Sunday, May 28, 2017

भूकम्पमा मल्हमपट्टी - एउटा पाठकको निजानुभूति

डा. रवीन्द्र समीरको एघारौँ कृति 'भूकम्पमा मल्हमपट्टी'ले २०७३ सालको उत्तम शान्ति पुरस्कार प्राप्त गऱ्यो। उक्त समारोहमा लेखको परिचय दिँदै प्रा.डा. महादेव अवस्थीले भन्नुभाथ्यो - सहृदयी चिकित्सक। उहाँले भनेको सही हो। तर म मेरा आत्मीय मित्र डा. रवीन्द्र समीरलाई म त्यसभन्दा धेरै माथि देख्छु।
उहाँले २०७२ सालको महाभूकम्प पछि आयोजना गरेका निशुल्क स्वास्थ्य शिविरहरूको स्वर हो यो पुस्तक। यसमा अक्षरहरू पढिँदैनन्, सुनिन्छन्, गमिन्छन्, हृदयङ्गम गरिन्छन्।
भूकम्पले ध्वस्त पारेको तन र मनलाई सुमसुम्याउने नरम हातहरूले भोगेका दुःख र वेदनाहरू छताछुल्ल पोखिन्छन्। पुस्तकमा हामी उहाँसँगै यात्रा गर्छौँ, विकट पहाडका वस्तीहरूमा। घर भत्किएर बनेका खण्डहरहरूमा। माटो र ढुङ्गाको थुप्रोलाई यही हो मेरो घर भनी देखाउँदा, तपाईँ हाम्रो मन पनि कुँडिन्छ। सरकारी संयन्त्रको गैरजिम्मेवारीले मनमा रिसको आगो बाल्छ। भलाद्मीहरूका सत्कर्मले हामीलाई भित्रैसम्म भिजाउँछन्। नेपाली सेनाले गरेको उद्दारपछि मानिसले यहाँका सेना देउता हुन् भन्ने सुन्दा छाती गमक्क फुल्छ। मानिसका दुःखले हामीलाई पनि दुखाउँछ। पीरै पीरले सहन नसकी रक्सीको सहारा लिएका बिरामीहरूले खाएको रक्सी पनि गनाउँछ। डा. समीरलाई भोक लाग्दा हामीलाई पनि भोक लाग्छ। उहाँ थाकेर लखतरान हुँदा हामी पनि थाक्छौँ। मानिसहरू काम गर्न छोडी आसे भएको देख्ता हामीलाई पनि दिक्क लाग्छ। बारीका तरकारी र अन्न खान छोडी चाउचाउ माग्न लाइन बसेको देख्ता हामीलाई पनि रिस उठ्छ। डा. समीर जता जानुहुन्छ हामी त्यतै जान्छौँ। डा. समीरलाई साथ दिने, मनोज गजुरेलजस्ता कलाकारसँगै हामी पनि हाँस्छौँ। कोमलीकान्तझैँ हामी पनि गाउँछौँ।
डा. समीरको प्रशंसा गर्नु भनेको उहाँलाई अपमान गरेको झैँ लाग्छ। उहाँ प्रंशसा - पुरस्कारबाट टाढै रहेर मानव सेवा गर्ने मानव हुनुहुन्छ। उहाँले आफ्ना पुस्तकको बिक्रीबाट आएको लेखकस्व, पाएका पुरस्कारहरूमा आफ्नै आर्जन थपेर तिनै बिरामीका लागि औषधि किन्नुहुन्छ। टाउकामा ठूलो ऋणको भारी बोकेर मान्छेलाई उपचार गर्दै हिँड्नुहुन्छ। सरकारको स नपुग्ने ठाउँमा पुग्नु भएको छ। मानिसलाई उपचारभन्दा बढी अपनत्व दिनुभएको छ, मानिसमा मानिसप्रति, डाक्टरी पेसाप्रति गुमिसकेको विश्वास जगाउनुभएको छ। दीपा भाउजूले डा. समीरका कदममा कदम मिलाउनु भएको छ। अन्य सहयोगी हातहरूले उहाँको होस्टेमा हैँसे मिलाएका छन्। भूकम्प नजाँदै पनि देशका दूर-दराजका ठाउँमा गएर महिनामा एउटा निशुल्क स्वास्थ्य शिविर चलाउने विरलाकोटी मानव हुनुहुन्छ उहाँ। उहाँले मानिसलाई मानिसै देख्नुहुन्छ, नीजि क्लिनिकका डाक्टरलेझैँ पाँच सयको नोट देख्नुहुन्न। आफ्ना देशका मानिसको दुःख उहाँको पनि दुःख हो। उहाँका साथीहरूको दुःख उहाँको पनि हो।
