कोरोना भाइरस र त्यसका भेरिएन्टहरूले पृथिवीका मानिसहरूलाई पछिल्ला तीन वर्षदेखि राज गरिआएका छन्। सुरुका तीन वर्ष अत्यन्तै कठोर शासन थियो तिनको। तिनका प्रहारले जब्बरहरू पनि ढले। अहिले आएर तिनका कठोरताहरू सामान्य बन्दै गएका छन्। कोभिड भाइरसका सन्तान अब कमजोर भएका छन्। तिनले प्रारम्भिक कालमै कति हो कति मानिसहरूको ज्यान लिए। हाल आएर भने दीर्घ रोगी र वृद्धवृद्धाहरूलाई बाहेक, औसत रूपमा स्वस्थ व्यक्तिले कोरोनालाई सजिलै पराजित गर्छ।
लघुकथाका
सिद्धहस्त सर्जक रवीन्द्र समीरले कोरोनाकालमा मानिसले भोगेका त्रासदीपूर्ण
क्षणहरूलाई लघुकथाका थुङ्गाहरू बनाई, तिनलाई एउटा सुन्दर मालामा परिणत गरेका छन् र
नाम दिएका छन्- कोरोनातन्त्र।
कोरोनाकालमा
सङ्क्रमित हुनेहरू त पीडित भए नै, सङ्क्रमित हुनबाट जोगिनेहरूले पनि ठूलो मानसिक
सन्ताप र पीडा भोग्नु पऱ्यो। दैनिक शारीरिक परिश्रम गरेर हातमुख जोर्ने मानिसहरूका
लागि कोरोनाले कष्टसाध्य समय लिएर आयो। यसका साथै समाजका हरेक तप्काका मानिसहरूले
असहज परिस्थितिको सामना गर्नु पऱ्यो।
सूत्रात्मक
उपन्यासमा उनीएका लघुकथाहरूले हाम्रो समाजको आडम्बर छर्लङ्ग देखाएका छन्। आफ्नो
भलो हुँदामात्र अघि सर्ने मानिसहरूको चरित्र, द्रव्यपिसाचहरूले हजारौँ कुम्ल्याएर
खोपको नाममा पानीको सुई दिएको घटना, नाफामुखी अस्पतालहरूले नाङ्गेझार पार्ने गरी
पैसा लिएका घटना, अक्सिजन र भेन्टिलेटरको अभावले निम्त्याएको असहज परिस्थिति,
औषधिमा आदिमा गरिएको कालोबजारी, व्यापार ठप्प भएर गरिखाने मेलो समाप्त भएका
मानिसहरूको पीडा, जोसुकैले दिएका परामर्श र सल्लाहले वाक्क भएका मानिसको व्यथा,
कोरोनालाई जित्छु भनी अटेरी गर्ने मानिसहरूको कथा, खोपमा भएका अनियमितताहरू,
पौष्टिक पोषणको अभाव झेलिरहेका आम मानिसको पीडा, फार्मेसी र अस्पतालहरूको
संवेदनहीनता जस्ता कुराहरू पात्रका माध्यमले कोरोनातन्त्रमा उनीएका छन्। तराई,
हिमाल र पहाड नेपालका तीनै भूगोलका मानिसले भोगेका कथा छन्।
कोरोनातन्त्रका
फूलहरूमा रवीन्द्र समीरको एउटा बिछट्ट राम्रो प्रयोग देखा पर्छ। सबैमा नभए पनि
धेरैजसो लघुकथाहरूमा शास्त्रीय वचनहरू उल्लेख गरिएको छ। "शास्त्रमा भनिएको
पनि छ ..." भनेर सुरु हुने शास्त्रीय वाणीहरू लघुकथाका प्रसङ्गहरूसँग
ठ्याक्कै मेल खान्छन्। प्रत्येक लघुकथाका लागि शास्त्रीय वाणीहरू खोज्नु र तिनलाई
सुन्दर ढङ्गले प्रस्तुत गर्नुमा उनले गरेको मेहनत स्तुत्य छ। त्यसका लागि उनले कति
शास्त्रहरू पढ्नुपऱ्यो त्यसको लेखाजोखा पाठकले सजिलै लगाउन सक्छन्।
यस सँगसँगै नेपाली उखानहरूलाई आफ्नो परिवेशमा ढालेर प्रयोग गर्नु उनको शैलीगत विशेषता प्रकट भएको छ कोरोनातन्त्रमा। "डाक्टरभन्दा बिरामी जान्ने, खुकुरीभन्दा कर्द लाग्ने","आइसोलेसन केन्द्रमा भोजनभन्दा भोक मिठो, ओछ्यानमा निद्रा मिठो, "... ताक परे डाक्टर, नत्र कन्डक्टर", "मुखमा लाउने माड छैन, पाखुरामा सुई", "रातभर रुँग्यो, सङ्क्रमित जिउँदै", "कोरोनाको बेला तरुणी खोज्न हिँड्", "उपचार नपाए काठमाडौँ जानू", जस्ता वाक्यांशहरूले सूत्रात्मक कथाहरूमा सुन्दरता थपेको छ।
अनि,
पात्रहरूको नाम पनि व्यङ्गात्मक शैलीमा प्रयोग गरेका छन् समीरले। धनी पात्रको नाम
गरिबनाथ, गरिब मान्छेको नाम धनबहादुर। डा. शर्मा त रवीन्द्रका सदाबहार पात्र भई नै
हाले।
कोरोनातन्त्रबारे
धेरै लेखेर पाठकको खुलदुली मार्न चाहन्नँ। यस्ता समीक्षा पढ्नुभन्दा पुस्तकै पढ्नु
कता हो कता आनन्ददायक हुन्छ। शुभ पठन।