Friday, November 6, 2020

मित्रवर ! तपाईँको ऋणबाट उऋण कसरी होऊँ ?

गोस्वामी तुलसीदासको एउटा साह्रै सुमधुर भक्तिपूर्ण भजन छ:

भरत भाई ! कपि से उरिन हम नाहीँ।
एठो खाय अछूत खवावत। हाथ धोवत टक माहि।।१।।
सौ योजन मर्याद सिंधू की लांग गयो पल माहि।
लंका जाय सिया सोधी लाये। गर्व नहीं मन माहि।।२।।
... ... ... ... ... ... ... ...

यसमा पण्डित जसराजले शास्त्रीय रागमा स्वर दिएका छन् भने अनुप जलोटाको गायन पनि उत्तिकै कर्णप्रिय छ।

यो प्रसङ्ग भगवान् रामले लङ्का विजय गरेर आइसकेपछि भरतसँग हनुमान(कपि)ले गरेको सहयोगबारे बयान गर्दै, 'म कसरी कपिको ऋण तिर्न सकौँला, म कहिल्यै उऋण हुन सक्ने छैन, यस्तो गुण लगाएका छन् कपिले'.. भन्नु भएको प्रसङ्ग हो यो।

रामायणको प्रसङ्गबाट बाहिर निस्केर हामीहरूले आफ्नै जीवन नियाल्दा हाम्रा जीवनका उकाली-ओराली, भीर-पाखा, दुःख-पीडामा हामीलाई स्नेह गर्ने, माया गर्ने र बिना सर्त सहयोग गर्ने प्रिय मानिसहरू पनि हाम्रो समाजमा हुन्छन्। आफूलाई गुण लगाउने व्यक्तिलाई म कुनै पनि तराजूले तौलिन चाहन्नँ। यदि कसैले जीवनमा एकै पटक पनि गुण लगाएको छ भने, मेरा लागि त्यस्तो व्यक्ति श्रद्धाको पात्र नै हो।  धेरै गुण लगाउने व्यक्तिहरूप्रति कृतज्ञ हुनु स्वाभाविक हो तर उहाँहरूले लगाएको गुणको ऋण तिर्न असम्भवप्रायः देखिन्छ। यही प्रसङ्गमा मेरो जीवनमा प्रगाढ मित्रताको कोसेली लिएर आउनुभएका डा. रवीन्द्र समीरका विषयमा केही लेख्ने आँट गरेको छु। 

--

कोभिड-१९ सँगको युद्ध

असोज  २८ गते बुधबार। माघे इलाममा बिहान बेलुका चिसो बढ्न थालेको थियो। दुई-तीन दिन यता बडो फूर्ति लगाउँदै मर्निङ वाकमा हिँड्ने भएँ। हाफ टिसर्ट र हाफपेन्ट लगाएर। टाउकामा जेबिएलको हेडफोनमा पण्डित जसराजले गाएको करिब ३० मिनट लामो "गोविन्द दामोदर माधवेति……." भजन सुन्दै। मर्निङ वाकमा हिँड्दा मेरो पहिलो प्राथमिकतामा यही भजन पर्छ, दोस्रोमा सुनील गाङ्गुलीको इलेक्ट्रिक गिटारका धुनहरू। घरबाट निस्किएर माल्दाजुको घर हुँदै बर डाँडा निस्किएर कामीडाँडा निस्किएँ। त्यहाँबाट मूलबाटो हुँदै तल झरेर घर पुग्दा करिब २० मिनटको वाक हुने। घर आएर एकछिन उफ्री-पाफ्री गर्दा तीस मिनट हुने र कसरतको कोटा पनि पुग्ने। अँ, बुधबारको दिन, कपाल नकाटेको निकै दिन भएकाले छोरी नेहासँग बिहानै कपाल काटी मागेँ।(लकडाउन भएदेखि सेलुनलाई असुरक्षित ठानी, कपाल काट्ने जिम्मा छोरीकै छ) कपाल काट्न आँगनका छेउमा स्यान्डो गन्जी लगाएर बसेँ।  बिहानीको चिसामा ५५ कटेको मान्छेको फूर्ति अलिक बढी भयो कि भन्ने मनमा चाहिँ लागि नै रह्यो। मानिसको जात न परेँ, अहङ्कार र अभिमान त थिए नै, चाहे म देखाऊँ या नदेखाऊँ। 

यही बुधबार बेलुकी ज्वरो आयो। थर्मामिटर घरमा थियो नै। नाप्दा १०२ डिग्री ज्वरो देखियो। बेलुकी नै एउटा सिटामोल खाएर सुतेँ। राति निकै अस्पट भयो र बिहान उठ्न सकिनँ। बिहीबार बिहान ज्वरो उस्तै थियो।  सामान्य ज्वरो होला जातिहोला भन्नेमा पुगियो। खाना खाएर फेरि सिटामोल खाएँ। दिउसो ज्वरो फेरि बढ्यो, धेरै होइन त्यही १०२.५ डिग्री। बुधबारदेखि नै खोकी पनि लागिरहेको थियो। तुरुन्त डा. समीरलाई फोन गरेँ। उहाँलाई मेरो फोक्सोको स्थितिबारे मलाईभन्दा बढी थाहा छ। मेरो फोक्सोले चिसो सहन नसक्ने कुरा उहाँलाई थाहा छ। उहाँले ज्वरो बढ्न नदिन सिटामोल खाइराख्न र एजिथ्रोमाइसिन ५०० एमजी दिनको एक पटक खान सल्लाह दिनुभयो। कोरोनाको सम्भावनालाई मध्यनजर गरी सिटामोल एउटाले नभए दुइटा, दुइटाले नभए तीनटा खान तर ज्वरो बढ्न नदिन सल्लाह दिनुभयो। दिदी फिक्कल जानुभएको थियो, फोन गरेँ र एजिथ्रोमाइसिन ल्याइमागेँ। 