यति गर्दा पनि अभिमानको नामोनिसान छैन उहाँमा। पुराण वाचनमा दानवीर भएर नाम फुकाउने कुनै रहर छैन। कतै शिलालेखमा नाम कुँदियोस् भन्ने छैन। नामको कुनै लोभ छैन। उहाँले कुनै ब्यानरमा काम गर्नु भएन। म शिविर गर्दैछु भनेर हल्ला गर्नुभएन। जहाँ बिरामी छन्, त्यहीँ जानुभयो। बिरामीका घरमा पस्दा उहाँ घरमा नपसेर मनभित्र पस्नुभयो। उहाँले दवाईमात्र दिनुभएन, जीवन दिनुभयो, बाँच्नुको सार्थकता दिनुभयो।
पहिले उहाँका फेसबुक स्टाटस पढ्दा लाग्थ्यो, मैले पनि कतै सहयोगी हात बढाएको भए हुन्थ्यो होला। अब पुस्तक पढेपछि किन त्यसो गरिनँ भनेर पछुतो लागेको छ।
यी प्रशंसाका शब्द होइनन्। मैले उहाँको सङ्गतमा जे देखेँ त्यही लेखेँ। अघि नै भने नि, प्रशंसाले उहाँको अपमान गर्न म चाहन्नँ।
अन्त्यमा,
उहिले मुगल बादशाहका दरबारमा एकजना महादानी अब्दुर्रहीम खानखाना हुने गर्नुहुन्थ्यो । उहाँ जहिले पनि दान दिन हात उठाउँदा आँखा झुकाउनुहुन्थ्यो रे। एक दिन गोस्वामी तुलसीदासले सोधी पठाउनुभएछ -
सीखे कहाँ नवावज ऐसी देनी देन।
ज्यों- ज्यों का उँचो करो लोन्त्यो नीचे नैन।
खानखानाले यस्तो उत्तर दिनुभएछ -
देनहार कोउ और है, भेजत सो दिन रैन,
लोग भरम हमर हमपर घरें यातें नीचे नैन।

अरू अब के भनूँ र ? के लेखूँ र ?
-0-

Friday, May 19, 2017

मेरा दाभिन्ची.....

मन एकतमासले हुँडलिएको छ। औँला किबोर्डमा छन् र लेख्नु पनि छ। तर शब्दै झर्दैनन्। श्रद्धा र प्रेमले भिजेको मेरो हृदय, आदर र भक्तिभाव मात्र देख्छ, शब्दै देख्तैन। के पो गरौँ ? लेख्न मन पनि लागेको छ। खै कताबाट पो सुरु गरौँ ?
स्मृतिमा अमिट छाप छाड्ने अनेकन सम्झना, घटना, प्रेम, वात्सल्य र श्रद्धाका एपिसोडहरू छन्। मेरा माइला बडाबा... मेरा दाभिन्ची...।
 बा दार्जिलिङबाट घर आएका बेला उहाँ धेरैजसो गइरहने ठाउँ माइला बडाबाको घर। बाका मुखबाट सधैँ निस्किरहने बडाबा प्रति आदर र श्रद्धाका उद्गारहरू नै काफी थिए उहाँको व्यक्तित्व बयान गर्न। प्राय बा "माल्दाजुकाँ गएँ है" भनेर हिँड्नु हुन्थ्यो। कोहीबेला म पनि पछि लाग्थेँ र सँगसँगै पुग्थेँ माइला बडाबाको घर। बा र बडाबा हसिँला अनुहार सहित अनेकन गफ गर्नुहुन्थ्यो, जो कहिले म बुझ्थेँ कहिले बुझ्दिनथेँ। म भने पल्टाउन थाल्थेँ "कल्याण" पत्रिकाका पन्नाहरू। मलाई कल्याण पढ्न भन्दा पनि कल्याणमा भएका रङ्गीन चित्रहरूले असाध्यै लोभ्याउँथे। अझ ठूला विशेषाङ्कहरूको त कुरै बेग्लै। चित्रमा दिइएका/देखाइएका देवी/देवता, पौराणिक पात्रहरू, महाभारत रामायण आदिका चित्रहरू हेर्दै म कल्पनालोकमा डुल्ने गर्थेँ। एउटा अनौठो शान्ति र आनन्दको अनुभूति हुन्थ्यो। कहिलेकाहीँ कुनै पात्रका रूपमा आफैँलाई