Friday, November 6, 2020

मित्रवर ! तपाईँको ऋणबाट उऋण कसरी होऊँ ?

गोस्वामी तुलसीदासको एउटा साह्रै सुमधुर भक्तिपूर्ण भजन छ:

भरत भाई ! कपि से उरिन हम नाहीँ।
एठो खाय अछूत खवावत। हाथ धोवत टक माहि।।१।।
सौ योजन मर्याद सिंधू की लांग गयो पल माहि।
लंका जाय सिया सोधी लाये। गर्व नहीं मन माहि।।२।।
... ... ... ... ... ... ... ...

यसमा पण्डित जसराजले शास्त्रीय रागमा स्वर दिएका छन् भने अनुप जलोटाको गायन पनि उत्तिकै कर्णप्रिय छ।

यो प्रसङ्ग भगवान् रामले लङ्का विजय गरेर आइसकेपछि भरतसँग हनुमान(कपि)ले गरेको सहयोगबारे बयान गर्दै, 'म कसरी कपिको ऋण तिर्न सकौँला, म कहिल्यै उऋण हुन सक्ने छैन, यस्तो गुण लगाएका छन् कपिले'.. भन्नु भएको प्रसङ्ग हो यो।

रामायणको प्रसङ्गबाट बाहिर निस्केर हामीहरूले आफ्नै जीवन नियाल्दा हाम्रा जीवनका उकाली-ओराली, भीर-पाखा, दुःख-पीडामा हामीलाई स्नेह गर्ने, माया गर्ने र बिना सर्त सहयोग गर्ने प्रिय मानिसहरू पनि हाम्रो समाजमा हुन्छन्। आफूलाई गुण लगाउने व्यक्तिलाई म कुनै पनि तराजूले तौलिन चाहन्नँ। यदि कसैले जीवनमा एकै पटक पनि गुण लगाएको छ भने, मेरा लागि त्यस्तो व्यक्ति श्रद्धाको पात्र नै हो।  धेरै गुण लगाउने व्यक्तिहरूप्रति कृतज्ञ हुनु स्वाभाविक हो तर उहाँहरूले लगाएको गुणको ऋण तिर्न असम्भवप्रायः देखिन्छ। यही प्रसङ्गमा मेरो जीवनमा प्रगाढ मित्रताको कोसेली लिएर आउनुभएका डा. रवीन्द्र समीरका विषयमा केही लेख्ने आँट गरेको छु। 

--

कोभिड-१९ सँगको युद्ध

असोज  २८ गते बुधबार। माघे इलाममा बिहान बेलुका चिसो बढ्न थालेको थियो। दुई-तीन दिन यता बडो फूर्ति लगाउँदै मर्निङ वाकमा हिँड्ने भएँ। हाफ टिसर्ट र हाफपेन्ट लगाएर। टाउकामा जेबिएलको हेडफोनमा पण्डित जसराजले गाएको करिब ३० मिनट लामो "गोविन्द दामोदर माधवेति……." भजन सुन्दै। मर्निङ वाकमा हिँड्दा मेरो पहिलो प्राथमिकतामा यही भजन पर्छ, दोस्रोमा सुनील गाङ्गुलीको इलेक्ट्रिक गिटारका धुनहरू। घरबाट निस्किएर माल्दाजुको घर हुँदै बर डाँडा निस्किएर कामीडाँडा निस्किएँ। त्यहाँबाट मूलबाटो हुँदै तल झरेर घर पुग्दा करिब २० मिनटको वाक हुने। घर आएर एकछिन उफ्री-पाफ्री गर्दा तीस मिनट हुने र कसरतको कोटा पनि पुग्ने। अँ, बुधबारको दिन, कपाल नकाटेको निकै दिन भएकाले छोरी नेहासँग बिहानै कपाल काटी मागेँ।(लकडाउन भएदेखि सेलुनलाई असुरक्षित ठानी, कपाल काट्ने जिम्मा छोरीकै छ) कपाल काट्न आँगनका छेउमा स्यान्डो गन्जी लगाएर बसेँ।  बिहानीको चिसामा ५५ कटेको मान्छेको फूर्ति अलिक बढी भयो कि भन्ने मनमा चाहिँ लागि नै रह्यो। मानिसको जात न परेँ, अहङ्कार र अभिमान त थिए नै, चाहे म देखाऊँ या नदेखाऊँ। 