बिहीबार बेलुकी सुरु गरेको एजिथ्रोमाइसिन मङ्गलबार बेलुकी सकियो। बुधबार फेरि डा.समीरलाई फोन गरेँ र स्थितिबारे अवगत गराएँ। यसबीच स्थितिमा खासै सुधार भएन। सिटामोल खाँदा ज्वरो १०२ बाट १ डिग्री ओर्लथ्यो, तीनचार घण्टा पछि उस्तै। एजिथ्रोमाइसिनले काम गर्ला भन्ने लागेको थियो। अर्को बुधबार बिहान उहाँलाई फोन गर्दा, छातीको एक्सरे र टाइफाइड हो होइन चेक गर्नका लागि रक्त परीक्षण गरेर रिपोर्ट पठाउन भन्नुभयो। त्यही दिन ज्वरो आउँदाआउँदै फिक्कल गयौँ र एक्सरे तथा रक्त परीक्षण गरायौँ। रक्त परीक्षणले टाइफाइड नभएको देखायो। बेलुकी घर फर्केर एक्सरे र रक्त परीक्षण रिपोर्टको फोटो खिचेर डा. समीरलाई इमेलद्वारा पठायौँ। डा. समीरले निमोनिया भएको जानकारी गराई तुरुन्तै पिसिआर जाँच गराउन भन्नुभयो। साथै निमोनियाको औषधि पनि लेखि पठाउनुभयो। कोभिड निमोनिया भएको हुन सक्ने र त्यसले कठिन परिस्थिति निम्त्याउन सक्छ भन्दै, अक्सिमिटरले अक्सिजन लेभल बारम्बार जाँचिरहन र रिपोर्ट गर्न सल्लाह दिनुभयो। अक्सिजन लेभल ९२ भन्दा घट्यो भने तुरुन्त अस्पताल भर्ना हुनु पर्ने सुझाव थियो उहाँको। पिसिआर टेस्ट कहाँ गर्न सकिन्छ भनी सोधीखोजी गर्दा, खोजीगरिदिने काम भतिज केदारले लिए। उनले दसौँ जनालाई फोन गरी कुरो बुझ्न लगाउँदा, पिसिआर गर्न धरान वा विराटनगर जानु पर्ने स्थिति देखियो। माघेबाट गाढी चढेर धरान वा विराटनगर जाने आँट पटक्कै पलाएन। मन दोधारको स्थितिमा थियो। एजिथ्रोमाइसिन खाएका छ दिनमा संसार वास्तविक हो कि होइन, मैले देखेका सुनेका कुरा वास्तविक हुन् कि हैनन् भन्ने लागिरह्यो। 

माघेमा अक्सिमिटर थिएन। तल लोकेन्द्रकहाँ थियो तर बेलुकी कता माग्न जाने भनेर बेलुकी केही गरिएन। छोरी नेहाले अघिल्लै दिनदेखि तुरुन्त काठमाडौँ जाऊँ भनिरहेकी थिई। पहिलो कारण पिसिआर काठमाडौँमा सजिलै जचाउन सकिन्थ्यो, दोस्रो रोग जटिल हुँदै गए तुरुन्त अस्पताल जान सकिन्थ्यो, तेस्रो काठमाडौँमा औषधिहरू पनि सजिलै उपलब्ध हुन्थे। 

मानसिक स्थिति बढो जटिल भैरहेको थियो। आमालाई भेट्न वर्ष दिनपछि आएको थिएँ। दुईचार दिनमा दसैँ आउँदै थियो। अनि फेरि तिहार। तिहारसम्म माघेमा आमासँगै बस्न भनेर आएको थिएँ। घर छोडेर हिँड्न पटक्क मन थिएन। तर अर्धचेतनजस्तो अवस्थामा पुगिसकेको हुनाले छोरीको आग्रहलाई टार्न सकिएन। आमाले पनि उपचार गरी जाति भएर घर आउन भन्नुभयो र हामीले बिहीबारै काठमाडौँ जाने निधो गऱ्यौँ। हिँड्ने बेलामा उसैले लोकेन्द्रकहाँ गएर अक्सिमिटर लिएर आई। अक्सिजन मापन गर्दा ९२ र घट्दै गएर ९० सम्म देखायो। करिब १२ बजेतिर हामी हिँड्यौँ।

मेरो छातीले चिसो थेग्न नसक्ने हुनाले चिसो गाढिएको हुनसक्ने मलाई लागेको थियो। बोङ्काइटिस वा निमोनिया हो भन्ने त थियो तर कोभिड-१९ नै होला भनेर चाहिँ पटक्कै लागेको थिएन। बिहीबार बेलुकी ५ बजे काठमाडौं डेरामा आइपुग्यौँ।  अर्को दिन ७ गते नै पिसिआर परीक्षण गर्नका लागि स्वाब दियौँ। हामी श्रीमान्-श्रीमतीले स्वाब दियौँ तर छोरी त्यस बेला बाहिर गएकीले उसको भने छुट्यो। बेलुकी नै पिसिआरको रिपोर्ट आउँछ भनेका थिए। यसैबीच दीपक भाइलाई निमोनियाको औषधि मगाएर खान थालीसकेको थिएँ। राति दुई बजेतिर ब्यूँझिएर मोबाइल हेरेँ। एसएमएसमा रिपोर्ट पठाएको रहेछ। हामी श्रीमान्-श्रीमतीकै पोजिटिभ। एकछिन त विश्वासै लागेन। तर सत्य त त्यही म्यासेज थियो। कोभिड-१९ ले हामीलाई भेटिसकेको थियो।

दुई दिन पछि छोरीको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो। यो निकै खुसीको कुरा थियो।

यस बीच प्राय हरेक दिन जसो डा. समीर सम्पर्कमा आउनुभयो। अक्सिमिटरले हरेक घण्टा अक्सिजनको लेभल नाप्न र ९२ भन्दा कम भए तुरुन्त अस्पताल भर्ना हुन आग्रह गर्नुभयो। छोरीले अक्सिमिटर किनेर ल्याइन्। औषधि खाँदै जाँदा स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो। डा. समीरले बारम्बार "म छु। नडराउनुहोस्। केही हुन दिन्नँ।" भनीरहनुहुन्थ्यो। उहाँको आडले, भरोसाले र प्रेमले थप उपचारको काम गऱ्यो। सात दिनको निमोनियाको औषधि खाए पछि पुनः एक्स-रे गरेर निमोनियाको स्थिति हेर्नुपर्छ भन्नुभएको थियो उहाँले। कोभिड पोजिटिभ केसको एक्स-रे जहाँपायो त्यहीँ नहुने। ढाँटेर एक्स-रे गर्नुभनेको सयौँलाई कोभिड सार्नुजत्तिकै थियो। स्थिति जस्तो सुकै भए तापनि, त्यसो गर्न म सक्तिनथेँ। यता र उति फोन गर्दा गर्दै भतिज पङ्कजको सहयोग र डा. समीरको सल्लाहले भक्तपुर अस्पतालमा पुगी दुवैजनाले एक्स-रे गऱ्यौँ। फेरि पहिलेको जस्तै फोटो खिचेर डा. समीरलाई इमेल मार्फत पठायौँ। उहाँले एक्स-रे हेरेर ९०% निको भैसकेको र बाँकीका लागि तीन दिनको औषधि थप्न सल्लाह दिनुभयो। कार्तिक १७ गतेसम्म औषधि खाँदा ज्वरो, खोकी निको भैसकेको थियो। शरीर चाहिँ धेरै शिथिल भएको थियो तर मन चङ्गा बनेको थियो। डा. समीरकै सल्लाह अनुसार फेरि कार्तिक २० गते बिहान पिसिआर टेस्ट गर्न स्वाब दियौँ, तीनै जनाले। हाम्रो भाग्य, तीनै जनाको रिपोर्ट नेगेटिभ आयो। डा. समीर अझै भन्नुहुन्छ, "नडराउनुहोस्! केही हुँदैन। म छु।" यो वाक्य कुनै औषधिभन्दा कम थिएन। मानिसहरू सानो हेलचेक्र्याइँले ज्यान गुमाइरहेका थिए। कोही अस्पताल पुग्न नपाई अस्ताउँथे। कसैले बेड पाउँदैनथे र मृत्युवरण गर्थे। कसैको पैसा पुग्दैनथ्यो कसैले अस्पताल जान र औषधि खान नमानेर जीवन त्यागिरहेका थिए। कसैको के हुन्थ्यो, कसैको के हुन्थ्यो। यस्तो स्थितिमा आफ्ना प्रिय मित्रको ज्यानको जिम्मा लिनु सानो कुरा पटक्कै होइन। कदापि हुँदै होइन। डा. समीरसँग त्यो असाधारण क्षमता छ, त्यही भएर नै लाखौँका प्रिय हुनुहुन्छ। विनम्रता र मानवताका अप्रतिम उदाहण, प्रिय डा. समीरकै कारण मैले स्वास्थ्य लाभ गरेँ, गर्नेछु। लाग्छ, उहाँकै कारण पुनर्जन्म भएको छ।

