यस्तै रैछ।

त्यही साल इबराले आफूले प्राप्त गरेको अकादमी पुरस्कार नगद सहित दिल्लीतिरै हुइँक्याउनु भएको थियो।

त्यही साल हामी ठिटाहरू(हाम्रो सरकारी स्कुल ठिटाहरूका लागि मात्र थियो) लामबद्ध भई नारा घन्काउँदै दार्जीलिङको चोक बजार पुगेका थियौँ। त्यहाँबाट नारा घन्काउँदै चौरस्ता पुगेका थियौँ। नारा हुन्थे – "भाषा हाम्रो प्राण हो।"; "भाषा हामीलाई चाहिन्छ चाहिन्छ।" "...." "...."

नेपालबाट आएको धेरै नभएकाले मैले धेरै कुरा बुझ्न बाँकी थियो। किन भाषा मागेको हो थाहा पनि थिएन। साथीहरूलाई सोध्यो उनीहरू पनि त्यस्तै। एउटा साथीले निकै बुझेझैँ गरेर भन्यो – "भाषा पाए पछि नोटमा नेपालीमा लेखिन्छ रे क्या नेपालीमा पनि।"

ट्वाल्ल परेर नोट ओल्टाइ पल्टाइ हेरेपछि एकापट्टि विभिन्न भाषाहरूमा नोटको मूल्य लेखिएको हुँदो रहेछ भन्ने चाल पाएको थिएँ। नारा उरालेर लखतरान भै घर आएपछि बुबालाई नै सोधेँ। बुबाले भारतीय भाषाहरू, संविधानको आठौँ अनुसूची, साहित्य अकादमी पुरस्कार, इबराका विषयमा विस्तारमा भनेपछि अलिक बुझेँजस्तो लाग्यो।

अनि त पछिका नारा उराल्न औधि जोस पनि चढेको थियो। स्कुले जीवनभरि थुप्रै पल्ट हामी ठिटाहरू नारा उराल्दै दार्जीलिङका बाटाहरूमा तलमाथि गरिहिँड्यौँ। पछि नर्थ पोइन्ट गएर विज्ञान पढ्न थालेपछि थर्ड डाइमेन्सनको कुरा पढियो। अनि पो दिमागभित्र कतै बिजुली बल्यो - तेस्रो आयाम अर्थात् थर्ड डाइमेन्सन। साहित्य धेरै बुझ्दिनँथे, तर रुचि भने त्यही पढ्नतिर गयो।

त्यसताका तेस्रो आयामको खुब कुरा हुन्थ्यो। विशेष गरी सरहरूबीच कुरा हुँदा, तीनवटा नाम मज्जाले लिइन्थे। इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभ। तेस्रो आयामको यति धेरै प्रभाव थियो कि, वैरागी काइँलाको कविता "मातेको मान्छेको भाषण: मध्यरातको सडकसित" माध्यमिकको कोर्समै थियो र संयोग पनि कस्तो पढाउने गुरु पनि मेरा बुबा नै हुनुहुन्थ्यो।

बालककालका कल्पनाहरू पनि कति अनौठा हुने। अहिले सम्झिल्याउँदा आफैँ छक्क पर्छु। इबराको कथा रातभरि हुरी चल्योको शीर्षकले नै मलाई रूझाएको थियो। कल्पना गर्थेँ आफैँ त्यो कथाको पात्र हुँ, मलाई नै हुरीले दिक्क बनाएको छ, टिनको छाना उडाएर लग्यो भने के गर्ने ? रकउडको एकपाखे घरमा बर्खेझरिको गडङ्डङ् बर्सिरहँदा झ्यालबाट तल हेर्दै यो झरिले घर सोहोरेर छ्याङ्छ्याङे पुलमुनि पुऱ्याउला भन्ने डरले अत्तालिई रहन्थेँ। रकउडको नाक ठोकिने भीरमा बनेको हाम्रो घर पहिरोले अहिले लग्यो, भरे लग्यो भनेझैँ हुन्थ्यो। सातै दिन झरि परेपछि अन्त ओत लाग्न जाँदा पनि मनबाट भने कथा उत्रिएन, डर उत्रिएन। उसो त दार्जीलिङमा झरि पर्न थालेपछि सात दिन त के महिना दिनसम्म पनि रोकिन्न। रातभरि हुरी चल्छ, रातभरि झरी पर्छ। त्रासै त्रास। त्रासै त्रास।

