Tuesday, June 6, 2023

कोरोनातन्त्र - त्रासद समयको सुन्दर शब्दचित्र

कोरोना भाइरस र त्यसका भेरिएन्टहरूले पृथिवीका मानिसहरूलाई पछिल्ला तीन वर्षदेखि राज गरिआएका छन्। सुरुका तीन वर्ष अत्यन्तै कठोर शासन थियो तिनको। तिनका प्रहारले जब्बरहरू पनि ढले। अहिले आएर तिनका कठोरताहरू सामान्य बन्दै गएका छन्। कोभिड भाइरसका सन्तान अब कमजोर भएका छन्। तिनले प्रारम्भिक कालमै कति हो कति मानिसहरूको ज्यान लिए। हाल आएर भने दीर्घ रोगी र वृद्धवृद्धाहरूलाई बाहेक, औसत रूपमा स्वस्थ व्यक्तिले कोरोनालाई सजिलै पराजित गर्छ।

लघुकथाका सिद्धहस्त सर्जक रवीन्द्र समीरले कोरोनाकालमा मानिसले भोगेका त्रासदीपूर्ण क्षणहरूलाई लघुकथाका थुङ्गाहरू बनाई, तिनलाई एउटा सुन्दर मालामा परिणत गरेका छन् र नाम दिएका छन्- कोरोनातन्त्र।

कोरोनाकालमा सङ्क्रमित हुनेहरू त पीडित भए नै, सङ्क्रमित हुनबाट जोगिनेहरूले पनि ठूलो मानसिक सन्ताप र पीडा भोग्नु पऱ्यो। दैनिक शारीरिक परिश्रम गरेर हातमुख जोर्ने मानिसहरूका लागि कोरोनाले कष्टसाध्य समय लिएर आयो। यसका साथै समाजका हरेक तप्काका मानिसहरूले असहज परिस्थितिको सामना गर्नु पऱ्यो।

सूत्रात्मक उपन्यासमा उनीएका लघुकथाहरूले हाम्रो समाजको आडम्बर छर्लङ्ग देखाएका छन्। आफ्नो भलो हुँदामात्र अघि सर्ने मानिसहरूको चरित्र, द्रव्यपिसाचहरूले हजारौँ कुम्ल्याएर खोपको नाममा पानीको सुई दिएको घटना, नाफामुखी अस्पतालहरूले नाङ्गेझार पार्ने गरी पैसा लिएका घटना, अक्सिजन र भेन्टिलेटरको अभावले निम्त्याएको असहज परिस्थिति, औषधिमा आदिमा गरिएको कालोबजारी, व्यापार ठप्प भएर गरिखाने मेलो समाप्त भएका मानिसहरूको पीडा, जोसुकैले दिएका परामर्श र सल्लाहले वाक्क भएका मानिसको व्यथा, कोरोनालाई जित्छु भनी अटेरी गर्ने मानिसहरूको कथा, खोपमा भएका अनियमितताहरू, पौष्टिक पोषणको अभाव झेलिरहेका आम मानिसको पीडा, फार्मेसी र अस्पतालहरूको संवेदनहीनता जस्ता कुराहरू पात्रका माध्यमले कोरोनातन्त्रमा उनीएका छन्। तराई, हिमाल र पहाड नेपालका तीनै भूगोलका मानिसले भोगेका कथा छन्।

कोरोनातन्त्रका फूलहरूमा रवीन्द्र समीरको एउटा बिछट्ट राम्रो प्रयोग देखा पर्छ। सबैमा नभए पनि धेरैजसो लघुकथाहरूमा शास्त्रीय वचनहरू उल्लेख गरिएको छ। "शास्त्रमा भनिएको पनि छ ..." भनेर सुरु हुने शास्त्रीय वाणीहरू लघुकथाका प्रसङ्गहरूसँग ठ्याक्कै मेल खान्छन्। प्रत्येक लघुकथाका लागि शास्त्रीय वाणीहरू खोज्नु र तिनलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुमा उनले गरेको मेहनत स्तुत्य छ। त्यसका लागि उनले कति शास्त्रहरू पढ्नुपऱ्यो त्यसको लेखाजोखा पाठकले सजिलै लगाउन सक्छन्।

यस सँगसँगै नेपाली उखानहरूलाई आफ्नो परिवेशमा ढालेर प्रयोग गर्नु उनको शैलीगत विशेषता प्रकट भएको छ कोरोनातन्त्रमा। "डाक्टरभन्दा बिरामी जान्ने, खुकुरीभन्दा कर्द लाग्ने","आइसोलेसन केन्द्रमा भोजनभन्दा भोक मिठो, ओछ्यानमा निद्रा मिठो, "... ताक परे डाक्टर, नत्र कन्डक्टर", "मुखमा लाउने माड छैन, पाखुरामा सुई", "रातभर रुँग्यो, सङ्क्रमित जिउँदै", "कोरोनाको बेला तरुणी खोज्न हिँड्", "उपचार नपाए काठमाडौँ जानू", जस्ता वाक्यांशहरूले सूत्रात्मक कथाहरूमा सुन्दरता थपेको छ।

अनि, पात्रहरूको नाम पनि व्यङ्गात्मक शैलीमा प्रयोग गरेका छन् समीरले। धनी पात्रको नाम गरिबनाथ, गरिब मान्छेको नाम धनबहादुर। डा. शर्मा त रवीन्द्रका सदाबहार पात्र भई नै हाले।

कोरोनातन्त्रबारे धेरै लेखेर पाठकको खुलदुली मार्न चाहन्नँ। यस्ता समीक्षा पढ्नुभन्दा पुस्तकै पढ्नु कता हो कता आनन्ददायक हुन्छ। शुभ पठन।

 

 


Sunday, January 2, 2022

"भिक्षुसँगको प्रेम" भित्रको प्रेम

 

एउटा पाठकका रूपमा नियात्रालाई म यात्राको निजानुभूतिका रूपमा लिन्छु। भूगोल र भौतिक विकास आदिको लम्बेतान रूखो वर्णन भएका र कर्कश विद्वत्ता मात्र छाँट्ने यात्रा वर्णनहरूले वाक्क लगाएका बेलामा एउटा उम्दा नियात्रा बजारमा आएको छ, उषा हमालको “भिक्षुसँग प्रेम”।

हेर्दै आकर्षक लाग्ने कभर र शीर्षक भएको नियात्रा कम्तीमा मेरा लागि भने पेज टर्नर रह्यो। बडो आनन्दका साथ फारू गर्दै पढिसिध्याएँ। कुनै पनि पुस्तकको गुणवत्ताको छनक सबैभन्दा पहिले त्यसको शीर्षकले दिन्छ, र त्यसपछि कभर डिजाइनले। मलाई पुस्तकका शीर्षकहरूमा कर्कश शब्दहरूको हल्ला मन पर्दैन। त्यसैले पुस्तक किन्दा यदि शीर्षकले तानेन भने म किन्दै किन्दिनँ। उषा हमालकै यसभन्दा पहिलेको नियात्रा “सागओल अजरबैजान” बडो प्रेमका साथ पढेको छु र त्यो पनि मेरा प्रिय पुस्तकहरू मध्येको एक पर्छ।

भिक्षुसँग प्रेम, खासमा विभिन्न समयमा गरिएका देशभित्र र बाहिर विभिन्न थरीका यात्राहरूबारे उषा हमालको निजात्मक अनुभूतिको सङ्गालो हो। मान्छेको पीडा देखेपछि मन आँसुले लफ्रक्कै भिज्ने, राम्रा कुराहरूले मन उत्साहित हुने, मानवमूल्यप्रति सधैँ आस्था हुने, अव्यवस्था र दुर्गन्धबाट पीडा बोध हुने, आदिजस्ता अनुभूति उषा हमालका मात्र नभएर यो पुस्तक पढ्ने हरेक पाठकका हुन पुग्छन्।