--

म र डा. रवीन्द्र समीर

डा. समीरसँग मेरो मित्रताको नाता गाँसिएको साहित्यको माध्यमबाट हो। मैले चलाउने गरेको एउटा हिन्दी इन्टरनेट पोर्टलमा मैले उहाँको एउटा लघुकथा अनुवाद गरी प्रकाशित गरेको थिएँ। यो करिब १५ वर्ष अघिको कुरा हो। त्यसपछि उहाँले आफ्ना सबै लघुकथाका पुस्तकहरू मलाई पठाउनुभएको थियो। त्यसपछि हाम्रो कुराकानी धेरै बाक्लियो। सञ्चारका भएजति माध्ययमा हाम्रा कुरा हुन थाले। अनि भेट पनि हुन थाल्यो। म काठमाडौँ आएर बस्न थाले पछि भेटहरू पनि सघन हुँदै गए। अहिले उहाँका साहित्यिक कृतिहरू १२ वटा पुगिसकेका छन्। 

डेढ दसक देखिको मित्रतामा हामीले थुप्रै दुःखसुख बाँड्यौ। तर यस डेढ दसकको अवधिमा उहाँले गरेको स्नेह र प्रेमको ऋण अलिकति पनि तिर्न सकेको छैन। म जाबोले तिरौँला पनि कसरी? मेरो र मेरो परिवारको स्वास्थ्यमा अलिअलि गडबडी हुँदा पनि म उहाँलाई नै सुनाउँछु। उहाँले नै दिएको औषधि खान्छु, खुवाउँछु। कैयन् पटक हामी दिनभरि साहित्यका विषयमा कुराकानी गर्दै बसेका छौँ। कहिलेकाहीँ भन्छु, "रवीन्द्रजी, म तपाईँको ऋण कसरी तिर्न सकौँला।" उहाँ मुसुक्क हाँसेर भन्नुहुन्छ, "मैले तपाईँलाई ऋण दिएकै छैन। नदिएको ऋण किन र कसरी तिर्न भन्नू मँ? तपाईँजस्तो साथी भेट्नु नै सापोनापो भैहाल्यो नि।" 

तर मलाई लाग्छ रवीन्द्रजी, मैले तपाईँलाई केही दिन सकेकै छैन। भविष्यमा मेरा लागि तपाईँले कति गर्नुहुन्छ त्यसको सानो अनुमान मलाई छ। ती सबैलाई हेर्दा तपाईँको प्रेम र स्नेहलाई क्षतिपूर्ति दिन सक्ने क्षमता मसँग छैन र भविष्यमा पनि हुनेछैन। जसरी भगवान् रामचन्द्र कपिको लगाएको गुणबाट उऋण हुन सकेनन्, म पनि तपाईँले लगाएको गुणबाट उऋण हुन सक्तिनँ। र भगवान्‌सँग एउटै प्रार्थना गर्छु, "अर्को जन्ममा पनि म तपाईँको मित्र भएर जन्म लिऊँ। तपाईँले यस जन्ममा लगाएको ऋण त्यही जन्ममा तिर्न सकूँ।"

---


Tuesday, September 8, 2020

परदेशिएको भाइ सम्झिएर...

ठ्याक्कै कहिले हो हेक्का रहेन। तर एसओएस हर्मन माइनर स्कुलमा विज्ञान शिक्षकको विज्ञापन खुलेको थियो। आवेदनहरू निकै आइरहेका थिए। मैले त्यहाँ पढाएको पनि सातआठ वर्ष भैसकेको थियो। त्यसैले सायद प्रिन्सिपल सरले विज्ञापनपछि उम्मेद्वारहरूको सर्टलिस्ट गर्दा मेरो पनि सहयोग माग्नुभयो। मैले पनि आफ्नै विभागमा सहकर्मी आउने भएपछि सहर्ष सहयोग गरेँ। त्यसमा अरू धेरै जना त म सम्झिन्नँ, तर एक जनाको आवेदनले भने मलाई आकृष्ट गऱ्यो। शुभ्र अनुहारको एउटा फोटो, अनि नाम शुकदेव अधिकारी। मणिपुरको इम्फाल विश्वविद्यालयबाट बी.एस्सी. गरेको। घर झापा। सिभिको पुछारतिर रुचिमा देखेँ – सर्ट स्टोरी राइटिङ। अनुहारको शुभ्रता अनि रुचि सिर्जनात्मक लेखन। म पनि बी.एस्सी. र कथा लेख्न सिक्दै गरेको एउटा सिकारु थिएँ। अनुहारको शुभ्रताले यिनको उत्तम शिक्षण सीप त बयान गरेकै थियो, साथै सिर्जनामा पनि यिनी पक्कै जम्छन् भन्ने लागेको थियो।

नभन्दै लिखित परीक्षा, अन्तर्वार्ता र कक्षाकोठा प्रस्तुतिकरणको छनोट पार गरिसकेपछि, यी पहिलो नम्बरमा परी शिक्षक नियुक्त भए। इटहरी आउनुअघि पश्चिमतिर कतै बोर्डिङ स्कुलमा पढाउँदा रहेछन्। केही दिनका लागि एक्लै आए। मैले यिनलाई भाइ सम्बोधन गरेँ। हामीबीच दाजुभाइको साइनो कायम भयो। केही दिनपछि यिनले परिवार पनि बोलाए, श्रीमति र एउटी बहिनी। म बसेकै घरमा कोठा खाली थियो। त्यहीँ बोलाएँ। हामी भौतिक रूपमा नजिकियौँ। हाम्रा मनहरू अझै नजिक आए।

