Tuesday, September 11, 2018

बा, मलाई क्षमा गर्नुहोस् है!


 २०७५ भाद्र  २५ सोमबार।



हिजो कुशे औँसी थियो। आज भाद्रशुक्ल प्रतिपदा। बुबाको तिथि। बहत्तर सालमा बुबा परलोक हुनुभयो। बासँग गर्न भनी साँचेका थुप्रै कुरा बाँकी थिए। बचपनमा आफूले बालाई दिएको दु:खप्रति माफी माग्नु थियो। बाको स्वास्थ्य स्थिति देख्दा सय वर्ष त सजिलै बाँच्नुहुन्छ जस्तो लागेको थियो। कुरा कसरी गर्ने, कहाँबाट सुरु गर्ने योजना बनाइरहेकै थिएँ। बालाई पीर पर्न नदिइ आफ्नो पश्चाताप स्वीकार गर्नु थियो। तर मैले यी कुरा गर्नै नपाई दुई महिना थलिएर बा परलोक जानुभयो। मैले गर्ने भनेका कुरा बाँकी नै रहे। मैले माफी माग्न पाइनँ। 'तपाईँको सन्तानका रूपमा जन्मिएर कृतकृत्य भयौँ' भन्नै पाइनँ।


परलोक हुनुभन्दा करिब एक वर्ष अघिदेखि बा आफूलाई छोराछोरीले केके गर्दा खुसी लाग्यो र केके गर्दा कृतज्ञ छु भन्ने कुरा सुनाउन थाल्नु भएको थियो।  मैले उहाँको खुट्टा भाँचिएर उपचार गराउन इटहरीमा राख्दा उहाँलाई समय कटनी हुन्छ भनी बाबा रामदेवले सिकाएका आसन र प्राणायमहरूको सिडि बजाइदिने गरेको थिएँ। उहिले बनारसमा पढ्दैदेखि बा आसन/प्राणायाम गर्नुहुन्थ्यो। उहाँको ज्ञानको स्रोत संस्कृतका पतञ्जलि योगसूत्रदेखिए लिएर आरोग्य-प्रकाश र गीता प्रेस गोरखपुरका प्रकाशनहरू थिए; विशेषगरि कल्याण मासिक पत्रिका। कल्याणका वार्षिक विशेषाङ्कहरू पनि उहाँ नछुटाई हेर्नुहुन्थ्यो। त्यस सिडिमा रामदेवले अन्त्यन्त सरल किसिमले योग र प्राणायाम सिकाएका थिए, साथसाथै कुन रोगका लागि कस्तो आसन वा प्राणायाम गर्नु पर्ने पनि विस्तारसँग बताएका थिए। बालाई सो सिडि साह्रै मन परेको रहेछ र पछि बारम्बार भन्न थाल्नु भएको थियो - "म कान्छा छोराप्रति दुई कुराका लागि कृतज्ञ छु : पहिलो - मलाई उपचार गर्दा त्यो रामदेवको सिडिसँग परिचित गराएकाले; र दोस्रो - आमालाई खुट्टा भाँचिँदा धरान लगेर उपचार गराएकाले।" मलाई लाग्छ यी दुवै कुरा बाबु छोरासँग कृतज्ञ हुनुपर्ने कुरै होइनन्। यी त छोराछोरीका कर्तव्य हुन्। मैले त आफ्नो क्षमताले भ्याएसम्मको कर्तव्य न गरेको हुँ। म बालाई त्यसो भन्न खोज्थेँ। भन्थेँ पनि। तर बा फेरि केही बेरमा त्यही कुरा गर्न थाल्नुहुन्थ्यो। मलाई भने लज्जाबोध हुन्थ्यो र सम्झिल्याउँदा अझै पनि त्यस्तै हुन्छ।

