ठ्याक्कै कहिले हो हेक्का रहेन। तर एसओएस हर्मन माइनर स्कुलमा विज्ञान शिक्षकको विज्ञापन खुलेको थियो। आवेदनहरू निकै आइरहेका थिए। मैले त्यहाँ पढाएको पनि सातआठ वर्ष भैसकेको थियो। त्यसैले सायद प्रिन्सिपल सरले विज्ञापनपछि उम्मेद्वारहरूको सर्टलिस्ट गर्दा मेरो पनि सहयोग माग्नुभयो। मैले पनि आफ्नै विभागमा सहकर्मी आउने भएपछि सहर्ष सहयोग गरेँ। त्यसमा अरू धेरै जना त म सम्झिन्नँ, तर एक जनाको आवेदनले भने मलाई आकृष्ट गऱ्यो। शुभ्र अनुहारको एउटा फोटो, अनि नाम शुकदेव अधिकारी। मणिपुरको इम्फाल विश्वविद्यालयबाट बी.एस्सी. गरेको। घर झापा। सिभिको पुछारतिर रुचिमा देखेँ – सर्ट स्टोरी राइटिङ। अनुहारको शुभ्रता अनि रुचि सिर्जनात्मक लेखन। म पनि बी.एस्सी. र कथा लेख्न सिक्दै गरेको एउटा सिकारु थिएँ। अनुहारको शुभ्रताले यिनको उत्तम शिक्षण सीप त बयान गरेकै थियो, साथै सिर्जनामा पनि यिनी पक्कै जम्छन् भन्ने लागेको थियो।
नभन्दै लिखित परीक्षा, अन्तर्वार्ता र कक्षाकोठा प्रस्तुतिकरणको छनोट पार गरिसकेपछि, यी पहिलो नम्बरमा परी शिक्षक नियुक्त भए। इटहरी आउनुअघि पश्चिमतिर कतै बोर्डिङ स्कुलमा पढाउँदा रहेछन्। केही दिनका लागि एक्लै आए। मैले यिनलाई भाइ सम्बोधन गरेँ। हामीबीच दाजुभाइको साइनो कायम भयो। केही दिनपछि यिनले परिवार पनि बोलाए, श्रीमति र एउटी बहिनी। म बसेकै घरमा कोठा खाली थियो। त्यहीँ बोलाएँ। हामी भौतिक रूपमा नजिकियौँ। हाम्रा मनहरू अझै नजिक आए।मानिसहरू
भन्छन् रगतको साइनो जत्ति ठूलो केही हुँदैन। यी शुकदेव मेरो रगतको साइनामा त
थिएनन् तर अधिकारी नै भएकाले यी तिनै कश्यप ऋषिका सन्तान थिए नै। एउटै पुर्खाका
सन्तान थियौँ हामी। हाम्रो परिचय भर्खरै मात्र भएको थियो। यिनको परिवार र हाम्रो
परिवारबीच राम्रो पारिवारिक नाता कायम भयो। हामी यिनकहाँ गएर घण्टौ बस्ने, खाने,
गफ गर्ने, बस्ने अर्थात् सुखदुःख साट्ने। यी पनि हाम्रामा आउँथे, त्यसै गर्थे। यिनले
जहिल्यै मलाई शिर निहुऱ्याएर ढोगे। अभिवादन गर्दा यिनको शिर मेरा सामु उँचो कहिल्यै
भएन। मैले त्यत्रो विधि सम्मान पाउनेगरि केही गरेको थिइनँ। यी भाइ भने मलाई आदर,
माया र प्रेमले ओतप्रोत बनाइरहेका थिए।
रहँदैबस्दै
गर्दा यिनकी राम्री छोरी जन्मिइन्। हाम्री छोरीले नाम सुझाव गरिन् – शुकदेवको शु र
मीराको मीरा नै लिएर नाम बनाउने सुमीरा। हामी सबैलाई कत्ति राम्रो लाग्यो। यिनलाई
पनि राम्रो लाग्यो र छोरीको नाम भयो सुमीरा।
यी
मानवीय भावनामा खेल्न असाध्य सिपालु मान्छे। साह्रै गज्जबका कथा लेख्थे। लेख्थे
यसकारण कि अब यी लेख्छन् लेख्दैनन् थाहा छैन। अँ यिनको एउटा कथा साह्रै गज्जबको छ 'गन्धर्वको
छोरो'। यिनका अरू कथा पनि गज्जब छन्। जम्माजम्मी दसबाह्रवटा कथा भेला पारेर एउटा
राम्रो कथा सङ्ग्रह छपाउन लगाउँला भन्ने लागेको थियो तर त्यसभन्दा पहिले नै यिनलाई
अमेरिकाले तान्यो। यिनी अमेरिका उडे।
यिनले
मलाई सबैभन्दा तिर्नै नसक्ने गुन लगाएका छन्। यस्तो गुन जुन म मेरा नजिकका
