Thursday, June 10, 2021

हनुमानका पक्षमा

हनुमानको उपमा

"हनुमान" उपाधी दिइएका केही ट्वीटका नमुना हेरौँ....

 

यसरी 'हनुमान'को हुर्मत लिएको देखेपछि मलाई चाहिँ
झोँक चल्छ,
बस् फेरि झोँक चल्छ ! (वैरागी काइँला)

हनुमान को हुन् र किन पूजिन्छन् ?

हनुमान सनातनीहरूका आराध्य हुन्। हनुमानका नाममा व्रत बसिन्छन्, पूजाआजा गरिन्छन्। मानिसहरूले प्रातः हनुमान चालीसा पाठ गर्छन्। म पनि गर्छु। हनुमान चालीसामा हनुमानले सूर्यलाई मीठो फल मानेर खाएको प्रसङ्ग छ। तर मलाई यो हनुमानको अनन्त शक्ति बयान गर्नका लागि कविले लिएको प्रतीक झैँ लाग्छ। हनुमान चालीसा एउटा काव्य हो र काव्यमा कुनै कुरो भन्दा प्रतीक र बिम्बमा भनिन्छ, सोझै भनिँदैन। त्यसदेखि बाहेक भक्ति काव्यको शब्दार्थ भन्दा पनि त्यो पाठ गर्दाको लय र ध्वनि महत्त्वपूर्ण हुन्छ। यसको सबैभन्दा राम्रो र बुझिने उदाहरण, कविवर माधवप्रसाद घिमिरेको "गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली" सुन्दा/पढ्दा हुन्छ।

हनुमान चालीसा हनुमानका कीर्तिहरूको गान हो। म विज्ञानको विद्यार्थी भै टोपलेकाले, पृथिवीको एउटा बानरले कसरी पृथिवीभन्दा करोडौँ गुना ठूलो सूर्यलाई मीठो फल सम्झेर खान खोजे वा कसरी उफ्रिएर सूर्यनजिक पुगे भन्ने कुरा बेतुकको लाग्न सक्छ। यो कुरा असम्भव हो भन्ने बोध मेरो ज्ञानले दिन्छ, तर पनि मलाई हनुमान चालीसा मन पर्छ। मन परेपछि मन पऱ्यो, मलाई आस्थाको ठाउँमा तर्क मिसाउन मन लाग्दैन।

पाश्चात्य दर्शनको पर्याप्त ज्ञान भएका मेरा पिताजी बिहान सन्ध्या गरेपछि सधैँ केही स्तोत्रहरू पाठ गर्नुहुन्थ्यो। उहाँले पाठ गरेको सुनेर नै मलाई कतिपय स्तोत्र कण्ठ छन्। हनुमान चालीसा पनि त्यसरी नै आउँदो भएको हो। हनुमान चालीसामा वर्णित हनुमानका कीर्तिहरू जतिनै बेतुक लागे पनि हनुमान चालीसा हाम्रो हो, हाम्रो संस्कृति हो, हाम्रो परम्परा हो, हाम्रो आस्था हो, हाम्रो परिचय हो। मलाई अरूले भिराइदिएको पूर्णता भन्दा आफ्नै अपूर्णता मन पर्छ। अरूले थोपरेको सभ्यताभन्दा आफ्नै असभ्यता मन पर्छ। प्रकृति पूजक हाम्रो सनातनी सभ्यता मन पर्छ। मलाई मेरै देवीदेवता मन पर्छन्।

हनुमानलाई कपि, महावीर, पवनपुत्र, बजरङ्गबली, आदि नामले पनि जानिन्छ। सनातन संस्कृतिमा हनुमान बल, पराक्रम, शक्ति, तथा भक्तिका द्योतक हुन्। हनुमानका महिमा वर्णन गर्ने बाह्र नामहरू पनि छन्, ती हुन्: हनुमान, अन्जनी सुत, वायु पुत्र, महाबल, रामेष्ठ, फाल्गुण सखा, पिंगाक्ष, अमित विक्रम, उधतिक्रमण, सीता शोक विनाशन, लक्ष्मण प्राण दाता र दशग्रीव दर्पहा।

