Wednesday, December 13, 2017

नम्रता - एउटा वियोगान्त प्रेमकथा

कृष्ण अविरलको परिचय दिइराख्नुपर्छ होला जस्तो लाग्दैन। रक्तकुण्डदेखि अविरल बगेको उनको लेखनयात्रालाई नजिकबाट नियाली रहेका छौँ हामी पाठकवृत्त। अहिले त झनै आफ्नो प्रकाशन संस्था "मञ्जरी पब्लिकेसन्स" खोलेर दुर्लभप्राय पुस्तकहरूलाई पुनर्प्रकाशित गर्दै लाने र अन्य भाषाका कृतिलाई नेपाली अनुवादमा छाप्ने उनको प्रयाशलाई प्रशंसा गर्नै पर्छ। नेपाली साहित्यको श्रीवृद्धिमा यस कार्यले गर्ने योगदानको मूल्याङ्कन समयले गर्नेनैछ। आफ्नै प्रकाशन संस्थाबाट निस्किएको उनको पछिल्लो उपन्यास "नम्रता"ले एउटा सार्वकालिक प्रश्न तेर्स्याएको छ - के प्रेम गर्नु अपराध हो ?
प्रेम विषय नै यस्तो साश्वत विषय हो जसका बारेमा अनादि कालदेखि लेखिँदै आएको छ, र मानिसका हृदयमा प्रेम रहुन्जेल लेखिइरहने छ। स्त्री-पुरुषको प्रेमका विषयमा अनेकन दु:खान्त कथाहरू लेखिए-पढिए, नाटक लेखिए-खेलिए, फिल्महरू बनाइए-हेरिए र अझै पनि यो क्रम निरन्तर जारी छ। प्रेम यस्तो विषय हो जसलाई पढेर मानिस कहिल्यै थाक्तैन, र कहिल्यै बिर्सिँदैन पनि। पौराणिक कालका प्रेमकथाहरूमा राधा-कृष्ण, शकुन्तला-दुष्यन्त, सावित्री-सत्यवानजस्ता प्रेम कथाहरू छन् भने पछिकामा अनारकली-सलीम, रानी रूपमती-बाजबहादुर, हीर-राँझा, सोहणी-माहिवाल, ढोला-मारू आदि भारतीय साहित्य-इतिहासका दुखान्त प्रेमकथाका उम्दा उदाहरण हुन्। अझ अरबी साहित्य त दुःखान्त प्रेमकथामा अब्बल मानिन्छ। लैजा-मजनू, कैस-लुबना, अन्तरा-अबला, आदिका कथाहरू हामी पाउँछौँ। फारसी साहित्यमा शीरीं-फरहादको प्रेमकथा संसार प्रसिद्ध छ। नेपाली साहित्यमा मुनामदनजस्तो प्रेमकथाले हाम्रो हृदय सराबोर भिजाएको भिजायै छ। मालती-मङ्गले पनि हाम्रो हृदयमै बसेका छन्।
नम्रता-गोविन्दको दुःखान्त प्रेमकथा लिएर कृष्ण अविरलद्वारा लेखिएको उपन्यास हो "नम्रता"। यसमा कृष्ण अविरलले किशोर वयका नम्रता र गोविन्दको प्रेम अङ्कुरणदेखि दुःखान्तसम्मका प्रसङ्गहरूको गाथा गाएका छन्। भावनाहरू कलिलै हुँदा, शरीर कलिलै हुँदा, प्रेम के हो भन्ने कुरा थाहै नहुँदै, एउटा रूमालबाट सुरु हुन्छ नम्रता र गोविन्दको प्रेम कहानी। एउटी स्कुल पढ्ने किशोरी र कलेज पढ्ने किशोरको भद्रपुरको सेरोफेरोमा पचासको दशकमा लेखिएको कथाले तत्समयको राम्रो चित्र देखाएको छ।
मानिस स्वभावैले करूणाप्रिय हुनुपर्ने हो। विवेक र चेतना भएको प्राणी भएकै कारण मानिसहरूले "प्रेम"जस्ता कुराहरूको अनुभूति गर्न सक्छ। तर चार्ल्स डार्विनको अर्ग्यानिक इभोल्युसनले त मानिसहरू पशुहरूबाटै विकसित भएका हुन भन्छ। यही कारणले होला मानिसको मनभित्र पशुत्वको अंश पनि घुसेको। पशुत्वसम्म त ठीकै पनि थियो होला, सबै मानिसहरूमा हुने एनिमल इन्स्टिन्क्टलाई त्यति घृणा गर्नुपर्ने पनि हुँदैन किनकि यसमा त्यति हिंसा हुँदैन। तर मानिसभित्र पसेको आसुरी वा राक्षसी प्रवृत्ति भने खतरनाक कुरा हो। प्रेम, अपनत्व, स्नेहजस्ता कुरालाई सजिल्यै लत्याइदिनसक्छ आसुरी प्रवृत्तिले। हिंसादेखि अरू केही देख्तैन यस्तो प्रवृत्तिले। "नम्रता"का खडानन्द यस्तै आसुरी प्रवृत्तिका जिउँदा उदाहरण हुन्। आफ्नो सामाजिक प्रतिष्ठा( वा अहम?) र राजनैतिक पहुँचलाई कायम राख्नका लागि जस्तोसुकै हिंसा गर्न पनि तयार हुने उनको प्रवृत्तिले नम्रताको कलिलो प्रेमलाई सजिलै