Saturday, February 25, 2017

सागर पारी - हाम्री छोरी

उनको नाम रहमा जुल्मा। उनको घर इन्डोनेसियाको सुराबाया सहर। उनको धर्म इस्लाम। उनी मेरी छोरी। पूर्वी नेपालको उपाध्याय बाहुनकी छोरी कसरी इन्डोनेसियाली मुस्लिम केटी हुन गई ?

कथा तीन वर्ष अघि सुरु हुन्छ। २०७१ सालको जेठताका हाम्री छोरी नेहाको मित्रता रहमा जुल्मासँग कुनै सामाजिक सञ्जालमार्फत भयो। उनीहरूले आफ्ना विचारहरू आदानप्रदान गरे, पढेका पुस्तकहरूको चर्चा गरे र आफूलाई मन पर्ने ठाउँहरू पनि एकअर्काले थाहा पाए। त्यसपछि, रहमा भदौमा नेपाल आउने भइन्, नेपाल घुम्नका लागि। उनले नेपालमा नेहासँग भेट्न खोजिन्। उनी पहिले काठमाडौँ आइन् र नेहासँग बस्ने र खाने ठाउँ मिलाइदिन आग्रह गरिन्। छोरी नेहाले कुरा हामीलाई सुनाइन्, र हामीले हाम्रै घरमा बोलाऊ भनी सहमति दियौँ।  त्यसरी उनी इटहरी र इलाम आइन्।

हुन त मैले उनको हिजाब लगाएको फोटो मात्र एकपल्ट हेरेको थिएँ, तर उनलाई देख्नेबित्तिकै मलाई लाग्यो यिनी त हामीसँग वर्षौँदेखि परिचित छिन्, लाग्छ हाम्रै छोरी हुन्। मलाई लाग्यो मेरी अर्की पनि छोरी भइन्। सम्भवतः ईश्वरले पठाउनु भयो। रहमा हामीसँग डेढ महिना बसिन्, हाम्री छोरी भएर, बाआमाकी नातिनी भएर। हामीसँगै दसैँ मनाइन् ।उनी एक महिना बस्दा हाम्रो परिवार की अभिन्न अङ्ग भइन्। बस् बाँधियो एउटा धागो प्रेमको। हामीलाई धर्मले छेकेन, देशको सीमानाले छेकेन, समुद्रले छेकेन। मेरा बुबा, व्यासमा बसेर दसौँपल्ट पुराण वाचन गरेका पण्डित हुनुहुन्थ्यो। हिजाब लगाएकी रहमालाई घरभित्र नपस भन्नु भएन। हामी सुत्ने ओछ्यानमा नसुत भन्नुभएन। भान्सामा सँगै बसेर खाना नखाऊ पनि भन्नु भएन। रहमालाई घरको मन्दिरकै छेउमा राखेर दसैँको टीका लगाइदिन्न भन्नु भएन। ठूलो स्नेहले टीका लगाइदिनुभयो। आफ्नी नातिनी मानेर। संस्कृतका श्लोक पढेर आशीर्वाद दिनुभयो। त्यसको अङ्ग्रेजी अर्थ पनि लगाइ दिनुभयो। रहमा विधिवत उहाँकी नातिनी भइन्। हाम्री छोरी भइन्। हामीले सँगसँगै सबै आफन्तहरूकहाँ गएर टीका लगायौँ। दसैँमा मीठो मसिनो खायौँ। आखिर उनी हिँड्ने दिन पनि आयो। उनले काठमाडौँ गएर, अन्नपूर्ण पदयात्रा गर्ने कुरा गर्दैथिइन् तर उनी हिँड्न मानिरहेकी थिइनन्। तर उनलाई जानै थियो र हामीले उनलाई विदा गऱ्यौँ। फिक्कलमा बस चढाउन सबै आयौँ। माघेको घरबाट हिँड्दै खेरी उनको अनुहार मलिन थियो। फिक्कलमा बसको सिटमा बसालिसकेपछि हिँड्न थाल्दा, उनी ग्वाँग्वाँ रून थालिन्। हाम्रो पनि हृदय पनि रोयो। मैले उनलाई अँगालामा बाँधे र भने - "नरोऊ छोरी। अब तिमी हाम्री छोरी हौ, नेपालमा तिम्रो घर छ। बाबुआमा छन्, दाजुबहिनी छन्। हजुर्बाहजुर्आमा हुनुहुन्छ। जहिले जतिबेला मन लाग्छ तिमी उडेर आऊ, कुदेर आऊ। हामी तिम्रै प्रतिक्षामा बस्नेछौँ। कुनै बेला मिल्यो भने हामी पनि इन्डोनेसिया आउँला। हाम्रो दोस्रो घर जाऊँला।"
भन्न त भने त मलाई पनि आफ्ना आँसु रोक्न गाह्रो भइरहेको थियो। आँखाभरी आँसु भरेर गह्रौँ मन लिएर बसबाट ओर्लिएँ। चस्माको च्यापबाट चियाएर हेरेँ, रहमा रोइरहेकी थिइन्। एक मन त काठमाडौँसम्म पुऱ्याउन जाऊँ कि जस्तो पनि लाग्यो। तर तुरुन्तै त्यो सम्भव थिएन। उनी काठमाडौँ गइन्। नेपालमा हुन्जेल दिनको दुईपटक फोन गरिन्। अनि उडिन् इन्डोनेसिया। उनी त्यहाँ पुगेपछि, सम्बन्धका नयाँ आयामहरू सिर्जना भए, उनले नेपालमा बाआमा भेटेको, दाजुबहिनी भेटेको, हजुर्वाहजुर्आमा भेटेको कुरा गरिन्। यसरी हाम्रो अर्को घर बन्यो इन्डोनेसियाको सुरबाया सहर। यसरी रहमाको अर्को घर बन्यो नेपालको माघे गाउँ, इटहरी सहर।