पशुपतिनाथको दर्शन गर्न जाँदा म सधैँ हनुमानको प्रतिमासामु शिर झुकाउँछु। पिण्डेश्वर महादेव मन्दिरमा विराजेका हनुमानलाई पूजा गर्छु। उनका चरण छुन्छु। अन्यत्र पनि हनुमान मन्दिर देखेँ भने श्रद्धाले मेरो शिर झुक्छ।

हनुमान मर्यादा पुरुषोत्तम रामका अनन्य भक्त थिए। रामायणको सुन्दरकाण्डमा हनुमानको महिमा वर्णन गरिएको छ। हनुमान सधैँ विनम्रता र भक्तिका प्रतीकका रूपमा चिनिन्छन्।

यन्त्र साधनामा हनुमान यन्त्रको उपासना गरिन्छ। जसरी श्रीयन्त्र साधना धनधान्य तथा भौतिक समृद्धिका लागि गरिन्छ, त्यसै गरी हनुमान यन्त्र साधना बल, पराक्रम, शौर्य, शक्ति आदिका लागि गरिन्छ। मेरो अध्ययन अत्यन्त अल्प भएकाले यन्त्र साधनका वा तन्त्र साधनाका विषयमा धेरै कुरा गर्न सक्तिनँ। तर पनि मेरो शिर मेरा बाआमाले गरेका काम, उहाँहरूले मानिल्याएको परम्परा, संस्कृतिप्रति जहिले पनि निहुरिन्छ। हाम्रा तिनै परम्पराले हामीलाई सहिष्णु, स्वतन्त्र, र उदार बन्न सिकाएका छन्। अरूको आस्थाको आदर गर्न सिकाएका छन्। अनावश्यक रुढी र अन्धविश्वासबाट बच्न सिकाएका छन्। अरूको आस्थाको निन्दा गर्दा, धर्मको आलोचना गर्दा आफ्नो बोली अपवित्र हुन्छ भन्ने सिकाएका छन्।

हनुमानको अपमान

नेपालमा अहिले विचित्रको चलन भित्रिएको छ। मिडिया र सामाजिक सञ्जालमा। ओलीका, बाबुरामका, देउवाका, फलानाका, ढिस्काका हनुमानहरूले यसो गरे उसो गरे....। यदि आफ्ना नेतालाई त्यत्तिको अन्ध समर्थन गर्नेहरू यदि हनुमान हुन् भने ओली, देउवा, प्रचण्ड, बाबुराम वा अन्य कुनै नेता मर्यादा पुरुषोत्तम राम हुन् त ? ओलीका हनुमानले यसो गरे उसो गरे भन्नु भन्दा पहिला तपाईँहरूले कृपया ओली कसरी राम भए बताइदिनु हुन्छ कि? देउवा वा राजेन्द्र महतो वा बाबुराम कसरी राम भए? प्रचण्ड कसरी राम भए? अन्य कुनै नेता कसरी राम भए ? तिनमा राममा हुनु पर्ने कुन कुन गुणहरू छन्? कैकेयीको एक वचनमा सत्ता त्यागेर वनवास जाने रामले जस्तो काम गर्ने कुन नेता छन्? अनि रामको एउटै पनि विशेषता नभएका कथित नेताहरूका पिछलग्गूहरू चाहिँ कसरी हनुमान भए ?