कुल्चिन्छ, किस्ताबन्दीमा, एकपल्ट अलिकति हिंसा गर्दै, पछि अलिक बढाउँदै। शारीरिक सहित मानसिक यातनाको एउटा सृङ्खला बन्छ जसले अन्त्यमा नम्रता विक्षिप्त बन्छिन्, खडान्दकै कारण, उनकै घरमा। अहिले पनि हामीले घरभित्र देख्ने किसिमको पारदर्शी चश्माले हाम्रा समाजका घरहरू हेर्नु हो भने, खडानन्द जस्ता पात्र हरेक दोस्रो घरमा भेटिनसक्छन्। भेटिन्छन् पनि। खडानन्द यस्तो पात्र हो जसले आममानिसको भातभान्सोदेखि लिएर सबै सपनाहरू खाइदिन्छ। पञ्चायतकालमा हुने गरेको ऐलानी जमिनलाई आफ्नो नाममा पार्ने काम अहिलेको कथित लोकतन्त्रमा खुल्लम खुल्ला हुन्छ र अहिले त्यस्ता खडानन्दहरूलाई गन्न पनि सकिन्नँ। मैले "नम्रता" पढ्दा, खडानन्दको जस्तो चरित्र उभ्याएकामा अविरललाई कतै दोष दिने ठाउँ भेटिनँ। उनले त्यत्तिकै सफलताका साथ उभ्याएका छन्, एकजना असल पात्र खडानन्दका भाइ धर्मानन्दलाई। धर्मानन्दजस्ता मानिस भएकै कारण हाम्रो समाज बाँचेको छ। तिनैजस्ता राम्रा मानिस छन् र देश बाँचेको छ, हामी बाँचेका छौँ।
नम्रताकी आमा नन्दिनी(उर्फ खडिनी) एउटी पीडित पत्नीहुन् जसको जिन्दगी खडान्दको चाकरी र घरधन्धामै बित्छ। आफ्नो भन्ने कुरामा नाम पनि आफ्नो नभएकी नन्दिनीले कहिल्यै सपना देख्ने गरी सुत्न पनि पाइनन्। जिन्दगीका सुनौला सपना त परै जाऊन्, निद्रामा देखिने सपना पनि नन्दिनीजस्ता नारीलाई नसीब हुँदैनन्, त्यस्तो सामाजिक परिपाटी छ हाम्रो। पतिपत्नी एउटै रथका दुई पाङ्ग्रा हुँदै होइनन्। हाम्रो अतिपुरुष प्रधान समाजमा यो भनाइ बिलकुलै लागू हुँदैन। खुसी र आनन्द के हुन्, तिनलाई के थाहा ! जिन्दगी बाँच्नुको सार्थकता तिनै घरधन्धा, अलमल र गाली खाँदै बित्ने।
उपन्यासको कथावस्तु आफैँमा सुन्दर छ। पढिरहँदा कताकतै आँखाका कुना भिज्छन्, कतै अनौठो लाग्छ, कतै अलिअलि झर्को पनि लाग्छ। नम्रताको कलिलो वयको प्रेमले पछ्याएको बाटो, दुरूह उनका आफ्नै बाबुका कारणले छ, उनको प्रेमीको गरिबीका कारणले छ, हाम्रै सामाजिक मान्यताले छ। पुरुषहरूभित्र रहेको आसुरी वृत्तिले छ।
गोविन्द हरेक आमाबाबुको सपना हो। हामी नेपालीकै सपना होइन र ? चाहे गरिब हुन् या धनी कसले आफ्नो छोराछोरीलाई राम्रो बाटोमा हिँडेको देख्न चाहँदैन र ? गोविन्दको छटपटी पनि राम्ररी उतारेका छन् अविरलले। पात्र र परिवेश अनुसारको पात्रीय विशेषता उनको पुस्तकको राम्रो पाटो।
अर्को सुन्दर कुरा, अविरलले पात्रलाई जे बोलाए, त्यही लेखे। लेखेको र बोलेको साह्रै मिलेको। संवाद अत्यन्त स्वाभाविक। संवादले कतै पनि कृत्रिमताको झल्को दिँदैन।
यति हुँदाहुँदै पनि, उपन्यास पढिरहँदा, कहीँ कतै केही छुटेजस्तो, अलिकति केही नपुगेजस्तो, दृश्यचित्र बनाउँन खोज्दा केही गायब भएजस्तो अनुभूति गरेँ मैले। नम्रताले पाएको यातनाको मात्रा अनुसार उनका प्रकट वेदना केही कम भएजस्तो, गोविन्दको उकुसमुकुस पनि केही कम फुलेको बेलुनजस्तो, दृश्यचित्रमा बाटामा पानी कम परेजस्तो, खेतीमा घाम कमलागेजस्तो। साँझ-बिहानको मोहकता कतै बिलाएजस्तो, कतै फूल कम फुलेजस्तो। पाटा कुहिएको कम गनाएजस्तो, दूध मझेरीमा नपोखिएजस्तो। कतै तुलना धेर भएजस्तो कतै "बारी" धेर भएजस्तो, कतै "मानौँ" धेर भएजस्तो। कतै केही नभएको भए पनि हुनेजस्तो। त्यस्तै..त्यस्तै..।
अब कृष्ण अविरलको सातौँ उपन्यास पनि प्रखर रूपमा प्रकट होस् भन्ने शुभकामना सहित।
- कुमुद अधिकारी

