उहिले १९७७ सालको मार्च
महिनामा म माघेबाट बुबासँग दार्जीलिङ गई सरकारी माध्यमिक विद्यालयमा कक्षा सातमा
भर्ना भएको थिएँ। त्यो साल घटेका केही घटनाहरूले इतिहास निर्माण गरेका छन् र तिनले
मेरो मस्तिष्कमा अमिट छाप छोडेका छन्।
त्यही साल भारतीय मार्क्सवादी
कम्युनिस्ट पार्टीका नेता ज्योतिन्द्र बसु पश्चिम बङ्गालका मुख्यमन्त्री भएका थिए।
१९७७ देखि बङ्गालको सत्ता लिएको सो पार्टीले लगातार पैँतिस वर्षसम्म शासन गऱ्यो।
उता केन्द्रमा भने जनता
पार्टीका नेता मोरारजी देसाई प्रधानमन्त्री भएका थिए।
त्यही साल पहिलो पटक
नेपाली साहित्यले भारतको प्रतिष्ठित "साहित्य अकादमी" पुरस्कार पाएको
थियो। सो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली साहित्यकार हुनुहुन्थ्यो इबरा।
उहाँलाई "नेपाली उपन्यासका आधारहरू" ग्रन्थका लागि सो पुरस्कार
दिइएको थियो।
त्यही साल अखिल भारतीय
नेपाली भाषा समितिको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री मोरारजी देसाइले नेपाली विदेशी
भाषा हो भनेका थिए। हामी केटाकेटीमाझ उनी 'पिसाब पिउने' अद्भूत नेताका रूपमा
परिचित थिए। आखिरी उनको बुद्धि पनि त त्यस्तै रैछ।
त्यही साल इबराले आफूले
प्राप्त गरेको अकादमी पुरस्कार नगद सहित दिल्लीतिरै हुइँक्याउनु भएको थियो।
त्यही साल हामी
ठिटाहरू(हाम्रो सरकारी स्कुल ठिटाहरूका लागि मात्र थियो) लामबद्ध भई नारा
घन्काउँदै दार्जीलिङको चोक बजार पुगेका थियौँ। त्यहाँबाट नारा घन्काउँदै चौरस्ता पुगेका
थियौँ। नारा हुन्थे – "भाषा हाम्रो प्राण हो।"; "भाषा हामीलाई चाहिन्छ
चाहिन्छ।" "...." "...."
नेपालबाट आएको धेरै
नभएकाले मैले धेरै कुरा बुझ्न बाँकी थियो। किन भाषा मागेको हो थाहा पनि थिएन।
साथीहरूलाई सोध्यो उनीहरू पनि त्यस्तै। एउटा साथीले निकै बुझेझैँ गरेर भन्यो –
"भाषा पाए पछि नोटमा नेपालीमा लेखिन्छ रे क्या नेपालीमा पनि।"
ट्वाल्ल परेर नोट
ओल्टाइ पल्टाइ हेरेपछि एकापट्टि विभिन्न भाषाहरूमा नोटको मूल्य लेखिएको हुँदो रहेछ
भन्ने चाल पाएको थिएँ। नारा उरालेर लखतरान भै घर आएपछि बुबालाई नै सोधेँ। बुबाले
भारतीय भाषाहरू, संविधानको आठौँ अनुसूची, साहित्य अकादमी पुरस्कार, इबराका विषयमा
विस्तारमा भनेपछि अलिक बुझेँजस्तो लाग्यो।
अनि त पछिका नारा
उराल्न औधि जोस पनि चढेको थियो। स्कुले जीवनभरि थुप्रै पल्ट हामी ठिटाहरू नारा
उराल्दै दार्जीलिङका बाटाहरूमा तलमाथि गरिहिँड्यौँ। पछि नर्थ पोइन्ट गएर विज्ञान
पढ्न थालेपछि थर्ड डाइमेन्सनको कुरा पढियो। अनि पो दिमागभित्र कतै बिजुली बल्यो - तेस्रो
आयाम अर्थात् थर्ड डाइमेन्सन। साहित्य धेरै बुझ्दिनँथे, तर रुचि भने त्यही
पढ्नतिर गयो।
त्यसताका तेस्रो आयामको
खुब कुरा हुन्थ्यो। विशेष गरी सरहरूबीच कुरा हुँदा, तीनवटा नाम मज्जाले लिइन्थे।
इन्द्रबहादुर राई, वैरागी काइँला र ईश्वर बल्लभ। तेस्रो आयामको यति धेरै प्रभाव
थियो कि, वैरागी काइँलाको कविता "मातेको मान्छेको भाषण: मध्यरातको