पिछलग्गूहरूलाई हनुमान भन्नुभन्दा पहिले कृपया एक पटक मात्र भए पनि रामायण पढ्नुहोस्। हनुमान को थिए चिन्नुहोस्। हामी सनातनीहरूले पूजा गर्दै आएका हनुमानको नाम कुनै निःकृष्ट कार्यकर्तालाई नदिनुहोस्, कुनै पिछलग्गूलाई नदिनुहोस्, कुनै कठपुतलीलाई नदिनुहोस्, कुनै दासलाई नदिनुहोस्, कुनै चम्चालाई नदिनुहोस्।

यति नै हो मेरो आग्रह ! आगे यहाँको मर्जी !!

जय हनुमान ! जय बजरङ्गबली !

Wednesday, May 19, 2021

त्रासद समयको आलाप

अहिलेको जस्तो विषाक्त समयमा केही लेख्नुले पनि सायदै केही अर्थ राख्ला। प्रकृतिसँग धेरै चुरीफुरी देखाउने मानव अहिले चार भित्ताभित्र कैद छ। लाग्छ बाहिर निस्कनेबित्तिकै एक मुठी सास शरीरबाट फुत्त फुस्किन्छ। घरमा बस्नको बाध्यताले कति पार्श्व प्रभावहरू पार्ने हुन् त्यो भविष्यले बताउला। तर घर बस्न बाध्य भएका मेरा आफन्त, बन्दुबान्धव, छरछिमेकी, साथीभाइहरू, कनिष्टहरू, वरिष्टहरूले एक मुठी सास त्यागेको समाचारले हृदय नै छियाछिया हुन्छ। शुभ जन्मोत्सव लेख्नु पर्ने समयमा हार्दिक श्रद्धाञ्जली लेख्दा हात काँप्छन्। भान हुन्छ मानव जीवन कति क्षणभङ्गुर छ! कति निरीह छ! दुई दिन अघि अस्पतालबाट सञ्चै छ भन्ने मानिसको मृत्युको खबर दैलो ढकढक्याउँदै आइपुग्छ।

हामीमध्ये केहीलाई अधिकतम स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै पनि कोभिडले समात्यो। कोभिडको पहिलो लहरमा हामी धेरै जसो निकै बिरामी भयौँ। डाक्टरहरूको समयोचित सल्लाह र परामर्श अपनाएर दोस्रो जीवन पाएका भाग्यमानी मध्ये म पनि हुँ। डाक्टरको सल्लाह नमान्दा, अजासु(अति जान्ने सुन्ने) हुँदा, सामाजिक सञ्जालका अप्रामाणीक स्रोतहरूलाई पत्याउँदा धेरै जनाले असमय ज्यान गुमाउनुभएको छ। खोप उपलब्ध हुँदाहुँदै पनि मलाई केही हुन्न भन्ने अहम् पालेर बसी, शरीरमा अक्सिजनको कमी हुनासाथ अस्पताल दौडाउँदा पुऱ्याउन नभ्याएर बाटैमा एक मुठी सास खुस्किएको छ। अस्पतालहरूमा अक्सिजन नपाएर मृत्युवरण गर्नु परेका कति उदाहरण भैसके, हिसाब राख्न यो हातले मानेको छैन।

शर्पदंशबाट मृत्यु हुनेहरूमध्ये नब्बे प्रतिशत मृत्यु विषले नभएर डरले भएको भन्ने भनाइ मैले कैयन् पटक सुनेको छु। अहिले कोरोनाको कालमा पनि अक्सिजन कमी हुनासाथ मरि पो हाल्छु कि भन्ने डरले, कोरोनाले भन्दा पहिले मानिसहरू मारिरहेको छ। डर वा भय सद्दे मान्छेका लागि पनि अत्यन्त घातक हुन्छ। अझ मृत्युको भयले अहिलेको कलियुगी मानव अत्यधिक डराउँछ। तर जति डराए पनि मृत्यु शास्वत सत्य हो। कसैको चाँडो, कसैको ढिलो मात्र हो। तर यो मनले यही कुरा स्वीकार गर्न मान्दैन।

