माहौल विश्वकपमय भएको छ। चोक, बजार, चियापसल,
गाडी, पार्क, बैङ्कमा लाइन लागेका मान्छे विश्वकपकै कुरा गरिरहेका हुन्छन्। कतिपय
त आफ्नो प्रिय टिमको जर्सी नै लगाएर बजार घुम्न निस्केका देखिन्छन्। राति हरेक
घरबाट होहल्ला सुनिन्छ। अर्जेन्टिनालाई जिताउन पूजाआजा गरेर हाम्रा देवताहरूलाई नै
भ्रममा पार्न पनि भ्याएका छन्। अझ गोल भयो भने त आवाजले चन्द्रमा छुन खोज्छ। नेपाल
विश्वकपमय भएको छ।
मैले फुटबल खेल्न थाल्दा विश्व कप के हो सुनेको
पनि थिएन। विश्वमा त्यस्ता खेल पनि खेलिन्छन्, प्रत्यक्ष देख्न पाइन्छ, आफ्नो
टिमले जित्दा उफ्रेर छानै छेड्न पाइन्छ भन्ने कुराहरू मनको अन्तरकुन्तरमा पनि
थिएन। किनकि रेडियोदेखि पर्तिर कल्पना आएको पनि थिएन। देख्तादेख्तै टिभी आयो,
ब्ल्याक-एन्ड-ह्वाइट, अनि कलर। क्याथोड रे ट्युबवाला कलर टिभीको उमेर पनि धेरै
रहेन। ५१ सालको विश्वकप त्यस्तै टिभीमा हेरियो काठमाडौँमा। हुँदाहुँदा अब एलसिडि
पनि पछाडि परेर एलइडिका पर्दामा विश्वकप हेर्न पाइएको छ। अझ मोबाइलमै, ल्यापटपमै
हेर्न पाइएको छ। ए विषयान्तर भएझैँ भो।
थोत्रे मोजामा झत्ता खाँदेर खेलिन्थ्यो पहिले।
तर झत्ता भेटिए पनि मोजा दुर्लभ नै हुन्थे। मोजाको गोली लात्तिले हान्नु नै फुटबल
थियो। गोलपोस्ट बनायो, दुईचार भाइ भेला भयो अनि हान्यो। फुटबल कसरी खेलिन्छ, केही
थाहापत्तो थिएन। एकमात्र उद्देश्य साथीबाट खोसेर गोल छिराउने हुन्थ्यो।
अलिक ठूलो भएपछि गाउँघरका साथीभाइ मिलेर पैसा
उठाई फुटबल किन्ने भैयो। किपर, ब्याक, फर्वर्ड आदि के हुन् भन्ने पनि जानिँदै
गइयो। खेल मैदान थियो विशाल(त्यस बेला त्यस्तै लाग्थ्यो, पछि एक पटक चन्द्र
ग्राउन्ड गएपछि र करफोकको मैदान डोजरले बनाएपछि मात्र ठूला ग्राउन्ड हुँदारहेछन्
भन्ने थाहा पाएको) श्री भवानी प्रा.वि. माघेको खेल मैदान। दुई पट्टि अग्लाअग्ला
बाँसका गोलपोस्ट। जति पटक उफ्रिँदा पनि नभेटिने। चारैतिर डाँडाहरू र डाँडाका
भित्ता ग्राउन्डका सीमाना।
पहिलो पटकको फुटबल फिक्कल गएर किनेको थियो
कसैले, अहिले नाम सम्झना रहेन। तर त्यो सानो एक नम्बरको छालाको फुटबल थियो। त्यस
बेला पाइने फुटबलमा फुटबल अलग्गै र भित्रको ब्लडर अलग्गै आउँथ्यो। गोलो फुटबलको एक
ठाउँमा चिरेर ब्लडर छिराउने ठाउँ बनाइएको हुन्थ्यो चिराका दुई तिर लेस बाध्ने
जुत्ताझैँ प्वाल हुन्थे जहाँ लेस छिराएर फुटबल कस्नु पर्थ्यो। फुटबलको ब्लडरमा
एउटा लामो टुटी हुन्थ्यो जसबाट हावा हालिन्थ्यो। ब्लडरलाई फुटबल भित्र घुसारी हावा
हालीसकेर टुटी बीचमा दोबारी बाँध्नु पर्ने र लेसले कस्नु पर्ने। टुटी राम्ररी
दोबारेन भने हावा निस्किने। यो अलिक गाह्रै काम भएकाले हामी ठूलाहरूको सहयोग
लिन्थ्यौँ। हामी फुच्चेहरूको टोलीमा केही ठूला मानिस पनि थिए, माथ्लाघर दामोदर
निरौला(करफोकका हेडसर, नाताले भतिज)कहाँ बस्ने सूब्बा जेठा र माइला । तर मोजे
फुटबल खेलेका केटालाई साँच्चैको फुटबल पाउँदा त के भो के भो। कति रमाइलो गरी कति
म्याच खेलिए, कति गोल छिराइए, वा बललाई खुट्टैले छुन पाएन की ! तर जे होस्, कहिलेकाहीँ