मानिसहरू भन्छन् रगतको साइनो जत्ति ठूलो केही हुँदैन। यी शुकदेव मेरो रगतको साइनामा त थिएनन् तर अधिकारी नै भएकाले यी तिनै कश्यप ऋषिका सन्तान थिए नै। एउटै पुर्खाका सन्तान थियौँ हामी। हाम्रो परिचय भर्खरै मात्र भएको थियो। यिनको परिवार र हाम्रो परिवारबीच राम्रो पारिवारिक नाता कायम भयो। हामी यिनकहाँ गएर घण्टौ बस्ने, खाने, गफ गर्ने, बस्ने अर्थात् सुखदुःख साट्ने। यी पनि हाम्रामा आउँथे, त्यसै गर्थे। यिनले जहिल्यै मलाई शिर निहुऱ्याएर ढोगे। अभिवादन गर्दा यिनको शिर मेरा सामु उँचो कहिल्यै भएन। मैले त्यत्रो विधि सम्मान पाउनेगरि केही गरेको थिइनँ। यी भाइ भने मलाई आदर, माया र प्रेमले ओतप्रोत बनाइरहेका थिए।

रहँदैबस्दै गर्दा यिनकी राम्री छोरी जन्मिइन्। हाम्री छोरीले नाम सुझाव गरिन् – शुकदेवको शु र मीराको मीरा नै लिएर नाम बनाउने सुमीरा। हामी सबैलाई कत्ति राम्रो लाग्यो। यिनलाई पनि राम्रो लाग्यो र छोरीको नाम भयो सुमीरा।

यी मानवीय भावनामा खेल्न असाध्य सिपालु मान्छे। साह्रै गज्जबका कथा लेख्थे। लेख्थे यसकारण कि अब यी लेख्छन् लेख्दैनन् थाहा छैन। अँ यिनको एउटा कथा साह्रै गज्जबको छ 'गन्धर्वको छोरो'। यिनका अरू कथा पनि गज्जब छन्। जम्माजम्मी दसबाह्रवटा कथा भेला पारेर एउटा राम्रो कथा सङ्ग्रह छपाउन लगाउँला भन्ने लागेको थियो तर त्यसभन्दा पहिले नै यिनलाई अमेरिकाले तान्यो।  यिनी अमेरिका उडे।

यिनले मलाई सबैभन्दा तिर्नै नसक्ने गुन लगाएका छन्। यस्तो गुन जुन म मेरा नजिकका आफन्तहरूबाट पनि अपेक्षा गर्न सक्दिनँ। पहिले केही प्रयास मैले पनि गरेकै हुँ। तर आफ्नाहरूसँग सहयोग माग्दा बहानाका बहाना आउँथे। लाग्थ्यो जिन्दगी फगत एक जनाले गर्ने सङ्घर्ष हो। आफ्नाहरूले अपवाद बाहेक केही गरेको मलाई थाहा छैन। २०६४ पछिको कुरा हो। २०६५ सालमा मैले इटहरीमा घर बनाउन सुरु गरेँ। घर बनाउने बेला पनि हो जस्तो लाग्यो। शिरमाथि आफ्नो घरको छत हुँदाको आनन्द कति आनन्ददायी हुन्छ मैले घर बनाएपछि नै थाहा पाएँ। जमिन किनेको ऋण तिरी नसकी बैङ्कबाट कर्जा लिएर घर बनाउन सुरु गरिएको थियो। साथीभाइ, नातागोताबाट सहयोग पाएकाले नै आँट गरेँ। हाम्रो घर बन्यो। माध्यमिक तहको शिक्षकको तलबले घर बनाएको ऋणको किस्ता, छोराको पढाइखर्च, घरायसी खर्च पुग्ने कुरै थिएन। तिनताक म तीनतिर काम गर्थेँ। बिहान कोसी कलेजमा, दिउसो एसओएस हर्मन माइनर स्कुलमा र बेलुका सुकुना कलेजमा। बिहान पाँच बजे उठेको ज्यानले बेलुकी नौ बजेमात्र बिसाउन पाउँथ्यो। कक्षा तीनदेखि स्नातकोत्तरसम्म पढाउने विरलै शिक्षक मध्ये म पक्कै पर्ने थिएँ होला।

आफू पनि कमाएर भरथेग गर्ने भनेर मेरी जीवनसँगिनीले सानोतिनो व्यवसाय सुरु गर्ने गर्ने निधो गरिन्। राजस्व चोकमा एउटा कोठा लिएर, केही स्टेसनरीका सामग्री र एउटा कम्प्युटर राख्यौँ। केही कापीहरू, डटपेनहरू थप्यौँ। एउटा प्रिन्टर राख्यौँ। सुरुका दिनमा अत्यन्तै निराशाजनक स्थिति थियो। कुनै दिनका एकै रुपैयाँको पनि आम्दानी हुँदैनथ्यो। चार बजे बेलुकी स्कुलबाट फर्किँदा उनको असाध्यै अँध्यारो अनुहार देख्थेँ। हामी दुई निराशाका केही पोकाहरू आफूसँगै बोकेर घरभित्र छिर्थौँ। तर घरभित्र छिरेपछि एउटा अचम्मको सन्तुष्टि मिल्थ्यो, किनकि त्यो आफ्नो घर थियो, आफ्नो।

छेउमा आन्तरिक राजस्व कार्यालय भएकाले फोटोकपी केही चल्थ्यो होला भन्ने लागेर एउटा सानो थ्रिइनवान मेसिन किन्यौँ, त्यो पनि साथीभाइहरूबाट सापटी लिएरै। फोटोकपी भएपछि केही आम्दानी हुन थाल्यो। अलिकति उत्साह पनि थपियो। तर बिजुली गैरहने समस्याले साह्रै सताउने। दिनको अठाह्र घण्टासम्म लोड सेडिङको बेला थियो त्यो। व्यवसाय बन्द गर्नुभन्दा बरू लगानी नै थपौँ भन्ने लागेर इन्भर्टर राख्यौँ। इन्भर्टर त राम्रै राख्यौँ तर ब्याटरीमा धेरै ठगिएछौँ। आठ महिना पनि नभई ब्याटरी बिग्रियो। नयाँ ब्याटरी किन्ने उपाय थिएन। लाइन नभएपछि फोटोकपी पनि नचल्ने, कम्प्युटर पनि नचल्ने। दिनभरिजस्तो लाइन गैरहने। किन लगानी गरिएछ नि भनेर चिन्तित भएका बेला, शुकदेव भाइको एउटा भिन्न रूप देखा पऱ्यो। यिनले किस्ताबन्दीमा ल्यापटप किनेका थिए- लेनोभोको ल्यापटप। थपक्कै हाम्रा हातमा दिएर भने "दाजु यो चलाउनुहोस्।" म अन्कनाएँ, मसँग शुकदेवलाई दिने, वा भनौँ ल्यापटप किन्ने पैसा फिटिक्कै थिएन। उनले भने, "जति सक्नुहुन्छ, जहिले सक्नुहुन्छ दिनू। महिनैपिच्छे केही दिए पनि हुन्छ। म यतिउति पनि भन्दिनँ। नसके पछि दिए पनि हुन्छ। पछि पनि उपायै लागेन भने नदिए पनि हुन्छ। भाउजूलाई दोकानमा बसेर काम गर्न हुन्छ। ब्याटरीले करिब छ घण्टा थाम्छ।" मसित जबाफ दिने एउटै शब्द थिएन। मुखले कुनै शब्द बोल्न सकेन। मनभित्र स्नेह, प्रेम र आफ्नोपनको ज्वालामुखी फुट्यो। आँखाबाट त्यो लाभा निस्किँदा भित्रैदेखि के भयो के भयो! आँखाबाट खहरे तल ओर्लियो। मनले भन्न त धेरै कुरा भन्न चाहेको थियो तर आँट आएन। यति धेरै माया गर्ने मान्छे पनि हुन्छन्। म कहाँ न कहाँको दाजु। चिनेकै धेरै वर्ष भएको त छैन। यति धेरै प्रेमको बदला म के दिऊँ उनलाई। दिनु नै के सक्छु र ? भन्छन् मायाको बदला माया नै दिन सकिन्छ तर म त्यति धेरै माया दिन सकूँला ? मेरो क्षमता होला ? कुन अर्थमा सकूँला? मैले सोच्न सकिनँ। उनलाई अँगालामा बेरेँ र मनमनै कोटि कोटि नमन् गरेँ। यी भाइ ईश्वरको दूत भएर मलाई सघाउन मसामु आएका थिए।