सामान्य अवस्थामा आफूअगाडि एउटा सिङ्गै जिन्दगी हुने मानिसले फुस्स सास छोड्दा चाहिँ असाध्यै पीडा हुन्छ। तपाईँ हामीले प्रेम गर्ने, आदर गर्ने, सम्मान गर्ने कतिपय व्यक्तित्वहरूलाई लाखौँ प्रयत्न गर्दा पनि बचाउन सकिएको छैन। स्वास्थ्यमा दीर्घकालीन जटिलता भएकाहरूलाई कोरोनाले उठ्न दिएको छैन। हामीमध्ये धेरैले अटेरी गरेर बिहे आयोजना गर्दा बिहेकै भोलिपल्ट बेहुली परलोक गइन्। जग्गेबाटै अस्पताल लगिएकी बेहुलीलाई घरमा भित्र्याउन पाइएन। बिहेको पर्सीपल्ट बेलुला परलोक गए। बिहेमा सामेल भएका अधिकांश अस्पताल भर्ना छन्। यस्ता समाचार सुन्दा कहाली लागेर आउँछ। अझ गाउँको मुरी मुरी धान फल्ने गैह्री खेत बन्धकी राखेर हेलिकप्टरबाट अस्पताल पुग्दा पनि एक मुठी सास फर्काउन नसक्दा कस्तो लाग्दो हो, सोच्न पनि सकिन्नँ। पहिलो पटक सहरमा धावा बोलेको कोरोनाको सन्तानले अब गाउँघर ताकेको छ। भयावह स्थितिको कल्पनाले आङ सिरिङ्ग हुन्छ।

अहिलेको समय द्रव्यपिसाचहरू अतिसक्रिय भएको समय हो। नियमसङ्गत मोल वृद्धिभन्दा पनि मौकामा चौका हान्ने द्रव्यपिसाचहरूले तपाईँहामीलाई बाँच्न दिँदैनन्। ती विगतमा पनि त्यसै गर्थे, आगतमा पनि त्यसै गर्छन्। पिसाचहरूले कुनै नियम पालना गर्दैनन्, साइत हेर्दैनन्, तपाईँ हाम्रो आर्थिक स्थिति हेर्दैनन्। ती द्रव्यपिसाचहरूले तपाईँ हाम्रो खाना निल्छन्, औषधि खान्छन्, खोप खान्छन् र अब त प्राणवायु नै खान थालीसके। हामी निरीह छौँ, विवश छौँ।

मलाई चिन्नु हुने वा मेरा आफन्त, मेरा कनिष्ठ पनि र वरिष्ठ पनि कोभिडको नयाँ भेरियन्टले युवाहरूलाई टपक्क टिपेको देख्दासमेत खोप लगाउँदिन भनेर अझै अड्डी कसेर बसिरहनुभएको छ। उहाँहरूले पढेर थुप्रै डिग्रीहरू पनि कमाउनु भएको होला। तर यसरी बस्दा आफू कति असुरक्षित छु भन्ने उहाँहरूले सोच्नु भएको छैन। अहङ्कार कति घातक हुन्छ त्यो थाहा हुँदा, सायद धेरै ढिलो भैसकेको हुन्छ। कम्तीमा पछुताउन त पाइयोस्।

हामी मिडिया र सामाजिक सञ्जालमा परपीडकहरूले फैलाएका भ्रामक हल्लाहरू पत्याउँदै, आफू सूरवीर भएको प्रमाणीत गर्न लागीपरेका छौँ। तर त्यस्ता सूरवीरता देखाएका धेरैलाई कोरोनाको दोस्रो वा तेस्रो भेरिएन्टले पाताल पुऱ्याएको देखेर पनि हामी नदेखेझैँ गर्छौँ। कोरोना जति म्यूटेन्ट बन्दै जान्छ, त्यति नै सङ्क्रामक र खतरनाक बन्दै गएको छ।

