"आख्यान लेखन
बृहत्तर सत्यमा पुग्नका लागि बुनिने झुटहरूको शृङ्खला हो।" - खालिद हुसेनी
जीवन धेरै कुरा हो र एकएक वटा जीवन सबैले पाएका हुन्छन्। सबैको जीवन एउटै हो र धेरै अलग पनि हो। यो जीवन
शकुन्तला उर्फ सकूसँग पनि हुन्छ, दुष्यन्त उर्फ दुस्सिन्तेसँग पनि हुन्छ। यी दुईका
बाल लीलाहरूसँग जीवन झनै मुस्कुराएर बाँच्छ। अनि किशोरवय र वयस्क उमेरका
उतारचढावहरूबीच जीवन तछारिएर, चिल्लिएर, उम्लिएर जीवन उम्दा बन्छ। अनि भुस्कलवाको
साँडे, वा केटाहरूले मिसलाई अभिवादन गर्न आविष्कार गरेको नयाँ सम्बोधन, वा गाउँमा
वस्तु चराउँदा दुस्सिन्तले भनेका कथाहरू, वा सकूले दुस्सिन्तसँग "भरत"
माग्दै गरेको लडीबुडी, वा रिसाएर च्याँट्ठिएर गरेका लीलाहरू, वा फडिन्द्रे र सकूको
बिहे, वा सकूको पुलिसको जागिर ...., ...., .... नै जीवन्त जीवन हुन्। यी सबै झुटहरूलाई
दिनेशले बृहत्तर सत्य खोज्नका लागि बुनेका छन्। "सीमारेखा" सत्यतिर
पुऱ्याउने झुटहरूको ताना-बाना हो।
दिनेशका पात्र
अभूतपूर्व रूपले सफल छन्। त्यस्तै खलपात्र पनि। सकूले दुस्सिन्तलाई गरेको प्रेमलाई नै
हामी पूर्वेलीहरू साँचो अर्थमा प्रेम भन्छौँ। हामीकहाँ प्रेम गर्ने मानिसले आफ्नो
प्रेमी वा प्रेमिकामा शारीरिक सुन्दरता वा अन्यान्य विशेष गुण खोज्दैन। हामीकहाँको
प्रेममा कुनै सर्त हुँदैन, कुनै स्वार्थ हुँदैन। हाम्रो प्रेम हृदयबाट बग्छ, भलै
त्यो हृदयलाई विज्ञानले 'ब्लड पम्पिङ अर्ग्यान' किन नभनोस्। हामी मस्तिष्कले होइन,
हृदयले नै प्रेम गर्छौँ।
दुस्सिन्त र सकूसँग
देखिएका पात्रहरू अनेक छन्, आफ्नो भूमिकामा ठ्याक्कै मिल्ने। पुलिस पुलिसिया नै
देखिन्छ। शिक्षक शिक्षक नै। शिक्षक पात्रका "चरित्र"मा भने विविधता छ।
मणिमुकुन्द सइसाप, भावना मिस आदि जीवन्त छन्। बस एक जना "आभा" चाहिँ कतै
लुकेकी हुन् कि भनेझैँ लाग्छ।
सुरुवाले नामको पात्रको
पुनरागमनले कथामा अत्यन्त रोचक मोड दिन्छ। थोरै भूमिका भएको तर बिर्सिनै नसकिने पात्र बन्छ सुरुवाले।
चिमामान्दा अदिचीले
भनेको "डेन्जर अफ सिङ्गल स्टोरी"बाट पुस्तक राम्ररी बचेको छ।
दुस्सिन्तेले सकूलाई पहिले बेवफा ठाने पनि पछि सकूका उद्गारले ऊ प्रेमले छताछुल्ल
बन्छ। सिक्काका दुई पाटाहरूले बनेको न हो जीवन।
सकूका बा र फणिन्द्रेको
खलनायकीले घरीघरी आङ सिरिङ्ग पार्छन्। दुष्ट्याइँमा हदैसम्म पर जानसक्ने क्षमता
राख्ने यिनीहरूको प्रस्तुतिकरणले मलाई चाहिँ रिसले दाह्रा किट्ने बनायो।
मलामी गएकाहरूको
संवेदनहीन कुराकानीले हामीबीचबाट परानुभूति बिलाएर गएको आभास दिलाउँछन्।
घेराबनी, धनगढी, इटहरी
र अन्य स्थानहरूको चित्र कस्तो बनेको छ, त्यो चाहिँ पाठकले उपन्यासै पढेर पत्ता लगाउनु
पर्ला ? मैले यो उपन्यासको कथा भनेको हो र ? हैन नि !