Thursday, November 16, 2017

भुइयाँ - एउटा एक्टिभिज्म


यज्ञशको निजात्मक अनुभूतिहरूले सराबोर रहेको कृति 'भुइयाँ'ले हामीमाझ एउटा प्रश्न तेर्स्याएको छ – के जमिन नभएको मानिस मानिस होइन ? यदि हो भने किन उसले यही धरतीमा यति विघ्न दुःख र पीडा खेप्नुपर्छ ? लाग्छ हामी मानिसहरूबाट मानवता नामको कुनै चीज गायब भैसक्यो। वा मानवताको परिभाषा फेरिएको हुनसक्छ – हामी कथित उपल्लो स्तर(जमिनवाला, धेरै जमिनवाला र नक्कली सुकुम्बासी)का मानिसहरूको मानवतामा कपट र दुष्ट्याइँ पनि सामेल छन्। हामी परपीडक भएका छौँ। मान्छेलाई दुःख दिएर आनन्द लिन्छौँ। अझ यो कपट र दुष्ट्याइँ त जेनेटिक क्यारेक्टर नै हो कि क्या हो ? जिनमै पुस्तौँ पुस्तादेखि सर्दै आयो। रूप फेरियो होला तर आउनचाहिँ आयो – कतै अनुदानका रूपमा, कतै आश्वासनका रूपमा, कतै छलका रूपमा, कतै के कतै के का रूपमा !
भारतीय लेखिका अरून्धति रोय मलाई मन पर्ने लेखिका हुन्। उनका उपन्यास भन्दा पनि निबन्धहरू र ती निबन्धहरूमा उनले उठाएका तर्क दमदार हुन्छन्। उनी सामान्य मानिसका बारेमा लेख्छिन्। पूँजीबजारबाट पिल्सिएका, कर्पोरेट बजारको पैसाबाट डढेका, प्रकृतिलाई तहस नहस पार्ने सरकारी ठूला योजनाहरूमा डुबेका, जङ्गलमा पनि बस्न नदिई लखेटिन लागेका, सरकारको आवरणमा गरिएको आमहत्याबाट मृत्यु भएका, आदि आदि मानिसहरूको आवाज उनका निबन्धहरूमा पाइन्छन्। पीडितका लागि बोल्ने, पीडितका पक्षमा बोल्ने, र भारत सरकारलाई आच्छु आच्छु पार्ने लेखिका हुन अरून्धति। त्यसैले उनी एउटी लेखिका त हुन् नै एउटी एक्टिभिस्ट पनि हुन्। अरून्धतीको एक्टिभिज्मले के कति काम गऱ्यो त्यो मैले यहाँ उल्लेख गर्न नपर्ला।
मैले भुइयाँ पढ्तै गर्दा मलाई नेपालमा पनि एउटा लेखक एक्टिभिस्ट जन्मियो है जस्तो लाग्यो। एक्टिभिस्टको भूमिकामा मतान्तर हुन सक्ला तर भुइयाँले ती मानिसहरूका आवाज बोलेको छ जो लेख्न पढ्न सक्तैनन्। लेख्न पढ्न सके पनि तिनको पहुँच आमसञ्चारमा माध्यममा कदापि पुग्दैन। किनकि आमसञ्चारका माध्मय पनि बिक्ने सामग्री मात्र प्रसारित गर्छन्। जसले उनीहरूलाई पाल्छ तिनीहरूकै मात्र जयजयकार गर्छन्। यस्तो स्थितिमा धरतीको सबैभन्दा नजिक बस्ने मानिसहरू – सबै किसिमले भुइँमा सुत्ने, कपडा लगाउन नसक्ने, त्यही भुइँमा अन्नपात उमारेर जीवन धान्नु पर्ने –ले त्यही धरतीको उपयोग गर्न नपाउनु, पाए पनि खोसेर लगिनु, एक ठाउँबाट लखेटिनु, अर्को ठाउँमा पनि उभिन नपाउनु, एक छाक राम्रो खान त परै जाओस्, लाज छोप्न कपडा पनि नपाउनु.... वा नदिइनु के समाचार बन्ला र ? उनीहरूको समाचारले मानिसहरूको हृदय कतै छोला र ?
भुइँया पढ्दा सोचिनसक्नुको पीडा भयो – कारण स्पष्ट छः हामी कथित उपल्लो वर्ग, सत्ता, पूँजीबजार, कर्पोरेट जगत कति अमानवीय भैसकेछौँ भन्ने लाग्यो। सरकारले कमैया मुक्तिको घोषणा गर्छ - कुनै कमैया मुक्त हुँदैन। राजनैतिक दलहरू गएर सुकुम्बासी बस्ती बसाल्छन् – वन उपभोक्ता समितिले लखेट्छ। दलितका लागि अनेकन् आयोग बन्छन् र कोठे बैठकमा सकिन्छन्। छुवाछूत कानुनमा कहाँ छ र ? व्यवहारमा पो छ त। पानी छोइने, खानेकुरा छोइने, के छोइने, के छोइने। खासमा भन्ने हो भने यो धरती त धेरै अछूतहरूले छोएका छन्, किनकि उनीहरूसँग जुत्ता चप्पल लगाउने कुनै पैसा छैन। नाङ्गै खुट्टा हिँड्छन्, नाङ्गै शरीर सुत्छन्। धरतीमा यति धेरै अछूतहरूले छोएको धरतीमा हामी कथित उपल्लो जातले किन बस्ने, धरतीकै माध्यमबाट छोइहालियो। साँच्चै छूवाछूतबाट बच्ने नै हो भने एउटा उपाय छ – सबै ठूलाबडाहरू मङ्गल ग्रहमा गएर बस्ने। त्यहाँ चाहिँ बलदेव राम पुग्न सक्तैनन्। ग्यारेन्टी छ।
मान्छेले त मान्छेलाई खेद्‌यो खेद्‌यो, प्रकृतिले पनि त्यसै गर्छ। पहिरोलाई पनि तिनकै बस्ती चाहिने, बाढीलाई पनि तिनकै घर चाहिने। हुन त मान्छेले नै प्रकृतिले खेद्‌ने सीमासम्म पुऱ्याएर राखेका हुन् नि उनीहरूलाई। नत्र किन रातभरि टर्च बाल्दै बाढीले बगाउला कि भनेर हेरिरहनुपर्थ्यो? नत्र किन वन उपभोक्ताहरूले लखेटिरहन्थे ? नत्र किन खान नपाएर काखको बालक मर्थ्यो ? नत्र किन....? नत्र किन......?

यज्ञशको कलमले यस्तै यस्तै लेखिरहून्। उनको एक्टिभिज्म थोरै भए पनि सफल बनोस्। शुभकामना।