उभ्याउँथेँ, ती चित्रहरूमा आफू भएको अनुभूति गर्थेँ र रमाउँथेँ। कहिलेकाहीँ लाग्थ्यो तिनै चित्रका कुरा मात्र आफ्ना हुन्, लुगा पनि तिनले लगाएजस्ता मात्र आफ्ना हुन्। त्यो कुटियाको आँगन आफ्नो हो, आँगनका छेउमा कीलामा बाधिएको गाई र गाईले चाट्दै गरेको बाछो आफ्नै हो। रूख चराहरू आफ्नै हुन्, हरियाली पनि आफ्नो हो। अपनत्वको त्यो भावना अहिले पनि कल्याणका ती चित्रहरूले मलाई दिन्छन्, दिइरहन्छन्। सँगसँगै जोडिन्छ छेउमा बसेर आशीर्वाद दिइरहनुभएका माइला बडाबा।
पछि दार्जीलिङबाट हिँउदे छुट्टीमा घर आउँदा, बडाबाकहाँ जाने क्रम बढ्यो। त्यस्तै गरी कल्याण पल्टाइरहँदा बडाबाले एक दिन भन्नुभयो - "कान्छा, त्यो पछाडिका पानामा भएको स्तम्भ 'पढो, समझो और करो' चाहिँ नछुटाउनु है।" नभन्दै त्यसै दिनदेखी 'पढो, समझो और करो' नबिराइ नछोडी पढ्न थालेँ। प्रेरक प्रसङ्गहरूले भरिएको सो स्तम्भ मलाई सँधै प्रिय रह्यो। कल्याणमा मलाई अर्को रहर लाग्ने विषय(अझै पनि) लेखकहरूको उपाधी र उनीहरूले पास गरेको डिग्री हेर्नु हो। नितान्त बेग्लै विषयमा डाक्टरेट गरेका लेखकहरूले अध्यात्मको विश्लेषण गरेको देख्दा पढ्दा हृदय गदगद हुन्थ्यो। एउटा बिर्सनै नसकिने नाम हृदयमा बसेको छ 'डा. रामचरणजी महेन्द्र, पी.एच.डी.'। बडाबाले पढ्न लगाएका तिनै 'कल्याण'का अङ्कहरूले धर्म-संस्कृति, परम्परा, मानवता र आस्थालाई दोस्रो आँखाबाट हेर्न प्रेरणा दिए। प्रेम जगाए, आदरभाव जगाए।
 माइला बडाबाबाट मैले सिकेका धेरै कुराहरूमध्ये मलाई मन पर्ने कुरा हो कागजको फेस्टुन काट्ने कला। विवाह, ब्रतबन्ध जस्ता अवसरहरूमा र तिहारमा घर सजाउन प्रयोग गरिने कागजका फेस्नुटहरूको सिर्जनामा, माइला बडाबाको कलाकारिता गज्जबको थियो। जापानी कागजको कला 'किरिगेमी'मा उहाँको जत्तिको शील्प मैले देखेको छैन। तिहारका बेला त माइला बडाबाको घर कागजका फेस्टुनहरूले झिल्मिलाइरहेका हुन्थे। रङ्गीन कागजलाई लाम्चो पारेर पट्याएको, त्यसपछि त्यसलाई पनि पठ्याउँदै गरेर करिब तासको पत्ताको आकार भएपछि माथिल्लो र तल्लो भागको दोब्रिएको भागलाई काटेर खुला गरेको, आफैँले 'कस्टोमाइज' गरेको सानो 'कतर्नु'ले यताउति नागबेली घुमाएझैँ कागज काटेको, र सकिसकेपछि खोलेर देखाएको सबै मेरा मानसपटलमा ज्यूँ का त्यूँ छन्।  प्रायजसो एउटै ढाँचामा देखिइने फेस्टुनहरूका विभिन्न रूपहरू कसरी काट्ने भनेर उहाँले मलाई सिकाउनु भएको थियो। त्यसताका नाम पनि नजानि 'कागज काट्ने' भनेर सिकेको फेस्टुन कला मेरो प्रिय कला हो।