अनि अर्को महत्त्वपूर्ण कुरा। साइनो वा सम्बन्धका बारेमा आम मानिसहरू खुल्न चाँहदैनन्। मैले कतिपय यस्ता मानिसहरू भेटेको छु वा देखेको छु जसका मुस्कानहरू जहिल्यै छद्म हुन्छन्। मनले एउटा कुरा भनिरहेको हुन्छ भने अनुहारले अर्कै। भित्रभित्रै एउटा सम्बन्ध हुन्छ बाहिर अर्कै। त्यस्तो छद्म व्यक्तित्व न उषाको पुस्तकमा भेटिन्छ न अनुहारमा। जे सत्य छ, त्यही छ भित्र पनि बाहिर पनि। नपत्याए अन्तिम पाताको भित्रपट्टि रहेको उनको फोटो हेर्नुहोस्। आफैँ बुझ्नुहुनेछ।

अहम् भन्ने कुरा “भिक्षुसँग प्रेम”मा कहीँ पनि कतै पनि भेटिँदैन। “ऊभन्दा म महत्त्वपूर्ण हुँ, किनकि म वर्तमान हुँ र ऊ विगत हो” भन्ने किसिमको भाव उनका कुनै पनि अनुभूतिमा देखिँदैन। उषाको मनको इमानदारिता र निश्चलताले हामीलाई उनीप्रति नतमस्तक बनाउँछ। प्रेम तथा पारिवारिक जीवनको अतीत तथा वर्तमानका विषयमा उषाले कोमल शब्दहरू पोखेकी छिन् यस पुस्तकमा।

धेरै लेखेर पाठकको आनन्दमाथि प्रहार गर्न मन लागेन। इति।

Thursday, June 10, 2021

हनुमानका पक्षमा

हनुमानको उपमा

"हनुमान" उपाधी दिइएका केही ट्वीटका नमुना हेरौँ....

 

यसरी 'हनुमान'को हुर्मत लिएको देखेपछि मलाई चाहिँ
झोँक चल्छ,
बस् फेरि झोँक चल्छ ! (वैरागी काइँला)

हनुमान को हुन् र किन पूजिन्छन् ?

हनुमान सनातनीहरूका आराध्य हुन्। हनुमानका नाममा व्रत बसिन्छन्, पूजाआजा गरिन्छन्। मानिसहरूले प्रातः हनुमान चालीसा पाठ गर्छन्। म पनि गर्छु। हनुमान चालीसामा हनुमानले सूर्यलाई मीठो फल मानेर खाएको प्रसङ्ग छ। तर मलाई यो हनुमानको अनन्त शक्ति बयान गर्नका लागि कविले लिएको प्रतीक झैँ लाग्छ। हनुमान चालीसा एउटा काव्य हो र काव्यमा कुनै कुरो भन्दा प्रतीक र बिम्बमा भनिन्छ, सोझै भनिँदैन। त्यसदेखि बाहेक भक्ति काव्यको शब्दार्थ भन्दा पनि त्यो पाठ गर्दाको लय र ध्वनि महत्त्वपूर्ण हुन्छ। यसको सबैभन्दा राम्रो र बुझिने उदाहरण, कविवर माधवप्रसाद घिमिरेको "गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली" सुन्दा/पढ्दा हुन्छ।

हनुमान चालीसा हनुमानका कीर्तिहरूको गान हो। म विज्ञानको विद्यार्थी भै टोपलेकाले, पृथिवीको एउटा बानरले कसरी पृथिवीभन्दा करोडौँ गुना ठूलो सूर्यलाई मीठो फल सम्झेर खान खोजे वा कसरी उफ्रिएर सूर्यनजिक पुगे भन्ने कुरा बेतुकको लाग्न सक्छ। यो कुरा असम्भव हो भन्ने बोध मेरो ज्ञानले दिन्छ, तर पनि मलाई हनुमान चालीसा मन पर्छ। मन परेपछि मन पऱ्यो, मलाई आस्थाको ठाउँमा तर्क मिसाउन मन लाग्दैन।

पाश्चात्य दर्शनको पर्याप्त ज्ञान भएका मेरा पिताजी बिहान सन्ध्या गरेपछि सधैँ केही स्तोत्रहरू पाठ गर्नुहुन्थ्यो। उहाँले पाठ गरेको सुनेर नै मलाई कतिपय स्तोत्र कण्ठ छन्। हनुमान चालीसा पनि त्यसरी नै आउँदो भएको हो। हनुमान चालीसामा वर्णित हनुमानका कीर्तिहरू जतिनै बेतुक लागे पनि हनुमान चालीसा हाम्रो हो, हाम्रो संस्कृति हो, हाम्रो परम्परा हो, हाम्रो आस्था हो, हाम्रो परिचय हो। मलाई अरूले भिराइदिएको पूर्णता भन्दा आफ्नै अपूर्णता मन पर्छ। अरूले थोपरेको सभ्यताभन्दा आफ्नै असभ्यता मन पर्छ। प्रकृति पूजक हाम्रो सनातनी सभ्यता मन पर्छ। मलाई मेरै देवीदेवता मन पर्छन्।

हनुमानलाई कपि, महावीर, पवनपुत्र, बजरङ्गबली, आदि नामले पनि जानिन्छ। सनातन संस्कृतिमा हनुमान बल, पराक्रम, शक्ति, तथा भक्तिका द्योतक हुन्। हनुमानका महिमा वर्णन गर्ने बाह्र नामहरू पनि छन्, ती हुन्: हनुमान, अन्जनी सुत, वायु पुत्र, महाबल, रामेष्ठ, फाल्गुण सखा, पिंगाक्ष, अमित विक्रम, उधतिक्रमण, सीता शोक विनाशन, लक्ष्मण प्राण दाता र दशग्रीव दर्पहा।

पशुपतिनाथको दर्शन गर्न जाँदा म सधैँ हनुमानको प्रतिमासामु शिर झुकाउँछु। पिण्डेश्वर महादेव मन्दिरमा विराजेका हनुमानलाई पूजा गर्छु। उनका चरण छुन्छु। अन्यत्र पनि हनुमान मन्दिर देखेँ भने श्रद्धाले मेरो शिर झुक्छ।

हनुमान मर्यादा पुरुषोत्तम रामका अनन्य भक्त थिए। रामायणको सुन्दरकाण्डमा हनुमानको महिमा वर्णन गरिएको छ। हनुमान सधैँ विनम्रता र भक्तिका प्रतीकका रूपमा चिनिन्छन्।

यन्त्र साधनामा हनुमान यन्त्रको उपासना गरिन्छ। जसरी श्रीयन्त्र साधना धनधान्य तथा भौतिक समृद्धिका लागि गरिन्छ, त्यसै गरी हनुमान यन्त्र साधना बल, पराक्रम, शौर्य, शक्ति आदिका लागि गरिन्छ। मेरो अध्ययन अत्यन्त अल्प भएकाले यन्त्र साधनका वा तन्त्र साधनाका विषयमा धेरै कुरा गर्न सक्तिनँ। तर पनि मेरो शिर मेरा बाआमाले गरेका काम, उहाँहरूले मानिल्याएको परम्परा, संस्कृतिप्रति जहिले पनि निहुरिन्छ। हाम्रा तिनै परम्पराले हामीलाई सहिष्णु, स्वतन्त्र, र उदार बन्न सिकाएका छन्। अरूको आस्थाको आदर गर्न सिकाएका छन्। अनावश्यक रुढी र अन्धविश्वासबाट बच्न सिकाएका छन्। अरूको आस्थाको निन्दा गर्दा, धर्मको आलोचना गर्दा आफ्नो बोली अपवित्र हुन्छ भन्ने सिकाएका छन्।

हनुमानको अपमान

नेपालमा अहिले विचित्रको चलन भित्रिएको छ। मिडिया र सामाजिक सञ्जालमा। ओलीका, बाबुरामका, देउवाका, फलानाका, ढिस्काका हनुमानहरूले यसो गरे उसो गरे....। यदि आफ्ना नेतालाई त्यत्तिको अन्ध समर्थन गर्नेहरू यदि हनुमान हुन् भने ओली, देउवा, प्रचण्ड, बाबुराम वा अन्य कुनै नेता मर्यादा पुरुषोत्तम राम हुन् त ? ओलीका हनुमानले यसो गरे उसो गरे भन्नु भन्दा पहिला तपाईँहरूले कृपया ओली कसरी राम भए बताइदिनु हुन्छ कि? देउवा वा राजेन्द्र महतो वा बाबुराम कसरी राम भए? प्रचण्ड कसरी राम भए? अन्य कुनै नेता कसरी राम भए ? तिनमा राममा हुनु पर्ने कुन कुन गुणहरू छन्? कैकेयीको एक वचनमा सत्ता त्यागेर वनवास जाने रामले जस्तो काम गर्ने कुन नेता छन्? अनि रामको एउटै पनि विशेषता नभएका कथित नेताहरूका पिछलग्गूहरू चाहिँ कसरी हनुमान भए ?