Sunday, May 28, 2017

भूकम्पमा मल्हमपट्टी - एउटा पाठकको निजानुभूति

डा. रवीन्द्र समीरको एघारौँ कृति 'भूकम्पमा मल्हमपट्टी'ले २०७३ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गऱ्यो। उक्त समारोहमा लेखको परिचय दिँदै प्रा.डा. महादेव अवस्थीले भन्नुभाथ्यो - सहृदयी चिकित्सक। उहाँले भनेको सही हो। तर म मेरा आत्मीय मित्र डा. रवीन्द्र समीरलाई म त्यसभन्दा धेरै माथि देख्छु।
उहाँले २०७२ सालको महाभूकम्प पछि आयोजना गरेका निशुल्क स्वास्थ्य शिविरहरूको स्वर हो यो पुस्तक। यसमा अक्षरहरू पढिँदैनन्, सुनिन्छन्, गमिन्छन्, हृदयङ्गम गरिन्छन्।
भूकम्पले ध्वस्त पारेको तन र मनलाई सुमसुम्याउने नरम हातहरूले भोगेका दुःख र वेदनाहरू छताछुल्ल पोखिन्छन्। पुस्तकमा हामी उहाँसँगै यात्रा गर्छौँ, विकट पहाडका वस्तीहरूमा। घर भत्किएर बनेका खण्डहरहरूमा। माटो र ढुङ्गाको थुप्रोलाई यही हो मेरो घर भनी देखाउँदा, तपाईँ हाम्रो मन पनि कुँडिन्छ। सरकारी संयन्त्रको गैरजिम्मेवारीले मनमा रिसको आगो बाल्छ। भलाद्मीहरूका सत्कर्मले हामीलाई भित्रैसम्म भिजाउँछन्। नेपाली सेनाले गरेको उद्दारपछि मानिसले यहाँका सेना देउता हुन् भन्ने सुन्दा छाती गमक्क फुल्छ। मानिसका दुःखले हामीलाई पनि दुखाउँछ। पीरै पीरले सहन नसकी रक्सीको सहारा लिएका बिरामीहरूले खाएको रक्सी पनि गनाउँछ। डा. समीरलाई भोक लाग्दा हामीलाई पनि भोक लाग्छ। उहाँ थाकेर लखतरान हुँदा हामी पनि थाक्छौँ। मानिसहरू काम गर्न छोडी आसे भएको देख्ता हामीलाई पनि दिक्क लाग्छ। बारीका तरकारी र अन्न खान छोडी चाउचाउ माग्न लाइन बसेको देख्ता हामीलाई पनि रिस उठ्छ। डा. समीर जता जानुहुन्छ हामी त्यतै जान्छौँ। डा. समीरलाई साथ दिने, मनोज गजुरेलजस्ता कलाकारसँगै हामी पनि हाँस्छौँ। कोमलीकान्तझैँ हामी पनि गाउँछौँ।
डा. समीरको प्रशंसा गर्नु भनेको उहाँलाई अपमान गरेको झैँ लाग्छ। उहाँ प्रंशसा - पुरस्कारबाट टाढै रहेर मानव सेवा गर्ने मानव हुनुहुन्छ। उहाँले आफ्ना पुस्तकको बिक्रीबाट आएको लेखकस्व, पाएका पुरस्कारहरूमा आफ्नै आर्जन थपेर तिनै बिरामीका लागि औषधि किन्नुहुन्छ। टाउकामा ठूलो ऋणको भारी बोकेर मान्छेलाई उपचार गर्दै हिँड्नुहुन्छ। सरकारको स नपुग्ने ठाउँमा पुग्नु भएको छ। मानिसलाई उपचारभन्दा बढी अपनत्व दिनुभएको छ, मानिसमा मानिसप्रति, डाक्टरी पेसाप्रति गुमिसकेको विश्वास जगाउनुभएको छ। दीपा भाउजूले डा. समीरका कदममा कदम मिलाउनु भएको छ। अन्य सहयोगी हातहरूले उहाँको होस्टेमा हैँसे मिलाएका छन्। भूकम्प नजाँदै पनि देशका दूर-दराजका ठाउँमा गएर महिनामा एउटा निशुल्क स्वास्थ्य शिविर चलाउने विरलाकोटी मानव हुनुहुन्छ उहाँ। उहाँले मानिसलाई मानिसै देख्नुहुन्छ, नीजि क्लिनिकका डाक्टरलेझैँ पाँच सयको नोट देख्नुहुन्न। आफ्ना देशका मानिसको दुःख उहाँको पनि दुःख हो। उहाँका साथीहरूको दुःख उहाँको पनि हो।
यति गर्दा पनि अभिमानको नामोनिसान छैन उहाँमा। पुराण वाचनमा दानवीर भएर नाम फुकाउने कुनै रहर छैन। कतै शिलालेखमा नाम कुँदियोस् भन्ने छैन। नामको कुनै लोभ छैन। उहाँले कुनै ब्यानरमा काम गर्नु भएन। म शिविर गर्दैछु भनेर हल्ला गर्नुभएन। जहाँ बिरामी छन्, त्यहीँ जानुभयो। बिरामीका घरमा पस्दा उहाँ घरमा नपसेर मनभित्र पस्नुभयो। उहाँले दवाईमात्र दिनुभएन, जीवन दिनुभयो, बाँच्नुको सार्थकता दिनुभयो।
पहिले उहाँका फेसबुक स्टाटस पढ्दा लाग्थ्यो, मैले पनि कतै सहयोगी हात बढाएको भए हुन्थ्यो होला। अब पुस्तक पढेपछि किन त्यसो गरिनँ भनेर पछुतो लागेको छ।
यी प्रशंसाका शब्द होइनन्। मैले उहाँको सङ्गतमा जे देखेँ त्यही लेखेँ। अघि नै भने नि, प्रशंसाले उहाँको अपमान गर्न म चाहन्नँ।
अन्त्यमा,
उहिले मुगल बादशाहका दरबारमा एकजना महादानी अब्दुर्रहीम खानखाना हुने गर्नुहुन्थ्यो । उहाँ जहिले पनि दान दिन हात उठाउँदा आँखा झुकाउनुहुन्थ्यो रे। एक दिन गोस्वामी तुलसीदासले सोधी पठाउनुभएछ -
सीखे कहाँ नवावज ऐसी देनी देन।
ज्यों- ज्यों का उँचो करो लोन्त्यो नीचे नैन।
खानखानाले यस्तो उत्तर दिनुभएछ -
देनहार कोउ और है, भेजत सो दिन रैन,
लोग भरम हमर हमपर घरें यातें नीचे नैन।

अरू अब के भनूँ र ? के लेखूँ र ?
-0-

Friday, May 19, 2017

मेरा दाभिन्ची.....