बा आयुर्वेदिक उपचार पद्धतिमा असाध्यै विश्वास गर्नुहुन्थ्यो। जीवनभरि अत्यावश्यक हुँदा बाहेक कलिल्यै एलोप्याथिक औषधि लिनु भएन। आफ्नो बिमारीका लागि सकेसम्म पुस्तकहरू अध्ययन गरेर, कविराजकहाँ गएर, भेट गरेर नभए सोधेर आयुर्वेदिक उपचार मात्र गर्नुहुन्थ्यो। बाका कोठामा अहिले पनि तिनै आयुर्वेदीय औषधिहरूको जीवनदायिनी सुगन्ध आउँछ। पहरेजमा बसेर, शरीरलाई आवश्यक न्यूनतम खानेकुरा खाएर सधैँ खुसी रहने र अध्ययन गरिरहने बाको बानी थियो।  मानिसले बाँच्नका लागि आवश्यक मात्र खानुपर्छ भन्ने सिद्धान्तलाई उहाँले अक्षरश: पालना गर्नु भएको थियो। शल्यक्रियाजस्ता जटिल आधुनिक प्रक्रियाका लागि मात्र उहाँ आधुनिक चिकित्सा पद्धति अँगाल्न तयार हुनुहुन्थ्यो। त्यो पनि केही उपाय नलाग्दा मात्रै।

बामा दु:ख र पीडा लुकाउन सक्ने अद्भूत क्षमता थियो। कहिल्यै बिचरा हुनु भएन। माघेमा हुँदा लडेर गोलीगाँठाको जोड्नी खुस्किए पछि मैले उहाँलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेँ। त्यहाँ हप्तादिन जति बसेर अपरेसन गरी स्टिल इम्प्लान्ट राखेर करिब एक महिनामा पछि आउनुपर्ने भयो। यस अवधिमा कति ओहोर दोहोर गरिरहनु भन्ने लागेकाले मैले बुबालाई इटहरी पचरुखीस्थित आफ्नै डेरामा राखेँ। प्लास्टर गरेको खुट्टा तन्काएर सुतिरहनुपर्दा कति पीडा भयो होला, कहिल्यै भन्नु भएन। म दिनका दिन स्कुल गएर आउँदा बेलुकी बुबालाई सधैँ हाँसिरहेकै पाउँथे। दिसा-पिसाब गराउँदा हतेर्दै लानु पर्ने, धुन सहयोग गर्नुपर्ने हुँदा, हरेक पटक उहाँका अनुहारमा कृतज्ञताका भाव देख्थेँ। कैयन् पटक आफू बिरामी भएकाले छोराले दु:ख पायो भन्ने किसिमको भाव अनुहारमा मैले देखेको छु। अझ यतिबेलाको एउटा घटनाले बाप्रति श्रद्धा भाव अझ बढेर आउँछ। खुट्टाको अपरेसनको पीडाले गर्दा तिघ्राका कापमा बाघे निस्किएको रहेछ। त्यस्तो बाघे त्यसै पनि पीडादायी हुन्छ, अझ प्लास्टर गरेको खुट्टाको पीडा त छँदैछ। करिब एक महिना इटहरी बसुन्जेल बाले कहिल्यै बाघे निस्केको कुरा गर्नुभएन। आफूलाई असाध्यै पीडा भएर कोल्टे फेरिरहेको, छटपटि गरेको कुरा पनि सुनाउनु भएन। पछि बाघे आफैँ जाति भयो रे। यो कुरा मैले त्यहीबेला चाल पाएको भए, डाक्टरकहाँ लैजान्थेँ, उपचार हुन्थ्यो, बाको पीडा कम हुन्थ्यो। तर उहाँले यो कुरा धेरै पछिमात्र सुनाउनु भयो त्यो पनि मलाई हैन, आमालाई। आमाले किन नभनेको भनी सोध्दा, छोरालाई त्यसै पनि पीर परेको छ, कति पीर थप्नु, कति खर्च थोपर्नु भन्नु भएको थियो रे। बा अब म तपाईँलाई के भनूँ ? कसरी भनूँ ? कतै यसरी पनि प्रेम गर्छन् त आफ्ना छोराछोरीलाई ?