पिछलग्गूहरूलाई हनुमान भन्नुभन्दा पहिले कृपया एक पटक मात्र भए पनि रामायण पढ्नुहोस्। हनुमान को थिए चिन्नुहोस्। हामी सनातनीहरूले पूजा गर्दै आएका हनुमानको नाम कुनै निःकृष्ट कार्यकर्तालाई नदिनुहोस्, कुनै पिछलग्गूलाई नदिनुहोस्, कुनै कठपुतलीलाई नदिनुहोस्, कुनै दासलाई नदिनुहोस्, कुनै चम्चालाई नदिनुहोस्।

यति नै हो मेरो आग्रह ! आगे यहाँको मर्जी !!

जय हनुमान ! जय बजरङ्गबली !

Wednesday, May 19, 2021

त्रासद समयको आलाप

अहिलेको जस्तो विषाक्त समयमा केही लेख्नुले पनि सायदै केही अर्थ राख्ला। प्रकृतिसँग धेरै चुरीफुरी देखाउने मानव अहिले चार भित्ताभित्र कैद छ। लाग्छ बाहिर निस्कनेबित्तिकै एक मुठी सास शरीरबाट फुत्त फुस्किन्छ। घरमा बस्नको बाध्यताले कति पार्श्व प्रभावहरू पार्ने हुन् त्यो भविष्यले बताउला। तर घर बस्न बाध्य भएका मेरा आफन्त, बन्दुबान्धव, छरछिमेकी, साथीभाइहरू, कनिष्टहरू, वरिष्टहरूले एक मुठी सास त्यागेको समाचारले हृदय नै छियाछिया हुन्छ। शुभ जन्मोत्सव लेख्नु पर्ने समयमा हार्दिक श्रद्धाञ्जली लेख्दा हात काँप्छन्। भान हुन्छ मानव जीवन कति क्षणभङ्गुर छ! कति निरीह छ! दुई दिन अघि अस्पतालबाट सञ्चै छ भन्ने मानिसको मृत्युको खबर दैलो ढकढक्याउँदै आइपुग्छ।

हामीमध्ये केहीलाई अधिकतम स्वास्थ्य सतर्कता अपनाउँदा अपनाउँदै पनि कोभिडले समात्यो। कोभिडको पहिलो लहरमा हामी धेरै जसो निकै बिरामी भयौँ। डाक्टरहरूको समयोचित सल्लाह र परामर्श अपनाएर दोस्रो जीवन पाएका भाग्यमानी मध्ये म पनि हुँ। डाक्टरको सल्लाह नमान्दा, अजासु(अति जान्ने सुन्ने) हुँदा, सामाजिक सञ्जालका अप्रामाणीक स्रोतहरूलाई पत्याउँदा धेरै जनाले असमय ज्यान गुमाउनुभएको छ। खोप उपलब्ध हुँदाहुँदै पनि मलाई केही हुन्न भन्ने अहम् पालेर बसी, शरीरमा अक्सिजनको कमी हुनासाथ अस्पताल दौडाउँदा पुऱ्याउन नभ्याएर बाटैमा एक मुठी सास खुस्किएको छ। अस्पतालहरूमा अक्सिजन नपाएर मृत्युवरण गर्नु परेका कति उदाहरण भैसके, हिसाब राख्न यो हातले मानेको छैन।

शर्पदंशबाट मृत्यु हुनेहरूमध्ये नब्बे प्रतिशत मृत्यु विषले नभएर डरले भएको भन्ने भनाइ मैले कैयन् पटक सुनेको छु। अहिले कोरोनाको कालमा पनि अक्सिजन कमी हुनासाथ मरि पो हाल्छु कि भन्ने डरले, कोरोनाले भन्दा पहिले मानिसहरू मारिरहेको छ। डर वा भय सद्दे मान्छेका लागि पनि अत्यन्त घातक हुन्छ। अझ मृत्युको भयले अहिलेको कलियुगी मानव अत्यधिक डराउँछ। तर जति डराए पनि मृत्यु शास्वत सत्य हो। कसैको चाँडो, कसैको ढिलो मात्र हो। तर यो मनले यही कुरा स्वीकार गर्न मान्दैन।

सामान्य अवस्थामा आफूअगाडि एउटा सिङ्गै जिन्दगी हुने मानिसले फुस्स सास छोड्दा चाहिँ असाध्यै पीडा हुन्छ। तपाईँ हामीले प्रेम गर्ने, आदर गर्ने, सम्मान गर्ने कतिपय व्यक्तित्वहरूलाई लाखौँ प्रयत्न गर्दा पनि बचाउन सकिएको छैन। स्वास्थ्यमा दीर्घकालीन जटिलता भएकाहरूलाई कोरोनाले उठ्न दिएको छैन। हामीमध्ये धेरैले अटेरी गरेर बिहे आयोजना गर्दा बिहेकै भोलिपल्ट बेहुली परलोक गइन्। जग्गेबाटै अस्पताल लगिएकी बेहुलीलाई घरमा भित्र्याउन पाइएन। बिहेको पर्सीपल्ट बेलुला परलोक गए। बिहेमा सामेल भएका अधिकांश अस्पताल भर्ना छन्। यस्ता समाचार सुन्दा कहाली लागेर आउँछ। अझ गाउँको मुरी मुरी धान फल्ने गैह्री खेत बन्धकी राखेर हेलिकप्टरबाट अस्पताल पुग्दा पनि एक मुठी सास फर्काउन नसक्दा कस्तो लाग्दो हो, सोच्न पनि सकिन्नँ। पहिलो पटक सहरमा धावा बोलेको कोरोनाको सन्तानले अब गाउँघर ताकेको छ। भयावह स्थितिको कल्पनाले आङ सिरिङ्ग हुन्छ।

अहिलेको समय द्रव्यपिसाचहरू अतिसक्रिय भएको समय हो। नियमसङ्गत मोल वृद्धिभन्दा पनि मौकामा चौका हान्ने द्रव्यपिसाचहरूले तपाईँहामीलाई बाँच्न दिँदैनन्। ती विगतमा पनि त्यसै गर्थे, आगतमा पनि त्यसै गर्छन्। पिसाचहरूले कुनै नियम पालना गर्दैनन्, साइत हेर्दैनन्, तपाईँ हाम्रो आर्थिक स्थिति हेर्दैनन्। ती द्रव्यपिसाचहरूले तपाईँ हाम्रो खाना निल्छन्, औषधि खान्छन्, खोप खान्छन् र अब त प्राणवायु नै खान थालीसके। हामी निरीह छौँ, विवश छौँ।

मलाई चिन्नु हुने वा मेरा आफन्त, मेरा कनिष्ठ पनि र वरिष्ठ पनि कोभिडको नयाँ भेरियन्टले युवाहरूलाई टपक्क टिपेको देख्दासमेत खोप लगाउँदिन भनेर अझै अड्डी कसेर बसिरहनुभएको छ। उहाँहरूले पढेर थुप्रै डिग्रीहरू पनि कमाउनु भएको होला। तर यसरी बस्दा आफू कति असुरक्षित छु भन्ने उहाँहरूले सोच्नु भएको छैन। अहङ्कार कति घातक हुन्छ त्यो थाहा हुँदा, सायद धेरै ढिलो भैसकेको हुन्छ। कम्तीमा पछुताउन त पाइयोस्।