यी मेरा पूर्व जन्मका के थिए भन्न सक्तिनँ। यिनको स्नेहले म अत्यन्तै द्रवित भएको थिएँ। मेरा जम्मै सुखदुःख यिनले देखेका थिए, सुनेका थिए। उनको सुखदुःख पनि केही हदसम्म मैले सुनेको थिएँ। यिनीसँग डेरामा भेट्न नगएको शनिबार प्रायः हुँदैनथ्यो।  गएपछि मिठो मसिनो जे भए पनि खुवाएरै पठाउँथे। छोरी सुमिरालाई काखमा लिएर बस्नु सुखद हुन्थ्यो। हामी सपरिवार जान्थ्यौँ, यिनका डेरामा।  नजाँदा केही छुटेजस्तो, केही नभएजस्तो हुन्थ्यो। प्रेमको असर कति प्रभावी, कति असरदार ! साना खुसीका मौकाहरू पनि बाँड्न मन लाग्ने।

यिनले ल्यापटप दिएपछि काम धेरै सहज भयो। उनले दिनभरि पसलमा बसेर काम गर्न थालिन्। केही कमाइ पनि हुँदै गयो। तर ऋणको भारी भने कम भएको थिएन। शुकुलाई महिनाको दुइतीन हजार गर्दै ल्यापटपको पैसा दिन पनि थालेँ।  लाग्यो अब पक्कै राम्रा दिन आउँछन् होला। शुकुजस्ता भाइ भएपछि मलाई केही डर रहेन।

अलिक दिन पछिको कुरा हो। हाम्रो पारिवारिक गफगाफ भै रहन्थ्यो। आआफ्ना समस्या हामी एकअर्कालाई सुनाउँथ्यौँ। त्यस्तै क्रममा मैले छोराछोरीलाई पढाउन गाह्रो हुने हो कि भन्ने कुरा सुनाएँ। किनकि घर बनाएको ऋण सहित सरसापटी तिरीसक्न निकै थियो। शुकुले तुरुन्तै भने, "दाजु, तपाईँका छोराछोरी मेरा पनि छोराछोरी हुन्। नडराउनुहोस् म पढाउँछु छोराछोरी। पछि तपाईँले ऋण तिरीसकेपछि मेरा छोरीहरूको पढ्ने बेला हुन्छ, त्यसबेला तपाईँले पढाउनु होला।" मेरो त फेरि गला बस्यो, शब्द निस्केनन्। उही हो आँखाबाट पानी ओरालो झर्न थाल्यो। शुकुले मेरो हात लिएर धेरैबेर सुम्सुम्याए। मैले अनन्त प्रेमको स्पर्श पाएँ। म धन्य भएँ।

अनि एक दिन शुकु फुर्र अमेरिका उडे। उनलाई रोक्ने मेरो सामर्थ्य थिएन। मलाई थाहा छ, अमेरिका अवसरहरूको मुलुक हो। त्यहाँ शुकुले पर्याप्त अवसरहरू पाउनेछन्। म यहाँ नेपालमा बसेर शुकुको सफलताको कामना गरिरहेको छु। यिनको स्पर्शको नियास्रो लागिरहेको छ मलाई। परमेश्वरले मलाई पक्कै मौला देलान्। एक पटक फेरि शुकुलाई अँगालामा बाँध्न मन छ.....


Wednesday, September 2, 2020

क्यारामको गोटी

 सम्झनाअनुसार श्री भवानी प्रा.वि. माघेमा म तीन कक्षा पढ्दा कै कुरा हो। किनकि करफोक गएपछि त्यसो गरेको सम्झिन्नँ। टिफिनमा सरहरूले हामी भुराभुरीलाई क्याराम खेल्न दिनुहुन्थ्यो। क्यारामका दुईवटा ठूल्ठूला बोर्ड थिए। क्याराम खेल्न खुब रहर लाग्ने। तर खेल्ने विद्यार्थी धेरै भएकाले पालो भने निकै पछि मात्र पाइन्थ्यो।

 तिनताका क्यारामका गोटी र स्ट्राइकर काठले बनेका हुन्थे। प्लास्टिकका गोटी र स्टिकर त पछि दार्जीलिङ गएपछि मात्र देख्न पाएको हुँ। तिनै काठका गोटी स्ट्राइकरले हिर्काउन पनि कुशल हुनुपर्थ्यो। एक दिनको कुरा हो, साथीहरू क्याराम खेलिरहेका थिए। तर त्यसमा एउटा सेतो गोटी थिएन।  सेतो एउटा नभएपछि एउटा कालो पनि झिक्नु पर्ने भयो। सेतो गोटी खोई भन्दा खेल्दै गरेको एउटा साथीले भन्यो – "खै कुन्चैले हुइँक्याएछ। हरायो।" साथीहरूले मारीसकेको गोटी यसो छामी हेरेँ। गोलाई र मोटाईको अन्दाज भैहाल्यो। अनि चुपचाप त्यहाँबाट हिँडे एउटा अठोट लिएर। टिफिन पछिका कक्षामा पनि त्यति मन लागेन। मनभित्र तिनै क्यारामका गोटी र मैले नयाँ बनाएर ल्याएपछि, अरू तीन छक्क परेको कल्पनाले नै मन आनन्दित भैरह्यो। कतिखेर घर गएर क्यारामको गोटी बनाउँ भन्ने लागिसकेको थियो।

 छुट्टी भएपछि दगुर्दै घरतिर लाग्यौँ। क्यारामको गोटीको उत्साहले घर मिलिक्कै पुगिएछ। घरको खड्प्वालमा अर्झापेर राखेको बाम्फोक थियो। अर्झापेपछि कसैले चलाएको पनि थिएन। सुरैसुरमा बाम्फोक लिएर लुसुक्क दाउरा कटेरा तिर गएँ। कटेरामा पैयुँका हाँगाहरू टन्नै थिए। हेर्दै चिल्लो, बोक्रो निकाले पछि त एकदम गोलो देखिने। क्यारामको गोटीको गोलाइ अन्दाज मनले नै गरिहालेको थिएँ। र मनको नापले कहिल्यै धोका नदिने आत्मविश्वास पनि थियो। बाम्फोकले एक दनक हिर्काएपछि एउटा के दुईचारवटा गोटी बनाउन सक्छु लागेकै थियो। एउटा सुरिलो हाँगो छानेँ गोटीको गोलाई अन्दाज गरेर। दाउरा चिर्ने अचानो कटेरामै थियो।