मन एकतमासले हुँडलिएको छ। औँला किबोर्डमा छन् र लेख्नु पनि छ। तर शब्दै झर्दैनन्। श्रद्धा र प्रेमले भिजेको मेरो हृदय, आदर र भक्तिभाव मात्र देख्छ, शब्दै देख्तैन। के पो गरौँ ? लेख्न मन पनि लागेको छ। खै कताबाट पो सुरु गरौँ ?
स्मृतिमा अमिट छाप छाड्ने अनेकन सम्झना, घटना, प्रेम, वात्सल्य र श्रद्धाका एपिसोडहरू छन्। मेरा माइला बडाबा... मेरा दाभिन्ची...।
 बा दार्जिलिङबाट घर आएका बेला उहाँ धेरैजसो गइरहने ठाउँ माइला बडाबाको घर। बाका मुखबाट सधैँ निस्किरहने बडाबा प्रति आदर र श्रद्धाका उद्गारहरू नै काफी थिए उहाँको व्यक्तित्व बयान गर्न। प्राय बा "माल्दाजुकाँ गएँ है" भनेर हिँड्नु हुन्थ्यो। कोहीबेला म पनि पछि लाग्थेँ र सँगसँगै पुग्थेँ माइला बडाबाको घर। बा र बडाबा हसिँला अनुहार सहित अनेकन गफ गर्नुहुन्थ्यो, जो कहिले म बुझ्थेँ कहिले बुझ्दिनथेँ। म भने पल्टाउन थाल्थेँ "कल्याण" पत्रिकाका पन्नाहरू। मलाई कल्याण पढ्न भन्दा पनि कल्याणमा भएका रङ्गीन चित्रहरूले असाध्यै लोभ्याउँथे। अझ ठूला विशेषाङ्कहरूको त कुरै बेग्लै। चित्रमा दिइएका/देखाइएका देवी/देवता, पौराणिक पात्रहरू, महाभारत रामायण आदिका चित्रहरू हेर्दै म कल्पनालोकमा डुल्ने गर्थेँ। एउटा अनौठो शान्ति र आनन्दको अनुभूति हुन्थ्यो। कहिलेकाहीँ कुनै पात्रका रूपमा आफैँलाई उभ्याउँथेँ, ती चित्रहरूमा आफू भएको अनुभूति गर्थेँ र रमाउँथेँ। कहिलेकाहीँ लाग्थ्यो तिनै चित्रका कुरा मात्र आफ्ना हुन्, लुगा पनि तिनले लगाएजस्ता मात्र आफ्ना हुन्। त्यो कुटियाको आँगन आफ्नो हो, आँगनका छेउमा कीलामा बाधिएको गाई र गाईले चाट्दै गरेको बाछो आफ्नै हो। रूख चराहरू आफ्नै हुन्, हरियाली पनि आफ्नो हो। अपनत्वको त्यो भावना अहिले पनि कल्याणका ती चित्रहरूले मलाई दिन्छन्, दिइरहन्छन्। सँगसँगै जोडिन्छ छेउमा बसेर आशीर्वाद दिइरहनुभएका माइला बडाबा।
पछि दार्जीलिङबाट हिँउदे छुट्टीमा घर आउँदा, बडाबाकहाँ जाने क्रम बढ्यो। त्यस्तै गरी कल्याण पल्टाइरहँदा बडाबाले एक दिन भन्नुभयो - "कान्छा, त्यो पछाडिका पानामा भएको स्तम्भ 'पढो, समझो और करो' चाहिँ नछुटाउनु है।" नभन्दै त्यसै दिनदेखी 'पढो, समझो और करो' नबिराइ नछोडी पढ्न थालेँ। प्रेरक प्रसङ्गहरूले भरिएको सो स्तम्भ मलाई सँधै प्रिय रह्यो। कल्याणमा मलाई अर्को रहर लाग्ने विषय(अझै पनि) लेखकहरूको उपाधी र उनीहरूले पास गरेको डिग्री हेर्नु हो। नितान्त बेग्लै विषयमा डाक्टरेट गरेका लेखकहरूले अध्यात्मको विश्लेषण गरेको देख्दा पढ्दा हृदय गदगद हुन्थ्यो। एउटा बिर्सनै नसकिने नाम हृदयमा बसेको छ 'डा. रामचरणजी महेन्द्र, पी.एच.डी.'। बडाबाले पढ्न लगाएका तिनै 'कल्याण'का अङ्कहरूले धर्म-संस्कृति, परम्परा, मानवता र आस्थालाई दोस्रो आँखाबाट हेर्न प्रेरणा दिए। प्रेम जगाए, आदरभाव जगाए।
 माइला बडाबाबाट मैले सिकेका धेरै कुराहरूमध्ये मलाई मन पर्ने कुरा हो कागजको फेस्टुन काट्ने कला। विवाह, ब्रतबन्ध जस्ता अवसरहरूमा र तिहारमा घर सजाउन प्रयोग गरिने कागजका फेस्नुटहरूको सिर्जनामा, माइला बडाबाको कलाकारिता गज्जबको थियो। जापानी कागजको कला 'किरिगेमी'मा उहाँको जत्तिको शील्प मैले देखेको छैन। तिहारका बेला त माइला बडाबाको घर कागजका फेस्टुनहरूले झिल्मिलाइरहेका हुन्थे। रङ्गीन कागजलाई लाम्चो पारेर पट्याएको, त्यसपछि त्यसलाई पनि पठ्याउँदै गरेर करिब तासको पत्ताको आकार भएपछि माथिल्लो र तल्लो भागको दोब्रिएको भागलाई काटेर खुला गरेको, आफैँले 'कस्टोमाइज' गरेको सानो 'कतर्नु'ले यताउति नागबेली घुमाएझैँ कागज काटेको, र सकिसकेपछि खोलेर देखाएको सबै मेरा मानसपटलमा ज्यूँ का त्यूँ छन्।  प्रायजसो एउटै ढाँचामा देखिइने फेस्टुनहरूका विभिन्न रूपहरू कसरी काट्ने भनेर उहाँले मलाई सिकाउनु भएको थियो। त्यसताका नाम पनि नजानि 'कागज काट्ने' भनेर सिकेको फेस्टुन कला मेरो प्रिय कला हो।
 दार्जिलिङतिर बाटाका छेउमा बसेर जुत्ता-चप्पल सिउने र पालिस लगाउने मोचीहरूले प्रयोग गरेको जस्तो तीन खुट्टे फलामे पाइतो माइला बढाबाका घरमा देखेर म तीनछक्क परेको थिएँ। पछि एकदिन उहाँले पाइतोको प्रयोग गरेको हेर्ने सुअवसर जुर्‍यो। त्यसबेला उहाँ आफ्नै जुत्ता मरम्मत गर्नहुँदो रहेछ। सोल उध्रिएको जुत्ता पाइता छिराएर बढाबाले काँटी ठोक्दै जानुभयो। म हेर्दै गएँ। लहरै अङ्ग्रेजीको यु आकारमा काँटी ठोकिसकेपछि जुत्ता पाइतो बाट फुत्त निकाल्नु भयो। त्यसपछि उहाँले आफ्नो सानो काठे टुलबक्स खोलेर धागाको एउटा गोली निकाल्नुभयो र सेता धागामा एउटा मैनको पहेँलो डल्लो लिएर दल्न थाल्नु भयो। भन्नु भो - 'कान्छा, धागालाई चिल्लो र बलियो बनाउन यो मैन दलेको