अहिलेको जस्तो विषाक्त समयमा केही लेख्नुले पनि सायदै केही अर्थ राख्ला। प्रकृतिसँग धेरै चुरीफुरी देखाउने मानव अहिले चार भित्ताभित्र कैद छ। लाग्छ बाहिर निस्कनेबित्तिकै एक मुठी सास शरीरबाट फुत्त फुस्किन्छ। घरमा बस्नको बाध्यताले कति पार्श्व प्रभावहरू पार्ने हुन् त्यो भविष्यले बताउला। तर घर बस्न बाध्य भएका मेरा आफन्त, बन्दुबान्धव, छरछिमेकी, साथीभाइहरू, कनिष्टहरू, वरिष्टहरूले एक मुठी सास त्यागेको समाचारले हृदय नै छियाछिया हुन्छ। शुभ जन्मोत्सव लेख्नु पर्ने समयमा हार्दिक श्रद्धाञ्जली लेख्दा हात काँप्छन्। भान हुन्छ मानव जीवन कति क्षणभङ्गुर छ! कति निरीह छ! दुई दिन अघि अस्पतालबाट सञ्चै छ भन्ने मानिसको मृत्युको खबर दैलो ढकढक्याउँदै आइपुग्छ।
हामीमध्ये केहीलाई अधिकतम स्वास्थ्य
सतर्कता अपनाउँदा अपनाउँदै पनि कोभिडले समात्यो। कोभिडको पहिलो लहरमा हामी धेरै
जसो निकै बिरामी भयौँ। डाक्टरहरूको समयोचित सल्लाह र परामर्श अपनाएर दोस्रो जीवन
पाएका भाग्यमानी मध्ये म पनि हुँ। डाक्टरको सल्लाह नमान्दा, अजासु(अति जान्ने
सुन्ने) हुँदा, सामाजिक सञ्जालका अप्रामाणीक स्रोतहरूलाई पत्याउँदा धेरै जनाले
असमय ज्यान गुमाउनुभएको छ। खोप उपलब्ध हुँदाहुँदै पनि मलाई केही हुन्न भन्ने अहम्
पालेर बसी, शरीरमा अक्सिजनको कमी हुनासाथ अस्पताल दौडाउँदा पुऱ्याउन नभ्याएर
बाटैमा एक मुठी सास खुस्किएको छ। अस्पतालहरूमा अक्सिजन नपाएर मृत्युवरण गर्नु
परेका कति उदाहरण भैसके, हिसाब राख्न यो हातले मानेको छैन।
शर्पदंशबाट मृत्यु हुनेहरूमध्ये नब्बे
प्रतिशत मृत्यु विषले नभएर डरले भएको भन्ने भनाइ मैले कैयन् पटक सुनेको छु। अहिले
कोरोनाको कालमा पनि अक्सिजन कमी हुनासाथ मरि पो हाल्छु कि भन्ने डरले, कोरोनाले
भन्दा पहिले मानिसहरू मारिरहेको छ। डर वा भय सद्दे मान्छेका लागि पनि अत्यन्त घातक
हुन्छ। अझ मृत्युको भयले अहिलेको कलियुगी मानव अत्यधिक डराउँछ। तर जति डराए पनि
मृत्यु शास्वत सत्य हो। कसैको चाँडो, कसैको ढिलो मात्र हो। तर यो मनले यही कुरा
स्वीकार गर्न मान्दैन।
सामान्य अवस्थामा आफूअगाडि एउटा सिङ्गै
जिन्दगी हुने मानिसले फुस्स सास छोड्दा चाहिँ असाध्यै पीडा हुन्छ। तपाईँ हामीले
प्रेम गर्ने, आदर गर्ने, सम्मान गर्ने कतिपय व्यक्तित्वहरूलाई लाखौँ प्रयत्न गर्दा
पनि बचाउन सकिएको छैन। स्वास्थ्यमा दीर्घकालीन जटिलता भएकाहरूलाई कोरोनाले उठ्न
दिएको छैन। हामीमध्ये धेरैले अटेरी गरेर बिहे आयोजना गर्दा बिहेकै भोलिपल्ट बेहुली
परलोक गइन्। जग्गेबाटै अस्पताल लगिएकी बेहुलीलाई घरमा भित्र्याउन पाइएन। बिहेको
पर्सीपल्ट बेलुला परलोक गए। बिहेमा सामेल भएका अधिकांश अस्पताल भर्ना छन्। यस्ता
समाचार सुन्दा कहाली लागेर आउँछ। अझ गाउँको मुरी मुरी धान फल्ने गैह्री खेत बन्धकी