आफन्तहरूबाट पनि अपेक्षा गर्न सक्दिनँ। पहिले केही प्रयास मैले पनि गरेकै हुँ। तर
आफ्नाहरूसँग सहयोग माग्दा बहानाका बहाना आउँथे। लाग्थ्यो जिन्दगी फगत एक जनाले
गर्ने सङ्घर्ष हो। आफ्नाहरूले अपवाद बाहेक केही गरेको मलाई थाहा छैन। २०६४ पछिको
कुरा हो। २०६५ सालमा मैले इटहरीमा घर बनाउन सुरु गरेँ। घर बनाउने बेला पनि हो
जस्तो लाग्यो। शिरमाथि आफ्नो घरको छत हुँदाको आनन्द कति आनन्ददायी हुन्छ मैले घर
बनाएपछि नै थाहा पाएँ। जमिन किनेको ऋण तिरी नसकी बैङ्कबाट कर्जा लिएर घर बनाउन
सुरु गरिएको थियो। साथीभाइ, नातागोताबाट सहयोग पाएकाले नै आँट गरेँ। हाम्रो घर
बन्यो। माध्यमिक तहको शिक्षकको तलबले घर बनाएको ऋणको किस्ता, छोराको पढाइखर्च,
घरायसी खर्च पुग्ने कुरै थिएन। तिनताक म तीनतिर काम गर्थेँ। बिहान कोसी कलेजमा,
दिउसो एसओएस हर्मन माइनर स्कुलमा र बेलुका सुकुना कलेजमा। बिहान पाँच बजे उठेको
ज्यानले बेलुकी नौ बजेमात्र बिसाउन पाउँथ्यो। कक्षा तीनदेखि स्नातकोत्तरसम्म
पढाउने विरलै शिक्षक मध्ये म पक्कै पर्ने थिएँ होला।
आफू
पनि कमाएर भरथेग गर्ने भनेर मेरी जीवनसँगिनीले सानोतिनो व्यवसाय सुरु गर्ने गर्ने
निधो गरिन्। राजस्व चोकमा एउटा कोठा लिएर, केही स्टेसनरीका सामग्री र एउटा
कम्प्युटर राख्यौँ। केही कापीहरू, डटपेनहरू थप्यौँ। एउटा प्रिन्टर राख्यौँ। सुरुका
दिनमा अत्यन्तै निराशाजनक स्थिति थियो। कुनै दिनका एकै रुपैयाँको पनि आम्दानी
हुँदैनथ्यो। चार बजे बेलुकी स्कुलबाट फर्किँदा उनको असाध्यै अँध्यारो अनुहार
देख्थेँ। हामी दुई निराशाका केही पोकाहरू आफूसँगै बोकेर घरभित्र छिर्थौँ। तर घरभित्र
छिरेपछि एउटा अचम्मको सन्तुष्टि मिल्थ्यो, किनकि त्यो आफ्नो घर थियो, आफ्नो।
छेउमा
आन्तरिक राजस्व कार्यालय भएकाले फोटोकपी केही चल्थ्यो होला भन्ने लागेर एउटा सानो
थ्रिइनवान मेसिन किन्यौँ, त्यो पनि साथीभाइहरूबाट सापटी लिएरै। फोटोकपी भएपछि केही
आम्दानी हुन थाल्यो। अलिकति उत्साह पनि थपियो। तर बिजुली गैरहने समस्याले साह्रै सताउने।
दिनको अठाह्र घण्टासम्म लोड सेडिङको बेला थियो त्यो। व्यवसाय बन्द गर्नुभन्दा बरू लगानी
नै थपौँ भन्ने लागेर इन्भर्टर राख्यौँ। इन्भर्टर त राम्रै राख्यौँ तर ब्याटरीमा
धेरै ठगिएछौँ। आठ महिना पनि नभई ब्याटरी बिग्रियो। नयाँ ब्याटरी किन्ने उपाय थिएन।
लाइन नभएपछि फोटोकपी पनि नचल्ने, कम्प्युटर पनि नचल्ने। दिनभरिजस्तो लाइन गैरहने। किन
लगानी गरिएछ नि भनेर चिन्तित भएका बेला, शुकदेव भाइको एउटा भिन्न रूप देखा पऱ्यो।
यिनले किस्ताबन्दीमा ल्यापटप किनेका थिए- लेनोभोको ल्यापटप। थपक्कै हाम्रा हातमा
दिएर भने "दाजु यो चलाउनुहोस्।" म अन्कनाएँ, मसँग शुकदेवलाई दिने, वा
भनौँ ल्यापटप किन्ने पैसा फिटिक्कै थिएन। उनले भने, "जति सक्नुहुन्छ, जहिले
सक्नुहुन्छ दिनू। महिनैपिच्छे केही दिए पनि हुन्छ। म यतिउति पनि भन्दिनँ। नसके पछि
