कृष्ण अविरलको परिचय दिइराख्नुपर्छ होला
जस्तो लाग्दैन। रक्तकुण्डदेखि अविरल बगेको उनको लेखनयात्रालाई नजिकबाट नियाली
रहेका छौँ हामी पाठकवृत्त। अहिले त झनै आफ्नो प्रकाशन संस्था "मञ्जरी
पब्लिकेसन्स" खोलेर दुर्लभप्राय पुस्तकहरूलाई पुनर्प्रकाशित गर्दै लाने र
अन्य भाषाका कृतिलाई नेपाली अनुवादमा छाप्ने उनको प्रयाशलाई प्रशंसा गर्नै पर्छ।
नेपाली साहित्यको श्रीवृद्धिमा यस कार्यले गर्ने योगदानको मूल्याङ्कन समयले
गर्नेनैछ। आफ्नै प्रकाशन संस्थाबाट निस्किएको उनको पछिल्लो उपन्यास
"नम्रता"ले एउटा सार्वकालिक प्रश्न तेर्स्याएको छ - के प्रेम गर्नु
अपराध हो ?
प्रेम विषय नै यस्तो साश्वत विषय हो जसका
बारेमा अनादि कालदेखि लेखिँदै आएको छ, र मानिसका हृदयमा प्रेम रहुन्जेल लेखिइरहने
छ। स्त्री-पुरुषको प्रेमका विषयमा अनेकन दु:खान्त कथाहरू लेखिए-पढिए, नाटक
लेखिए-खेलिए, फिल्महरू बनाइए-हेरिए र अझै पनि यो क्रम निरन्तर जारी छ। प्रेम यस्तो
विषय हो जसलाई पढेर मानिस कहिल्यै थाक्तैन, र कहिल्यै बिर्सिँदैन पनि। पौराणिक
कालका प्रेमकथाहरूमा राधा-कृष्ण, शकुन्तला-दुष्यन्त, सावित्री-सत्यवानजस्ता प्रेम
कथाहरू छन् भने पछिकामा अनारकली-सलीम, रानी रूपमती-बाजबहादुर, हीर-राँझा,
सोहणी-माहिवाल, ढोला-मारू आदि भारतीय साहित्य-इतिहासका दुखान्त प्रेमकथाका उम्दा
उदाहरण हुन्। अझ अरबी साहित्य त दुःखान्त प्रेमकथामा अब्बल मानिन्छ। लैजा-मजनू,
कैस-लुबना, अन्तरा-अबला, आदिका कथाहरू हामी पाउँछौँ। फारसी साहित्यमा
शीरीं-फरहादको प्रेमकथा संसार प्रसिद्ध छ। नेपाली साहित्यमा मुनामदनजस्तो
प्रेमकथाले हाम्रो हृदय सराबोर भिजाएको भिजायै छ। मालती-मङ्गले पनि हाम्रो हृदयमै
बसेका छन्।
नम्रता-गोविन्दको दुःखान्त प्रेमकथा लिएर
कृष्ण अविरलद्वारा लेखिएको उपन्यास हो "नम्रता"। यसमा कृष्ण अविरलले
किशोर वयका नम्रता र गोविन्दको प्रेम अङ्कुरणदेखि दुःखान्तसम्मका प्रसङ्गहरूको
गाथा गाएका छन्। भावनाहरू कलिलै हुँदा, शरीर कलिलै हुँदा, प्रेम के हो भन्ने कुरा
थाहै नहुँदै, एउटा रूमालबाट सुरु हुन्छ नम्रता र गोविन्दको प्रेम कहानी। एउटी
स्कुल पढ्ने किशोरी र कलेज पढ्ने किशोरको भद्रपुरको सेरोफेरोमा पचासको दशकमा
लेखिएको कथाले तत्समयको राम्रो चित्र देखाएको छ।
मानिस स्वभावैले करूणाप्रिय हुनुपर्ने हो।
विवेक र चेतना भएको प्राणी भएकै कारण मानिसहरूले "प्रेम"जस्ता कुराहरूको
अनुभूति गर्न सक्छ। तर चार्ल्स डार्विनको अर्ग्यानिक इभोल्युसनले त मानिसहरू
पशुहरूबाटै विकसित भएका हुन भन्छ। यही कारणले होला मानिसको मनभित्र पशुत्वको अंश
पनि घुसेको। पशुत्वसम्म त ठीकै पनि थियो होला, सबै मानिसहरूमा हुने एनिमल
इन्स्टिन्क्टलाई त्यति घृणा गर्नुपर्ने पनि हुँदैन किनकि यसमा त्यति हिंसा हुँदैन।
तर मानिसभित्र पसेको आसुरी वा राक्षसी प्रवृत्ति भने खतरनाक कुरा हो। प्रेम,
अपनत्व, स्नेहजस्ता कुरालाई सजिल्यै लत्याइदिनसक्छ आसुरी प्रवृत्तिले। हिंसादेखि
अरू केही देख्तैन यस्तो प्रवृत्तिले। "नम्रता"का खडानन्द यस्तै आसुरी
प्रवृत्तिका जिउँदा उदाहरण हुन्। आफ्नो सामाजिक प्रतिष्ठा( वा अहम?) र राजनैतिक
पहुँचलाई कायम राख्नका लागि जस्तोसुकै हिंसा गर्न पनि तयार हुने उनको प्रवृत्तिले
नम्रताको कलिलो प्रेमलाई सजिलै कुल्चिन्छ, किस्ताबन्दीमा, एकपल्ट अलिकति हिंसा