जागौँ महानुभावहरू जागौँ। कोरोना डब्लुएचओ र बिल गेट्सको षड्यन्त्र हो भन्न छाडौँ। डब्लुएचओ र बिल गेट्सलाई आफ्नै देशका र तेस्रो विश्वका मानिस मार्दा माखो पनि फाइदा हुँदैन। पहिलो लहरले उनीहरूकै मानिसहरू सोत्तर भए। त्यस्ता भ्रामक हल्लाहरू फिँजाउनेहरूलाई नाङ्गेझार बनाउन ढिलो भैसकेको छ।

अर्को कुरा मास्क लगाउनु हानीकारक हो भन्ने स्वनामधन्य डाक्टरहरूबाट पनि बचौँ। मास्कको मेकानिज्म नबुझेका यस्ता जडबुद्धिहरूको कुरा किन पत्याउने। मास्क लगाउँदा आफूले फ्याँकेको कार्बनडाइअक्साइड फोक्सो भित्रै पसेर झनै हानी गर्छ भनी कुतर्क पत्याउने सिकन्दरहरूलाई मेरो प्रश्न – मास्क लगाएर कार्बनडाइअक्साइड भित्रै तानेर कतिजना बेहोस् भए? वा कतिलाई अस्पताल भर्ना गर्नु पऱ्यो? कति मानिस मरे? केही तथ्याङ्क छ? प्रमाण छ?

सरकारले नागरिकका लागि ल्याएको (मागेर वा दान स्वीकारेर ल्याएको भए पनि) कोभिडको खोप लगाउन, मास्क लगाउन, घरभित्र बस्न अझै अटेरी गर्नुहुनेहरूलाई मेरो एक मात्र सुझाव- वैज्ञानिक आविष्कार, अध्ययन, मूल्य र मान्यतालाई चट्टै त्यागेर द फ्ल्याट अर्थ सोसाइटी (The Flat Earth Society) को सदस्य बन्नुहोस्। यहाँ लोगोसमेत राखिदिएको छु।
विश्वमा "पृथिवी चेप्टो छ" भन्ने मानिसहरू थुप्रै छन्। त्यस्ता मान्छे पश्चिमी देशमै छन् जहाँ वैज्ञानिक खोज र अनुसन्धानले अभूतपूर्व गति लिएको छ। तिनैलाई पत्याउनुहोस् र सदस्य बन्नुहोस्।

शुभ सदस्यता!


Saturday, January 2, 2021

तपाईँ हाम्रो आफ्नै कथा - पसिनाका पाइला

 

अति शालीन र नम्र व्यक्तित्व लक्ष्मण गाम्नागे। व्यङ्ग्य विधाका स्थापित र लोकप्रिय लेखक। व्यङ्ग्यका अनेकौँ पुस्तकहरू प्रकाशित छन् उहाँका। पछिल्लो समय मञ्जरी प्रकाशनले उहाँको उपन्यास प्रकाशित गरेको छ- "पसिनाका पाइला।"

तपाईँ हामी आम नेपाली पसिना बगाएरै हात मुख जोड्छौँ। हामी नेपालीमा महत्त्वाकाङ्क्षाको चढ्नै नसकिने पहाड पनि छैन। हामी सरल छौँ। अर्कालाई हानी गर्ने गरीको छलकपट हामीमा कमै पाइन्छ। मेहनत गरेर पसिनाकै कमाइ खाने तपाईँ हाम्रो कथा हो पसिनाका पाइला।