हो नि !' म आश्चर्यचकित थिएँ, बोली नै फुटेन। त्यसपछि उहाँले आरो लिएर जुत्ताको सोल र मास्तिरको छालाको भाग सिउन थाल्नु भयो। उहाँका हातहरू यसरी चल्थे मानौँ उहाँले जीवन भरी त्यही काम गर्नु भएको छ। बडाबाको टुलबक्समा चियाएर हेरेँ। त्यहाँ तीनवटा आराहरू थिए। कुनै लामा कुनै छोटा गरेका। मैले त्यति गहिरिएर हेरेको देखेर होला, एउटा आरो निकाल्नु भयो र भन्नु भयो - 'कान्छा ल लैजा ! तँ पनि सिउँछस् त जुत्ता ?' म फुच्छेलाई यत्रो विश्वास गरेर दिनु भएपछि मैले नलिने कुरै भएन। मलाई लाग्यो मेरा हातमा कुनै जादू गर्ने हतियार परेको छ। मैले ध्यान दिएर हेरेँ। सानो पैयुँको हाँगामा छाताको करङ लगाएर बनाएको आरो बडाबाले मलाई दिएको सबैभन्दा सुन्दर उपहार थियो। आरो थापेपछि खुसीले उफ्रिँदै घरतिर लागेँ। कैयौँ दिनहरू त्यही आरो सुमसुम्याएर बसेको छु। यस आरोको प्रयोग मैले केही वर्षसम्म आफ्ना जुत्ता मरम्मत गर्नका लागि गरेँ। पछि कुनै दिन छाताको करङबाट आरो कसरी बनाउने भन्ने कुरा पनि माइला बडाबाले सिकाउनु भयो।
  माइला बडाबाको घरमा मलाई मनपरेको अर्को कुरा ॐ हो। तुलसीको मोठमा माटाले बनाएको होस् वा टिनको पातालाई कलात्मक तरिकाले काटिएको होस्। एक दिन बडाबाले सानो छिनाले टिनको पातो कप्दै गर्दा भन्नु भयो - "कान्छा टिन काट्न त रहर लाग्यो होला, तर धेरै जोगिनुपर्छ है नानी। छ्यास्स छोयो कि हात काटियो।" बडाबाले भनेझैँ हात काटिने डरले टिन काट्ने आँट पलाएन तुरून्तै। तर त्यसको सुन्दरताले भने सधैँ लोभ्याइरहने। पछि अलिक ठूलो भएपछि एल्युमिनियमका पाताहरू चलाउन थालेँ। काट्न र कुँद्न पनि सजिलो भएकाले एल्युमिनियमका पाताबाट भान्छामा मसाला राख्ने बट्टा देखि लिएर स्टिरियो सेटका साउन्ड बक्सहरू सजिलै बनाउन सिकेँ। अलमलिने एउटा अर्को बाटो जुर्‍यो।
 बालककालमा अत्यन्त रमाइलो र रहस्यमय लाग्ने कुरा बडाबाको भान्छाघरका धाराहरू पनि थिए। आफ्नो घरमा धारो आँगनका पल्ला छेउमा थियो। बडाबाकहाँ भने दुईवटा धाराहरू थिए। एउटा चिसो पानी आउने त सौझै ट्याङ्कीबाट आउने बुझेको थिएँ तर तातो पानी कसरी आउँछ म रनभुल्ल थिएँ। धेरै पल्ट थुप्रै जनालाई सोधेँ पनि, तर जबाफ भने अँगेनाबाट ल्याएकाले तातेको भन्ने हुन्थ्यो। आफू गएर अँगेनामा हेरो पाइप कतै देखिँदैन। धेरै पछिमात्र बडाबाको पानी तताउने प्रविधि पत्ता लागेको थियो र जतिबेला त्यो लाग्यो त्यति नै उहाँप्रति श्रद्धा बढेर गयो। बडाबाका सोच र शील्प बेजोड थिए।
बडाबाको लुगा सिउने शील्पले पनि मलाई अत्यधिक हौस्याएको छ। म उहाँले लुगा सिएको हेरिरहन्थेँ। मेसिनको पायदानमा राखिएका उहाँको खुट्टाका लयात्मक चालहरू हेर्न मलाई असाध्यै राम्रो लाग्थ्यो। मास्तिर हेर्दाखेरी बडाबा बडो ध्यान दिएर लुगाका तह मिलाउनु हुन्थ्यो। दुई तह लुगा राखेर सिउँदा खेरी तल्लो तहको लुका दाँतीले बढी च्याप्छ र बेलाबेला तन्काउँदै गर्नुपर्छ भन्ने कुरा बडाबाले नै सिकाउनुभएको हो। दार्जीलिङ गएपछि मेरो लुगा सिउने सीप तिखारिँदै गयो। पेन्ट, सर्ट, हाफपेन्ट आदि आफैँले पुस्तक किनेर सिकेँ। बडाबासँग सिक्नुपर्ने चौबन्दी चोलो र दौरा सुरुवाल सिक्न सकिनँ जसको अपसोच जिन्दगी भरी रहनेछ।
अपसोच त रहने नै छ बडाबासँग धेरै समय बिताउन नपाएकामा। उहाँसँग बुटी बनाउने तरिका नसिक्न पाएकामा। उहाँलाई सेवा गर्न नपाएकामा। उहाँलाई आभारका दुई शब्दहरू टक्र्याउन नपाएकामा।
धेरै पछिको कुरा, मैले करफोक छाडेर इटहरी आउने निर्णय गरेँ। परिवारका सबै सदस्यहरूले ठूलो विरोध जनाए। 'अस्थिरतालाई अँगालेर हिँड्नेले कहीँ प्रगति गर्न सक्तैन' भन्नेहरू थुप्रै निस्किए। अनि मैले इटहरीमा पाएको जागिर छोडेर करफोककै कामलाई निरन्तरता दिने निधो गरेँ। तर मैले करफोक छाड्ने निर्णय पहिले नै भनीसकेकाले फेरि प्रवेश गर्न नमिल्ने जानकारी पाइयो। त्यसबेला बडाबालाई कुनै कामले भेट्न गएको थिएँ। एकजना आफन्त बडाबाकै छेउमा बसिरहनु भएको थियो। अहिले सम्झिन्नँ को हुनुहुन्थ्यो, उहाँले मलाई सोध्नुभयो - "किन करफोक छाडेको ?" मैले केही जबाफ दिएको थिइनँ र के भन्ने सोचिरहँदा बडाबाले भन्नुभयो - "दाजुलाई छाडिदियो जागिर कान्छाले। आखिरी बाबु पछिको बाबु त्यै बिदुर त हो नि उसको।" म छक्क परेँ। सजल नेत्रले बडाबालाई हेरेँ। उहाँ मैतिर हेरिरहनु भएको थियो। म वात्सल्यले ओतप्रोत भएँ। मैले करफोक छाड्नुको कारण एउटा त्यो पनि थियो, मैले छोड्दा मेरा जेठा दाजु वेदराज(विदुर)को जागिर केही समय लम्बिन्थ्यो। मेरो त अन्यत्र जागिर खाने समय पनि थियो, उर्जा पनि थियो र जाँगर पनि। पछि नरहरि दाजुले उत्साह भरेपछि म इटहरी आएँ र त्यही भएँ जे मैले हुनुथियो।

