हनुमानको उपमा
"हनुमान"
उपाधी दिइएका केही ट्वीटका नमुना हेरौँ....
झोँक चल्छ,
बस् फेरि झोँक चल्छ ! (वैरागी काइँला)
हनुमान को हुन् र किन
पूजिन्छन् ?
हनुमान सनातनीहरूका
आराध्य हुन्। हनुमानका नाममा व्रत बसिन्छन्, पूजाआजा गरिन्छन्। मानिसहरूले प्रातः
हनुमान चालीसा पाठ गर्छन्। म पनि गर्छु। हनुमान चालीसामा हनुमानले सूर्यलाई मीठो
फल मानेर खाएको प्रसङ्ग छ। तर मलाई यो हनुमानको अनन्त शक्ति बयान गर्नका लागि
कविले लिएको प्रतीक झैँ लाग्छ। हनुमान चालीसा एउटा काव्य हो र काव्यमा कुनै कुरो
भन्दा प्रतीक र बिम्बमा भनिन्छ, सोझै भनिँदैन। त्यसदेखि बाहेक भक्ति काव्यको
शब्दार्थ भन्दा पनि त्यो पाठ गर्दाको लय र ध्वनि महत्त्वपूर्ण हुन्छ। यसको
सबैभन्दा राम्रो र बुझिने उदाहरण, कविवर माधवप्रसाद घिमिरेको "गाउँछ गीत
नेपाली ज्योतिको पङ्ख उचाली" सुन्दा/पढ्दा हुन्छ।
हनुमान चालीसा
हनुमानका कीर्तिहरूको गान हो। म विज्ञानको विद्यार्थी भै टोपलेकाले, पृथिवीको एउटा
बानरले कसरी पृथिवीभन्दा करोडौँ गुना ठूलो सूर्यलाई मीठो फल सम्झेर खान खोजे वा
कसरी उफ्रिएर सूर्यनजिक पुगे भन्ने कुरा बेतुकको लाग्न सक्छ। यो कुरा असम्भव हो
भन्ने बोध मेरो ज्ञानले दिन्छ, तर पनि मलाई हनुमान चालीसा मन पर्छ। मन परेपछि मन
पऱ्यो, मलाई आस्थाको ठाउँमा तर्क मिसाउन मन लाग्दैन।
पाश्चात्य दर्शनको पर्याप्त
ज्ञान भएका मेरा पिताजी बिहान सन्ध्या गरेपछि सधैँ केही स्तोत्रहरू पाठ
गर्नुहुन्थ्यो। उहाँले पाठ गरेको सुनेर नै मलाई कतिपय स्तोत्र कण्ठ छन्। हनुमान
चालीसा पनि त्यसरी नै आउँदो भएको हो। हनुमान चालीसामा वर्णित हनुमानका कीर्तिहरू
जतिनै बेतुक लागे पनि हनुमान चालीसा हाम्रो हो, हाम्रो संस्कृति हो, हाम्रो
परम्परा हो, हाम्रो आस्था हो, हाम्रो परिचय हो। मलाई अरूले भिराइदिएको पूर्णता
भन्दा आफ्नै अपूर्णता मन पर्छ। अरूले थोपरेको सभ्यताभन्दा आफ्नै असभ्यता मन पर्छ।
प्रकृति पूजक हाम्रो सनातनी सभ्यता मन पर्छ। मलाई मेरै देवीदेवता मन पर्छन्।
हनुमानलाई कपि,
महावीर, पवनपुत्र, बजरङ्गबली, आदि नामले पनि जानिन्छ। सनातन संस्कृतिमा हनुमान बल,
पराक्रम, शक्ति, तथा भक्तिका द्योतक हुन्। हनुमानका महिमा वर्णन गर्ने बाह्र
नामहरू पनि छन्, ती हुन्: हनुमान, अन्जनी सुत, वायु पुत्र, महाबल, रामेष्ठ,
फाल्गुण सखा, पिंगाक्ष, अमित विक्रम, उधतिक्रमण, सीता शोक विनाशन, लक्ष्मण प्राण
दाता र दशग्रीव दर्पहा।
पशुपतिनाथको दर्शन