पसिनाका पाइला हामी आम मानिसको कथा हो।

तपाईँले कुनै समयमा काठमाडौँमा डेरा लिनु भएकै होला। घरपट्टिले बाहिरको जुत्ता गनेर अनेकथरी भनेकै होलान्। ट्वाइलेट जाम भएर पाउनु सम्मको दुःख पाउनु भएकै होला। अनि भान्साघरमा भात खान बसेका बेला पल्लो घरको ट्वाइलेट ह्वालाल्ला आवाज आएकै होला। अझ सुत्ने कोठाको झ्याल खोल्दा कैयन् महिनासम्म ढल गनाएको खप्नु भएको होला। अनि पानी थाप्न कत्तिको दुःख पाउनु भएको छ? डेरा खोज्दा कति सास्ती खेप्नु भएको छ? यस्तै काठमाडौँ उपत्यकामा डेरा बस्ने मानिसका कैयन् देखिएका नदेखिएका कथाहरू भएको पुस्तक हो पसिनाका पाइला।

अनि अलिक पिलन्धरे, अन्याय परेर पनि सहेरै बस्ने, आफ्ना कुरा खुलेर भन्न नसक्ने, दुःखै खेप्ने तर मुख नखोल्ने, एउटा डरपोक मान्छेको कथा पनि हो पसिनाका पाइला। श्रम शोषण गर्न पल्किएका चिनारूहरूको फन्दामा परी आफ्नो काम गर्न नभ्याउने, किन भनेर प्रश्न गर्न नसक्ने तर युवा वयमा असाध्यै राम्रो पढाउने शिक्षकको कथा हो यो। विद्यार्थीहरूले असाध्यै मन पराएको, गाउँलेहरूले असाध्यै आदर गरेको र किशोरी(हरू)ले औधी प्रेम गरेको शिक्षकको कथा हो यो।

आफन्तबाट हुने यौन हिंसासँग डटेर लड्ने, आफ्नो प्रिय व्यक्तिलाई जे परे आए पनि जोगाउने, असल बाटो देखाउने, अथक परिश्रम गर्ने महिलाको कथा पनि यहीँ छ। आफ्नै बुहारीमाथि कुत्सित दृष्टि राख्ने, आफूभन्दा साना र महिलाहरूलाई थर्काएरै तह लगाउन खोज्ने, र गाउँठाउँमा बडप्पनको धाक लगाएर बस्न खोज्ने पीडकको कथा यहाँ छ।

अनि यहाँ छ, किशोर वयमा संयोगले आदर्श चिप्लिएको तथा गर्भ बसेपछि, गर्भपात गर्न नमानी बच्चा हुर्काउने आँटी महिलाको कथा छ यहाँ। अनि छ राजनीतिमा लागेर उच्च आदर्शमा बाँच्ने, पञ्चायत कालको बर्बरता र हिंसा सहेर लोकको भलो गर्ने, र गर्भवति किशोरीसँग बिहे गरी जीवन बिताउने मानिसको कथा पनि।

आफ्नो दाजुले बोल्न नसकेका ठाउँमा तर्क गरेर जित्ने, असाध्यै निडर र आत्मविश्वासी केटीको कथा छ यसमा।

अनि, तपाईँ हाम्रो सपनाको देश, जपनाको देश, आफू जान नसकेका कारण छोरा छोरीलाई सगर्व पठाउने देश, अमेरिकाको पनि अलिकति कथा छ। तर जे छ रोचक छ।

सुन्दर, तान्ने भाषामा लेखिएको आम नेपालीको कथा छ यसमा। यसले ठूल्ठूला दर्शन छाँट्दैन, ज्ञानको असीमित भण्डार पस्किँदैन र सबैभन्दा ठूलो कुरा यसले तपाईँ हाम्रै कथा भन्छ। यसले तपाईँ हाम्रै जीवन लेखेको छ। पात्र र परिवेश अलिकति यताउति होलान्।

धेरै कुरा भन्न सकिन्छ पसिनाका पाइला बारे, तर सबै मैले भनेँ भने किताब कसले पढ्ने नि.... त्यसैले यति नै भनेँ। पढ्दै जानुस् र रमाउँदै जानुस्। प्रिय मित्र गाम्नागेजीले अर्को उपन्यास सुरु गर्नुभयो कि भएन.... ल है। ढिलो भयो है...।