ठूला केटाहरूको हैकम खेपेरै भए पनि टिममा घुस्न चाहिँ पाइन्थ्यो। फुटबल छुनै नपाई
खेलमैदानमा यताउति दौडिएको दौडियै गर्दा पनि आनन्द नै आउँथ्यो।
हामी कर्नर पनि हान्थ्यौँ, पेनाल्टी पनि
हान्थ्यौँ। फुटबल मैदानमा रेखाङ्कन चाहिँ भाटाले कोरेर गरिन्थ्यो। चारैतिर डाँडाका
भित्ता भएकाले गोली बाहिर जाने समस्या हुन्नथ्यो र ग्राउन्डको सीमाना पनि कोर्नु
नपर्ने। फुटबलको बुट त देखेको धेरै पछि मात्र। जति खेलियो खाली खुट्टाले खेलियो।
केही समयपछि फुटलबलको नम्बरमा बढोत्तरी भई चार
नम्बरमा पुगियो। चार नम्बरको फुटबल किन्नेमा सूब्बा जेठा र माइला पनि थिए। एक पटक
यस्तै चार नम्बरको फुटबल खेलमा मस्त थियौँ। सेतो फुटबल थियो तर केही मैलिएको।
कसैले गोल हान्दा फुटबल बाँसको पोल काटेर मास्तिरको मकैबारीमा गयो। म सायद त्यही
टिममा ब्याक बसेको थिएँ, फुटबल लिन दौडिएँ। कान्लामाथि उक्लेर बल लिएर आएँ र खेल
फेरि सुरु भयो। तर एकैछिनमा सूब्बा जेठा कड्किए - "यो कल्ले बिगाऱ्यो हाँ
फुटबल ! अस्ति त किनेको कसरी थोत्रियो ?" यदि भनेर खेल हुँदाहुँदै फुटबल समाते
भुइँमा राखे र दाहिने हातको मुड्किले बजारे। यसपछि मात्र मैले त्यस फुटबललाई ध्यान
दिएर हेरेँ । फुटबल फुत्त उफ्रियो र भुइँमा झऱ्यो। ब्लडर खाद्ने दूलो च्यादिएर
ठूलो भएको रहेछ र आधा ब्लडर बाहिर निस्केको रहेछ। मैले फुटबल ल्याउँदा केही हेर्दै
नहेरी जुन देखेको थिएँ त्यही ल्याएको थिएँ। यो हामीले अघि खेलेको फुटबल छँदै थिएन।
मलाई सूब्बा दाइदेखि असाध्ये डर लाग्यो। किनकि
मकैबारीमा फुटबल लिन मै गएको थिएँ। गर्न त मैले केही गरेको थिइनँ र पनि कति हो कति
डर लाग्यो। फेरि मकै बारीमा गएर खोज्ने सुद्धि पनि आएन। ककसले केके भने, केके गरे
त्यो पनि चाल पाइनँ। घर चाहिँ पक्कै गइएछ।
यो हाम्रो फुटबल ग्याङ्गमा सूब्बा जेठा, सूब्बा
माइला, जितबहादुर राई, कुमार दर्जी, राम दर्जी, जीवन भट्टराई, हरिकृष्ण निरौला,
केदार शर्मा, भरत अधिकारी, रूपनारायण आचार्य, अनन्त भट्टराई, थीरप्रसाद ढकाल आदि
थियौँ।(कसैको नाम छुटेमा वा बढी भएमा, सम्बन्धित पाठकले कमेन्टमा गई सच्चाउन सक्ने
जानकारी यहाँ गराइन्छ।)
यो घटनापछि फेरि त्यही ग्राउन्डमा फुटबल खेलेको
थाहा छैन। करफोक विद्यामन्दिरमा कक्षा ४,५ र ६ पढ्दा पूर्व-व्यावसायिकले यति धेरै
तान्यो कि फुटबलतिर ध्यानै गएन।
कक्षा ७ मा दार्जीलिङ गएपछि भने फुटबल खेल्ने
सुशुप्त इच्छा कतै चलमलाएजस्तो गऱ्यो। अनि टिफिनमा लुसुक्क फुटबल खेल्न एउटा टिममा
छिर्न थालेँ। एक दिन सुट हान्दा दाहिने खुट्टाको बूढी औँलो बिरामी भयो। घर आएपछि
बालाई देखाउनु पऱ्यो नै। माया गर्नु हुन्छ कि भनेको बा त गर्जिनु पो भयो -
"खबरदार फुटबल खेल्लास्। हातगोडा भाँच्चिएलान्।" अनि मनको कुनामा बसेको
पेले बन्ने सपना उम्रिन नपाउँदै मऱ्यो।
अचेल आफूलाई खेलाडीमा भर्चुअल्ली रूपान्तरित
गरेर फुटबल खेल्छु। मज्जा आउँछ। यसो गर्दा विश्वकप नि खेल्न पाइन्छ। जित्न पनि पाइन्छ, हार्न पनि पाइन्छ।
***