राखेर हेलिकप्टरबाट अस्पताल पुग्दा पनि एक मुठी सास फर्काउन नसक्दा कस्तो लाग्दो
हो, सोच्न पनि सकिन्नँ। पहिलो पटक सहरमा धावा बोलेको कोरोनाको सन्तानले अब गाउँघर
ताकेको छ। भयावह स्थितिको कल्पनाले आङ सिरिङ्ग हुन्छ।
अहिलेको समय द्रव्यपिसाचहरू अतिसक्रिय
भएको समय हो। नियमसङ्गत मोल वृद्धिभन्दा पनि मौकामा चौका हान्ने द्रव्यपिसाचहरूले
तपाईँहामीलाई बाँच्न दिँदैनन्। ती विगतमा पनि त्यसै गर्थे, आगतमा पनि त्यसै
गर्छन्। पिसाचहरूले कुनै नियम पालना गर्दैनन्, साइत हेर्दैनन्, तपाईँ हाम्रो
आर्थिक स्थिति हेर्दैनन्। ती द्रव्यपिसाचहरूले तपाईँ हाम्रो खाना निल्छन्, औषधि
खान्छन्, खोप खान्छन् र अब त प्राणवायु नै खान थालीसके। हामी निरीह छौँ, विवश छौँ।
मलाई चिन्नु हुने वा मेरा आफन्त, मेरा
कनिष्ठ पनि र वरिष्ठ पनि कोभिडको नयाँ भेरियन्टले युवाहरूलाई टपक्क टिपेको देख्दासमेत
खोप लगाउँदिन भनेर अझै अड्डी कसेर बसिरहनुभएको छ। उहाँहरूले पढेर थुप्रै डिग्रीहरू
पनि कमाउनु भएको होला। तर यसरी बस्दा आफू कति असुरक्षित छु भन्ने उहाँहरूले सोच्नु
भएको छैन। अहङ्कार कति घातक हुन्छ त्यो थाहा हुँदा, सायद धेरै ढिलो भैसकेको हुन्छ।
कम्तीमा पछुताउन त पाइयोस्।
हामी मिडिया र सामाजिक सञ्जालमा
परपीडकहरूले फैलाएका भ्रामक हल्लाहरू पत्याउँदै, आफू सूरवीर भएको प्रमाणीत गर्न
लागीपरेका छौँ। तर त्यस्ता सूरवीरता देखाएका धेरैलाई कोरोनाको दोस्रो वा तेस्रो
भेरिएन्टले पाताल पुऱ्याएको देखेर पनि हामी नदेखेझैँ गर्छौँ। कोरोना जति म्यूटेन्ट
बन्दै जान्छ, त्यति नै सङ्क्रामक र खतरनाक बन्दै गएको छ।
जागौँ महानुभावहरू जागौँ। कोरोना डब्लुएचओ
र बिल गेट्सको षड्यन्त्र हो भन्न छाडौँ। डब्लुएचओ र बिल गेट्सलाई आफ्नै देशका र
तेस्रो विश्वका मानिस मार्दा माखो पनि फाइदा हुँदैन। पहिलो लहरले उनीहरूकै
मानिसहरू सोत्तर भए। त्यस्ता भ्रामक हल्लाहरू फिँजाउनेहरूलाई नाङ्गेझार बनाउन ढिलो
भैसकेको छ।
अर्को कुरा मास्क लगाउनु हानीकारक हो
भन्ने स्वनामधन्य डाक्टरहरूबाट पनि बचौँ। मास्कको मेकानिज्म नबुझेका यस्ता जडबुद्धिहरूको
कुरा किन पत्याउने। मास्क लगाउँदा आफूले फ्याँकेको कार्बनडाइअक्साइड फोक्सो भित्रै
पसेर झनै हानी गर्छ भनी कुतर्क पत्याउने सिकन्दरहरूलाई मेरो प्रश्न – मास्क लगाएर
कार्बनडाइअक्साइड भित्रै तानेर कतिजना बेहोस् भए? वा कतिलाई अस्पताल भर्ना गर्नु
पऱ्यो? कति मानिस मरे? केही तथ्याङ्क छ? प्रमाण छ?
विश्वमा "पृथिवी चेप्टो छ" भन्ने मानिसहरू थुप्रै छन्। त्यस्ता मान्छे पश्चिमी देशमै छन् जहाँ वैज्ञानिक खोज र अनुसन्धानले अभूतपूर्व गति लिएको छ। तिनैलाई पत्याउनुहोस् र सदस्य बन्नुहोस्।
शुभ सदस्यता!