आस नारायण, मैले
तिमीलाई कक्षा तीनमा पहिलो पल्ट चिनेँ। किन चिनेँ थाहा छ ?
तिम्रो मुस्कानले। तिमी यति राम्ररी मुस्कुरायौ कि तिम्रो कालो अनुहारमा साना
दाँतका लहरहरू बिछट्ट राम्रा देखिए। मैले नाम सोधेँ, र सबैले एकैचोटी भने - "आस
नारायण चौधरी।"
म तिमीहरूलाई विज्ञान
पढाउन कक्षा तीन छिरेको थिएँ। सँधै छिरेँ, र हरेक दिन तिम्रो मुस्कानले मोहित
थिएँ। तिम्रो एउटा गजबको बानी थियो, त्यसबेला। तिमी पेन्सिल चबाएको चबायै गर्थ्यौ।
एक दुई दिन त म निकै रिसाएँ पनि, झोक्किएँ पनि, किनकि लेख्ने काम दियो तिम्रो
पेन्सिलै हुँदैनथ्यो। सबै कराउँथे, "सर यसले खाएरै सक्छ।" हुन पनि
त्यस्तै हुन्थ्यो। तिमीलाई घरबाट नयाँ पेन्सिल दिएर पठाउनु हुन्थ्यो, तिमी आउँदा
आउँदै आधीउधी चबाइ सक्थ्यौ।
मैले कक्षा तीनभरिमा
तिमीले लेखेर कक्षाकार्य वा गृहकार्य बुझाएको धेरै अनुभव गर्न पाइनँ। किनकि तिमी
पेन्सिल चबाइहाल्थ्यौ। तिम्रा झोलामा कापी र किताब त हुन्थे तर पेन्सिल...। तर
तिम्रो मुहारको त्यो मुस्कान कहिल्यै धमिलिएन। मैले जति कराउँदा पनि तिमी
मुस्कुराएकै हुन्थ्यौ। तिम्रो यही गजबको बानीबाट म प्रभावित थिएँ। तिमीले नपढ्दा
वा नलेख्दा झोँक चल्थ्यो र कहिलेकाहीँ अगाडि बोलाएर
उभ्याउँथे पनि। तर तिमी सजाय पाउँदा पनि मुस्कुराइरहन्थ्यौ। एक दुई पल्ट त तिमीलाई
मैले पेन्सिल दिएँ पनि। तर ती बिचरा पेन्सिल पनि तिम्रा दाँतको शिकार भए।
खै, तिमीले मैले पढाएको विज्ञान तिमीले कति बुझ्यौ
थाहा भएन तर तिमीले कक्षामा ‘यस सर’ भन्न कहिल्यै छाडेनौ। म सधैँ अङ्ग्रेजीमा
चिच्चाइरहने, तिमी सुनिरहने। लेख्न त तिमीले पेन्सिल नभएकैले पाएनौ। तर तिमीले
मेरा कुरा धेरै सुन्यौ जस्तो लाग्छ। अनि अझ गज्जबको बानी थियो तिम्रो। तिमीले मसँग
कक्षा तीनभरि नेपाली बोलेनौ। जति अङ्ग्रेजी तिमी जान्दथ्यौ त्यति नै प्रयोग गऱ्यौ
तर अरू साथीहरूजस्तो, अप्ठ्यारो पर्ने बित्तिकै नेपालीमा बोलेनौ। मैले अङ्ग्रेजीमै
पढाइरहेँ, तिमीले अङ्ग्रेजीमै सुनिरह्यौ। तिम्रा धेरैजसो उत्तरहरू "यस
सर" वा "नो सर" हुन्थे।
अनि त्यसपछि पूरै एक
वर्ष तिमीसँग भेट भएन।
तिमी कक्षा चारमा
पुग्यौ। म पनि माथि उक्लेर हेडसरको कुर्सीमा बसेँ। अब मेरा जिम्मेवारी बढे। मैले
पढाउनुको साथसाथै धेरै काम गर्नुपर्ने भयो। कहिलेकाहीँ कक्षा चारमा छिर्दा, तिमी
त्यसरी नै मुस्कुराइरहेका हुन्थ्यौ। खै मैले तिमीले पेन्सिल चबाउन छोड्यौ कि
छोडेनौ भनेर सोधेँ पनि। तर तिमी त्यसरी नै मुस्कुरायौ। जबाफ अरूले नै दिए
"छोडेको छैन, सर !"
पाँचमा म अर्कै
अवतार लिएर कक्षामा प्रवेश गरेँ।
नेपाली पढाउन आएको
भन्दा तिम्रा साथीहरूले पहिले त पत्याएनन्। तिमी पनि छक्कै परिरहेका थियौ। तिमीहरूलाई
पत्याउनै पऱ्यो। तर पाठ्यपुस्तक “सजिलो नेपाली माला” बोकेरै म छिरेको थिएँ, अनि
नेपाली नै बोलीरहेको थिएँ। हेडसरले नेपाली बोलेको सुन्दा तिमीहरूलाई अचम्म
लागिरहेको थियो। तिमी त खै तिम्रा साथीहरू चाहिँ, मैले नेपाली पढाएको भन्दा पनि
हेडसरसँग नेपाली बोल्न पाइने भयो भनेर खुसी थिए। धेरै जनाले एकै चोटि कति हो कति
बोल्न खोजे। एकअर्काको पोहोर-परारदेखि साँचेको पोल लगाउन थाले। मलाई झन्डै सम्हाल्नै
गाह्रो पऱ्यो। तर तिमी आफ्ना ठाउँमा
त्यसरी नै मुस्कुराइरहेका थियौ। मैले तिमी छेऊ गएर भनेँ – “आस नारायण, सञ्चै छौ ?”