कक्षा नौ( हो कि दस बिर्सेँ)मा बुबाले वैरागी काइँलाको कविता पढाइ रहँदा विचित्रका कल्पनाले दिमाग भरिन्थ्यो। दार्जीलिङको चोकबचार सुनसान हुन्थ्यो। औँसीको कालो रातमा पोलबत्तीहरूले उज्यालो छरेको देखिन्थ्यो। त्यस्तो सुनसान सडकको बीचैमा एउटा मातेको मान्छे वैरागी भेषमा भाषण ठोक्दै गोलघरबाट चोक अनि मोडिएर थानातिर जान्थ्यो र फेरि फर्किन्थ्यो। बुबाले कविता वाचन गरिसक्दा र अर्थ समेत लगाउँदा म यिनै कल्पनामा डुली हिँड्थेँ। वैरागी काइँला साँच्चै वैरागी हुन् अर्थात् वीतरागी साधु हुन् जस्तो लागिरहने। धेरै पछि मात्र यो भ्रम तोडियो र उनलाई मैले सशरीर चिनेँ।

तेस्रो आयामको चमत्कार थियो त्यो।

इबरा करफोकमा पढाउँदा हाम्रै घरमा बस्नु भएको थियो रे। म जन्मिनुभन्दा करिब १०/११ वर्ष पहिले। उहाँ बुबाका घनिष्ट मित्र हुनुहुन्थ्यो। दार्जीलिङमा हुँदा बुबा बारम्बार उहाँकहा जाइराख्‍नु हुन्थ्यो। साहित्यका बहस हुन्थे। कुराकानी प्रशस्त हुन्थे।

इबराका छोराले हामीलाई नर्थ पोइन्टमा केमिस्ट्री पढाउनुभएको थियो। देशपद सरको पढाउने शैली अब्बल त थियो नै, उहाँ इबराका छोरा भन्ने जानेपछि श्रद्धा झन चुलिएर आउँथ्यो। आज देशपद सरलाई शोक परेको छ। हामीलाई शोक परेको छ। सम्पूर्ण नेपालीलाई शोक परेको छ।

आमाले बारम्बार भन्नुभएको छ - इन्द्रबहादुरलाई एकपल्ट देख्न मन लागेको छ। पहिले यही घरमा बस्नु भएको। तिमीहरू कसैले उनलाई लिएर आओ न।

तर आज मसँग आमालाई दिने जबाफ छैन। म भन्नै सक्तिनँ – आमा अब इबरा कहिल्यै आउन सक्नुहुन्न। उहाँ त बाको साथी गैसक्नुभयो।

मलाई जिन्दगीभरि यही पछुतो लागिरहने भयो। पोहोर परारै उहाँलाई गएर बिन्ती बिसाएको भए सायद आउनुहुन्थ्यो कि। आमाले उहाँसँग धित मरून्जेल कुरा गर्नुहुन्थ्यो होला कि।

यसपालि माघे गएर आमालाई ध्रुव तारा देखाउँदै एउटा कुरा भन्न मन लागेको छ – उ.... आमा ... इन्द्रबहादुर राई।