सडकसित" माध्यमिकको कोर्समै थियो र संयोग पनि कस्तो पढाउने गुरु पनि मेरा
बुबा नै हुनुहुन्थ्यो।
बालककालका कल्पनाहरू पनि
कति अनौठा हुने। अहिले सम्झिल्याउँदा आफैँ छक्क पर्छु। इबराको कथा रातभरि हुरी
चल्योको शीर्षकले नै मलाई रूझाएको थियो। कल्पना गर्थेँ आफैँ त्यो कथाको पात्र हुँ,
मलाई नै हुरीले दिक्क बनाएको छ, टिनको छाना उडाएर लग्यो भने के गर्ने ? रकउडको
एकपाखे घरमा बर्खेझरिको गडङ्डङ् बर्सिरहँदा झ्यालबाट तल हेर्दै यो झरिले घर
सोहोरेर छ्याङ्छ्याङे पुलमुनि पुऱ्याउला भन्ने डरले अत्तालिई रहन्थेँ। रकउडको नाक
ठोकिने भीरमा बनेको हाम्रो घर पहिरोले अहिले लग्यो, भरे लग्यो भनेझैँ हुन्थ्यो। सातै
दिन झरि परेपछि अन्त ओत लाग्न जाँदा पनि मनबाट भने कथा उत्रिएन, डर उत्रिएन। उसो त
दार्जीलिङमा झरि पर्न थालेपछि सात दिन त के महिना दिनसम्म पनि रोकिन्न। रातभरि
हुरी चल्छ, रातभरि झरी पर्छ। त्रासै त्रास। त्रासै त्रास।
कक्षा नौ( हो कि दस
बिर्सेँ)मा बुबाले वैरागी काइँलाको कविता पढाइ रहँदा विचित्रका कल्पनाले दिमाग
भरिन्थ्यो। दार्जीलिङको चोकबचार सुनसान हुन्थ्यो। औँसीको कालो रातमा पोलबत्तीहरूले
उज्यालो छरेको देखिन्थ्यो। त्यस्तो सुनसान सडकको बीचैमा एउटा मातेको मान्छे वैरागी
भेषमा भाषण ठोक्दै गोलघरबाट चोक अनि मोडिएर थानातिर जान्थ्यो र फेरि फर्किन्थ्यो।
बुबाले कविता वाचन गरिसक्दा र अर्थ समेत लगाउँदा म यिनै कल्पनामा डुली हिँड्थेँ। वैरागी
काइँला साँच्चै वैरागी हुन् अर्थात् वीतरागी साधु हुन् जस्तो लागिरहने। धेरै पछि
मात्र यो भ्रम तोडियो र उनलाई मैले सशरीर चिनेँ।
तेस्रो आयामको चमत्कार
थियो त्यो।
इबरा करफोकमा पढाउँदा
हाम्रै घरमा बस्नु भएको थियो रे। म जन्मिनुभन्दा करिब १०/११ वर्ष पहिले। उहाँ
बुबाका घनिष्ट मित्र हुनुहुन्थ्यो। दार्जीलिङमा हुँदा बुबा बारम्बार उहाँकहा
जाइराख्नु हुन्थ्यो। साहित्यका बहस हुन्थे। कुराकानी प्रशस्त हुन्थे।
इबराका छोराले हामीलाई
नर्थ पोइन्टमा केमिस्ट्री पढाउनुभएको थियो। देशपद सरको पढाउने शैली अब्बल त थियो
नै, उहाँ इबराका छोरा भन्ने जानेपछि श्रद्धा झन चुलिएर आउँथ्यो। आज देशपद सरलाई
शोक परेको छ। हामीलाई शोक परेको छ। सम्पूर्ण नेपालीलाई शोक परेको छ।
आमाले बारम्बार
भन्नुभएको छ - इन्द्रबहादुरलाई एकपल्ट देख्न मन लागेको छ। पहिले यही घरमा बस्नु
भएको। तिमीहरू कसैले उनलाई लिएर आओ न।
तर आज मसँग आमालाई दिने
जबाफ छैन। म भन्नै सक्तिनँ – आमा अब इबरा कहिल्यै आउन सक्नुहुन्न। उहाँ त बाको
साथी गैसक्नुभयो।
मलाई जिन्दगीभरि यही
पछुतो लागिरहने भयो। पोहोर परारै उहाँलाई गएर बिन्ती बिसाएको भए सायद आउनुहुन्थ्यो
कि। आमाले उहाँसँग धित मरून्जेल कुरा गर्नुहुन्थ्यो होला कि।
यसपालि माघे गएर आमालाई
ध्रुव तारा देखाउँदै एउटा कुरा भन्न मन लागेको छ – उ.... आमा ... इन्द्रबहादुर
राई।
इबरालाई यहीँबाट आँखाभरि
आँसु भरेर श्रद्धासुमन टक्र्याएँ।
देशपद सर, तपाईँलाई पनि समवेदनाका यिनै दुई शब्द
टक्र्याएँ।