 म आफैँ, मेरै बलबूताले यत्तिको भएको हुँ भनेर कहिल्यै भन्दिनँ। म जे छु त्यो मेरा आफन्तजन, शुभचिन्तक र मित्रहरूको उत्प्रेरणाले भएको हुँ। म उहाँहरूप्रति सधैँ ऋणी रहनेछु। मलाई सत्कर्मको संस्कार दिने मेरा माइला बडाबा, मेरा दाभिन्चीको स्थान मेरो हृदयमा सबैभन्दा उच्च स्थानमा छ।

(अथक पौरखी हातहरू - शब्दचित्रमा गोपीकृष्ण अधिकारी) स्मृतिग्रन्थका लागि तयार स्मृतिलेख।

Saturday, February 25, 2017

सागर पारी - हाम्री छोरी

उनको नाम रहमा जुल्मा। उनको घर इन्डोनेसियाको सुराबाया सहर। उनको धर्म इस्लाम। उनी मेरी छोरी। पूर्वी नेपालको उपाध्याय बाहुनकी छोरी कसरी इन्डोनेसियाली मुस्लिम केटी हुन गई ?

कथा तीन वर्ष अघि सुरु हुन्छ। २०७१ सालको जेठताका हाम्री छोरी नेहाको मित्रता रहमा जुल्मासँग कुनै सामाजिक सञ्जालमार्फत भयो। उनीहरूले आफ्ना विचारहरू आदानप्रदान गरे, पढेका पुस्तकहरूको चर्चा गरे र आफूलाई मन पर्ने ठाउँहरू पनि एकअर्काले थाहा पाए। त्यसपछि, रहमा भदौमा नेपाल आउने भइन्, नेपाल घुम्नका लागि। उनले नेपालमा नेहासँग भेट्न खोजिन्। उनी पहिले काठमाडौँ आइन् र नेहासँग बस्ने र खाने ठाउँ मिलाइदिन आग्रह गरिन्। छोरी नेहाले कुरा हामीलाई सुनाइन्, र हामीले हाम्रै घरमा बोलाऊ भनी सहमति दियौँ।  त्यसरी उनी इटहरी र इलाम आइन्।