दिए पनि हुन्छ। पछि पनि उपायै लागेन भने नदिए पनि हुन्छ। भाउजूलाई दोकानमा बसेर
काम गर्न हुन्छ। ब्याटरीले करिब छ घण्टा थाम्छ।" मसित जबाफ दिने एउटै शब्द
थिएन। मुखले कुनै शब्द बोल्न सकेन। मनभित्र स्नेह, प्रेम र आफ्नोपनको ज्वालामुखी
फुट्यो। आँखाबाट त्यो लाभा निस्किँदा भित्रैदेखि के भयो के भयो! आँखाबाट खहरे तल
ओर्लियो। मनले भन्न त धेरै कुरा भन्न चाहेको थियो तर आँट आएन। यति धेरै माया गर्ने
मान्छे पनि हुन्छन्। म कहाँ न कहाँको दाजु। चिनेकै धेरै वर्ष भएको त छैन। यति धेरै
प्रेमको बदला म के दिऊँ उनलाई। दिनु नै के सक्छु र ? भन्छन् मायाको बदला माया नै
दिन सकिन्छ तर म त्यति धेरै माया दिन सकूँला ? मेरो क्षमता होला ? कुन अर्थमा
सकूँला? मैले सोच्न सकिनँ। उनलाई अँगालामा बेरेँ र मनमनै कोटि कोटि नमन् गरेँ। यी
भाइ ईश्वरको दूत भएर मलाई सघाउन मसामु आएका थिए।
यी
मेरा पूर्व जन्मका के थिए भन्न सक्तिनँ। यिनको स्नेहले म अत्यन्तै द्रवित भएको
थिएँ। मेरा जम्मै सुखदुःख यिनले देखेका थिए, सुनेका थिए। उनको सुखदुःख पनि केही
हदसम्म मैले सुनेको थिएँ। यिनीसँग डेरामा भेट्न नगएको शनिबार प्रायः हुँदैनथ्यो। गएपछि मिठो मसिनो जे भए पनि खुवाएरै पठाउँथे।
छोरी सुमिरालाई काखमा लिएर बस्नु सुखद हुन्थ्यो। हामी सपरिवार जान्थ्यौँ, यिनका
डेरामा। नजाँदा केही छुटेजस्तो, केही
नभएजस्तो हुन्थ्यो। प्रेमको असर कति प्रभावी, कति असरदार ! साना खुसीका मौकाहरू
पनि बाँड्न मन लाग्ने।
यिनले
ल्यापटप दिएपछि काम धेरै सहज भयो। उनले दिनभरि पसलमा बसेर काम गर्न थालिन्। केही
कमाइ पनि हुँदै गयो। तर ऋणको भारी भने कम भएको थिएन। शुकुलाई महिनाको दुइतीन हजार
गर्दै ल्यापटपको पैसा दिन पनि थालेँ। लाग्यो
अब पक्कै राम्रा दिन आउँछन् होला। शुकुजस्ता भाइ भएपछि मलाई केही डर रहेन।
अलिक
दिन पछिको कुरा हो। हाम्रो पारिवारिक गफगाफ भै रहन्थ्यो। आआफ्ना समस्या हामी
एकअर्कालाई सुनाउँथ्यौँ। त्यस्तै क्रममा मैले छोराछोरीलाई पढाउन गाह्रो हुने हो कि
भन्ने कुरा सुनाएँ। किनकि घर बनाएको ऋण सहित सरसापटी तिरीसक्न निकै थियो। शुकुले
तुरुन्तै भने, "दाजु, तपाईँका छोराछोरी मेरा पनि छोराछोरी हुन्। नडराउनुहोस्
म पढाउँछु छोराछोरी। पछि तपाईँले ऋण तिरीसकेपछि मेरा छोरीहरूको पढ्ने बेला हुन्छ,
त्यसबेला तपाईँले पढाउनु होला।" मेरो त फेरि गला बस्यो, शब्द निस्केनन्। उही
हो आँखाबाट पानी ओरालो झर्न थाल्यो। शुकुले मेरो हात लिएर धेरैबेर सुम्सुम्याए।
मैले अनन्त प्रेमको स्पर्श पाएँ। म धन्य भएँ।
अनि
एक दिन शुकु फुर्र अमेरिका उडे। उनलाई रोक्ने मेरो सामर्थ्य थिएन। मलाई थाहा छ, अमेरिका
अवसरहरूको मुलुक हो। त्यहाँ शुकुले पर्याप्त अवसरहरू पाउनेछन्। म यहाँ नेपालमा
बसेर शुकुको सफलताको कामना गरिरहेको छु। यिनको स्पर्शको नियास्रो लागिरहेको छ मलाई।
परमेश्वरले मलाई पक्कै मौला देलान्। एक पटक फेरि शुकुलाई अँगालामा बाँध्न मन छ.....
No comments:
Post a Comment