हामी मिडिया र सामाजिक सञ्जालमा परपीडकहरूले फैलाएका भ्रामक हल्लाहरू पत्याउँदै, आफू सूरवीर भएको प्रमाणीत गर्न लागीपरेका छौँ। तर त्यस्ता सूरवीरता देखाएका धेरैलाई कोरोनाको दोस्रो वा तेस्रो भेरिएन्टले पाताल पुऱ्याएको देखेर पनि हामी नदेखेझैँ गर्छौँ। कोरोना जति म्यूटेन्ट बन्दै जान्छ, त्यति नै सङ्क्रामक र खतरनाक बन्दै गएको छ।

जागौँ महानुभावहरू जागौँ। कोरोना डब्लुएचओ र बिल गेट्सको षड्यन्त्र हो भन्न छाडौँ। डब्लुएचओ र बिल गेट्सलाई आफ्नै देशका र तेस्रो विश्वका मानिस मार्दा माखो पनि फाइदा हुँदैन। पहिलो लहरले उनीहरूकै मानिसहरू सोत्तर भए। त्यस्ता भ्रामक हल्लाहरू फिँजाउनेहरूलाई नाङ्गेझार बनाउन ढिलो भैसकेको छ।

अर्को कुरा मास्क लगाउनु हानीकारक हो भन्ने स्वनामधन्य डाक्टरहरूबाट पनि बचौँ। मास्कको मेकानिज्म नबुझेका यस्ता जडबुद्धिहरूको कुरा किन पत्याउने। मास्क लगाउँदा आफूले फ्याँकेको कार्बनडाइअक्साइड फोक्सो भित्रै पसेर झनै हानी गर्छ भनी कुतर्क पत्याउने सिकन्दरहरूलाई मेरो प्रश्न – मास्क लगाएर कार्बनडाइअक्साइड भित्रै तानेर कतिजना बेहोस् भए? वा कतिलाई अस्पताल भर्ना गर्नु पऱ्यो? कति मानिस मरे? केही तथ्याङ्क छ? प्रमाण छ?

सरकारले नागरिकका लागि ल्याएको (मागेर वा दान स्वीकारेर ल्याएको भए पनि) कोभिडको खोप लगाउन, मास्क लगाउन, घरभित्र बस्न अझै अटेरी गर्नुहुनेहरूलाई मेरो एक मात्र सुझाव- वैज्ञानिक आविष्कार, अध्ययन, मूल्य र मान्यतालाई चट्टै त्यागेर द फ्ल्याट अर्थ सोसाइटी (The Flat Earth Society) को सदस्य बन्नुहोस्। यहाँ लोगोसमेत राखिदिएको छु।
विश्वमा "पृथिवी चेप्टो छ" भन्ने मानिसहरू थुप्रै छन्। त्यस्ता मान्छे पश्चिमी देशमै छन् जहाँ वैज्ञानिक खोज र अनुसन्धानले अभूतपूर्व गति लिएको छ। तिनैलाई पत्याउनुहोस् र सदस्य बन्नुहोस्।

शुभ सदस्यता!


Saturday, January 2, 2021

तपाईँ हाम्रो आफ्नै कथा - पसिनाका पाइला

 

अति शालीन र नम्र व्यक्तित्व लक्ष्मण गाम्नागे। व्यङ्ग्य विधाका स्थापित र लोकप्रिय लेखक। व्यङ्ग्यका अनेकौँ पुस्तकहरू प्रकाशित छन् उहाँका। पछिल्लो समय मञ्जरी प्रकाशनले उहाँको उपन्यास प्रकाशित गरेको छ- "पसिनाका पाइला।"

तपाईँ हामी आम नेपाली पसिना बगाएरै हात मुख जोड्छौँ। हामी नेपालीमा महत्त्वाकाङ्क्षाको चढ्नै नसकिने पहाड पनि छैन। हामी सरल छौँ। अर्कालाई हानी गर्ने गरीको छलकपट हामीमा कमै पाइन्छ। मेहनत गरेर पसिनाकै कमाइ खाने तपाईँ हाम्रो कथा हो पसिनाका पाइला।

पसिनाका पाइला हामी आम मानिसको कथा हो।

तपाईँले कुनै समयमा काठमाडौँमा डेरा लिनु भएकै होला। घरपट्टिले बाहिरको जुत्ता गनेर अनेकथरी भनेकै होलान्। ट्वाइलेट जाम भएर पाउनु सम्मको दुःख पाउनु भएकै होला। अनि भान्साघरमा भात खान बसेका बेला पल्लो घरको ट्वाइलेट ह्वालाल्ला आवाज आएकै होला। अझ सुत्ने कोठाको झ्याल खोल्दा कैयन् महिनासम्म ढल गनाएको खप्नु भएको होला। अनि पानी थाप्न कत्तिको दुःख पाउनु भएको छ? डेरा खोज्दा कति सास्ती खेप्नु भएको छ? यस्तै काठमाडौँ उपत्यकामा डेरा बस्ने मानिसका कैयन् देखिएका नदेखिएका कथाहरू भएको पुस्तक हो पसिनाका पाइला।

अनि अलिक पिलन्धरे, अन्याय परेर पनि सहेरै बस्ने, आफ्ना कुरा खुलेर भन्न नसक्ने, दुःखै खेप्ने तर मुख नखोल्ने, एउटा डरपोक मान्छेको कथा पनि हो पसिनाका पाइला। श्रम शोषण गर्न पल्किएका चिनारूहरूको फन्दामा परी आफ्नो काम गर्न नभ्याउने, किन भनेर प्रश्न गर्न नसक्ने तर युवा वयमा असाध्यै राम्रो पढाउने शिक्षकको कथा हो यो। विद्यार्थीहरूले असाध्यै मन पराएको, गाउँलेहरूले असाध्यै आदर गरेको र किशोरी(हरू)ले औधी प्रेम गरेको शिक्षकको कथा हो यो।

आफन्तबाट हुने यौन हिंसासँग डटेर लड्ने, आफ्नो प्रिय व्यक्तिलाई जे परे आए पनि जोगाउने, असल बाटो देखाउने, अथक परिश्रम गर्ने महिलाको कथा पनि यहीँ छ। आफ्नै बुहारीमाथि कुत्सित दृष्टि राख्ने, आफूभन्दा साना र महिलाहरूलाई थर्काएरै तह लगाउन खोज्ने, र गाउँठाउँमा बडप्पनको धाक लगाएर बस्न खोज्ने पीडकको कथा यहाँ छ।

अनि यहाँ छ, किशोर वयमा संयोगले आदर्श चिप्लिएको तथा गर्भ बसेपछि, गर्भपात गर्न नमानी बच्चा हुर्काउने आँटी महिलाको कथा छ यहाँ। अनि छ राजनीतिमा लागेर उच्च आदर्शमा बाँच्ने, पञ्चायत कालको बर्बरता र हिंसा सहेर लोकको भलो गर्ने, र गर्भवति किशोरीसँग बिहे गरी जीवन बिताउने मानिसको कथा पनि।

आफ्नो दाजुले बोल्न नसकेका ठाउँमा तर्क गरेर जित्ने, असाध्यै निडर र आत्मविश्वासी केटीको कथा छ यसमा।

अनि, तपाईँ हाम्रो सपनाको देश, जपनाको देश, आफू जान नसकेका कारण छोरा छोरीलाई सगर्व पठाउने देश, अमेरिकाको पनि अलिकति कथा छ। तर जे छ रोचक छ।

सुन्दर, तान्ने भाषामा लेखिएको आम नेपालीको कथा छ यसमा। यसले ठूल्ठूला दर्शन छाँट्दैन, ज्ञानको असीमित भण्डार पस्किँदैन र सबैभन्दा ठूलो कुरा यसले तपाईँ हाम्रै कथा भन्छ। यसले तपाईँ हाम्रै जीवन लेखेको छ। पात्र र परिवेश अलिकति यताउति होलान्।

धेरै कुरा भन्न सकिन्छ पसिनाका पाइला बारे, तर सबै मैले भनेँ भने किताब कसले पढ्ने नि.... त्यसैले यति नै भनेँ। पढ्दै जानुस् र रमाउँदै जानुस्। प्रिय मित्र गाम्नागेजीले अर्को उपन्यास सुरु गर्नुभयो कि भएन.... ल है। ढिलो भयो है...।

 

 

Friday, November 6, 2020

मित्रवर ! तपाईँको ऋणबाट उऋण कसरी होऊँ ?