बाले छोराछोरीको पढाईका लागि के पो गर्नु भएन र ? दार्जीलिङ बस्दाखेरिका कुरा म अहिले झल्झली सम्झन्छु। बाको पछि लाग्दै म पनि बजार जान्थेँ। चोकबजारको सब्जी मन्डीमा सब्जी किनिसकेपछि हामी मोहम्मद गल्लीमा छिर्थ्यौँ। मधुर मिलन मिष्ठान्न भण्डारमा पसेर कहिले सिङ्गडा खान्थ्यौँ, कहिले लाल मोहन खान्थ्यौँ, कहिले जुलेबी खान्थ्यौँ। कहिले त्यही गल्लीमा किनेको तात्तातो भुटेको चना सोलीमा किनिदिनुहुन्थ्यो। म तातो चना चबाउँदै बाका पछि लाग्थेँ। त्यही मोहम्मद गल्लीको सेकेन्ड ह्यान्ड पुस्तक र पत्रिका पसलमा गएर अलमलिन बालेनै सिकाउनु भएको थियो।  बा भने कहिले सब्जीका, कहिले चामलका, कहिले काठ-कोइलाका, कहिले पत्थर कोइलाका झोला बोकेर अघिअघि हिँड्नुहुन्थ्यो र मलाई दिनु बोक्न दिनु भएका पत्रिका च्पाप्दै म पछि लाग्थेँ। मैले कैयन् पटक बालाई म झोला बोक्छु भनी मागेको पनि छु, अनुरोध गरेको छु तर जहिले पनि 'तँ नाथे के बोक्छस्, मै बोक्छु' भन्नुहुन्थ्यो। म दुब्लो पातलो र कमजोर थिएँ। स्वास्थ्य बिग्रिरहन्थ्यो। यस्तो लिखुरे छोरालाई कसरी बोकाउनु भन्ने लाग्थ्यो होला उहाँलाई। पछि पनि आफ्नो झोला कहिल्यै मलाई बोकाउनु भएन। आफ्नो भारी सकुन्जेल आफैँ बोक्नुहुन्थ्यो।  बाको यस्तो स्नेह प्राप्त गर्ने विरलै भाग्यमानीमा म पर्छु।

पढ्ने विद्यार्थीलाई काम लगाउनु हुँदैन भन्ने सिद्धान्त बाको थियो। सानीमा कहिलेकाहीँ माइत गएका बेला भात पकाउने देखि लिएर भान्साको सरसफाई र भाँडा मस्काउने काम पनि आफैँ गर्नुहुन्थ्यो। अलिक पछि म स्नातक पढ्न थालेपछि मलाई साह्रै लज्जाबोध भयो र एकदुई पटक मैले भाँडा मस्काउने कोसिस पनि गरेँ। तर त्यतिबेला पनि भाँडाकुँडा छुन दिँदै दिनु भएन। म कोठामा बसेर मन गह्रौँ बनाएर पढिरहन्थेँ, उता बा भान्सामा जुठा भाँडा मस्काइरहनुहुन्थ्यो। यो प्रेम र स्नेहका लागि बालाई मैले के नै पो दिन सकेँ र ? पितृऋण कहिल्यै चुकाउन सकिँदैन भन्छन् विद्वानहरू, हो जस्तै लाग्छ, मन गह्रौँ हुन्छ।

आफूले गरेका केही गल्तीहरूका लागि बासँग माफी माग्नु छ। मैले बाको जीवनकालमै माफी माग्छु भनेर योजना मात्र बनाइ रहेँ। तर ईश्वरले मेरो योजना पूरा गर्न बाको उमेर ९२ वर्षबाट माथि जान दिएनन्। बाको आयु कम्तीमा सय वर्ष हुन्छ भन्ने मेरो अनुमानले काम गरेन। मैले बासँग माफी माग्नै पर्ने तीनवटा प्रमुख घटना छन् :

