सुविख्यात भारतीय लेखक खुसवन्त सिंहले आफ्नो अटोबायोग्राफी "ट्रुथ, लभ एन्ड अ लिटल मलिस"मा कतै उल्लेख गर्नुभएको छ- उहाँले "वुमन एन्ड मेन इन माइ लाइफ" लेखेर प्रकाशित भएपछि, कतिपयले बोलचाल र सम्पर्क त बन्द गरे नै, आफ्नो कमजोरी संसार सामु प्रकट गऱ्यो भनेर उनीसँग सधैँका लागि सम्बन्ध त्यागे। कतिपयले भने सम्बन्धलाई प्रगाड बनाए। यस्तो भएकामा खुसवन्त सिंहलाई कुनै दुखेसो थिएन। उहाँले मानिसहरूसँगका आफ्ना सम्बन्धहरू स्पष्टसँग राख्नुभएको छ। अरू त अरू, वेश्यालय गएर स्त्रीगमन गरेको कुरा पनि उहाँले नलुकाई लेख्नुभएको छ। मलाई लाग्छ, खुसवन्त सिंह एउटा लेखकका रूपमा इमानदार रहनुभयो।

"औँलादेखि सुरु भएर पण्डित"मा
अन्त्य भएको तपाईँको "यार" एउटा साबिती बयान हो। के तपाईँलाई पुस्तक
लेखेपछि मन हलुँगो भएको छैन ? कति मनको बोझ थियो मनमा ? साँच्ची भन्नुस् त। ठूलो
भारी बिसाएर लामो नयनको कल्पना छ मेरो मनमा यतिखेर।
मलाई लाग्छ, यो पुस्तक तपाईँको
संस्मरणमात्र हैन, यो त तपाईँले भनेजस्तै तपाईँको उचाई नाप्ने इन्चिटेप हो। र
नढाँटी भनौ मैले तपाईँको उचाई नाप्दा इन्चिटेप छोटो भयो है नयनजी। तपाईँको उचाइ
ह्वात्तै बढ्यो कि, इन्चिटेपहरू छोटिन थाले ? कुरा बुझिनै हाल्नुहुन्छ क्यारे।
हामीले पनि ठानेका छौँ, भोगेका छौँ – असल
मानिएका कैयन मानिसहरूको अहम उनीहरूको अस्तित्वभन्दा अग्लो हुँदो रहेछ। देखेका
छौँ, कविताभन्दा अग्ला अहम भएका कविहरू। देखेका छौँ, कथाभन्दा लामो घमण्ड भएका
कथाकारहरू। खै के भनौ र म पनि यिनै मध्ये पर्दो हुँ ! तर तपाईँलाई हेर्ने
दृष्टिकोण चाहिँ मेरो उही रहेन। अर्कै भयो र सुखद भयो। म खुसी छु। गद्गद् छु।

वयस्क भएपछिका यी सम्झनाहरूमा भने, तपाईँ
साँच्चिकै पोखिनुभएको छ। विज्ञानले सबैभन्दा विवेकशील प्राणी मानिसलाई मान्छ। तर
विज्ञानको यस कुरामा मलाई कहिलेकाँही शङ्का लाग्छ नयनजी। मानिस कहिलेकाहीँ विवेक
गुमाएर जनावर भन्दा तल खसिदिन्छ र ठान्छ म अग्लिएँ। मानिसले मात्र हो नि जानीजानी
गलती गर्ने, अरूको चित्त दुखाएर रमाउने। जनावरहरूले त कहिल्यै त्यसो गर्दैनन्। अझ
अचम्म लाग्दो त के छ भने, बिभर, उल्लू, राजहाँस, गिब्बन जस्ता प्राणीले
जीवनपर्यन्त एउटासँगमात्र सम्बन्ध राख्छन् रे। अझ प्याराकिट(लभबर्ड्स) भन्ने चराको
त भाले वा पोथीमध्ये एउटा मऱ्यो भने अर्को चाहिँ चिन्ताले नै सकिन्छ रे।