स्याबास दिनेश ! एक
अँगालो शुभकामना पनि !!
कमै पाठकहरु लेखकको मनको छेउमै पुग्छन् । सीमारेखाको रचनाकाल २०६३ असोज कार्तिकदेखि हो, जुन बेला मित्र कुमुद र म सँगै काम गथ्र्याैँ । सँगै काम गर्नुपर्दा हाइ, हेलो, सन्चोबिसन्चोमात्र सोधेर चित्त बुझाएका कैयौँ दिन छन् हाम्रा । सँगै अङ्कमाल गरेर हिँडेका दिन पनि छन् । आँखा जुधाएर मुस्काउँदै छुट्टिनुपरेका क्षण पनि छन् । अन्तरङ्ग कुरा भएका क्षण पनि छन् । उपन्यास सीमारेखा मैले बाल्यकाल र किशोरवयमा देखेको संसार पनि आएको छ, कल्पनाको संसार त आउने भइगो । उसबेलाको घेराबनी आज उस्तै छैन, उसबेलाको उखुटोला पनि उस्तै छैन । तर हाम्रो मनभित्रको दुनियाँ उस्तै छ । सीमारेखाले मेरो कल्पनाको एक युग कोरेको छ, मेरो भोगाइको एक युग पनि बोकेको छ । तर हामीले कहिल्यै यस उपन्यासको कथामा छलफल गरेनौँ। कुमुदलाई उपन्यास लेखिँदै छ भनेर पनि खासै भनेन लेखकले । भन्यो भने लेखिरहने झन्झट रहँदैन भनेर कवि मनु मन्जिल भन्थे । एकदम भनूँ भनूँ लागेका कुरा हितैषी साथीलाई मुखले भन्यो भने लेख्नका लागि विषय रहँदैन रे । जे भए पनि कुमुदले यस उपन्यासको चिरफार गरेर सबैका सामु उदाङ्गै पारेर ल्याइदिए, अब कथाभित्र गोप्यता केही बाँकी रहेन । उपन्यासमा सकू प्रोटागोनिस्ट छे, सहायक छ दुष्यन्त । तर दुष्यन्तकै परिवेशले भावना, मणिमुकुन्द सइसाप, सुरुवालेहरु छन् । आभा देखिन्न उपन्यासभरि, उसको छायामात्र आउँछ । कुमुदले जे देखे, लेखकको अन्तरकुन्तरसम्म पुगेर देखे । लेखकले भोगेको जीवनमा कुमुदको साथसहयोग एक जुगसम्म थियो, आज पनि घटेको देखिँदैन । त्यही भएर हो उनले लेखकको लेखकीयतालाई यति सारै चिर्न सकेका । साधुवाद साथी कुमुद । हाम्रो मित्रता अझ उचाइमा पुग्नेछ ।
ReplyDeleteप्रेमका ओजिला शब्दहरूका लागि साथी दिनेशलाई धन्यवादमा सीमित राख्नु अन्याय हुन्छ। पछि कुनै दिन, सडकमै ती काली आमैले पोलेको मकै खाँदै गफिनु पर्ला... हुन्न त !!
Deleteआजसम्मन् लेखकलाई मैंले पढेको छैन। कुमुद सरले यति लेखेपछि नपढी मन के मान्ला र? बाँकी पढिसकेपछि।
ReplyDelete