Monday, May 28, 2018

छोपछाप अर्थात् छताछुल्ल



किताब चैँ गज्जब लेख्नु भएछ हौ लक्ष्मणजी !

 नलुकाई भन्नुपर्दा व्यङ्ग्य मलाई पन पर्ने विधा थिएन। त्यसका पनि कारण छन्। सबैभन्दा प्रमुख त व्यङ्ग्य भनेर लेखिएका रचनाहरूमा हुने भाषिक दीनता। तल्लो स्तरको अभिव्यक्ति, अश्‍लीलता र भद्दा लाग्ने हरफहरूले पढ्नै मन नलाग्ने। अनि पढिहाले पनि हाँस पनि नउठ्ने। भैरव अर्याल पछि लेखिएका व्यङ्ग्यहरू खासै पढिएनछ। यसलाई आफ्नै कमजोरी मान्छु।


साप्ताहिक नेपालमा 'झटारो' स्तम्भका लेखहरू भने यदाकदा रुचिसाथ पढ्ने गर्थेँ। तर त्यही पनि नियमित थिएन। कारण विविध थिए। त्यतातिर नजाऔँ। तिनै स्तम्भकार लक्ष्मण गाम्नागेको व्यङ्ग्य कृति "छोपछाप" पढिसकेपछि भने व्यङ्ग्यका बारेमा मेरो विचारले "युटर्न" लिएको छ। यति राम्ररी व्यङ्ग्य लेखिन सकिँदो रहेछ। आहा !! साँच्चै लोभलाग्ने !!

---

छोपछाप एउटा उच्चस्तरको अभिव्यक्ति भएको व्यङ्ग्यकृति हो। "फुहडपन"बाट कोसौँ टाढा। पढ्दा मज्जा आउने। व्यक्तिगत, जातिगत, क्षेत्रगत, देशगत, ... आक्षेप कहीँ कतै नभएको। हाम्रै परिवेश र विकृतिमाथि ठ्याक्क घनले हिर्काएको। यसरी हिर्काएको कि कहीँ कतै पनि विमति नहुने। खुत..खुत.. गरेर एक्लै हाँस्न मिल्ने(बसमा यात्रा गर्दा र अस्पतालमा बिल तिर्न लाइनमा बस्ता पनि म मान्छेले थाहा पाउने गरि खुत..खुत.. हाँसेको छु। अझ शौचालयमा सम्झिँदै हाँस्तै पनि गरेको छु)। दुईचार जना जम्मा भएर अलल्लिँदै हास्न पनि सकिने। हामी सपरिवार बसेर दुई तीन लाइन पढ्दै हाँसेको हाँस्यै पनि गरेका छौँ। यी हरफहरू लेख्दा पनि हाँसै उठिरहेको छ। अनि नि लक्ष्मणजी, तपाईँ चाहिँ कत्तिको हास्नुहुन्छ नि ?

मोबाइल फोनको नेटवर्कका प्रतापले तपाईँले "जमल"लाई "जङ्गल" सुनेको चाहिँ साह्रै मन पऱ्यो। अझै पनि कहिलेकाहीँ यो "फोरजी" नेटवर्क पनि त्यस्तै त हुन्छ नि। अनि यो घटना सम्झेर तपाईँ र भाउजू हाँस्नुहुन्छ कि हुन्न। मेरो चाहिँ यो हाँस्ने स्थायी साथी बन्यो है अब। भूमिकाको भुमरीमा हाँस्याहाँस्यै हुने भइयो अब।

अनि अधिकारी पधिकारी... अहो...! हामी पनि केटाकेटीमा ठ्याक्तै त्यस्तै त थियौँ। हाम्रामा अलिक भिन्न थिए भन्ने तरिका। जस्तै "अधिकारी पधिकारी पादको भारी, तीन सय जन्तीलाई भोकले मारी।", "अचार्जले अचार कुट्यो पोखरेलले पोख्यो, निरौलाले निहुँ खोज्यो गोतामेले गोद्‌यो।" हाम्रा राई साथीहरू भन्थे - "बाहुन काठा लपलपे, पानीको धारा तपतपे।" हामी भन्थ्यौँ - "राई फाक्चे किरूवा, अलैँचीको बिरूवा।" .. अरू कति हो कति। त्यो कुनै कपट, रिस, राग, विद्वेष, केही पनि नभएको बचपन ठ्याक्कै आँखै अगाडि आयो। कुनै जातिगत गन्ध थिएन, वैर थिएन। हामी सबै अँगालो हालेर यी हरफहरू गाउँदै हिँड्थ्यौ। यति राम्ररी बचपनको हाँसो ल्याइदिएकामा लक्ष्मणजीलाई जति धन्यवाद दिए पनि नपुग्ने भो अब।

अनि नि लक्ष्मणजी मेरा पनि कति हो कति नमस्तेको नास भएको छ। तपाईँकै जस्तै। नमस्ते गर्दा देखिदिएनन् भने लाजले डल्लो परिन्छ। अनुहारै रातोपिरो हुन्छ। तर अचेल चाहिँ म अलिक बाठो भएको छु। धेरै नजिक नगई नमस्ते गर्दिनँ र अलिक शङ्का लाग्यो भने साह्रो "नमस्ते है ....." कराउँछु र देखेपछि मात्र हात जोड्छु। तपाईँलाई पनि यो सुझाव काम लाग्ला कि !

फेरि, मोबाइलमा डल्ला फुटाउने त अचेल कतिले गर्छन् कति। अझ बन्दुकै पढ्काउने, कार रेसमा जित्ने। केके हो केके। मान्छे साह्रै मिहिनेती भएका छन्। हाम्रा एक जना दाजुले "घोप्टे रोग" भन्नुहुन्छ। सबै हातमा त्यै मोबाइल लिएर घोप्टिएको घोप्टियै। अनि घोप्टे रोगको उपचार चाहिँ कुन अस्पतालमा गर्ने, अर्को किताबमा लेखौँ है लक्ष्मणजी।

अब चाहिँ म एक्लै हाँस्छु भन्दिनँ। सबै साथीभाइ, इष्टमित्र, बन्धुबान्धव, देवीदेवता, किन्नरकिन्नरी, भुतभुतनी, पतिपत्नी, दिदीभाइ, दिदीभेना, सालासाली, सासूससुरा, आमाबुबा, काकाकारी, मामामाइजू, फुपूफुपाजू, हजुर्बाहजुर्आमा, जीजुबाजीजुआमा... सबैलाई "छोपछाप" उधिनेर मरीमरी हाँस्ने मौका दिन्छु। 

आखिर म त्यस्तो स्वार्थी कहाँ छु र.... हैन त लक्ष्मणजी !!

---

No comments:

Post a Comment