गर्दै, पछि अलिक बढाउँदै। शारीरिक सहित मानसिक यातनाको एउटा सृङ्खला बन्छ जसले अन्त्यमा
नम्रता विक्षिप्त बन्छिन्, खडान्दकै कारण, उनकै घरमा। अहिले पनि हामीले घरभित्र
देख्ने किसिमको पारदर्शी चश्माले हाम्रा समाजका घरहरू हेर्नु हो भने, खडानन्द
जस्ता पात्र हरेक दोस्रो घरमा भेटिनसक्छन्। भेटिन्छन् पनि। खडानन्द यस्तो पात्र हो
जसले आममानिसको भातभान्सोदेखि लिएर सबै सपनाहरू खाइदिन्छ। पञ्चायतकालमा हुने गरेको
ऐलानी जमिनलाई आफ्नो नाममा पार्ने काम अहिलेको कथित लोकतन्त्रमा खुल्लम खुल्ला
हुन्छ र अहिले त्यस्ता खडानन्दहरूलाई गन्न पनि सकिन्नँ। मैले "नम्रता"
पढ्दा, खडानन्दको जस्तो चरित्र उभ्याएकामा अविरललाई कतै दोष दिने ठाउँ भेटिनँ।
उनले त्यत्तिकै सफलताका साथ उभ्याएका छन्, एकजना असल पात्र खडानन्दका भाइ धर्मानन्दलाई।
धर्मानन्दजस्ता मानिस भएकै कारण हाम्रो समाज बाँचेको छ। तिनैजस्ता राम्रा मानिस
छन् र देश बाँचेको छ, हामी बाँचेका छौँ।
नम्रताकी आमा नन्दिनी(उर्फ खडिनी) एउटी
पीडित पत्नीहुन् जसको जिन्दगी खडान्दको चाकरी र घरधन्धामै बित्छ। आफ्नो भन्ने
कुरामा नाम पनि आफ्नो नभएकी नन्दिनीले कहिल्यै सपना देख्ने गरी सुत्न पनि पाइनन्। जिन्दगीका
सुनौला सपना त परै जाऊन्, निद्रामा देखिने सपना पनि नन्दिनीजस्ता नारीलाई नसीब
हुँदैनन्, त्यस्तो सामाजिक परिपाटी छ हाम्रो। पतिपत्नी एउटै रथका दुई पाङ्ग्रा
हुँदै होइनन्। हाम्रो अतिपुरुष प्रधान समाजमा यो भनाइ बिलकुलै लागू हुँदैन। खुसी र
आनन्द के हुन्, तिनलाई के थाहा ! जिन्दगी बाँच्नुको सार्थकता तिनै घरधन्धा, अलमल र
गाली खाँदै बित्ने।
उपन्यासको कथावस्तु आफैँमा सुन्दर छ।
पढिरहँदा कताकतै आँखाका कुना भिज्छन्, कतै अनौठो लाग्छ, कतै अलिअलि झर्को पनि
लाग्छ। नम्रताको कलिलो वयको प्रेमले पछ्याएको बाटो, दुरूह उनका आफ्नै बाबुका
कारणले छ, उनको प्रेमीको गरिबीका कारणले छ, हाम्रै सामाजिक मान्यताले छ।
पुरुषहरूभित्र रहेको आसुरी वृत्तिले छ।
गोविन्द हरेक आमाबाबुको सपना हो। हामी
नेपालीकै सपना होइन र ? चाहे गरिब हुन् या धनी कसले आफ्नो छोराछोरीलाई राम्रो
बाटोमा हिँडेको देख्न चाहँदैन र ? गोविन्दको छटपटी पनि राम्ररी उतारेका छन्
अविरलले। पात्र र परिवेश अनुसारको पात्रीय विशेषता उनको पुस्तकको राम्रो पाटो।
अर्को सुन्दर कुरा, अविरलले पात्रलाई जे
बोलाए, त्यही लेखे। लेखेको र बोलेको साह्रै मिलेको। संवाद अत्यन्त स्वाभाविक।
संवादले कतै पनि कृत्रिमताको झल्को दिँदैन।
यति हुँदाहुँदै पनि, उपन्यास पढिरहँदा,
कहीँ कतै केही छुटेजस्तो, अलिकति केही नपुगेजस्तो, दृश्यचित्र बनाउँन खोज्दा केही
गायब भएजस्तो अनुभूति गरेँ मैले। नम्रताले पाएको यातनाको मात्रा अनुसार उनका प्रकट
वेदना केही कम भएजस्तो, गोविन्दको उकुसमुकुस पनि केही कम फुलेको बेलुनजस्तो,
दृश्यचित्रमा बाटामा पानी कम परेजस्तो, खेतीमा घाम कमलागेजस्तो। साँझ-बिहानको
मोहकता कतै बिलाएजस्तो, कतै फूल कम फुलेजस्तो। पाटा कुहिएको कम गनाएजस्तो, दूध
मझेरीमा नपोखिएजस्तो। कतै तुलना धेर भएजस्तो कतै "बारी" धेर भएजस्तो,
कतै "मानौँ" धेर भएजस्तो। कतै केही नभएको भए पनि हुनेजस्तो।
त्यस्तै..त्यस्तै..।
अब कृष्ण अविरलको सातौँ उपन्यास पनि प्रखर
रूपमा प्रकट होस् भन्ने शुभकामना सहित।
- कुमुद अधिकारी