गर्न जाँदा म सधैँ हनुमानको प्रतिमासामु शिर झुकाउँछु। पिण्डेश्वर महादेव मन्दिरमा
विराजेका हनुमानलाई पूजा गर्छु। उनका चरण छुन्छु। अन्यत्र पनि हनुमान मन्दिर देखेँ
भने श्रद्धाले मेरो शिर झुक्छ।
हनुमान मर्यादा पुरुषोत्तम रामका अनन्य भक्त थिए। रामायणको सुन्दरकाण्डमा हनुमानको महिमा वर्णन गरिएको छ। हनुमान सधैँ विनम्रता र भक्तिका प्रतीकका रूपमा चिनिन्छन्।
यन्त्र साधनामा
हनुमान यन्त्रको उपासना गरिन्छ। जसरी श्रीयन्त्र साधना धनधान्य तथा भौतिक
समृद्धिका लागि गरिन्छ, त्यसै गरी हनुमान यन्त्र साधना बल, पराक्रम, शौर्य, शक्ति
आदिका लागि गरिन्छ। मेरो अध्ययन अत्यन्त
अल्प भएकाले यन्त्र साधनका वा तन्त्र साधनाका विषयमा धेरै कुरा गर्न सक्तिनँ। तर
पनि मेरो शिर मेरा बाआमाले गरेका काम, उहाँहरूले मानिल्याएको परम्परा,
संस्कृतिप्रति जहिले पनि निहुरिन्छ। हाम्रा तिनै परम्पराले हामीलाई सहिष्णु, स्वतन्त्र,
र उदार बन्न सिकाएका छन्। अरूको आस्थाको आदर गर्न सिकाएका छन्। अनावश्यक रुढी र
अन्धविश्वासबाट बच्न सिकाएका छन्। अरूको आस्थाको निन्दा गर्दा, धर्मको आलोचना गर्दा
आफ्नो बोली अपवित्र हुन्छ भन्ने सिकाएका छन्।
हनुमानको अपमान
नेपालमा अहिले
विचित्रको चलन भित्रिएको छ। मिडिया र सामाजिक सञ्जालमा। ओलीका, बाबुरामका,
देउवाका, फलानाका, ढिस्काका हनुमानहरूले यसो गरे उसो गरे....। यदि आफ्ना नेतालाई
त्यत्तिको अन्ध समर्थन गर्नेहरू यदि हनुमान हुन् भने ओली, देउवा, प्रचण्ड, बाबुराम वा अन्य कुनै
नेता मर्यादा पुरुषोत्तम राम हुन् त ? ओलीका हनुमानले यसो गरे उसो गरे भन्नु भन्दा
पहिला तपाईँहरूले कृपया ओली कसरी राम भए बताइदिनु हुन्छ कि? देउवा वा राजेन्द्र
महतो वा बाबुराम कसरी राम भए? प्रचण्ड कसरी राम भए? अन्य कुनै नेता कसरी राम भए ?
तिनमा राममा हुनु पर्ने कुन कुन गुणहरू छन्? कैकेयीको एक वचनमा सत्ता त्यागेर
वनवास जाने रामले जस्तो काम गर्ने कुन नेता छन्? अनि रामको एउटै पनि विशेषता नभएका
कथित नेताहरूका पिछलग्गूहरू चाहिँ कसरी हनुमान भए ?
पिछलग्गूहरूलाई
हनुमान भन्नुभन्दा पहिले कृपया एक पटक मात्र भए पनि रामायण पढ्नुहोस्। हनुमान को
थिए चिन्नुहोस्। हामी सनातनीहरूले पूजा गर्दै आएका हनुमानको नाम कुनै निःकृष्ट
कार्यकर्तालाई नदिनुहोस्, कुनै पिछलग्गूलाई नदिनुहोस्, कुनै कठपुतलीलाई नदिनुहोस्,
कुनै दासलाई नदिनुहोस्, कुनै चम्चालाई नदिनुहोस्।
यति नै हो मेरो आग्रह ! आगे यहाँको मर्जी !!
जय हनुमान ! जय
बजरङ्गबली !