गोस्वामी तुलसीदासको एउटा साह्रै सुमधुर भक्तिपूर्ण भजन छ:

भरत भाई ! कपि से उरिन हम नाहीँ।
एठो खाय अछूत खवावत। हाथ धोवत टक माहि।।१।।
सौ योजन मर्याद सिंधू की लांग गयो पल माहि।
लंका जाय सिया सोधी लाये। गर्व नहीं मन माहि।।२।।
... ... ... ... ... ... ... ...

यसमा पण्डित जसराजले शास्त्रीय रागमा स्वर दिएका छन् भने अनुप जलोटाको गायन पनि उत्तिकै कर्णप्रिय छ।

यो प्रसङ्ग भगवान् रामले लङ्का विजय गरेर आइसकेपछि भरतसँग हनुमान(कपि)ले गरेको सहयोगबारे बयान गर्दै, 'म कसरी कपिको ऋण तिर्न सकौँला, म कहिल्यै उऋण हुन सक्ने छैन, यस्तो गुण लगाएका छन् कपिले'.. भन्नु भएको प्रसङ्ग हो यो।

रामायणको प्रसङ्गबाट बाहिर निस्केर हामीहरूले आफ्नै जीवन नियाल्दा हाम्रा जीवनका उकाली-ओराली, भीर-पाखा, दुःख-पीडामा हामीलाई स्नेह गर्ने, माया गर्ने र बिना सर्त सहयोग गर्ने प्रिय मानिसहरू पनि हाम्रो समाजमा हुन्छन्। आफूलाई गुण लगाउने व्यक्तिलाई म कुनै पनि तराजूले तौलिन चाहन्नँ। यदि कसैले जीवनमा एकै पटक पनि गुण लगाएको छ भने, मेरा लागि त्यस्तो व्यक्ति श्रद्धाको पात्र नै हो।  धेरै गुण लगाउने व्यक्तिहरूप्रति कृतज्ञ हुनु स्वाभाविक हो तर उहाँहरूले लगाएको गुणको ऋण तिर्न असम्भवप्रायः देखिन्छ। यही प्रसङ्गमा मेरो जीवनमा प्रगाढ मित्रताको कोसेली लिएर आउनुभएका डा. रवीन्द्र समीरका विषयमा केही लेख्ने आँट गरेको छु। 

--

कोभिड-१९ सँगको युद्ध

असोज  २८ गते बुधबार। माघे इलाममा बिहान बेलुका चिसो बढ्न थालेको थियो। दुई-तीन दिन यता बडो फूर्ति लगाउँदै मर्निङ वाकमा हिँड्ने भएँ। हाफ टिसर्ट र हाफपेन्ट लगाएर। टाउकामा जेबिएलको हेडफोनमा पण्डित जसराजले गाएको करिब ३० मिनट लामो "गोविन्द दामोदर माधवेति……." भजन सुन्दै। मर्निङ वाकमा हिँड्दा मेरो पहिलो प्राथमिकतामा यही भजन पर्छ, दोस्रोमा सुनील गाङ्गुलीको इलेक्ट्रिक गिटारका धुनहरू। घरबाट निस्किएर माल्दाजुको घर हुँदै बर डाँडा निस्किएर कामीडाँडा निस्किएँ। त्यहाँबाट मूलबाटो हुँदै तल झरेर घर पुग्दा करिब २० मिनटको वाक हुने। घर आएर एकछिन उफ्री-पाफ्री गर्दा तीस मिनट हुने र कसरतको कोटा पनि पुग्ने। अँ, बुधबारको दिन, कपाल नकाटेको निकै दिन भएकाले छोरी नेहासँग बिहानै कपाल काटी मागेँ।(लकडाउन भएदेखि सेलुनलाई असुरक्षित ठानी, कपाल काट्ने जिम्मा छोरीकै छ) कपाल काट्न आँगनका छेउमा स्यान्डो गन्जी लगाएर बसेँ।  बिहानीको चिसामा ५५ कटेको मान्छेको फूर्ति अलिक बढी भयो कि भन्ने मनमा चाहिँ लागि नै रह्यो। मानिसको जात न परेँ, अहङ्कार र अभिमान त थिए नै, चाहे म देखाऊँ या नदेखाऊँ। 

यही बुधबार बेलुकी ज्वरो आयो। थर्मामिटर घरमा थियो नै। नाप्दा १०२ डिग्री ज्वरो देखियो। बेलुकी नै एउटा सिटामोल खाएर सुतेँ। राति निकै अस्पट भयो र बिहान उठ्न सकिनँ। बिहीबार बिहान ज्वरो उस्तै थियो।  सामान्य ज्वरो होला जातिहोला भन्नेमा पुगियो। खाना खाएर फेरि सिटामोल खाएँ। दिउसो ज्वरो फेरि बढ्यो, धेरै होइन त्यही १०२.५ डिग्री। बुधबारदेखि नै खोकी पनि लागिरहेको थियो। तुरुन्त डा. समीरलाई फोन गरेँ। उहाँलाई मेरो फोक्सोको स्थितिबारे मलाईभन्दा बढी थाहा छ। मेरो फोक्सोले चिसो सहन नसक्ने कुरा उहाँलाई थाहा छ। उहाँले ज्वरो बढ्न नदिन सिटामोल खाइराख्न र एजिथ्रोमाइसिन ५०० एमजी दिनको एक पटक खान सल्लाह दिनुभयो। कोरोनाको सम्भावनालाई मध्यनजर गरी सिटामोल एउटाले नभए दुइटा, दुइटाले नभए तीनटा खान तर ज्वरो बढ्न नदिन सल्लाह दिनुभयो। दिदी फिक्कल जानुभएको थियो, फोन गरेँ र एजिथ्रोमाइसिन ल्याइमागेँ। 

बिहीबार बेलुकी सुरु गरेको एजिथ्रोमाइसिन मङ्गलबार बेलुकी सकियो। बुधबार फेरि डा.समीरलाई फोन गरेँ र स्थितिबारे अवगत गराएँ। यसबीच स्थितिमा खासै सुधार भएन। सिटामोल खाँदा ज्वरो १०२ बाट १ डिग्री ओर्लथ्यो, तीनचार घण्टा पछि उस्तै। एजिथ्रोमाइसिनले काम गर्ला भन्ने लागेको थियो। अर्को बुधबार बिहान उहाँलाई फोन गर्दा, छातीको एक्सरे र टाइफाइड हो होइन चेक गर्नका लागि रक्त परीक्षण गरेर रिपोर्ट पठाउन भन्नुभयो। त्यही दिन ज्वरो आउँदाआउँदै फिक्कल गयौँ र एक्सरे तथा रक्त परीक्षण गरायौँ। रक्त परीक्षणले टाइफाइड नभएको देखायो। बेलुकी घर फर्केर एक्सरे र रक्त परीक्षण रिपोर्टको फोटो खिचेर डा. समीरलाई इमेलद्वारा पठायौँ। डा. समीरले निमोनिया भएको जानकारी गराई तुरुन्तै पिसिआर जाँच गराउन भन्नुभयो। साथै निमोनियाको औषधि पनि लेखि पठाउनुभयो। कोभिड निमोनिया भएको हुन सक्ने र त्यसले कठिन परिस्थिति निम्त्याउन सक्छ भन्दै, अक्सिमिटरले अक्सिजन लेभल बारम्बार जाँचिरहन र रिपोर्ट गर्न सल्लाह दिनुभयो। अक्सिजन लेभल ९२ भन्दा घट्यो भने तुरुन्त अस्पताल भर्ना हुनु पर्ने सुझाव थियो उहाँको। पिसिआर टेस्ट कहाँ गर्न सकिन्छ भनी सोधीखोजी गर्दा, खोजीगरिदिने काम भतिज केदारले लिए। उनले दसौँ जनालाई फोन गरी कुरो बुझ्न लगाउँदा, पिसिआर गर्न धरान वा विराटनगर जानु पर्ने स्थिति देखियो। माघेबाट गाढी चढेर धरान वा विराटनगर जाने आँट पटक्कै पलाएन। मन दोधारको स्थितिमा थियो। एजिथ्रोमाइसिन खाएका छ दिनमा संसार वास्तविक हो कि होइन, मैले देखेका सुनेका कुरा वास्तविक हुन् कि हैनन् भन्ने लागिरह्यो। 