रहमालाई भन्न त भनियो कुनै बेला आइहालिन्छ कि इन्डोनेसिया भनेर। तर कहिल्यै इन्डोनेसिया पुगिन्छ वा पुगिन्न निधो थिएन। भविष्य भन्ने क्षमता हामीसँग छैन पनि। तर अल्लाहले हाम्रो प्रार्थना राम्ररी नै सुनेजस्तो लाग्यो। यसवर्ष लगभग साउनतिर इमेलमा भारतको छत्तीसगढबाट निम्तो आयो - सृजन सम्मानले तेह्रौँ अन्तराष्ट्रिय हिन्दी सम्मेलन बाली, इन्डोनेसियामा गर्दैछ, सादर उपस्थितिको कामना गर्दछौँ। हत्त न पत्त बाली कहाँ पर्छ, सुरबाया देखि कति टाढा, राजधानी जकार्तादेखि कति टाढा भन्दै गुगल म्याप हेर्न थालियो। बाली अलग्गै टापु रहेछ। छोरी रहमा फेरि जकार्तामा कार्यरत थिइन्। आफ्नो कार्यक्रम बालीबाट अन्त नजाने किसिमको थियो। एक मन लाग्यो भेट नहुने नै रहेछ। रहमालाई म आउने कुरा सुनाएँ। उनका खुसीका पखेटा निस्किएका थिए। उनले जसरी पनि बाबालाई भेट्न बाली आउँछु भने पछि अलिक ढुक्क लाग्यो।

प्रतिक्षाका पलहरू समाप्त हुनेवाला थिए। बाली पुगेको दोस्रो दिन, दिनभरी कार्यक्रमहरूमै व्यस्त भएँ। साहित्यिक कार्यक्रममै मैले मेरी छोरीको घर इन्डोनेसियामा छ भनेँ। तीनछक्क परेका विभिन्न देशबाट आएका साहित्यकारहरूको उत्सुकता शान्त पार्नका लागि मैले माथिकै कुरा दोहोऱ्याएँ। मेरी छोरी मलाई भेट्न आउँदैछन् पनि भनेँ। प्रेम, स्नेह र अपनत्वलाई केले पो छेक्दो रहेछ र ? सुन्ने जति सबै आश्चर्यचकित भए। म भने छोरीसँगको मिलनको पल सम्झिएर मनमनै रमाइ रहेँ। त्यस दिन त उनी आउन भ्याइनन्। तर अर्को दिन बिहान आइपुगेकी रहिछन्। हामी बसेको होटलमा आएर बिहानै देखि भेट्न खोजेकी रहिछन्, तर हाम्रो कार्यक्रम अन्त जाने भएकाले दिउँसो भेट्न सम्भव भएन। कार्यक्रम सकेर होटल फिर्दा आँखाहरू गेटतिर फर्काएर उभिइरहेकी थिइन्। आँखामा नेपालको आफ्नो बाबालाई भेट्ने उत्कट अभिलाषा प्रष्ट देखिन्थ्यो। परैबाट देख्नेबित्तिकै "बाबा" भनेर बोलाइन्। म पनि दौडिँदै गएर उनलाई स्नेहले भरिएको अँगालामा बाँधे। फिल्मको दृश्यजस्तो लाग्ने यस वास्तविक घटनामा, होटल परिसरमा भएका पर्यटकहरूले देखे - एउटा नेपाली बाबु र इन्डोनेसियाली छोरीको अभूतपूर्व मिलन। रहमालाई भेट्दाको क्षणको बयान म कसरी गरूँ ? शब्दै छैनन्। हिँड्ने बेलामा एउटा मीठो वाचा गरिन् - आगामी जनवरी २०१८ मा नेपाल आउने। हृदयमा सानो मायाको दियो बालेर रूँदै हिँडिन् मेरी छोरी। उनको जकार्ताको फ्लाइट छुट्नै लागेको थियो।
-0-

5 comments:

  1. Beautiful story. Beautiful hearts. Beautiful words.

    ReplyDelete
  2. We never know when and from where the eternal love evolves ! But, then, it overpasses all the boundaries...and beyond the horizon. Beautifully presented -what a harmony between author Kumud and my dear friend Kumud 'the way I know him'. Hats up ! l

    ReplyDelete
    Replies
    1. Thank you dear friend for beautiful words of appreciation.

      Delete
  3. सार्है रम्रो कुसल प्रस्तुती सत्यतामा आधारित एउटा मिठो अनुभव र मिठो दुखाईको । पाठकले आफैले अनुभूत गर्ने शैलीमा।

    ReplyDelete