एउटा पाठकका रूपमा नियात्रालाई म यात्राको निजानुभूतिका रूपमा लिन्छु। भूगोल र भौतिक विकास आदिको लम्बेतान रूखो वर्णन भएका र कर्कश विद्वत्ता मात्र छाँट्ने यात्रा वर्णनहरूले वाक्क लगाएका बेलामा एउटा उम्दा नियात्रा बजारमा आएको छ, उषा हमालको “भिक्षुसँग प्रेम”।
हेर्दै आकर्षक लाग्ने कभर र शीर्षक भएको
नियात्रा कम्तीमा मेरा लागि भने पेज टर्नर रह्यो। बडो आनन्दका साथ फारू गर्दै
पढिसिध्याएँ। कुनै पनि पुस्तकको गुणवत्ताको छनक सबैभन्दा पहिले त्यसको शीर्षकले
दिन्छ, र त्यसपछि कभर डिजाइनले। मलाई पुस्तकका शीर्षकहरूमा कर्कश शब्दहरूको हल्ला
मन पर्दैन। त्यसैले पुस्तक किन्दा यदि शीर्षकले तानेन भने म किन्दै किन्दिनँ। उषा
हमालकै यसभन्दा पहिलेको नियात्रा “सागओल अजरबैजान” बडो प्रेमका साथ पढेको छु र
त्यो पनि मेरा प्रिय पुस्तकहरू मध्येको एक पर्छ।
भिक्षुसँग प्रेम, खासमा विभिन्न समयमा गरिएका
देशभित्र र बाहिर विभिन्न थरीका यात्राहरूबारे उषा हमालको निजात्मक अनुभूतिको
सङ्गालो हो। मान्छेको पीडा देखेपछि मन आँसुले लफ्रक्कै भिज्ने, राम्रा कुराहरूले
मन उत्साहित हुने, मानवमूल्यप्रति सधैँ आस्था हुने, अव्यवस्था र दुर्गन्धबाट पीडा
बोध हुने, आदिजस्ता अनुभूति उषा हमालका मात्र नभएर यो पुस्तक पढ्ने हरेक पाठकका
हुन पुग्छन्।
अनि अर्को महत्त्वपूर्ण कुरा। साइनो वा
सम्बन्धका बारेमा आम मानिसहरू खुल्न चाँहदैनन्। मैले कतिपय यस्ता मानिसहरू भेटेको
छु वा देखेको छु जसका मुस्कानहरू जहिल्यै छद्म हुन्छन्। मनले एउटा कुरा भनिरहेको
हुन्छ भने अनुहारले अर्कै। भित्रभित्रै एउटा सम्बन्ध हुन्छ बाहिर अर्कै। त्यस्तो
छद्म व्यक्तित्व न उषाको पुस्तकमा भेटिन्छ न अनुहारमा। जे सत्य छ, त्यही छ भित्र
पनि बाहिर पनि। नपत्याए अन्तिम पाताको भित्रपट्टि रहेको उनको फोटो हेर्नुहोस्।
आफैँ बुझ्नुहुनेछ।
अहम् भन्ने कुरा “भिक्षुसँग प्रेम”मा कहीँ पनि
कतै पनि भेटिँदैन। “ऊभन्दा म महत्त्वपूर्ण हुँ, किनकि म वर्तमान हुँ र ऊ विगत हो”
भन्ने किसिमको भाव उनका कुनै पनि अनुभूतिमा देखिँदैन। उषाको मनको इमानदारिता र
निश्चलताले हामीलाई उनीप्रति नतमस्तक बनाउँछ। प्रेम तथा पारिवारिक जीवनको अतीत तथा
वर्तमानका विषयमा उषाले कोमल शब्दहरू पोखेकी छिन् यस पुस्तकमा।
धेरै लेखेर पाठकको आनन्दमाथि प्रहार गर्न मन
लागेन। इति।