 आँट भने गजबकै पलाएको थियो। देब्रे हालते पैयुँको हाँको अँठ्याएर अचानामा राखेँ। दाहिने हातको बाम्फोक उचालेर बजारेँ।

पहिलो चोटमै क्यारामको गोटी त बन्यो कि बनेन, तर देब्रे हातको कान्छी औँला दुई फ्याक भयो। म रुनु न हाँस्नु। औँलो समाउँदै कालो मुख लगाएर भान्सातिर गएँ। रगत बगेको देखेर आमाले उपद्रो पक्रिहाल्नुभयो। औषधिमुलो र पुराना सारीको ब्यान्डेज बाँधे पछि रगत थामियो।

 अनि त घरबाट हातहतियार यसरी गुफा पसे कि मानौँ ती अस्तित्व मै छैनन्। मेरो गोटी बनाउने प्रयास त सकियो नै, धेरै खेल्न पनि प्रतिबन्ध लाग्ने सम्भावना बढ्यो।

 तीन कक्षा पढ्ने ठिटाले क्यारामको गोटी त्यो पनि एकै झ्वाँकमा बनाउने सपना देखेर पनि हुन्छ कहीँ ?

Monday, August 24, 2020

पैसाको रूख

 बालापनको अबोध विश्वास सम्झिँदा अहिले पनि विस्मृत हुन्छु म। सानो छँदा पैसा धेरै पाइँदैनथ्यो। त्यसमाथि गाउँमा बस्ने मान्छे। शहरको जस्तो दिनैपिच्छे पैसा चलाउनु पर्ने आवश्यकता पनि पर्दैनथ्यो। तर साप्ताहिक हाट लाग्ने ठाउँहरू आइतबारे र फिक्कल आदि जाँदा अलिकति पैसा भए, मिठाइ किनेर खान पाइएला कि भन्ने आस हुन्थ्यो। तिनताका हामीलाई सबैभन्दा मन पर्ने मिठाइमा फिक्कलको भरत मोदीले बनाएको बम्बईसन हुन्थ्यो। बम्बइसन किन्ने त पैसा कहिल्यै नहुने र बा-आमाले ल्याएको खण्डमा खाने मात्र गरिन्थ्यो। एक पल्ट खाएपछि छ महिनासम्म, वा भनौ अर्को पटक खान नभेटुल्जेलसम्म त्यसको स्वाद जिब्रामा झुन्डिइरहने। त्यसबाहेक बदाम र पशुपति चकलेट प्रिय थिए। बदाम किन्ने कुरा थिएन किनकि थोरै पैसाले बदाम आउँदैनथ्यो तर थोरै पैसाले दुईचारवटा पशुपति चकलेट र अत्तर मिठाइ किन्न सकिन्थ्यो।

 यिनै साना रहरले अलिक बढी पैसा गोजीमा भए कति राम्रो हुन्थ्यो भन्ने लागिरहने। कुनै दिन एउटा एल्युमिनियमको पाँच पैसो र तामाको दस पैसे ढ्याक लिएर खेलाइरहेको देखेपछि दाजुले भन्नुभयो - "हेर केटा,  पैसा रोप्यो भने उम्रिन्छ र फल्छ पनि। पैसा फलेपछि बाआमासँग माग्नु पनि पर्दैन। मिठाइ खान टन्न पैसा पुग्छ।"

 दाजुले भनेको कुरा नपत्याउने कुरै थिएन। मनमा भरत मोदीको बम्बईसन देखि लिएर पशुपति चकलेटको सिङ्गै बट्टा आएर बसे। मुख रसायो। गोजीभरि छन्‌छनी पैसा बजाउँदै आइतबारे जाने, वा फिक्कल जाने कल्पना आउन थाले। पैसा फलेपछि आनन्दै आनन्द हुने मनले देख्यो। एउटा डर पनि बस्यो, कतै रूख लप्सीको जस्तै अग्लो भयो भने कसरी पैसा टिप्ने? तर फलेपछि जे होला भनेर साँझ परेपछि गल्लीको दुधिलाको बोट छेउमा गएँ। कान्लाको एउटा कुनामा पारीलो ठाउँ हेरी कुटेले खनेँ र तिनै दुइटा सिक्का रोपेँ। माटाले राम्ररी छोपेँ। माटो मिलाएर अरू ठाउँको जस्तै पारेँ।  एउटा सिन्को गाडेर चिनो पनि लगाएँ।

 दिनैपिच्छे पानी हाल्दै गएँ। तीन दिन बित्यो। पैसो उम्रेन। ढिलै उम्रिने रहेछ भनी धैर्य गरेर पानी हाल्दै गएँ। सात दिन नाघेपछि चाहिँ असाध्यै छटपटी भयो। किन उम्रेन भनी साह्रै चिन्ता लाग्यो। सायद कुह्यो कि ? कि टुसा पलाएर भाँचियो कि ? भन्ने लाग्यो र माटो कोट्याएर हेरेँ। पैसाको बिरुवा त परै जाओस् टुसै पलाएको थिएन। पैसाको रूख हुने सम्भावना थिएन। पैसाको फल्ने र फलेको पैसा लिएर भरत मोदीकहाँ गई बम्बईसन किनेर खाने कुरा त फुस्स कता गयो कता। मेरो आशा र रहरको रूख चाहिँ निकै ठूलो भैसकेको थियो। त्यसमा फूल फुल्न र फल लाग्न बाँकी थियो। रोपेका पैसामा ध्यान दिएर हेरेँ, माटो र पानीको चिसोले तामाको पैसामा उगाल आएको थियो। एल्मुनियमको ढ्याक पनि केही खिइएको थियो।

 पैसो खिएभन्दा पनि नराम्ररी मन खिइयो। मेरो आशार र रहरको रूख गर्ल्याम्मै ढल्यो। त्यसैले थिचिएर म निसास्सिएँ, आँखा रसाए र तल बग्न थाले। दाजुले मलाई किन ढाँटेको होला ! पैसो त उम्रिँदो रहेनछ ! त्यसो नभन्दिएको भए म त्यति दुःखी त हुन्नथेँ कि ! मेरो मनमा यति धेरै निराशा आउन्नथ्यो कि ? खल्लो मन र अँध्यारो अनुहार लिएर र गालामा आँसुका धारा पुछ्दै घरतिर लागेँ।

Monday, August 10, 2020

बा र दार्जीलिङ - १

 