यही बुधबार बेलुकी ज्वरो आयो। थर्मामिटर घरमा थियो नै। नाप्दा १०२ डिग्री ज्वरो देखियो। बेलुकी नै एउटा सिटामोल खाएर सुतेँ। राति निकै अस्पट भयो र बिहान उठ्न सकिनँ। बिहीबार बिहान ज्वरो उस्तै थियो।  सामान्य ज्वरो होला जातिहोला भन्नेमा पुगियो। खाना खाएर फेरि सिटामोल खाएँ। दिउसो ज्वरो फेरि बढ्यो, धेरै होइन त्यही १०२.५ डिग्री। बुधबारदेखि नै खोकी पनि लागिरहेको थियो। तुरुन्त डा. समीरलाई फोन गरेँ। उहाँलाई मेरो फोक्सोको स्थितिबारे मलाईभन्दा बढी थाहा छ। मेरो फोक्सोले चिसो सहन नसक्ने कुरा उहाँलाई थाहा छ। उहाँले ज्वरो बढ्न नदिन सिटामोल खाइराख्न र एजिथ्रोमाइसिन ५०० एमजी दिनको एक पटक खान सल्लाह दिनुभयो। कोरोनाको सम्भावनालाई मध्यनजर गरी सिटामोल एउटाले नभए दुइटा, दुइटाले नभए तीनटा खान तर ज्वरो बढ्न नदिन सल्लाह दिनुभयो। दिदी फिक्कल जानुभएको थियो, फोन गरेँ र एजिथ्रोमाइसिन ल्याइमागेँ। 

बिहीबार बेलुकी सुरु गरेको एजिथ्रोमाइसिन मङ्गलबार बेलुकी सकियो। बुधबार फेरि डा.समीरलाई फोन गरेँ र स्थितिबारे अवगत गराएँ। यसबीच स्थितिमा खासै सुधार भएन। सिटामोल खाँदा ज्वरो १०२ बाट १ डिग्री ओर्लथ्यो, तीनचार घण्टा पछि उस्तै। एजिथ्रोमाइसिनले काम गर्ला भन्ने लागेको थियो। अर्को बुधबार बिहान उहाँलाई फोन गर्दा, छातीको एक्सरे र टाइफाइड हो होइन चेक गर्नका लागि रक्त परीक्षण गरेर रिपोर्ट पठाउन भन्नुभयो। त्यही दिन ज्वरो आउँदाआउँदै फिक्कल गयौँ र एक्सरे तथा रक्त परीक्षण गरायौँ। रक्त परीक्षणले टाइफाइड नभएको देखायो। बेलुकी घर फर्केर एक्सरे र रक्त परीक्षण रिपोर्टको फोटो खिचेर डा. समीरलाई इमेलद्वारा पठायौँ। डा. समीरले निमोनिया भएको जानकारी गराई तुरुन्तै पिसिआर जाँच गराउन भन्नुभयो। साथै निमोनियाको औषधि पनि लेखि पठाउनुभयो। कोभिड निमोनिया भएको हुन सक्ने र त्यसले कठिन परिस्थिति निम्त्याउन सक्छ भन्दै, अक्सिमिटरले अक्सिजन लेभल बारम्बार जाँचिरहन र रिपोर्ट गर्न सल्लाह दिनुभयो। अक्सिजन लेभल ९२ भन्दा घट्यो भने तुरुन्त अस्पताल भर्ना हुनु पर्ने सुझाव थियो उहाँको। पिसिआर टेस्ट कहाँ गर्न सकिन्छ भनी सोधीखोजी गर्दा, खोजीगरिदिने काम भतिज केदारले लिए। उनले दसौँ जनालाई फोन गरी कुरो बुझ्न लगाउँदा, पिसिआर गर्न धरान वा विराटनगर जानु पर्ने स्थिति देखियो। माघेबाट गाढी चढेर धरान वा विराटनगर जाने आँट पटक्कै पलाएन। मन दोधारको स्थितिमा थियो। एजिथ्रोमाइसिन खाएका छ दिनमा संसार वास्तविक हो कि होइन, मैले देखेका सुनेका कुरा वास्तविक हुन् कि हैनन् भन्ने लागिरह्यो। 

माघेमा अक्सिमिटर थिएन। तल लोकेन्द्रकहाँ थियो तर बेलुकी कता माग्न जाने भनेर बेलुकी केही गरिएन। छोरी नेहाले अघिल्लै दिनदेखि तुरुन्त काठमाडौँ जाऊँ भनिरहेकी थिई। पहिलो कारण पिसिआर काठमाडौँमा सजिलै जचाउन सकिन्थ्यो, दोस्रो रोग जटिल हुँदै गए तुरुन्त अस्पताल जान सकिन्थ्यो, तेस्रो काठमाडौँमा औषधिहरू पनि सजिलै उपलब्ध हुन्थे। 