इबरालाई यहीँबाट आँखाभरि आँसु भरेर श्रद्धासुमन टक्र्याएँ। 

देशपद सर, तपाईँलाई पनि समवेदनाका यिनै दुई शब्द टक्र्याएँ।

Tuesday, January 30, 2018

"यार" – एकजना टाढाको यारको गन्थन


सुविख्यात भारतीय लेखक खुसवन्त सिंहले आफ्नो अटोबायोग्राफी "ट्रुथ, लभ एन्ड अ लिटल मलिस"मा कतै उल्लेख गर्नुभएको छ- उहाँले "वुमन एन्ड मेन इन माइ लाइफ" लेखेर प्रकाशित भएपछि, कतिपयले बोलचाल र सम्पर्क त बन्द गरे नै, आफ्नो कमजोरी संसार सामु प्रकट गऱ्यो भनेर उनीसँग सधैँका लागि सम्बन्ध त्यागे। कतिपयले भने सम्बन्धलाई प्रगाड बनाए। यस्तो भएकामा खुसवन्त सिंहलाई कुनै दुखेसो थिएन। उहाँले मानिसहरूसँगका आफ्ना सम्बन्धहरू स्पष्टसँग राख्‍नुभएको छ। अरू त अरू, वेश्यालय गएर स्त्रीगमन गरेको कुरा पनि उहाँले नलुकाई लेख्‍नुभएको छ। मलाई लाग्छ, खुसवन्त सिंह एउटा लेखकका रूपमा इमानदार रहनुभयो।
मलाई लाग्छ नयनराज पाण्डेजीको "यार" पनि एउटा लेखकीय इमानदारिताको उदाहरण हो। भलै यो आत्मकथा होइन, तर मलाई के लाग्छ भने, यदि उहाँले आत्मकथा लेखिहाल्नुभयो भने यस पुस्तकका धेरै भागहरू त्यसमा पर्नेछन्। आफ्नो योग्यता, क्षमता र सफल पारेका कामहरूको फेहरिस्त बनाएर, आफूलाई बखान गरेर लेखिएका पुस्तकहरूको भीडमा एउटा इमानदार पुस्तक आएको छ "यार"। नयनजी म तपाईँलाई जति चिन्थे, यो पुस्तक पढेपछि धेरै चिन्ने भएको छु। अब मलाई तपाईँसँग बोल्न धक मान्नुपर्नेछैन। तपाईँले यो पुस्तक लेखेर मलाई(साथै अरूलाई पनि होला ?) धेरै आफ्नो बनाउनु भएको छ।
"औँलादेखि सुरु भएर पण्डित"मा अन्त्य भएको तपाईँको "यार" एउटा साबिती बयान हो। के तपाईँलाई पुस्तक लेखेपछि मन हलुँगो भएको छैन ? कति मनको बोझ थियो मनमा ? साँच्ची भन्नुस् त। ठूलो भारी बिसाएर लामो नयनको कल्पना छ मेरो मनमा यतिखेर।
मलाई लाग्छ, यो पुस्तक तपाईँको संस्मरणमात्र हैन, यो त तपाईँले भनेजस्तै तपाईँको उचाई नाप्ने इन्चिटेप हो। र नढाँटी भनौ मैले तपाईँको उचाई नाप्दा इन्चिटेप छोटो भयो है नयनजी। तपाईँको उचाइ ह्वात्तै बढ्यो कि, इन्चिटेपहरू छोटिन थाले ? कुरा बुझिनै हाल्नुहुन्छ क्यारे।
हामीले पनि ठानेका छौँ, भोगेका छौँ – असल मानिएका कैयन मानिसहरूको अहम उनीहरूको अस्तित्वभन्दा अग्लो हुँदो रहेछ। देखेका छौँ, कविताभन्दा अग्ला अहम भएका कविहरू। देखेका छौँ, कथाभन्दा लामो घमण्ड भएका कथाकारहरू। खै के भनौ र म पनि यिनै मध्ये पर्दो हुँ ! तर तपाईँलाई हेर्ने दृष्टिकोण चाहिँ मेरो उही रहेन। अर्कै भयो र सुखद भयो। म खुसी छु। गद्‌गद् छु।
बाल्यावस्थामा तपाईँकै जस्ता घटनाहरू हामीसँग पनि घटेका छन्। अलिअलि उपद्रो हामीले पनि गरेका छौँ। अलिकति अरूलाई हेपेका छौँ। मेरो हकमा भने, मैले केहीलाई हेपेको छु र अरूबाटै धेरै हेपिएको छु। कतिपय अवस्थामा पीडित भएको छु। कुनै दिन लेखेँ भने तपाईँलाई देखाउँला नयनजी मेरो बालापनको चकचक, छुद्र्याइँ, कप्ट्याइँ। औँला, इजार, अखाडा, आदिको परिवेश, संस्कृति, भूगोल भिन्न भए पनि भावना चाहिँ एउटै हो नयनजी। किशोरवयमा पनि यिनै कुराले काम गर्छन् जस्तो लाग्छ।