विवाहेत्तर सम्बन्धमा तपाईँको स्वीकारेको
बयानले मलाई केही विचलित पनि बनायो किनकि त्यो कल्पनाबाहिरको कुरा थियो। फेरि लाग्यो,
गलती त मानिसबाटै हुन्छ नि हैन। तपाईँले जुन किसिमले आफ्नो जिन्दगीलाई
सम्हाल्नुभयो त्यो नै पर्याप्त छ। भाउजूले जुन काम गर्नुभयो त्यसका लागि सतत् नमन
उहाँलाई। "पति, पत्नी और वह" बाट उहाँले नै त हो नि "पति-पत्नी"
बनाएको हैन र ? महान् मानिसहरू हाम्रै छेउमा हुँदा पनि कहिलेकाहीँ हामी देख्दैनौँ
नयनजी। दोष तपाईँको हैन, समाज यस्तैछ, संसार यस्तै छ।
कतिपय साथीहरू त्यस्ता हुन्छन् जसलाई
हामी भित्रबाट चिन्दै चिन्दैनौँ। ती त्यति राम्रा हुन्छन् कि हाम्रो दृष्टि तिनमा
पर्दा पनि पर्दैन। अनि फेरि त्यस्ता पनि हुन्छन् जसलाई हामी आवश्यकताभन्दा बढी
चिन्छौँ। तपाईँले पनि त त्यसै गर्नुभएको छ, हैन ? कतिलाई कम चिन्नुभएको छ र कतिलाई
चाहिनेभन्दा धेर। हामी सबैको जिन्दगीमा धेरथोर त्यस्तै त हो नि।
"यार" हाम्रो समाजको एउटा
चित्र हो। समाज अलिक एब्सट्र्याक्ट छ। तर "यार" पढेपछि हामी समाज केही
बुझ्छौँ। "यार" पुरुष मनको एउटा आत्मस्वीकृति पनि हो। यसलाई पढेपछि हामी आफूलाई पनि केही चिन्छौँ। पच्चीसैवटा
"यार"को कुरो कोट्याइनँ। ती त पुस्तक समीक्षकले गरिनैहाल्छन्। म समीक्षक
हुँदै होइन। यो मेरा मनमा लागेका कुरा मात्र हुन्।
एउटा सानो प्रसङ्ग। इटहरी छाडेर काठमाडौँ
आउन लाग्दा गाडीमा सामान लोड गर्न केही स्कुलका सहयोगी कर्मचारीहरूको सहयोग लिएँ। जसजसले
सहयोग गरे, केही पैसा चिया खाऊ भनी दिएँ। सबैले लिए, तर एकजनाले पटक्कै लिन
मानेनन्। रात्रीकालिन सुरक्षा गार्डको पदमा रहेका तिनले भने – "सर, पैसा
जिन्दगीमा सबैथोक होइन, पैसाभन्दा माथि र पर्तिर धेरैथोक छ।" म निशब्द भएँ।
एउटै शब्द निस्केन। यही त हो नि जिन्दगी, हैन नयनजी।
अन्त्यमा यी दुई ओटा दोहाले
"यार"मा र हाम्रो जीवनमा ठूलो अर्थ राख्छन् :
१. रहिमन
धागा प्रेमका, मत तोरो चटकाय
टुटे पे फिर ना जुरे, जुरे गाँठ परी जाय।
टुटे पे फिर ना जुरे, जुरे गाँठ परी जाय।
२. उमर
भर गालिब यही भूल करता रहा
धूल चेहरे पे थी, आइना साफ करता रहा।
धूल चेहरे पे थी, आइना साफ करता रहा।
इति.....।
I am moved to the core.You wrote beautifully.
ReplyDeleteकुमुदजीको यो यारमाथिको विचारमा मेरो पनि सहमत छ ।
ReplyDeleteतपाईंका शब्दहरू दिलमा पनि बसे, दिमागमा पनि । धन्यवाद मित्र ।
ReplyDelete