माघेमा अक्सिमिटर थिएन। तल लोकेन्द्रकहाँ थियो तर बेलुकी कता माग्न जाने भनेर बेलुकी केही गरिएन। छोरी नेहाले अघिल्लै दिनदेखि तुरुन्त काठमाडौँ जाऊँ भनिरहेकी थिई। पहिलो कारण पिसिआर काठमाडौँमा सजिलै जचाउन सकिन्थ्यो, दोस्रो रोग जटिल हुँदै गए तुरुन्त अस्पताल जान सकिन्थ्यो, तेस्रो काठमाडौँमा औषधिहरू पनि सजिलै उपलब्ध हुन्थे। 

मानसिक स्थिति बढो जटिल भैरहेको थियो। आमालाई भेट्न वर्ष दिनपछि आएको थिएँ। दुईचार दिनमा दसैँ आउँदै थियो। अनि फेरि तिहार। तिहारसम्म माघेमा आमासँगै बस्न भनेर आएको थिएँ। घर छोडेर हिँड्न पटक्क मन थिएन। तर अर्धचेतनजस्तो अवस्थामा पुगिसकेको हुनाले छोरीको आग्रहलाई टार्न सकिएन। आमाले पनि उपचार गरी जाति भएर घर आउन भन्नुभयो र हामीले बिहीबारै काठमाडौँ जाने निधो गऱ्यौँ। हिँड्ने बेलामा उसैले लोकेन्द्रकहाँ गएर अक्सिमिटर लिएर आई। अक्सिजन मापन गर्दा ९२ र घट्दै गएर ९० सम्म देखायो। करिब १२ बजेतिर हामी हिँड्यौँ।

मेरो छातीले चिसो थेग्न नसक्ने हुनाले चिसो गाढिएको हुनसक्ने मलाई लागेको थियो। बोङ्काइटिस वा निमोनिया हो भन्ने त थियो तर कोभिड-१९ नै होला भनेर चाहिँ पटक्कै लागेको थिएन। बिहीबार बेलुकी ५ बजे काठमाडौं डेरामा आइपुग्यौँ।  अर्को दिन ७ गते नै पिसिआर परीक्षण गर्नका लागि स्वाब दियौँ। हामी श्रीमान्-श्रीमतीले स्वाब दियौँ तर छोरी त्यस बेला बाहिर गएकीले उसको भने छुट्यो। बेलुकी नै पिसिआरको रिपोर्ट आउँछ भनेका थिए। यसैबीच दीपक भाइलाई निमोनियाको औषधि मगाएर खान थालीसकेको थिएँ। राति दुई बजेतिर ब्यूँझिएर मोबाइल हेरेँ। एसएमएसमा रिपोर्ट पठाएको रहेछ। हामी श्रीमान्-श्रीमतीकै पोजिटिभ। एकछिन त विश्वासै लागेन। तर सत्य त त्यही म्यासेज थियो। कोभिड-१९ ले हामीलाई भेटिसकेको थियो।

दुई दिन पछि छोरीको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो। यो निकै खुसीको कुरा थियो।

यस बीच प्राय हरेक दिन जसो डा. समीर सम्पर्कमा आउनुभयो। अक्सिमिटरले हरेक घण्टा अक्सिजनको लेभल नाप्न र ९२ भन्दा कम भए तुरुन्त अस्पताल भर्ना हुन आग्रह गर्नुभयो। छोरीले अक्सिमिटर किनेर ल्याइन्। औषधि खाँदै जाँदा स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो। डा. समीरले बारम्बार "म छु। नडराउनुहोस्। केही हुन दिन्नँ।" भनीरहनुहुन्थ्यो। उहाँको आडले, भरोसाले र प्रेमले थप उपचारको काम गऱ्यो। सात दिनको निमोनियाको औषधि खाए पछि पुनः एक्स-रे गरेर निमोनियाको स्थिति हेर्नुपर्छ भन्नुभएको थियो उहाँले। कोभिड पोजिटिभ केसको एक्स-रे जहाँपायो त्यहीँ नहुने। ढाँटेर एक्स-रे गर्नुभनेको सयौँलाई कोभिड सार्नुजत्तिकै थियो। स्थिति जस्तो सुकै भए तापनि, त्यसो गर्न म सक्तिनथेँ। यता र उति फोन गर्दा गर्दै भतिज पङ्कजको सहयोग र डा. समीरको सल्लाहले भक्तपुर अस्पतालमा पुगी दुवैजनाले एक्स-रे गऱ्यौँ। फेरि पहिलेको जस्तै फोटो खिचेर डा. समीरलाई इमेल मार्फत पठायौँ। उहाँले एक्स-रे हेरेर ९०% निको भैसकेको र बाँकीका लागि तीन दिनको औषधि थप्न सल्लाह दिनुभयो। कार्तिक १७ गतेसम्म औषधि खाँदा ज्वरो, खोकी निको भैसकेको थियो। शरीर चाहिँ धेरै शिथिल भएको थियो तर मन चङ्गा बनेको थियो। डा. समीरकै सल्लाह अनुसार फेरि कार्तिक २० गते बिहान पिसिआर टेस्ट गर्न स्वाब दियौँ, तीनै जनाले। हाम्रो भाग्य, तीनै जनाको रिपोर्ट नेगेटिभ आयो। डा. समीर अझै भन्नुहुन्छ, "नडराउनुहोस्! केही हुँदैन। म छु।" यो वाक्य कुनै औषधिभन्दा कम थिएन। मानिसहरू सानो हेलचेक्र्याइँले ज्यान गुमाइरहेका थिए। कोही अस्पताल पुग्न नपाई अस्ताउँथे। कसैले बेड पाउँदैनथे र मृत्युवरण गर्थे। कसैको पैसा पुग्दैनथ्यो कसैले अस्पताल जान र औषधि खान नमानेर जीवन त्यागिरहेका थिए। कसैको के हुन्थ्यो, कसैको के हुन्थ्यो। यस्तो स्थितिमा आफ्ना प्रिय मित्रको ज्यानको जिम्मा लिनु सानो कुरा पटक्कै होइन। कदापि हुँदै होइन। डा. समीरसँग त्यो असाधारण क्षमता छ, त्यही भएर नै लाखौँका प्रिय हुनुहुन्छ। विनम्रता र मानवताका अप्रतिम उदाहण, प्रिय डा. समीरकै कारण मैले स्वास्थ्य लाभ गरेँ, गर्नेछु। लाग्छ, उहाँकै कारण पुनर्जन्म भएको छ।

--

म र डा. रवीन्द्र समीर

डा. समीरसँग मेरो मित्रताको नाता गाँसिएको साहित्यको माध्यमबाट हो। मैले चलाउने गरेको एउटा हिन्दी इन्टरनेट पोर्टलमा मैले उहाँको एउटा लघुकथा अनुवाद गरी प्रकाशित गरेको थिएँ। यो करिब १५ वर्ष अघिको कुरा हो। त्यसपछि उहाँले आफ्ना सबै लघुकथाका पुस्तकहरू मलाई पठाउनुभएको थियो। त्यसपछि हाम्रो कुराकानी धेरै बाक्लियो। सञ्चारका भएजति माध्ययमा हाम्रा कुरा हुन थाले। अनि भेट पनि हुन थाल्यो। म काठमाडौँ आएर बस्न थाले पछि भेटहरू पनि सघन हुँदै गए। अहिले उहाँका साहित्यिक कृतिहरू १२ वटा पुगिसकेका छन्। 

