Sunday, September 25, 2016

नगरकोटी कनेक्सन



कहिलेकाहीँ कुनै लेखकका बारेमा त्यसै उरन्ठेउलो धारणा बन्दछ। कुनै आग्रह वा भनौँ पूर्वाग्रहले त्यस्ता लेखकका किताब पढिँदैनन्। कुनै लेखकको लेखन शैली (विशेष भाषा) मन पर्दैन र पढिँदैन। कतिपय स्थितिमा यस्ता कुरा लिटरल्ली "जायज" होलान् तर कतिपय स्थितिमा ती लिटरल्ली "रिग्रेट" बन्छन्। आ कति जेनेरलाइज गर्नु आफ्नो कुरा भन्न पनि ! सोझै भन्छुः

अथ कुमुदोवाचः कुमुद भन्ने व्यक्ति पुस्तक पढ्न रुचाउने मान्छे नै हो। नयाँ कृतिहरू पनि पढ्न मन गर्छ। अझ साथीहरू(अमर, बुद्धि, नयन,....) र दाइहरू( श्यामल, नारायण, दिनेश, सरूभक्त....)का किताब त पढ्छ र पर्खन्छ पनि। तर नगरकोटी नामका लेखकका बारेमा उसले एउटा पूर्वाग्रह पाल्यो, उसको कुनै पुस्तक पल्टायो(नाम थाहै छैन त के गर्ने ?) र सरर्र एक प्याराग्राप पढ्यो। नगरकोटीले नेपालीमा अङ्ग्रेजी मिसाएको फिटिक्कै मन परेन उसलाई। फ्यात्त किताब फ्याँकिदियो टेबलतिर। नगरकोटी नपढ्दैमा केनै पो हुन्छ र ! के नै पो छुट्छ र ? यस्तो नि हुन्छ भाषालाई लिटरल्ली "ककटेल" बनाउने ? आ पढ्दिन भन्यो। पढेन। पढेन। पढेन। पढेन। 

गोडा दुएक वर्ष नै पढेन।

त्यही कुमुद भन्ने मान्छे कहिलेकाहीँ स्टोरी पनि लेख्ने गर्छ। एउटा किताब पनि छाप्यो कथाको। अनुवाद नि गर्छ। इन्टरनेटमा साहित्यिक म्यागेजिनको एडिटर भएँ भनेर मख्ख नि पर्छ। कथाको अनुवाद नि गर्छ। आ ! आफ्नै बारेमा धेर बखान्यो, कश्यप गोत्रीले।

कथा लेख्न रुचाउने हुँदा कथा त पढ्नै पऱ्यो नि। कसैले सुझायो, नगरकोटीको "फोसिल" पढिस् त ? तनक्क घमन्डले तन्कियो - आ पढ्दिन त्यस्तो नेपाङ्ग्रेजीमा लेखेको कथा। भाषाको सत्यानाश ! सुझाउने मान्छे नि कथा लेख्थ्यो, भन्यो - पछुताउलास् नि !

धेरै दिन बिते। महिनौँ बिते। नगरकोटी पढिनस् भने पछुताउलास् भनी धम्क्याउने मान्छे पुग्यो अमेरिका र उतै "डिसएपियर" भयो। यता उसलाई ठूलो औडाहा भयो, भित्र के भयो के भयो, भत्भति पोल्न थाल्यो। काठमाडौँ गएका बेलामा, मञ्जरीमा गएर "फोसिल" किनी ल्यायो र फेरि थन्क्यायो। अनि एउटा शनिबार पूर्वाग्रहको दाँत मुखबाट फुत्त थुतेर, चस्मा थन्क्याएर "फोसिल"को पहिलो कथा पढ्यो - गिद्धहरूको नाच। रनन्न रन्थनिएर अन्तिम कथा पढ्यो - फोसिल। दिनभरी उसको दिमागले काम गरेन।

-0-

अनि फेरि काठमान्डूको टुर। बिरामी भएर यसो त्यता पुग्दा, नयनजीको "सल्लीपिर" विमोचनतिर पनि पुग्न भ्याइयो। अहा ! तालु खुइले नगरकोटी पनि रहेछन्। नमस्ते ठोकेर परिचय पनि गरियो। तर तालु खुइलेले सम्झेका भने पक्कै छैनन्। सम्झिनु नि पर्दैन। लेख नगरकोटी लेख। तिमी लेखिरहू, हामी पढिराखौँला।

फोसिलका जम्मै कथा तीन पटक त पढि नै सकेँ। फोसिल त कति चोटी हो कति चोटी। 

मेरो मनभित्र एउटा "रिग्रेट"ले डेरा जमाएर बसेको छ। त्यो हो नगरकोटीलाई समयमा नपढ्नु। आफैंलाई "थुइक्क पाजी!" भनी गाली गरूँझैँ लाग्छ। नगरकोटीको भाषा ड्याम केयर। हु केयर्स ! उनको कथालेखन स्टाइल चाहिँ - आइ कान्ट डिस्क्राइब इन वर्ड्स।

कथाकै विषयमा कुनै दिन फेरि भनौँला। तर अहिलेलाई द सेकन्ड लास्ट एन्ड लाइन - डोन्ट जज अ राइटर बाइ हिज ल्याङ्वेज। 

र एन्ड लाइन - सि यु नगरकोटी इन एनदर बुक !!!

-0-