मानसिक स्थिति बढो जटिल भैरहेको थियो। आमालाई भेट्न वर्ष दिनपछि आएको थिएँ। दुईचार दिनमा दसैँ आउँदै थियो। अनि फेरि तिहार। तिहारसम्म माघेमा आमासँगै बस्न भनेर आएको थिएँ। घर छोडेर हिँड्न पटक्क मन थिएन। तर अर्धचेतनजस्तो अवस्थामा पुगिसकेको हुनाले छोरीको आग्रहलाई टार्न सकिएन। आमाले पनि उपचार गरी जाति भएर घर आउन भन्नुभयो र हामीले बिहीबारै काठमाडौँ जाने निधो गऱ्यौँ। हिँड्ने बेलामा उसैले लोकेन्द्रकहाँ गएर अक्सिमिटर लिएर आई। अक्सिजन मापन गर्दा ९२ र घट्दै गएर ९० सम्म देखायो। करिब १२ बजेतिर हामी हिँड्यौँ।

मेरो छातीले चिसो थेग्न नसक्ने हुनाले चिसो गाढिएको हुनसक्ने मलाई लागेको थियो। बोङ्काइटिस वा निमोनिया हो भन्ने त थियो तर कोभिड-१९ नै होला भनेर चाहिँ पटक्कै लागेको थिएन। बिहीबार बेलुकी ५ बजे काठमाडौं डेरामा आइपुग्यौँ।  अर्को दिन ७ गते नै पिसिआर परीक्षण गर्नका लागि स्वाब दियौँ। हामी श्रीमान्-श्रीमतीले स्वाब दियौँ तर छोरी त्यस बेला बाहिर गएकीले उसको भने छुट्यो। बेलुकी नै पिसिआरको रिपोर्ट आउँछ भनेका थिए। यसैबीच दीपक भाइलाई निमोनियाको औषधि मगाएर खान थालीसकेको थिएँ। राति दुई बजेतिर ब्यूँझिएर मोबाइल हेरेँ। एसएमएसमा रिपोर्ट पठाएको रहेछ। हामी श्रीमान्-श्रीमतीकै पोजिटिभ। एकछिन त विश्वासै लागेन। तर सत्य त त्यही म्यासेज थियो। कोभिड-१९ ले हामीलाई भेटिसकेको थियो।

दुई दिन पछि छोरीको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो। यो निकै खुसीको कुरा थियो।

यस बीच प्राय हरेक दिन जसो डा. समीर सम्पर्कमा आउनुभयो। अक्सिमिटरले हरेक घण्टा अक्सिजनको लेभल नाप्न र ९२ भन्दा कम भए तुरुन्त अस्पताल भर्ना हुन आग्रह गर्नुभयो। छोरीले अक्सिमिटर किनेर ल्याइन्। औषधि खाँदै जाँदा स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो। डा. समीरले बारम्बार "म छु। नडराउनुहोस्। केही हुन दिन्नँ।" भनीरहनुहुन्थ्यो। उहाँको आडले, भरोसाले र प्रेमले थप उपचारको काम गऱ्यो। सात दिनको निमोनियाको औषधि खाए पछि पुनः एक्स-रे गरेर निमोनियाको स्थिति हेर्नुपर्छ भन्नुभएको थियो उहाँले। कोभिड पोजिटिभ केसको एक्स-रे जहाँपायो त्यहीँ नहुने। ढाँटेर एक्स-रे गर्नुभनेको सयौँलाई कोभिड सार्नुजत्तिकै थियो। स्थिति जस्तो सुकै भए तापनि, त्यसो गर्न म सक्तिनथेँ। यता र उति फोन गर्दा गर्दै भतिज पङ्कजको सहयोग र डा. समीरको सल्लाहले भक्तपुर अस्पतालमा पुगी दुवैजनाले एक्स-रे गऱ्यौँ। फेरि पहिलेको जस्तै फोटो खिचेर डा. समीरलाई इमेल मार्फत पठायौँ। उहाँले एक्स-रे हेरेर ९०% निको भैसकेको र बाँकीका लागि तीन दिनको औषधि थप्न सल्लाह दिनुभयो। कार्तिक १७ गतेसम्म औषधि खाँदा ज्वरो, खोकी निको भैसकेको थियो। शरीर चाहिँ धेरै शिथिल भएको थियो तर मन चङ्गा बनेको थियो। डा. समीरकै सल्लाह अनुसार फेरि कार्तिक २० गते बिहान पिसिआर टेस्ट गर्न स्वाब दियौँ, तीनै जनाले। हाम्रो भाग्य, तीनै जनाको रिपोर्ट नेगेटिभ आयो। डा. समीर अझै भन्नुहुन्छ, "नडराउनुहोस्! केही हुँदैन। म छु।" यो वाक्य कुनै औषधिभन्दा कम थिएन। मानिसहरू सानो हेलचेक्र्याइँले ज्यान गुमाइरहेका थिए। कोही अस्पताल पुग्न नपाई अस्ताउँथे। कसैले बेड पाउँदैनथे र मृत्युवरण गर्थे। कसैको पैसा पुग्दैनथ्यो कसैले अस्पताल जान र औषधि खान नमानेर जीवन त्यागिरहेका थिए। कसैको के हुन्थ्यो, कसैको के हुन्थ्यो। यस्तो स्थितिमा आफ्ना प्रिय मित्रको ज्यानको जिम्मा लिनु सानो कुरा पटक्कै होइन। कदापि हुँदै होइन। डा. समीरसँग त्यो असाधारण क्षमता छ, त्यही भएर नै लाखौँका प्रिय हुनुहुन्छ। विनम्रता र मानवताका अप्रतिम उदाहण, प्रिय डा. समीरकै कारण मैले स्वास्थ्य लाभ गरेँ, गर्नेछु। लाग्छ, उहाँकै कारण पुनर्जन्म भएको छ।