बा र नयाँ आमासँग पछि लागेर म पनि एक दिन दार्जीलिङ जान घरबाट हिँडे। दार्जीलिङको यात्रा लामै थियो- झापा झरेर, सिलगुडी हुँदै जानु पर्ने। यसरी म आमाबाट टाढिँदै थिएँ। त्यो दिन बेलुका आयाबारी दिदीका घरमा गएर बस्यौँ। खानपिन गरेर लामखुट्टेबाट जोगिन झुलभित्र सुतेँ। झुलबाहिर लामखुट्टेको भुनभुन थियो र झुलभित्र म छटपटिइरहेको थिएँ। आमाको सम्झना असाध्यै आइरहेको थियो। आमासँग धेरै दिन भेट नहुने कुरा सम्झिँदा झन् पिरोलिएँ। आँखाबाट आँसु झरेको झऱ्यै थियो। घरमा आमाको खाटछेउको खाटमा सुत्थेँ। सुतेपछि आमाका गोडा छाम्ने मेरो बानी थियो। आमाका गोडा पाउने आसमा मेरो हात टाउका मास्तिर गएछ। काठको भित्तामा ड्याम्म ठोकियो। मन त दुखिरहेकै थियो हात पनि दुख्न थाल्यो। लाग्यो जिन्दगीमा खुसी हुने दिन सकिए। निदाउन असाध्ये गाह्रो भो।

दुब्लो र पिलन्धरे काया बोकेर म बाले पढाउने गरेको दार्जीलिङ सरकारी विद्यालयमा कक्षा सातमा भर्ना भएँ। करफोक स्कुलका सँगीसाथी सबै छुटे। नयाँ बन्न थाले। झन्डै सय विद्यार्थीको भीडबाट दस बाह्रजनाको टोलीमा मिसिएँ। 'सरको छोरा' भएको नाताले साथीहरूको हेपाईबाट अतिरिक्त सुरक्षा प्रदान गऱ्यो। यसलाई छोयो भने अधिकारी सरले गोद्छ भन्ने डरले साथीभाइले प्रेम गरे(वा गरेजस्तो गरे)।

सात कक्षाबाट प्रथम भएर आठ कक्षामा उक्लिएँ। रिजल्ट भएको दिन बाले लालमोहन ल्याएर ख्वाउनुभयो। नेपालबाट आएर प्रथम भएकामा स्याबासी पनि दिनुभयो। म फुरुक्क परेँ। आमालाई सम्झेँ। आमा पनि त कति खुसी हुनुहुन्छ यो खबर सुन्दा। पखेटा भए उडेर माघे पुग्ने थिएँ। खुसी पनि बाँड्न पर्ने रैछ। बाँड्न नपाउँदा खुसी आधा भएको अनुभव भयो।

आठ कक्षामा बिर्सिनसक्नुको एउटा घटना छ। दुई जना सरहरूले नेपाली पढाउनुहुन्थ्यो। मासिक परीक्षामा बाले पढाउने नेपालीमा मेरो पच्चीस पूर्णाङ्कमा तीन आयो। बाले सातो खानुभो। 'कखरा..' पनि लेख्न आउँदैन ?' मैले त्यस्तो केही बिगारेको त थिइनँ जस्तो लाग्छ। बाले सातो खाएपछि पक्कै पनि ठूलै गल्ती गरेँछु भन्ने लाग्यो। मनमनै अत्तालिएँ। तर उत्तरपुस्तिका हेर्दा चाल पाएँ के गरेको रहेँछु – छ लेख्दा डिको सँग छको घुमेको ठाउँ जोड्ने सानो ठाडो रेखा जोडेर लेख्न सिकेको थियो। त्यसरी छ लेख्दा ठाडो रेखा अलिक पर लेखेँछु अर्थात् छ हुनुपर्ने छा जस्तो भएछ। उत्तरहरूभरि छ को साटो छा लेख्यो भनेर बाले जम्मा १९ अङ्क काटिदिनुभएछ। आउन त मेरो २२ आएको रहेछ। अनि त्यसपछि मैले अक्षरहरूलाई  साह्रै मुसारेर र मेहनत गरेर लेख्न थालेँ। छको समस्याले दुःख दिएन।

दार्जीलिङको रकउडमा हाम्रो एकपाखे घर थियो। पण्डितेनी फुपूले किस्ताबन्दीमा पैसा दिने गरी(त्यो पनि भएमा) दिएको चार पोल भिरालो जमिनमा बनेको। लहरै तीन कोठा। सल्लाका काठले बेरा बारेको। भित्तामा चुना लगाएकै भए तापनि, सल्लाको सुगन्धले मीठो आनन्द दिने। सबभन्दा सानो कोठा भान्साकोठा। बा र नयाँ आमालाई पर्याप्त थियो होला, सो घर। तर पढ्ने विद्यार्थी म थपिएपछि घर साँघुरो भयो। घर बढाउने सल्लाह भएछ क्यारे। घर मास्तिरको भित्तो ताछ्‌न थालियो, मुन्तिर खारेर सिमेन्टका पोल ढलाई गर्ने तर्खर भयो। मैले थाहा पाएँ, सिमेन्ट किन्नका लागि म्युन्सिपाल्टीमा छ महिना पहिले निवेदन दिनुपर्ने रहेछ। त्यो पनि जति माग गऱ्यो त्यसको आधा मात्र पाइने। म्युन्सिपाल्टीका अफिस धाउँदा धाउँदा बाका कतिओटा जुत्ता खिइए थाहा भएन। त्यसो जुत्ता खियाउने अरू धेरै काम पनि थिए। बा बजारको कोइला लाइनबाट काठ कोइला र पत्थर कोइला आफैँ बोकेर ल्याउनुहुन्थ्यो। म देख्थेँ धेरै मानिसहरूले घरायसी सामान, कोइला, चामल आदि बोकाउन कुल्ली लगाउँथे। बाँसँग सायद त्यसो गर्ने पैसा थिएन। महिना मर्ने बेलामा हिसाब हुन्थ्यो बाका कोठामा। अगाडि हात्तीको नक्सा भएको इलिफेन्ट कापीमा गरिने हिसाबको एउटा शीर्षक हुन्थ्यो – 'ऋणको किस्ता। रू ७५०/- ।' पछि कुनै दिन केको ऋण भनी सोध्ने आँट गरेँछु। बुझेँ बजारका कैयाँलाई बुझाउनु पर्ने पुरानो ऋणको किस्ता रहेछ। इलामको आइतबारे बजारमा पसल गर्दाताका लुगा उधारोमा लगेको ऋण। पसल छाडेको कैयन् वर्षपछि पनि महिनै पिच्छे किस्तामा तिर्नुपर्ने ऋण। हाम्रो परिवारको खुसी हर्ने त्यो निर्दयी ऋण। एक दिन त कुनै कैयाँ घरमास्तिरको ढिस्कामा आएर कुर्लियो, "ए अधिकारी, मेरो बाँकी नतिरेर तँ यहाँ बिल्डिङ ठड्याउने ? के को औकात्‌ले यत्रो घर ठड्याउँछस्। अर्काको सम्पत्ति डकारेर घर बनाउन तँलाई लाज सरम लागेन ? अहिल्यै पुलिस बोलाएर तेरो घर भत्काउन लगाउँछु। पैसा पचाएर बिल्डिङ ठड्याउने.....?!"