डेढ दसक देखिको मित्रतामा हामीले थुप्रै दुःखसुख बाँड्यौ। तर यस डेढ दसकको अवधिमा उहाँले गरेको स्नेह र प्रेमको ऋण अलिकति पनि तिर्न सकेको छैन। म जाबोले तिरौँला पनि कसरी? मेरो र मेरो परिवारको स्वास्थ्यमा अलिअलि गडबडी हुँदा पनि म उहाँलाई नै सुनाउँछु। उहाँले नै दिएको औषधि खान्छु, खुवाउँछु। कैयन् पटक हामी दिनभरि साहित्यका विषयमा कुराकानी गर्दै बसेका छौँ। कहिलेकाहीँ भन्छु, "रवीन्द्रजी, म तपाईँको ऋण कसरी तिर्न सकौँला।" उहाँ मुसुक्क हाँसेर भन्नुहुन्छ, "मैले तपाईँलाई ऋण दिएकै छैन। नदिएको ऋण किन र कसरी तिर्न भन्नू मँ? तपाईँजस्तो साथी भेट्नु नै सापोनापो भैहाल्यो नि।" 

तर मलाई लाग्छ रवीन्द्रजी, मैले तपाईँलाई केही दिन सकेकै छैन। भविष्यमा मेरा लागि तपाईँले कति गर्नुहुन्छ त्यसको सानो अनुमान मलाई छ। ती सबैलाई हेर्दा तपाईँको प्रेम र स्नेहलाई क्षतिपूर्ति दिन सक्ने क्षमता मसँग छैन र भविष्यमा पनि हुनेछैन। जसरी भगवान् रामचन्द्र कपिको लगाएको गुणबाट उऋण हुन सकेनन्, म पनि तपाईँले लगाएको गुणबाट उऋण हुन सक्तिनँ। र भगवान्‌सँग एउटै प्रार्थना गर्छु, "अर्को जन्ममा पनि म तपाईँको मित्र भएर जन्म लिऊँ। तपाईँले यस जन्ममा लगाएको ऋण त्यही जन्ममा तिर्न सकूँ।"

---


Tuesday, September 8, 2020

परदेशिएको भाइ सम्झिएर...

ठ्याक्कै कहिले हो हेक्का रहेन। तर एसओएस हर्मन माइनर स्कुलमा विज्ञान शिक्षकको विज्ञापन खुलेको थियो। आवेदनहरू निकै आइरहेका थिए। मैले त्यहाँ पढाएको पनि सातआठ वर्ष भैसकेको थियो। त्यसैले सायद प्रिन्सिपल सरले विज्ञापनपछि उम्मेद्वारहरूको सर्टलिस्ट गर्दा मेरो पनि सहयोग माग्नुभयो। मैले पनि आफ्नै विभागमा सहकर्मी आउने भएपछि सहर्ष सहयोग गरेँ। त्यसमा अरू धेरै जना त म सम्झिन्नँ, तर एक जनाको आवेदनले भने मलाई आकृष्ट गऱ्यो। शुभ्र अनुहारको एउटा फोटो, अनि नाम शुकदेव अधिकारी। मणिपुरको इम्फाल विश्वविद्यालयबाट बी.एस्सी. गरेको। घर झापा। सिभिको पुछारतिर रुचिमा देखेँ – सर्ट स्टोरी राइटिङ। अनुहारको शुभ्रता अनि रुचि सिर्जनात्मक लेखन। म पनि बी.एस्सी. र कथा लेख्न सिक्दै गरेको एउटा सिकारु थिएँ। अनुहारको शुभ्रताले यिनको उत्तम शिक्षण सीप त बयान गरेकै थियो, साथै सिर्जनामा पनि यिनी पक्कै जम्छन् भन्ने लागेको थियो।

नभन्दै लिखित परीक्षा, अन्तर्वार्ता र कक्षाकोठा प्रस्तुतिकरणको छनोट पार गरिसकेपछि, यी पहिलो नम्बरमा परी शिक्षक नियुक्त भए। इटहरी आउनुअघि पश्चिमतिर कतै बोर्डिङ स्कुलमा पढाउँदा रहेछन्। केही दिनका लागि एक्लै आए। मैले यिनलाई भाइ सम्बोधन गरेँ। हामीबीच दाजुभाइको साइनो कायम भयो। केही दिनपछि यिनले परिवार पनि बोलाए, श्रीमति र एउटी बहिनी। म बसेकै घरमा कोठा खाली थियो। त्यहीँ बोलाएँ। हामी भौतिक रूपमा नजिकियौँ। हाम्रा मनहरू अझै नजिक आए।

मानिसहरू भन्छन् रगतको साइनो जत्ति ठूलो केही हुँदैन। यी शुकदेव मेरो रगतको साइनामा त थिएनन् तर अधिकारी नै भएकाले यी तिनै कश्यप ऋषिका सन्तान थिए नै। एउटै पुर्खाका सन्तान थियौँ हामी। हाम्रो परिचय भर्खरै मात्र भएको थियो। यिनको परिवार र हाम्रो परिवारबीच राम्रो पारिवारिक नाता कायम भयो। हामी यिनकहाँ गएर घण्टौ बस्ने, खाने, गफ गर्ने, बस्ने अर्थात् सुखदुःख साट्ने। यी पनि हाम्रामा आउँथे, त्यसै गर्थे। यिनले जहिल्यै मलाई शिर निहुऱ्याएर ढोगे। अभिवादन गर्दा यिनको शिर मेरा सामु उँचो कहिल्यै भएन। मैले त्यत्रो विधि सम्मान पाउनेगरि केही गरेको थिइनँ। यी भाइ भने मलाई आदर, माया र प्रेमले ओतप्रोत बनाइरहेका थिए।

रहँदैबस्दै गर्दा यिनकी राम्री छोरी जन्मिइन्। हाम्री छोरीले नाम सुझाव गरिन् – शुकदेवको शु र मीराको मीरा नै लिएर नाम बनाउने सुमीरा। हामी सबैलाई कत्ति राम्रो लाग्यो। यिनलाई पनि राम्रो लाग्यो र छोरीको नाम भयो सुमीरा।

यी मानवीय भावनामा खेल्न असाध्य सिपालु मान्छे। साह्रै गज्जबका कथा लेख्थे। लेख्थे यसकारण कि अब यी लेख्छन् लेख्दैनन् थाहा छैन। अँ यिनको एउटा कथा साह्रै गज्जबको छ 'गन्धर्वको छोरो'। यिनका अरू कथा पनि गज्जब छन्। जम्माजम्मी दसबाह्रवटा कथा भेला पारेर एउटा राम्रो कथा सङ्ग्रह छपाउन लगाउँला भन्ने लागेको थियो तर त्यसभन्दा पहिले नै यिनलाई अमेरिकाले तान्यो।  यिनी अमेरिका उडे।

यिनले मलाई सबैभन्दा तिर्नै नसक्ने गुन लगाएका छन्। यस्तो गुन जुन म मेरा नजिकका आफन्तहरूबाट पनि अपेक्षा गर्न सक्दिनँ। पहिले केही प्रयास मैले पनि गरेकै हुँ। तर आफ्नाहरूसँग सहयोग माग्दा बहानाका बहाना आउँथे। लाग्थ्यो जिन्दगी फगत एक जनाले गर्ने सङ्घर्ष हो। आफ्नाहरूले अपवाद बाहेक केही गरेको मलाई थाहा छैन। २०६४ पछिको कुरा हो। २०६५ सालमा मैले इटहरीमा घर बनाउन सुरु गरेँ। घर बनाउने बेला पनि हो जस्तो लाग्यो। शिरमाथि आफ्नो घरको छत हुँदाको आनन्द कति आनन्ददायी हुन्छ मैले घर बनाएपछि नै थाहा पाएँ। जमिन किनेको ऋण तिरी नसकी बैङ्कबाट कर्जा लिएर घर बनाउन सुरु गरिएको थियो। साथीभाइ, नातागोताबाट सहयोग पाएकाले नै आँट गरेँ। हाम्रो घर बन्यो। माध्यमिक तहको शिक्षकको तलबले घर बनाएको ऋणको किस्ता, छोराको पढाइखर्च, घरायसी खर्च पुग्ने कुरै थिएन। तिनताक म तीनतिर काम गर्थेँ। बिहान कोसी कलेजमा, दिउसो एसओएस हर्मन माइनर स्कुलमा र बेलुका सुकुना कलेजमा। बिहान पाँच बजे उठेको ज्यानले बेलुकी नौ बजेमात्र बिसाउन पाउँथ्यो। कक्षा तीनदेखि स्नातकोत्तरसम्म पढाउने विरलै शिक्षक मध्ये म पक्कै पर्ने थिएँ होला।

