विश्वकप फुटबलले मन अल्मलिएको थियो। बडो
विचित्रको मनस्थितिमाझ सामाजिक सञ्जालमा प्रवेश गर्दा साह्रै दुःखलाग्दो समाचार
देख्नु पऱ्यो। डा. उपेन्द्र देवकोटा रहनुभएन। भनौँ उहाँको पार्थिव देह हामीमाझ
रहेन। श्रद्धाञ्जली मात्रै दिन सक्यौँ हामीले, जीवन दिने र लिने त ईश्वर न हो।
तपाईँका अनुभवहरू 'देश सञ्चार' मार्फत पढ्दै थियौँ।
कति अनुभव पढ्नै भ्याएका छैनौँ, तर जति पढ्यौँ त्यतित्यति तपाईँमाथि श्रद्धा बढेर
गयो। तपाईँका स्कूले जीवनका जीवन्त अनुभवले कहिलेकाहीँ मनलाई तीतो पनि बनायो,
कहिलेकाहीँ मीठो पनि बनायो। सङ्घर्षका गाथाले कति धेरै उर्जा दिए।
तपाईँको निगुरो मोह 'कान्तिपुर'मा पढेपछि,
बजारमा निगुरो देख्तै तपाईँलाई सम्झिने भयौँ। निगुरो हामीलाई पनि असाध्यै मीठो
लाग्छ डा. देवकोटा। तर आजकल निगुरोमा युरिया हाल्छन् रे। जङ्गलमा घेरेर राखेका
निगुरो बारी हुन्छन् रे। त्यहाँ मल छर्छन् रे। अनि टिपेपछि नओइलाओस् भनेर पानीमा
युरिया मिलाई छर्किन्छन् रे। हो देवकोटा तरकारीको गाँसैपिच्छे विषादी र रासायनिक
मल खान बानी परेका छौँ हामी। लेख पढेपछि लाग्यो कतिपटक त तपाईँले पनि त्यस्तै निगुरो
खानु भयो होला। तपाईँका तिर त अझ न्युरो भन्दारहेछन्। न्युरो सर्जनलाई मन पर्ने
तरकारी न्युरो। अब त यही कुरा पनि बिझाउन थाल्यो। तपाईँले अब न्युरोको स्वाद कसरी
लिनुहोला ? अब हामीले नै कसरी न्युरोको तरकारी निल्न सकौँला !
१७/१८ घण्टासम्म शल्यक्रियाको टेबलछेउ उभिएर मानवका
सबैभन्दा जटिल तन्तुहरूलाई ठीक बनाउँदै गर्दा तपाईँका आफ्नै तन्तु कति दुखे
होलान्। तपाईँले भन्नु भएको रहेछ, स्कुले जीवनमा समयमा खान नपाएकाले/नमिलेकाले
लामो समय नखाई बस्न सक्ने 'सहनशक्ति(एन्ड्युरेन्स)' प्राप्त भएको हो। हामी जाबो
चार घण्टा भोको बस्न नसक्ने(नचाहने?)ले तपाईँको त्यो विलक्षण क्षमता कसरी पो
देख्नु र ! तर त्यही विलक्षण क्षमताका कारण तपाईँ डा. उपेन्द्र देवकोटा बन्नुभयो।
करोडौँ नेपालीका मनमा बस्नुभयो। अरू कोही भए, आफ्नो क्षमताको अहम् देखाउँथे होलान्
तर तपाईँले त त्यही गाउँले दिएको क्षमता देखाउनुभयो। यो तपाईँको महानता हो डा.
देवकोटा।
तपाईँले भन्नुभएको रहेछ - जे काम गर्दा पनि
भित्तो छेड्नेगरि गर्नुपर्छ। यो उक्तिलाई आफ्नो जीवनको जीवनरेखा बनाउन सके धेरै
नेपालीले उन्नति गर्थे भन्ने लाग्छ। तपाईँले जे गर्नुभयो भित्तै छेडेर गर्नुभयो।
भित्तो नछेडी, त्यो स्तरको ज्ञान, कौशल, मानवता, देशप्रेम कहाँबाट आउँथ्यो र ?
हामी आफ्नो असफलताको दोष अर्कालाई दिन बानी परिसक्यौँ। कहिलेकाहीँ त लाग्छ यो
हाम्रो 'जेनेटिक' विशेषता बनीसक्यो। हामी त भित्तामा एउटा वालकाँटी पनि ठोक्न
नसक्ने रहेछौँ, एकातिर ठोकिहेऱ्यो, छिरेन भनेर अर्कातिर ठोकिहेऱ्यो। त्यसरी
'मेडियोक्रिटी'ले भित्तो ठोक्दा ठोक्दै मान्छेको जीवन सकिँदो रहेछ। भित्तो छेडेर
अर्कापट्टिको सुन्दर संसारमा पुग्न नपाई हामी नेपालीहरूले जीवन समाप्त पार्नु
परेको छ। तपाईँजस्तो विलक्षण मेहनती केही नेपालीहरूले नै यो देशलाई सुन्दर बनाएका
छन्। हामी 'मेडियोकर'हरूले तपाईँहरूमाथि गर्व गर्न पाएका छौँ।
तपाईँले युरोपमा भोगेको रङ्गभेदले मन साह्रै
अमिल्यायो। पश्चिमका देशहरू लोकतन्त्रको नारा भट्याएर थाक्तैनन्। तर उनीहरूको मनको
मैलो लुकेको ठाउँ देख्नै सकिन्नँ। हामी नेपाली ज्यान फालेर अमेरिका जान्छौँ जहाँ पाइला-पाइलामा
गोराहरूले 'एसियाली कुकुर' भनेर हेप्छन् । त्यहाँ अझै पनि गैर-गोराहरू त्यति नै
प्रताडित छन्। बेलायत आफूलाई सबैभन्दा सभ्य सम्झन्छ तर उसको मनमा भएको मैलो देख्नेमा
तपाईँ पनि पर्नुभयो। दुःखद कुरा हो, प्रिय देवकोटा !
तपाईँसामु सशरीर उभिएर एक पटक चरणस्पर्श गर्ने
मन थियो। तपाईँको आशीर्वाद लिने मन थियो। अनि अचानक तपाईँको बिरामीको खबर आयो। बिरामी
बेलामा भेट्न गएर दुःख थप्न मन लागेन। मनमनै प्रार्थना गरेँ, मन्दिरमा गएर गरेँ।
अमर न्यौपानेले भनेझैँ कुनै जादू होस् र तपाईँ स्वस्थ भएको खबर सुन्न पाइयोस्
भन्ने लाग्थ्यो। तर त्यसो भएन, जादू भएन। तपाईँ माथि आकाशमा जानुभयो। त्यहाँ तपाईँ
जहिल्यै विश्वले देख्ने तारा भएर बस्नु हुनेछ। हामी आजीवन तपाईँलाई हृदयमा
राख्नेछौँ।
तपाईँलाई विष्णु भगवान्ले वैकुण्ठमा आफ्नै काखमा
राखून्। हृदयभरिको श्रद्धासुमन।
Moved me into tears.
ReplyDelete