बाले ट्वाँ परेर हेर्नुबाहेक र "तिर्छु तिम्रो पैसा, नतिरी मर्दिनँ" भन्नु बाहेक केही गर्न सक्नु भएन। ऋणभन्दा पनि धेर रमिते गाउँलेका सामु भएको बेइज्जतीले बा असाध्यै गलेको देखिनुभयो। बाको अनुहार औँसीको रातभन्दा पनि अँध्यारो भएको थियो। मेरो मनले भने पुलिस आएर घर भत्काएको, बालाई लछारपछार गर्दै लगेको दुःस्वप्‍न देख्न थालिसकेको थियो। त्यो रात मेरो बालापनको समयको अत्यन्त लामो रात बन्यो। बाको पीडाले भित्रभित्रै भत्किएको थिएँ, पिरोलिएको थिएँ, रोएको थिएँ।

भोलिपल्ट पुलिस आएन। पर्सी पनि आएन। निकोर्सी पनि आएन। पुलिस आउँदै आएन। धन्न रकउडको जीवन सामान्य बन्दै गयो। जीवनयापनका दैनिक काम हुँदै गए। मैले बालाई हप्ताको एक दिन रासिन कार्डबाट पाएको रासिन बोक्न सघाइरहेँ। चामल, चिनी र मट्टितेल हामी रासिन कार्डबाट ल्याउँथ्यौँ। कोइला बोक्न पनि सघाउन खोजेँ, तर बाले दिनुभएन। महिनाको दुई पटक घिर्लिङमुनिको कोइला पसलबाट बाले कोइला ओसारिरहनुभयो। बाको दुःख मिसिएको कोइलाको रापले पकाएको खाना मैले खाएँ, सबैले खायौँ।

नयाँ घर, पानी थिएन, बिजुली थिएन। माथ्ला घरका घरबेटी मोहम्मद चाचाले दिएको बिजुली काटिएको थियो। साँझ पख टेबल ल्याम्पको सीसा पुछेर, मट्टितेल भर्ने र तीनओटा टेबलल्याम्प बाल्ने जिम्मा मेरो थियो। म आफ्नो जिम्मेवारी खुसीसाथ निभाउँथे। ल्याम्पको सलेदो बलेर आएको उज्यालो बिजुलीको बल्बबाट निस्केको सम्झिन्थे। घर विस्तार भएपछि पुरानो पट्टिको सानो भान्सा मेरो सुत्ने र अध्ययन कक्ष भएको थियो। भित्तामा बिम ठोकेर बनाइएको खाट र त्यस्तै गरी अर्को पट्टि अग्लो बनाइ बनाइएको टेबल। टेबल मास्तिर भित्तामा फलेक ठोकी बनाएका आलमारी। मेरा किताब राख्ने आलमारी। तिनै आलमारीमा राखेका किताब पढेर म यत्तिको लेख्न सक्ने भएको छु। बेलुका पढ्नका लागि टेबलमा मेरो उज्यालो साथी टेबल ल्याम्प हुन्थ्यो। बजारतिर बेलुका डुल्न जाँदा लामा लामा ट्युबलाइट बलेका देखिन्थे। आँखै टिप्ने गरि सेतो उज्यालो बल्ने ट्युबलाइट बाल्न न हाम्रामा बिजुली थियो न पैसा। तर मैले ट्युबलाइटको मोह त्याग्न सकिनँ। बाले चामल राख्न किनेको बिस्कुटको टिनभित्र सेतो अर्धपारदर्शी ट्रेसिङ पेपर भेट्टाएको थिएँ। त्यही ट्रेसिङ पेपर बटारेर टेबल ल्याम्पको व्यासभन्दा ठूलो व्यास भएको लामो सिलिन्डर बनाएँ। बेलुकी टेबल ल्याम्प बालेर त्यही सिलिन्डरले छोपेँ। आहा...!! मेरो सानो कोठाभरि सेतो उज्यालो छरियो। बजारको ट्युबलाइट जत्तिकै नभए पनि, मेरो तृष्णा मेटाउन यो उज्यालो सक्षम थियो। आफ्नो आविष्कारमा आफू मख्ख त थिएँ नै, बाले पनि हेरेर, ए राम्रो भएछ भनेपछि खुसीले फुलेर कुप्पा भएँ। कोठा पनि खुसी भयो, म पनि खुसी भएँ।

पानीको असाध्यै दुःख थियो। पानी थाप्‍न हामी दुई घर मास्तिर रहेको निरौला सरकहाँ जान्थ्यौँ। निरौला सरको एकतले घरको छतमा जस्ता पाताको पानी ट्याङ्की थियो जसमा दार्जिलिङ म्युन्सिपालिटीको पानी खस्थ्यो। ट्याङ्की भरिएरपछि ओभरफ्लो भएको पानी छिमेकीले लान्थे। म दस लिटरका दुइटा बाल्टी बोकेर पानी थाप्‍न जान्थेँ। साथी हुन्थ्यो मोहम्मद चाचाको छोरा समीर। पानी ओसार्ने हाम्रो दैनिकी थियो। एक दिन निरौला सरको साह्रै उग्ररूप देखियो। खै के भएको थियो कुन्नि ! "पर्दैन याँ पानी थाप्‍नु ! हट तिमेरू !" भन्दै जङ्गिए। आधा भरिएको पानी पनि पोखिदिए। रुनु न हाँस्नु हुँदै रित्तो बाल्टी बोकेर घर आएँ। पानीको अभाव त छँदै थियो, अब त्यसमाथि पानीको स्रोतको अर्को चिन्ता थपियो। मोहम्मद चाचाकहाँ पनि पानी थिएन। हाम्रो त घर पूरा भएकै थिएन, पानी जोड्ने कुरै आउँदैनथ्यो। बिजुली पानी जोड्न धुरी भएको घर चाहिन्थ्यो। घर पूरा भए पनि निवेदन दिएपछि अनन्तकाल पर्खिनुपर्ने। कहिले सरकारी पानी बिजुलीआउँथ्यो र ?

धन्न कसैले काकझोडाको खोल्सानजिक पानीको मुहान खोजी पत्ता लगाएको रहेछ। गुहु बग्ने खोल्सा नजिक भए पनि सङ्लो पानीको मुहान थियो, अलिकति भित्तोमा डोऱ्याएर सानो धारो पनि बनाएको रहेछ। यस धाराले थुप्रै घरको पानीको गर्जो टाऱ्यो। बा एल्मुनियमको गाग्रामा यही धाराबाट पानी ओसार्नुहुन्थ्यो, काँधमा हालेर। सक्ने भएपछि बाको काँधबाट त्यो गाग्री मैले आफ्नो काँधमा सारेँ। कति पटक गाग्री पछारेँ पनि, कुच्याएँ पनि। तर बोक्न छोडिनँ। रकउडमा बसुन्जेल मैले त्यस धाराबाट पानी ओसारेँ।  बालाई अलिकति पनि सघाएँ। ............