 दार्जिलिङतिर बाटाका छेउमा बसेर जुत्ता-चप्पल सिउने र पालिस लगाउने मोचीहरूले प्रयोग गरेको जस्तो तीन खुट्टे फलामे पाइतो माइला बढाबाका घरमा देखेर म तीनछक्क परेको थिएँ। पछि एकदिन उहाँले पाइतोको प्रयोग गरेको हेर्ने सुअवसर जुर्‍यो। त्यसबेला उहाँ आफ्नै जुत्ता मरम्मत गर्नहुँदो रहेछ। सोल उध्रिएको जुत्ता पाइता छिराएर बढाबाले काँटी ठोक्दै जानुभयो। म हेर्दै गएँ। लहरै अङ्ग्रेजीको यु आकारमा काँटी ठोकिसकेपछि जुत्ता पाइतो बाट फुत्त निकाल्नु भयो। त्यसपछि उहाँले आफ्नो सानो काठे टुलबक्स खोलेर धागाको एउटा गोली निकाल्नुभयो र सेता धागामा एउटा मैनको पहेँलो डल्लो लिएर दल्न थाल्नु भयो। भन्नु भो - 'कान्छा, धागालाई चिल्लो र बलियो बनाउन यो मैन दलेको हो नि !' म आश्चर्यचकित थिएँ, बोली नै फुटेन। त्यसपछि उहाँले आरो लिएर जुत्ताको सोल र मास्तिरको छालाको भाग सिउन थाल्नु भयो। उहाँका हातहरू यसरी चल्थे मानौँ उहाँले जीवन भरी त्यही काम गर्नु भएको छ। बडाबाको टुलबक्समा चियाएर हेरेँ। त्यहाँ तीनवटा आराहरू थिए। कुनै लामा कुनै छोटा गरेका। मैले त्यति गहिरिएर हेरेको देखेर होला, एउटा आरो निकाल्नु भयो र भन्नु भयो - 'कान्छा ल लैजा ! तँ पनि सिउँछस् त जुत्ता ?' म फुच्छेलाई यत्रो विश्वास गरेर दिनु भएपछि मैले नलिने कुरै भएन। मलाई लाग्यो मेरा हातमा कुनै जादू गर्ने हतियार परेको छ। मैले ध्यान दिएर हेरेँ। सानो पैयुँको हाँगामा छाताको करङ लगाएर बनाएको आरो बडाबाले मलाई दिएको सबैभन्दा सुन्दर उपहार थियो। आरो थापेपछि खुसीले उफ्रिँदै घरतिर लागेँ। कैयौँ दिनहरू त्यही आरो सुमसुम्याएर बसेको छु। यस आरोको प्रयोग मैले केही वर्षसम्म आफ्ना जुत्ता मरम्मत गर्नका लागि गरेँ। पछि कुनै दिन छाताको करङबाट आरो कसरी बनाउने भन्ने कुरा पनि माइला बडाबाले सिकाउनु भयो।
  माइला बडाबाको घरमा मलाई मनपरेको अर्को कुरा ॐ हो। तुलसीको मोठमा माटाले बनाएको होस् वा टिनको पातालाई कलात्मक तरिकाले काटिएको होस्। एक दिन बडाबाले सानो छिनाले टिनको पातो कप्दै गर्दा भन्नु भयो - "कान्छा टिन काट्न त रहर लाग्यो होला, तर धेरै जोगिनुपर्छ है नानी। छ्यास्स छोयो कि हात काटियो।" बडाबाले भनेझैँ हात काटिने डरले टिन काट्ने आँट पलाएन तुरून्तै। तर त्यसको सुन्दरताले भने सधैँ लोभ्याइरहने। पछि अलिक ठूलो भएपछि एल्युमिनियमका पाताहरू चलाउन थालेँ। काट्न र कुँद्न पनि सजिलो भएकाले एल्युमिनियमका पाताबाट भान्छामा मसाला राख्ने बट्टा देखि लिएर स्टिरियो सेटका साउन्ड बक्सहरू सजिलै बनाउन सिकेँ। अलमलिने एउटा अर्को बाटो जुर्‍यो।
 बालककालमा अत्यन्त रमाइलो र रहस्यमय लाग्ने कुरा बडाबाको भान्छाघरका धाराहरू पनि थिए। आफ्नो घरमा धारो आँगनका पल्ला छेउमा थियो। बडाबाकहाँ भने दुईवटा धाराहरू थिए। एउटा चिसो पानी आउने त सौझै ट्याङ्कीबाट आउने बुझेको थिएँ तर तातो पानी कसरी आउँछ म रनभुल्ल थिएँ। धेरै पल्ट थुप्रै जनालाई सोधेँ पनि, तर जबाफ भने अँगेनाबाट ल्याएकाले तातेको भन्ने हुन्थ्यो। आफू गएर अँगेनामा हेरो पाइप कतै देखिँदैन। धेरै पछिमात्र बडाबाको पानी तताउने प्रविधि पत्ता लागेको थियो र जतिबेला त्यो लाग्यो त्यति नै उहाँप्रति श्रद्धा बढेर गयो। बडाबाका सोच र शील्प बेजोड थिए।