१.  म कक्षा नौमा पढ्थेँ। बाले पढाउने स्कुल गभर्नमेन्ट हाइ स्कुलमै पढ्थेँ। अझ नेपाली विषयमा त बाकै विद्यार्थी पनि थिएँ। दार्जीलिङमा सानीमाको सङ्गतले छपक्कै उतै पट्टिको भएको थिएँ। अर्थात् सानीमा कुरा नकाट्ने भैसकेको थिएँ। सानीमाले आफूलाई 'दु:ख' पाएकी 'अबला' नारीका रूपमा चित्रित गर्नुभएको थियो। मलाई पनि विश्वस्त पार्नु भएको थियो। उहाँका हरेक कुरा मलाई सही लाग्थे। सानीमाका नजरमा बाले उहाँलाई झुक्क्याएर बिहे गर्नु ठूलो अपराध थियो। सानीमाका माइतीमा हजुर्बा, हजुर्आमा, मामा, सानीमा सबै त्यसै भन्थे। झुक्क्याएको कुराको बेली विस्तार लाउँथेँ। म पत्याउँथे र बालाई अलिक अर्को नजरले हेर्न थालिसकेको थिएँ। सानीमाको माइत मेरो माओल बनेको थियो। माओलीको लोलोपोतोमा म डुबेको थिएँ। त्यस वर्षको तीजमा सानीमा माइती टिस्टा बजार गएपछि दसैँसम्म उतै बस्ने चिट्ठी आयो।  फोन दुर्लभ थियो र सञ्चारको माध्मय चिट्ठी नै थियो। चिट्ठीमा मलाई जसरी भए पनि दसैँमा टिस्टा पठाइदिनु भन्ने उर्दी उहाँको थियो। बाले इमानदारीका साथ सो चिट्ठी मलाई देखाउनुभयो। सानीमाको 'डक्ट्रिन'ले पूरापूर प्रभावित भएको मलाई टिस्टै जान मन लाग्यो। बासँग 'म टिस्टै जान्छु नि त' पनि भनेँ। तर बाले पोहोर पनि टिस्टा गएको यसपाली घर(इलाम) जानुपर्छ भन्नु भयो। बाको कुरा ठीक थियो। सानीमा र उहाँको माइतीले मलाई 'आफ्नो' बनाइसकेकाले बाको कुरा मलाई  मन परेन। म तर्क गरेर बासँग जित्न पनि सक्तिनथेँ। के उपायले टिस्टा जाऊँ त भन्ने लागिरहँदा, भागेर जाने निर्णयमा पुगेँ। त्यसताका बा बेलुकी सधैँजसो पण्डितनी आमैकहाँ गफ गर्न जानु हुन्थ्यो। म घरमा बसेर पढिरहन्थेँ। कहिले पढ्दापढ्दै निदाउँथे पनि। कहिले बा फर्केर आउँदा निदाएकाले ढोका खोल्न गाह्रो हुन्थ्यो। सायद त्यो दिन षष्ठी थियो - बेलुकीको खाना खाइसकेपछि सधैँझैँ बा पण्डितनी आमैकहाँ जान तयार हुनु भयो। यही मौका छोपेर मैले भनेँ - "बा, बाहिरबाट ताला लगाएर जानु है। म निदाउन सक्छु, ढोका खोल्न गाह्रो हुन्छ।" बाले केही प्रतिवाद नगरी 'हुन्छ, अलिक पढेर सुत्लास्' भनी बाहिरबाट ताला लगाएर जानु भयो। बा गएको करिब आधा घण्टापछि म पछाडिको ढोकाबाट बाहिर निस्केँ। सिँढी ओर्लँदै तल्लो घरकी आन्टीको घरमा गएँ। उहाँलाई आफूलाई टिस्टा जान मन लागेकाले र बाले माघे लाने भएकाले भाग्नु परेको बताएँ। रातभरि सुत्न दिन र बालाई केही नभन्न पनि अनुरोध गरेँ। सानीमासँग सधैँ बसाउठा गर्ने तल्लो घरकी आन्टी(सानीमाले दिदी साइनु लगाएकी)ले नमान्ने कुरै थिएन। ढोका खोलेर सुत्ने खाट देखाइदिइन्। गएर सुतेँ। मुटुको चाल तीब्र भएको थियो। निदाउन सक्छु जस्तो लागेको थिएन। तर एकछिन पछि निदाएँछु। 