वयस्क भएपछिका यी सम्झनाहरूमा भने, तपाईँ साँच्चिकै पोखिनुभएको छ। विज्ञानले सबैभन्दा विवेकशील प्राणी मानिसलाई मान्छ। तर विज्ञानको यस कुरामा मलाई कहिलेकाँही शङ्का लाग्छ नयनजी। मानिस कहिलेकाहीँ विवेक गुमाएर जनावर भन्दा तल खसिदिन्छ र ठान्छ म अग्लिएँ। मानिसले मात्र हो नि जानीजानी गलती गर्ने, अरूको चित्त दुखाएर रमाउने। जनावरहरूले त कहिल्यै त्यसो गर्दैनन्। अझ अचम्म लाग्दो त के छ भने, बिभर, उल्लू, राजहाँस, गिब्बन जस्ता प्राणीले जीवनपर्यन्त एउटासँगमात्र सम्बन्ध राख्छन् रे। अझ प्याराकिट(लभबर्ड्स) भन्ने चराको त भाले वा पोथीमध्ये एउटा मऱ्यो भने अर्को चाहिँ चिन्ताले नै सकिन्छ रे।
विवाहेत्तर सम्बन्धमा तपाईँको स्वीकारेको बयानले मलाई केही विचलित पनि बनायो किनकि त्यो कल्पनाबाहिरको कुरा थियो। फेरि लाग्यो, गलती त मानिसबाटै हुन्छ नि हैन। तपाईँले जुन किसिमले आफ्नो जिन्दगीलाई सम्हाल्नुभयो त्यो नै पर्याप्त छ। भाउजूले जुन काम गर्नुभयो त्यसका लागि सतत् नमन उहाँलाई। "पति, पत्‍नी और वह" बाट उहाँले नै त हो नि "पति-पत्‍नी" बनाएको हैन र ? महान् मानिसहरू हाम्रै छेउमा हुँदा पनि कहिलेकाहीँ हामी देख्दैनौँ नयनजी। दोष तपाईँको हैन, समाज यस्तैछ, संसार यस्तै छ।
कतिपय साथीहरू त्यस्ता हुन्छन् जसलाई हामी भित्रबाट चिन्दै चिन्दैनौँ। ती त्यति राम्रा हुन्छन् कि हाम्रो दृष्टि तिनमा पर्दा पनि पर्दैन। अनि फेरि त्यस्ता पनि हुन्छन् जसलाई हामी आवश्यकताभन्दा बढी चिन्छौँ। तपाईँले पनि त त्यसै गर्नुभएको छ, हैन ? कतिलाई कम चिन्नुभएको छ र कतिलाई चाहिनेभन्दा धेर। हामी सबैको जिन्दगीमा धेरथोर त्यस्तै त हो नि।
"यार" हाम्रो समाजको एउटा चित्र हो। समाज अलिक एब्सट्र्याक्ट छ। तर "यार" पढेपछि हामी समाज केही बुझ्छौँ। "यार" पुरुष मनको एउटा आत्मस्वीकृति पनि हो। यसलाई  पढेपछि हामी आफूलाई पनि केही चिन्छौँ। पच्चीसैवटा "यार"को कुरो कोट्याइनँ। ती त पुस्तक समीक्षकले गरिनैहाल्छन्। म समीक्षक हुँदै होइन। यो मेरा मनमा लागेका कुरा मात्र हुन्।
एउटा सानो प्रसङ्ग। इटहरी छाडेर काठमाडौँ आउन लाग्दा गाडीमा सामान लोड गर्न केही स्कुलका सहयोगी कर्मचारीहरूको सहयोग लिएँ। जसजसले सहयोग गरे, केही पैसा चिया खाऊ भनी दिएँ। सबैले लिए, तर एकजनाले पटक्कै लिन मानेनन्। रात्रीकालिन सुरक्षा गार्डको पदमा रहेका तिनले भने – "सर, पैसा जिन्दगीमा सबैथोक होइन, पैसाभन्दा माथि र पर्तिर धेरैथोक छ।" म निशब्द भएँ। एउटै शब्द निस्केन। यही त हो नि जिन्दगी, हैन नयनजी।
अन्त्यमा यी दुई ओटा दोहाले "यार"मा र हाम्रो जीवनमा ठूलो अर्थ राख्छन् :
१.      रहिमन धागा प्रेमका, मत तोरो चटकाय
टुटे पे फिर ना जुरे, जुरे गाँठ परी जाय।

२.      उमर भर गालिब यही भूल करता रहा
धूल चेहरे पे थी, आइना साफ करता रहा।

इति.....।