बडाबाको लुगा सिउने शील्पले पनि मलाई अत्यधिक हौस्याएको छ। म उहाँले लुगा सिएको हेरिरहन्थेँ। मेसिनको पायदानमा राखिएका उहाँको खुट्टाका लयात्मक चालहरू हेर्न मलाई असाध्यै राम्रो लाग्थ्यो। मास्तिर हेर्दाखेरी बडाबा बडो ध्यान दिएर लुगाका तह मिलाउनु हुन्थ्यो। दुई तह लुगा राखेर सिउँदा खेरी तल्लो तहको लुका दाँतीले बढी च्याप्छ र बेलाबेला तन्काउँदै गर्नुपर्छ भन्ने कुरा बडाबाले नै सिकाउनुभएको हो। दार्जीलिङ गएपछि मेरो लुगा सिउने सीप तिखारिँदै गयो। पेन्ट, सर्ट, हाफपेन्ट आदि आफैँले पुस्तक किनेर सिकेँ। बडाबासँग सिक्नुपर्ने चौबन्दी चोलो र दौरा सुरुवाल सिक्न सकिनँ जसको अपसोच जिन्दगी भरी रहनेछ।
अपसोच त रहने नै छ बडाबासँग धेरै समय बिताउन नपाएकामा। उहाँसँग बुटी बनाउने तरिका नसिक्न पाएकामा। उहाँलाई सेवा गर्न नपाएकामा। उहाँलाई आभारका दुई शब्दहरू टक्र्याउन नपाएकामा।
धेरै पछिको कुरा, मैले करफोक छाडेर इटहरी आउने निर्णय गरेँ। परिवारका सबै सदस्यहरूले ठूलो विरोध जनाए। 'अस्थिरतालाई अँगालेर हिँड्नेले कहीँ प्रगति गर्न सक्तैन' भन्नेहरू थुप्रै निस्किए। अनि मैले इटहरीमा पाएको जागिर छोडेर करफोककै कामलाई निरन्तरता दिने निधो गरेँ। तर मैले करफोक छाड्ने निर्णय पहिले नै भनीसकेकाले फेरि प्रवेश गर्न नमिल्ने जानकारी पाइयो। त्यसबेला बडाबालाई कुनै कामले भेट्न गएको थिएँ। एकजना आफन्त बडाबाकै छेउमा बसिरहनु भएको थियो। अहिले सम्झिन्नँ को हुनुहुन्थ्यो, उहाँले मलाई सोध्नुभयो - "किन करफोक छाडेको ?" मैले केही जबाफ दिएको थिइनँ र के भन्ने सोचिरहँदा बडाबाले भन्नुभयो - "दाजुलाई छाडिदियो जागिर कान्छाले। आखिरी बाबु पछिको बाबु त्यै बिदुर त हो नि उसको।" म छक्क परेँ। सजल नेत्रले बडाबालाई हेरेँ। उहाँ मैतिर हेरिरहनु भएको थियो। म वात्सल्यले ओतप्रोत भएँ। मैले करफोक छाड्नुको कारण एउटा त्यो पनि थियो, मैले छोड्दा मेरा जेठा दाजु वेदराज(विदुर)को जागिर केही समय लम्बिन्थ्यो। मेरो त अन्यत्र जागिर खाने समय पनि थियो, उर्जा पनि थियो र जाँगर पनि। पछि नरहरि दाजुले उत्साह भरेपछि म इटहरी आएँ र त्यही भएँ जे मैले हुनुथियो।

 म आफैँ, मेरै बलबूताले यत्तिको भएको हुँ भनेर कहिल्यै भन्दिनँ। म जे छु त्यो मेरा आफन्तजन, शुभचिन्तक र मित्रहरूको उत्प्रेरणाले भएको हुँ। म उहाँहरूप्रति सधैँ ऋणी रहनेछु। मलाई सत्कर्मको संस्कार दिने मेरा माइला बडाबा, मेरा दाभिन्चीको स्थान मेरो हृदयमा सबैभन्दा उच्च स्थानमा छ।

(अथक पौरखी हातहरू - शब्दचित्रमा गोपीकृष्ण अधिकारी) स्मृतिग्रन्थका लागि तयार स्मृतिलेख।