आफू पनि कमाएर भरथेग गर्ने भनेर मेरी जीवनसँगिनीले सानोतिनो व्यवसाय सुरु गर्ने गर्ने निधो गरिन्। राजस्व चोकमा एउटा कोठा लिएर, केही स्टेसनरीका सामग्री र एउटा कम्प्युटर राख्यौँ। केही कापीहरू, डटपेनहरू थप्यौँ। एउटा प्रिन्टर राख्यौँ। सुरुका दिनमा अत्यन्तै निराशाजनक स्थिति थियो। कुनै दिनका एकै रुपैयाँको पनि आम्दानी हुँदैनथ्यो। चार बजे बेलुकी स्कुलबाट फर्किँदा उनको असाध्यै अँध्यारो अनुहार देख्थेँ। हामी दुई निराशाका केही पोकाहरू आफूसँगै बोकेर घरभित्र छिर्थौँ। तर घरभित्र छिरेपछि एउटा अचम्मको सन्तुष्टि मिल्थ्यो, किनकि त्यो आफ्नो घर थियो, आफ्नो।

छेउमा आन्तरिक राजस्व कार्यालय भएकाले फोटोकपी केही चल्थ्यो होला भन्ने लागेर एउटा सानो थ्रिइनवान मेसिन किन्यौँ, त्यो पनि साथीभाइहरूबाट सापटी लिएरै। फोटोकपी भएपछि केही आम्दानी हुन थाल्यो। अलिकति उत्साह पनि थपियो। तर बिजुली गैरहने समस्याले साह्रै सताउने। दिनको अठाह्र घण्टासम्म लोड सेडिङको बेला थियो त्यो। व्यवसाय बन्द गर्नुभन्दा बरू लगानी नै थपौँ भन्ने लागेर इन्भर्टर राख्यौँ। इन्भर्टर त राम्रै राख्यौँ तर ब्याटरीमा धेरै ठगिएछौँ। आठ महिना पनि नभई ब्याटरी बिग्रियो। नयाँ ब्याटरी किन्ने उपाय थिएन। लाइन नभएपछि फोटोकपी पनि नचल्ने, कम्प्युटर पनि नचल्ने। दिनभरिजस्तो लाइन गैरहने। किन लगानी गरिएछ नि भनेर चिन्तित भएका बेला, शुकदेव भाइको एउटा भिन्न रूप देखा पऱ्यो। यिनले किस्ताबन्दीमा ल्यापटप किनेका थिए- लेनोभोको ल्यापटप। थपक्कै हाम्रा हातमा दिएर भने "दाजु यो चलाउनुहोस्।" म अन्कनाएँ, मसँग शुकदेवलाई दिने, वा भनौँ ल्यापटप किन्ने पैसा फिटिक्कै थिएन। उनले भने, "जति सक्नुहुन्छ, जहिले सक्नुहुन्छ दिनू। महिनैपिच्छे केही दिए पनि हुन्छ। म यतिउति पनि भन्दिनँ। नसके पछि दिए पनि हुन्छ। पछि पनि उपायै लागेन भने नदिए पनि हुन्छ। भाउजूलाई दोकानमा बसेर काम गर्न हुन्छ। ब्याटरीले करिब छ घण्टा थाम्छ।" मसित जबाफ दिने एउटै शब्द थिएन। मुखले कुनै शब्द बोल्न सकेन। मनभित्र स्नेह, प्रेम र आफ्नोपनको ज्वालामुखी फुट्यो। आँखाबाट त्यो लाभा निस्किँदा भित्रैदेखि के भयो के भयो! आँखाबाट खहरे तल ओर्लियो। मनले भन्न त धेरै कुरा भन्न चाहेको थियो तर आँट आएन। यति धेरै माया गर्ने मान्छे पनि हुन्छन्। म कहाँ न कहाँको दाजु। चिनेकै धेरै वर्ष भएको त छैन। यति धेरै प्रेमको बदला म के दिऊँ उनलाई। दिनु नै के सक्छु र ? भन्छन् मायाको बदला माया नै दिन सकिन्छ तर म त्यति धेरै माया दिन सकूँला ? मेरो क्षमता होला ? कुन अर्थमा सकूँला? मैले सोच्न सकिनँ। उनलाई अँगालामा बेरेँ र मनमनै कोटि कोटि नमन् गरेँ। यी भाइ ईश्वरको दूत भएर मलाई सघाउन मसामु आएका थिए।

यी मेरा पूर्व जन्मका के थिए भन्न सक्तिनँ। यिनको स्नेहले म अत्यन्तै द्रवित भएको थिएँ। मेरा जम्मै सुखदुःख यिनले देखेका थिए, सुनेका थिए। उनको सुखदुःख पनि केही हदसम्म मैले सुनेको थिएँ। यिनीसँग डेरामा भेट्न नगएको शनिबार प्रायः हुँदैनथ्यो।  गएपछि मिठो मसिनो जे भए पनि खुवाएरै पठाउँथे। छोरी सुमिरालाई काखमा लिएर बस्नु सुखद हुन्थ्यो। हामी सपरिवार जान्थ्यौँ, यिनका डेरामा।  नजाँदा केही छुटेजस्तो, केही नभएजस्तो हुन्थ्यो। प्रेमको असर कति प्रभावी, कति असरदार ! साना खुसीका मौकाहरू पनि बाँड्न मन लाग्ने।

यिनले ल्यापटप दिएपछि काम धेरै सहज भयो। उनले दिनभरि पसलमा बसेर काम गर्न थालिन्। केही कमाइ पनि हुँदै गयो। तर ऋणको भारी भने कम भएको थिएन। शुकुलाई महिनाको दुइतीन हजार गर्दै ल्यापटपको पैसा दिन पनि थालेँ।  लाग्यो अब पक्कै राम्रा दिन आउँछन् होला। शुकुजस्ता भाइ भएपछि मलाई केही डर रहेन।

अलिक दिन पछिको कुरा हो। हाम्रो पारिवारिक गफगाफ भै रहन्थ्यो। आआफ्ना समस्या हामी एकअर्कालाई सुनाउँथ्यौँ। त्यस्तै क्रममा मैले छोराछोरीलाई पढाउन गाह्रो हुने हो कि भन्ने कुरा सुनाएँ। किनकि घर बनाएको ऋण सहित सरसापटी तिरीसक्न निकै थियो। शुकुले तुरुन्तै भने, "दाजु, तपाईँका छोराछोरी मेरा पनि छोराछोरी हुन्। नडराउनुहोस् म पढाउँछु छोराछोरी। पछि तपाईँले ऋण तिरीसकेपछि मेरा छोरीहरूको पढ्ने बेला हुन्छ, त्यसबेला तपाईँले पढाउनु होला।" मेरो त फेरि गला बस्यो, शब्द निस्केनन्। उही हो आँखाबाट पानी ओरालो झर्न थाल्यो। शुकुले मेरो हात लिएर धेरैबेर सुम्सुम्याए। मैले अनन्त प्रेमको स्पर्श पाएँ। म धन्य भएँ।

अनि एक दिन शुकु फुर्र अमेरिका उडे। उनलाई रोक्ने मेरो सामर्थ्य थिएन। मलाई थाहा छ, अमेरिका अवसरहरूको मुलुक हो। त्यहाँ शुकुले पर्याप्त अवसरहरू पाउनेछन्। म यहाँ नेपालमा बसेर शुकुको सफलताको कामना गरिरहेको छु। यिनको स्पर्शको नियास्रो लागिरहेको छ मलाई। परमेश्वरले मलाई पक्कै मौला देलान्। एक पटक फेरि शुकुलाई अँगालामा बाँध्न मन छ.....