Saturday, January 2, 2021

तपाईँ हाम्रो आफ्नै कथा - पसिनाका पाइला

 

अति शालीन र नम्र व्यक्तित्व लक्ष्मण गाम्नागे। व्यङ्ग्य विधाका स्थापित र लोकप्रिय लेखक। व्यङ्ग्यका अनेकौँ पुस्तकहरू प्रकाशित छन् उहाँका। पछिल्लो समय मञ्जरी प्रकाशनले उहाँको उपन्यास प्रकाशित गरेको छ- "पसिनाका पाइला।"

तपाईँ हामी आम नेपाली पसिना बगाएरै हात मुख जोड्छौँ। हामी नेपालीमा महत्त्वाकाङ्क्षाको चढ्नै नसकिने पहाड पनि छैन। हामी सरल छौँ। अर्कालाई हानी गर्ने गरीको छलकपट हामीमा कमै पाइन्छ। मेहनत गरेर पसिनाकै कमाइ खाने तपाईँ हाम्रो कथा हो पसिनाका पाइला।

पसिनाका पाइला हामी आम मानिसको कथा हो।

तपाईँले कुनै समयमा काठमाडौँमा डेरा लिनु भएकै होला। घरपट्टिले बाहिरको जुत्ता गनेर अनेकथरी भनेकै होलान्। ट्वाइलेट जाम भएर पाउनु सम्मको दुःख पाउनु भएकै होला। अनि भान्साघरमा भात खान बसेका बेला पल्लो घरको ट्वाइलेट ह्वालाल्ला आवाज आएकै होला। अझ सुत्ने कोठाको झ्याल खोल्दा कैयन् महिनासम्म ढल गनाएको खप्नु भएको होला। अनि पानी थाप्न कत्तिको दुःख पाउनु भएको छ? डेरा खोज्दा कति सास्ती खेप्नु भएको छ? यस्तै काठमाडौँ उपत्यकामा डेरा बस्ने मानिसका कैयन् देखिएका नदेखिएका कथाहरू भएको पुस्तक हो पसिनाका पाइला।

अनि अलिक पिलन्धरे, अन्याय परेर पनि सहेरै बस्ने, आफ्ना कुरा खुलेर भन्न नसक्ने, दुःखै खेप्ने तर मुख नखोल्ने, एउटा डरपोक मान्छेको कथा पनि हो पसिनाका पाइला। श्रम शोषण गर्न पल्किएका चिनारूहरूको फन्दामा परी आफ्नो काम गर्न नभ्याउने, किन भनेर प्रश्न गर्न नसक्ने तर युवा वयमा असाध्यै राम्रो पढाउने शिक्षकको कथा हो यो। विद्यार्थीहरूले असाध्यै मन पराएको, गाउँलेहरूले असाध्यै आदर गरेको र किशोरी(हरू)ले औधी प्रेम गरेको शिक्षकको कथा हो यो।

आफन्तबाट हुने यौन हिंसासँग डटेर लड्ने, आफ्नो प्रिय व्यक्तिलाई जे परे आए पनि जोगाउने, असल बाटो देखाउने, अथक परिश्रम गर्ने महिलाको कथा पनि यहीँ छ। आफ्नै बुहारीमाथि कुत्सित दृष्टि राख्ने, आफूभन्दा साना र महिलाहरूलाई थर्काएरै तह लगाउन खोज्ने, र गाउँठाउँमा बडप्पनको धाक लगाएर बस्न खोज्ने पीडकको कथा यहाँ छ।

अनि यहाँ छ, किशोर वयमा संयोगले आदर्श चिप्लिएको तथा गर्भ बसेपछि, गर्भपात गर्न नमानी बच्चा हुर्काउने आँटी महिलाको कथा छ यहाँ। अनि छ राजनीतिमा लागेर उच्च आदर्शमा बाँच्ने, पञ्चायत कालको बर्बरता र हिंसा सहेर लोकको भलो गर्ने, र गर्भवति किशोरीसँग बिहे गरी जीवन बिताउने मानिसको कथा पनि।

आफ्नो दाजुले बोल्न नसकेका ठाउँमा तर्क गरेर जित्ने, असाध्यै निडर र आत्मविश्वासी केटीको कथा छ यसमा।

अनि, तपाईँ हाम्रो सपनाको देश, जपनाको देश, आफू जान नसकेका कारण छोरा छोरीलाई सगर्व पठाउने देश, अमेरिकाको पनि अलिकति कथा छ। तर जे छ रोचक छ।

सुन्दर, तान्ने भाषामा लेखिएको आम नेपालीको कथा छ यसमा। यसले ठूल्ठूला दर्शन छाँट्दैन, ज्ञानको असीमित भण्डार पस्किँदैन र सबैभन्दा ठूलो कुरा यसले तपाईँ हाम्रै कथा भन्छ। यसले तपाईँ हाम्रै जीवन लेखेको छ। पात्र र परिवेश अलिकति यताउति होलान्।

धेरै कुरा भन्न सकिन्छ पसिनाका पाइला बारे, तर सबै मैले भनेँ भने किताब कसले पढ्ने नि.... त्यसैले यति नै भनेँ। पढ्दै जानुस् र रमाउँदै जानुस्। प्रिय मित्र गाम्नागेजीले अर्को उपन्यास सुरु गर्नुभयो कि भएन.... ल है। ढिलो भयो है...।

 

 

No comments:

Post a Comment