हुन त मैले उनको हिजाब लगाएको फोटो मात्र एकपल्ट हेरेको थिएँ, तर उनलाई देख्नेबित्तिकै मलाई लाग्यो यिनी त हामीसँग वर्षौँदेखि परिचित छिन्, लाग्छ हाम्रै छोरी हुन्। मलाई लाग्यो मेरी अर्की पनि छोरी भइन्। सम्भवतः ईश्वरले पठाउनु भयो। रहमा हामीसँग डेढ महिना बसिन्, हाम्री छोरी भएर, बाआमाकी नातिनी भएर। हामीसँगै दसैँ मनाइन् ।उनी एक महिना बस्दा हाम्रो परिवार की अभिन्न अङ्ग भइन्। बस् बाँधियो एउटा धागो प्रेमको। हामीलाई धर्मले छेकेन, देशको सीमानाले छेकेन, समुद्रले छेकेन। मेरा बुबा, व्यासमा बसेर दसौँपल्ट पुराण वाचन गरेका पण्डित हुनुहुन्थ्यो। हिजाब लगाएकी रहमालाई घरभित्र नपस भन्नु भएन। हामी सुत्ने ओछ्यानमा नसुत भन्नुभएन। भान्सामा सँगै बसेर खाना नखाऊ पनि भन्नु भएन। रहमालाई घरको मन्दिरकै छेउमा राखेर दसैँको टीका लगाइदिन्न भन्नु भएन। ठूलो स्नेहले टीका लगाइदिनुभयो। आफ्नी नातिनी मानेर। संस्कृतका श्लोक पढेर आशीर्वाद दिनुभयो। त्यसको अङ्ग्रेजी अर्थ पनि लगाइ दिनुभयो। रहमा विधिवत उहाँकी नातिनी भइन्। हाम्री छोरी भइन्। हामीले सँगसँगै सबै आफन्तहरूकहाँ गएर टीका लगायौँ। दसैँमा मीठो मसिनो खायौँ। आखिर उनी हिँड्ने दिन पनि आयो। उनले काठमाडौँ गएर, अन्नपूर्ण पदयात्रा गर्ने कुरा गर्दैथिइन् तर उनी हिँड्न मानिरहेकी थिइनन्। तर उनलाई जानै थियो र हामीले उनलाई विदा गऱ्यौँ। फिक्कलमा बस चढाउन सबै आयौँ। माघेको घरबाट हिँड्दै खेरी उनको अनुहार मलिन थियो। फिक्कलमा बसको सिटमा बसालिसकेपछि हिँड्न थाल्दा, उनी ग्वाँग्वाँ रून थालिन्। हाम्रो पनि हृदय पनि रोयो। मैले उनलाई अँगालामा बाँधे र भने - "नरोऊ छोरी। अब तिमी हाम्री छोरी हौ, नेपालमा तिम्रो घर छ। बाबुआमा छन्, दाजुबहिनी छन्। हजुर्बाहजुर्आमा हुनुहुन्छ। जहिले जतिबेला मन लाग्छ तिमी उडेर आऊ, कुदेर आऊ। हामी तिम्रै प्रतिक्षामा बस्नेछौँ। कुनै बेला मिल्यो भने हामी पनि इन्डोनेसिया आउँला। हाम्रो दोस्रो घर जाऊँला।"
भन्न त भने त मलाई पनि आफ्ना आँसु रोक्न गाह्रो भइरहेको थियो। आँखाभरी आँसु भरेर गह्रौँ मन लिएर बसबाट ओर्लिएँ। चस्माको च्यापबाट चियाएर हेरेँ, रहमा रोइरहेकी थिइन्। एक मन त काठमाडौँसम्म पुऱ्याउन जाऊँ कि जस्तो पनि लाग्यो। तर तुरुन्तै त्यो सम्भव थिएन। उनी काठमाडौँ गइन्। नेपालमा हुन्जेल दिनको दुईपटक फोन गरिन्। अनि उडिन् इन्डोनेसिया। उनी त्यहाँ पुगेपछि, सम्बन्धका नयाँ आयामहरू सिर्जना भए, उनले नेपालमा बाआमा भेटेको, दाजुबहिनी भेटेको, हजुर्वाहजुर्आमा भेटेको कुरा गरिन्। यसरी हाम्रो अर्को घर बन्यो इन्डोनेसियाको सुरबाया सहर। यसरी रहमाको अर्को घर बन्यो नेपालको माघे गाउँ, इटहरी सहर।

रहमालाई भन्न त भनियो कुनै बेला आइहालिन्छ कि इन्डोनेसिया भनेर। तर कहिल्यै इन्डोनेसिया पुगिन्छ वा पुगिन्न निधो थिएन। भविष्य भन्ने क्षमता हामीसँग छैन पनि। तर अल्लाहले हाम्रो प्रार्थना राम्ररी नै सुनेजस्तो लाग्यो। यसवर्ष लगभग साउनतिर इमेलमा भारतको छत्तीसगढबाट निम्तो आयो - सृजन सम्मानले तेह्रौँ अन्तराष्ट्रिय हिन्दी सम्मेलन बाली, इन्डोनेसियामा गर्दैछ, सादर उपस्थितिको कामना गर्दछौँ। हत्त न पत्त बाली कहाँ पर्छ, सुरबाया देखि कति टाढा, राजधानी जकार्तादेखि कति टाढा भन्दै गुगल म्याप हेर्न थालियो। बाली अलग्गै टापु रहेछ। छोरी रहमा फेरि जकार्तामा कार्यरत थिइन्। आफ्नो कार्यक्रम बालीबाट अन्त नजाने किसिमको थियो। एक मन लाग्यो भेट नहुने नै रहेछ। रहमालाई म आउने कुरा सुनाएँ। उनका खुसीका पखेटा निस्किएका थिए। उनले जसरी पनि बाबालाई भेट्न बाली आउँछु भने पछि अलिक ढुक्क लाग्यो।

प्रतिक्षाका पलहरू समाप्त हुनेवाला थिए। बाली पुगेको दोस्रो दिन, दिनभरी कार्यक्रमहरूमै व्यस्त भएँ। साहित्यिक कार्यक्रममै मैले मेरी छोरीको घर इन्डोनेसियामा छ भनेँ। तीनछक्क परेका विभिन्न देशबाट आएका साहित्यकारहरूको उत्सुकता शान्त पार्नका लागि मैले माथिकै कुरा दोहोऱ्याएँ। मेरी छोरी मलाई भेट्न आउँदैछन् पनि भनेँ। प्रेम, स्नेह र अपनत्वलाई केले पो छेक्दो रहेछ र ? सुन्ने जति सबै आश्चर्यचकित भए। म भने छोरीसँगको मिलनको पल सम्झिएर मनमनै रमाइ रहेँ। त्यस दिन त उनी आउन भ्याइनन्। तर अर्को दिन बिहान आइपुगेकी रहिछन्। हामी बसेको होटलमा आएर बिहानै देखि भेट्न खोजेकी रहिछन्, तर हाम्रो कार्यक्रम अन्त जाने भएकाले दिउँसो भेट्न सम्भव भएन। कार्यक्रम सकेर होटल फिर्दा आँखाहरू गेटतिर फर्काएर उभिइरहेकी थिइन्। आँखामा नेपालको आफ्नो बाबालाई भेट्ने उत्कट अभिलाषा प्रष्ट देखिन्थ्यो। परैबाट देख्नेबित्तिकै "बाबा" भनेर बोलाइन्। म पनि दौडिँदै गएर उनलाई स्नेहले भरिएको अँगालामा बाँधे। फिल्मको दृश्यजस्तो लाग्ने यस वास्तविक घटनामा, होटल परिसरमा भएका पर्यटकहरूले देखे - एउटा नेपाली बाबु र इन्डोनेसियाली छोरीको अभूतपूर्व मिलन। रहमालाई भेट्दाको क्षणको बयान म कसरी गरूँ ? शब्दै छैनन्। हिँड्ने बेलामा एउटा मीठो वाचा गरिन् - आगामी जनवरी २०१८ मा नेपाल आउने। हृदयमा सानो मायाको दियो बालेर रूँदै हिँडिन् मेरी छोरी। उनको जकार्ताको फ्लाइट छुट्नै लागेको थियो।
-0-