म निदाएपछि बा खोज्न आउनुभएछ। रुन मात्र सक्नुभएको थिएन रे।  'यति राति कहाँ गयो कता खोज्न जाऊँ ?' भन्दै उकालो लाग्नुभएको थियो रे। भोलिपल्ट मैले चाल पाएँ। एक मन त तुरुन्तै दौडेर गई गोडामा ढोगी माफी मागौँ भन्ने पनि लागेको हो। तर फेरि टिस्टाको निम्ताले मन जित्यो नराम्रो लाग्दालाग्दै पनि म बाछेउ जान सकिनँ। छोरो राति सुतेका ठाउँबाट हिँडेको थियो। कति छटपटिनु भयो होला ? हृदयमा कस्ता भाव आए होलान् ? कति दिनसम्म निदाउन सक्नु भएन होला ? भागेर पक्कै टिस्टा गयो भन्ने त लाग्यो नै होला। त्यस्तै भगौडे छोराको पीडा बोकेर घर जाँदा आमाले के भन्नुभयो होला। ती दिन सम्झिँदा मन अहिले पनि उदास हुन्छ, हृदयमा 'हुक' उठ्छ। नगर्ने काम गरेझैँ लाग्छ। यता आमाले दसैँमा त कान्छो छोरा आउँछ र मुख देख्न पाउँछु भनी गरेको प्रतिक्षा पनि व्यर्थै भयो। मैले बासँगसँगै आमालाई पनि पीडा दिएको थिएँ। पक्कै ती मेरा कुप्रयासहरू थिए। तिनका लागि बासँग माफी माग्नु थियो। भन्नु थियो - 'बा, मैले दार्जीलिङमा राति भागेर जुन पीडा तपाईँलाई दिएँ, त्यसका लागि क्षमा गर्नुहोस्।' तर मैले बासामु त्यसो भन्ने मौकै पाइनँ। बा रिसाउनुभयो वा मैले ढिलो गरेँ। अहिले म बासँग क्षमा मागी रहन्छु। तर बाले मलाई क्षमा दिएको मैले कसरी थाहा पाउने ?

२. २०४५ सालको कुनै महिनाको कुनै गते। ठ्याक्कै सम्झन्नँ। दार्जीलिङको रकउडमा बनाएको घर बेचेको दिन। दार्जीलिङमा गोर्खाल्यान्डको आन्दोलन चरम सीममा पुगेको समय थियो त्यो। त्यहाँ बस्न नसक्ने भएकाले घर बेच्ने निर्णयमा पुगेका थियौँ हामी सबैजना। घर किन्ने मानिस थिए धुलाबारी मोडमा किराना दोकान गर्ने महेश घिमिरेका आफन्त। महेशका भाइको घर दार्जीलिङको हाम्रो घरदेखि ठीक मन्तिर थियो। उनी मार्फत नै खरीदकर्तासँग सम्पर्क भएको थियो। उनी अलिक मोटा र हँसिला थिए। सानीमाका कुरामा उनी पनि विश्वस्त थिए। आफ्ना 'दु:खडा' सुनाएर सानीमाले प्राय: सबै छरछिमेकीलाई आफ्नो पक्षमा पारीसक्नुभएको थियो। उनीसहित घर किन्ने मानिनसले घरको मूल्य बाको हातमा नदिएर सानीमा हातमा दिने निधो गरेका रहेछन्, वा सानीमाले त्यस्तो व्यवस्था मिलाउनु भएको थियो। कचहरीमा घर-जग्गा पास गरेर आइपुगेपछि, दार्जीलिङ चोकबजारको एकजना मारवाडीको दोकानमा पैसाको लेनदेन भयो। पण्डितनी आमैले किस्ताबन्दीमा दिएको चार पोल भिरालो जग्गामा कति हो कति दु:ख झेलेर बाले बनाएको सानो काठको घर थियो त्यो। घरको जम्मा मूल्य किन्नेले भा.रू. ४५,०००/- सानीमाका हातमा राखिदिए। सानीमाले थपक्क त्यो पैसा लिएर गन्दा पनि नगनी ब्यागमा हाल्नुभयो। बाले भन्नुभयो - 'खै त्यो पैसा यता ल्याऊ।" सानीमाको जबाफ रूखो थियो - "म सिलिगुढीको स्टेट बैङ्कमा राख्छु।" बाले 'म पनि त पैसा खेर फाल्दिनँ, कति योजना छन् मेरा, तिमीहरूकै  लागि यत्रो दु:ख गरेर घर बनाएँ, अहिले मेरो हातमा एकै पैसा नपर्नु ?' भन्दा पनि सानीमाले मान्नु भएन। मैले स्नातक पढिसिध्याएको थिएँ तर मेरो बुद्धि सानीमाको 'डक्ट्रिन'ले 'इन्डक्ट्रिनेटेड' थियो। मैले यी सबै क्रियाकलाप मूक दर्शक भएर हेरेँ। बाको कालो र निराश मुख हेरेँ। जीवनमा सबै आशा सकिएको झैँ बाको क्लान्त अनुहार हेरेँ। दु:खका आँसुले भरिएका आँखा हेरेँ। अहिले म सम्झन्छु, बालाई दोस्रो बिहे गरेकामा सबैभन्दा पछुतो त्यसदिन लागेको हुनुपर्छ। निराशाको गर्तमा डुबेका बालाई त्यत्तिकै छाडेर म सानीमासँग हिँडेँ। ती घिमिरे दाइ पनि निस्किए। बाहिर निस्केपछि उनले हाँस्दै भने - "अब बूढा बासँग तपाईँहरूको सम्बन्ध रहेन।" मैले फनक्क फर्केर उनको दाँत झर्नेगरि मुखमा हिर्काउनु पर्नेथियो। सानीमाको हातबाट ब्याग खोसेर बालाई लगेर पैसा दिनुथियो। तर मैले त्यसो गरिनँ। मैले अपराध गरेँ बा। तपाईँलाई अपमान र तिरस्कारबाट जोगाउन सकिनँ। मलाई क्षमा गर्नुहोस् बा।