--

म र डा. रवीन्द्र समीर

डा. समीरसँग मेरो मित्रताको नाता गाँसिएको साहित्यको माध्यमबाट हो। मैले चलाउने गरेको एउटा हिन्दी इन्टरनेट पोर्टलमा मैले उहाँको एउटा लघुकथा अनुवाद गरी प्रकाशित गरेको थिएँ। यो करिब १५ वर्ष अघिको कुरा हो। त्यसपछि उहाँले आफ्ना सबै लघुकथाका पुस्तकहरू मलाई पठाउनुभएको थियो। त्यसपछि हाम्रो कुराकानी धेरै बाक्लियो। सञ्चारका भएजति माध्ययमा हाम्रा कुरा हुन थाले। अनि भेट पनि हुन थाल्यो। म काठमाडौँ आएर बस्न थाले पछि भेटहरू पनि सघन हुँदै गए। अहिले उहाँका साहित्यिक कृतिहरू १२ वटा पुगिसकेका छन्। 

डेढ दसक देखिको मित्रतामा हामीले थुप्रै दुःखसुख बाँड्यौ। तर यस डेढ दसकको अवधिमा उहाँले गरेको स्नेह र प्रेमको ऋण अलिकति पनि तिर्न सकेको छैन। म जाबोले तिरौँला पनि कसरी? मेरो र मेरो परिवारको स्वास्थ्यमा अलिअलि गडबडी हुँदा पनि म उहाँलाई नै सुनाउँछु। उहाँले नै दिएको औषधि खान्छु, खुवाउँछु। कैयन् पटक हामी दिनभरि साहित्यका विषयमा कुराकानी गर्दै बसेका छौँ। कहिलेकाहीँ भन्छु, "रवीन्द्रजी, म तपाईँको ऋण कसरी तिर्न सकौँला।" उहाँ मुसुक्क हाँसेर भन्नुहुन्छ, "मैले तपाईँलाई ऋण दिएकै छैन। नदिएको ऋण किन र कसरी तिर्न भन्नू मँ? तपाईँजस्तो साथी भेट्नु नै सापोनापो भैहाल्यो नि।" 

तर मलाई लाग्छ रवीन्द्रजी, मैले तपाईँलाई केही दिन सकेकै छैन। भविष्यमा मेरा लागि तपाईँले कति गर्नुहुन्छ त्यसको सानो अनुमान मलाई छ। ती सबैलाई हेर्दा तपाईँको प्रेम र स्नेहलाई क्षतिपूर्ति दिन सक्ने क्षमता मसँग छैन र भविष्यमा पनि हुनेछैन। जसरी भगवान् रामचन्द्र कपिको लगाएको गुणबाट उऋण हुन सकेनन्, म पनि तपाईँले लगाएको गुणबाट उऋण हुन सक्तिनँ। र भगवान्‌सँग एउटै प्रार्थना गर्छु, "अर्को जन्ममा पनि म तपाईँको मित्र भएर जन्म लिऊँ। तपाईँले यस जन्ममा लगाएको ऋण त्यही जन्ममा तिर्न सकूँ।"

---