तिम्रो मुस्कानमा रत्तिभर कमि आएन। तिम्रो त्यही हाँसो को त म कायल थिएँ। तिमीले लजाउँदै
भन्यौ – “हजुर ।”
तिमी मज्जाले हाँस्यौ
र मसीले लतपतिएको हातले कलम मेरो अगाडि तेर्स्याइदियौ। ओहो मैले पो बिर्सेको
रहेँछु। कक्षा पाँचदेखि त कलम चलाउन पाइन्छ नि। तिमी पनि त कलम चलाउन पाउने भएछौ।
अब चाहिँ तिम्रो पेन्सिल चबाउने बानी छुट्ने नै भो। कलम त पक्कै टोक्तैनौ होला है
!
तिमीलाई अनौठो पनि
लाग्यो होला, कक्षा तीनमा “लिभिङ थिङ्ग्स” र “नन-लिभिङ थिङ्ग्स” पढाएको सर यहाँ
आएर नेपाली कविता पो पढाउन थाल्यो बा। हो आस नारायण, पहिले त मलाई पनि अचम्मै
लाग्यो, तर तिम्रो मुस्कान जत्तिकै प्यारो छ नि त मेरा लागि मेरो भाषा। जसरी
तिमीले आफ्ना सेता दन्तलहरहरू देखाउँदै मुस्कुराउँछौ, म पनि त्यत्तिकै मनमा
उज्यालो लिएर नेपाली कविता वाचन गर्छु नि हैन ?
अब तिम्रो-हाम्रो
अर्को साइने बस्यो नि हैन ? नेपाली सर र विद्यार्थीको। मैले देखेँ कक्षा पाँचसम्म
आइपुग्दा तिमीमा गज्जबको उर्जा थपिएको थियो, अलिकति चकचक पनि थपिएको थियो, चञ्चलता
बढेको थियो र तिम्रो त्यो प्यारो मुस्कान पनि बढेको थियो। अलिक पछि थाहा पाएँ, तिम्रो
पेन्सिल चबाउने बानी अब कलम खेलाउने बानी परिवर्तन भएको रहेछ। पेन्सिल समातेका
तिम्रा सफा हात अब नीलो मसीले पोतिन थालेका थिए।
“आस
नारायण, कक्षाकार्य गऱ्यौ ?” भनेर म सोध्थेँ।
“सर, मसी सकियो ।”
भन्दै तिमी नीलाम्मे हात देखाउँथ्यौ। तिम्रो कलमको तल्लो भाग चाहिँ कहाँ हुन्थ्यो
कुन्नि ? तिम्रो जोमेट्री बक्समा तीनचारवटा कलमका बिर्का चाहिँ हुन्थे। वर्षभरिमा
तिमीले धेरैवटा कक्षाकार्य गरेनौ। अँ तर अचम्म, गृहकार्य चाहिँ तिमी कहिल्यै
नछुटाई गर्थ्यौ। तिम्रा अक्षर ठूल्ठूला थिए। ह्रस्वदीर्घमा
धेरै गलती हुँदैनथ्यो। तिम्रो स्मरण शक्ति पनि असाध्यै राम्रो थियो।
तर तिम्रा कलम
र मसीले पढाइतिर ध्यान दिन दिँदैनथे।
कहिलेकाहीँ त म वाक्कदिक्क हुन्थेँ। तर यसो हेऱ्यो, तिम्रो अनुहारको हाँसो जहीँको त्यहीँ हुन्थ्यो।
अहिले तिमी कक्षा छमा छौ। म तिम्रा कक्षामा अब आउँदिनँ। कक्षा त के अब स्कुलमै आउँदिनँ। आस नारायण
तिमीलाई मैले कहिल्यै नबिर्सने गरी मेरा हृदयमा राखेको छु। हुनसक्छ तिमीले अहिले
सम्झिए पनि, पछि बिर्सौला। हाम्रा जिन्दगीका बाटै फरक भए। तर म तिमीलाई त्यही
हँसिलो आस नारायणका रूपमा सम्झिरहने छु।
विद्यार्थीको मायामा लेखिएको यो संस्मरणात्मक निबन्धले बडो कठोर आक्रमण गरेको छ हाम्रो शिक्षकको व्यवहारमाथि । शिक्षकका सीमाहरु स्पष्ट भनिएको छ । हो, एउटा कक्षाका त्यतिधेरै विद्यार्थीका बीचमा उसका समस्या, उसका सीमा एउटा शिक्षकले कसरी समय दिएर बुझोस्, कसर िसमाधान निकालोस् ? बलशाली संस्मराणत्मक निबन्ध ।
ReplyDeleteधन्यवाद मित्र। मीठो टिप्पणीका लागि।
DeleteYo lekh padera aakha bhari aasu ayo...
ReplyDeleteAash narayan, timi sadhai muskurai rahanu :)
Thank you Barsha, The memories of students like you can never be erased from the heart. They remain there to make we teachers alive. That's our sole property. Love you and miss you so much.
Deleteगजब छ सर! हुन त म येस्तो लेख पढ़ने मान्छे त होइन तर हजूरको लेखन पढ्न सुरु गरे पछि बन्द गर्नै मन गरेन। आश नारायण काे हासेा सङ्ग-सङ्गै, हरेक शब्दमा पिडा पनि उत्तिकै महशुस गर्दै थिए। एकदमै मन छोयो।
ReplyDelete-रितेश-
धन्यवाद रितेशजी, पढेर प्रतिक्रिया दिनुभएकामा। यिनै त हुन् हाम्रा सम्झनाहरू, सम्पत्तिहरू जसले हामीलाई जीवन्त बनाउँछन्। फेरि धन्यवाद।
Delete