३. म कक्षा नौको विद्यार्थी भएको थिएँ। कक्षा आठमा पहिलो भएर कक्षा नौमा पुग्दा बा असाध्यै खुसी हुनु भएको थियो। आफ्ना छोराछोरीले प्रगति गरेको कुन बाबुआमालाई मन पर्दैन र ? छोराले राम्रो पढेकाले बाका मनमा अब छोरालाई राम्रै पढाउनुपर्छ भन्ने लागेको थियो होला। रकउडको त्यही घरमा आफ्नो कोठामा बोलाएर भन्नुभयो - "हेर् छोरा, तैँले पढाइमा पारा ल्याउँछस् जस्तो लाग्यो। अब राम्रो पढेर आयुर्वेदाचार्य बन्नु पर्छ। आयुर्वेदको विशेषज्ञ। राम्रो पढेर साइन्समा इन्टरमेडिएट पास गर्। त्यसपछि बनारस वा दिल्लीमा आयुर्वेद पढ्न जानुपर्छ। तर त्यसको पढाइ संस्कृतमा हुन्छ। अहिलेदेखि अलिअलि पढिस् भने त्यसबेला सम्म तँ संस्कृत जान्ने भैसक्छस्।ल अब टुप्पी कसेर पढ्ने।" यति भनी सकेर एउटा पुस्तक दिनुभयो। पुस्तकमात्र हैन, पुस्तकमा कहाँबाट पढ्न सुरु गर्ने भनेर चिनो लगाइवरी दिनुभयो। म पनि फुरुक्क पर्दै किताब बोकेर आफ्नो कोठातिर लागेँ। त्यसदिन त पहिलो भएको ह्याङ्गओभर र दिवास्वप्न देख्तै बित्यो। अर्को दिन बाले चिनो लगाएर दिएको ठाउँ पल्टाएँ। नामका तीन वचन(एकवचन, द्विवचन र बहुवचन) र सातवटा विभक्ति(प्रथमा, द्वितिया, तृतिया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी)मा हुने रूपहरूको तालिका रहेछ। पहिलो पानामा 'राम' शब्दका रूपहरू रहेछन् - राम:, रामौ, रामा:, .....। अनि अर्कोमा 'गज' । त्यस्तै... अर्कोमा.....त्यस्तै... अर्कोमा।  एकदुई वटा भएता पढ्थेँ पनि हुँला तर मैले ती पृष्ठका पृष्ठ तालिका पढेर याद गर्ने आँट गरिनँ। आफ्नो कोर्सका कुरा पढ्दै गएँ। पछि बाले पनि सायद बिर्सिनुभयो होला। कुरा उठेन। अहिले यस उमेरमा आएर पूर्वीय दर्शन र संस्कृतको महत्त्व बुझेपछि मैले ठूलो मौका गुमाएँछु जस्तो लागिरहेछ। संस्कृत साहित्यका मनिषी आफ्नै घरमा हुँदा उहाँको शिक्षाबाट वञ्चित हुनु, मेरो दुर्भाग्य रह्यो। पछुतो छ। बासँग क्षमा मागेर फेरि संस्कृत पढ्न सुरु गर्ने इच्छा थियो। तर यो पनि अधुरै रह्यो। अहिले बालाई यति मात्र भन्न सक्छु - "बा, मलाई क्षमा दिनुहोस् है।"

बा, मलाई क्षमा गर्नुहोस् है !

---


No comments:

Post a Comment