Wednesday, October 31, 2018

मिस यु दीपक दाजु !!


लाग्छ विधाताले कहिलेकाहीँ हिसाब लेख्न गल्ती गर्छन्। नत्र किन कम उमेरकाहरू पहिले नै मर्छन् ? जिन्दगीका कति धेरै हिसाबकिताब मिलेकै हुँदैनन्, सास टक्क रोकिन्छ, मुटु चल्न छोड्छ र मष्तिस्क बिसाउँछ। पञ्चतत्त्वले बनेको शरीर त्यतै गएर विलीन हुन्छ। यसो हुनुमा के मानिसमात्रको हात हुन्छ त ! कि विधाताले नै उमेर तोकेर पठाउँछन् यस धरतीमा ! यो कुरा नबुझेर म आज पर्यन्त अलमलमा छु। अलमल अझ जारी छ, लाग्छ कहिल्यै टुट्दैन यो अलमल। मानिसले आफ्नो मृत्युको दिन थाहा पाउने भए कति राम्रो हुँदो हो ! कि साह्रै नराम्रो हुँदो हो ? तर आफ्ना निकटका मानिसहरूले चोला परिवर्तन गर्दा चित्त रुन्छ, हृदय काम्छ र आँखाहरू ओभाउने नामै लिँदैनन्।
सम्झिन्छु, कक्षा पाँचमा पढ्थेँ हुँला। खै कताबाट हो सुट लगाउने रहर जाग्यो। सुट कस्तो हुन्छ भन्ने कुरा बाले लगाएर फोटो खिचेको हुनाले त्यही फोटो देखेर र फिक्कलमा बेचिने पोस्टरहरूमा सिनेमाका नायकहरूले लगाएको मात्र देखेको हुँ। तर सुट लगाउँदा ठूलो मान्छे भइन्छ, अर्थात् जसतसले सुट लगाउन पाउँदैन र सुट लगाउन पाउने निक्कै भाग्गेमानी हुन्छन् भन्ने लाग्थ्यो। तर सुट लगाउने रहर त लागिसक्यो, अनि आमालाई सुट लगाउने भन्दै गनगन गर्न पनि सुरु गरियो। आमाले त कताबाट किन्दिनु, कि त बालाई भन्नुपऱ्यो। बालाई भन्दा गाली खाइने ठूलो जोखिम थियो, रहरका भरमा बाले सुट किनिदिने कुरै थिएन। बाको कठोरता सम्झँदा अहिले पनि डर लाग्छ। अनि फेरि बा दार्जीलिङबाट करिब महिनामा एक पटक जसो आउने। दुईएक दिन बसेर फेरि जाइहाल्ने। यसरी मेरो सुटको रहर बुर्लुक्क उफ्रिएर दीपक दाजुको पोल्टामा पऱ्यो।
केही दिनको पर्खाइपछि बेलुका अबेर दाजु आउँदा लुगाको एउटा पोको बोकेर आउनुभयो। अगेनाका डिलमा बसेर पोको खोल्नु भयो। 'ल भाइ, तेरो सुट हेर्।' भन्नुभयो। मैले दुवै कपडा हेरेँ। पोकामा दुई थरिका कपडा देखेर म अलमलिएँ। अलमलिएको देखेर 'कुन मन पऱ्यो ?' भनी सोध्नुभयो। मैले कपडा राम्ररी छामेँ। बालक बुद्धि, दुईमध्ये चिल्लो कपडा देखाएँ र भनेँ 'यो मन पऱ्यो।' दाजुले हाँस्दै कपडाको पोको लिनुभयो र दमाईलाई सिलाउन दिने कुरा गर्नुभयो। अनि सुरु भयो कहिल्यै नसक्किने प्रतिक्षा। मनको चञ्चलता थामेर नसक्नु। केही गर्न मन नलाग्ने। हरेक बखत त्यही सुटका कुरा मात्र मनमा खेल्ने। कता सिलाउन दिने, कसलाई दिने भन्ने कुराको मलाई चासो रहेन। सुट लगाएको र हिरोझैँ गमक्क परेको कल्पनामै आफूलाई हराइरहेँ।  
धेरै दिनको प्रतिक्षा पछि सुट आयो। हेरेँ - सुट त मैले रोजेको कपडाको छैन। अर्को चाहिँ कपडाको छ। राम्ररी हेर्दै लाँदा मैले भित्री हाल्ने कपडा रोजेको रहेँछु। त्यस्तो देखेपछि आफ्नो मूर्खताप्रति लाज पनि लाग्यो। तर खुसीले त आकाशै छुँलाजस्तो गरी उफ्र्यौँ की जस्तो पनि लाग्यो। के गरौँ कसो गरौँ भै रहने। अनि सुट लगाएर करफोक स्कुल जान पनि थालियो। सुट मैलिन्छ कि भनेर अलिक अलग्ग पन्छिएर बस्न, थोरै नक्कल पार्न, अलिक धेरै गजक्क पर्न पनि थालियो। साथीहरू मज्जाले खेल्दा उभिएर हेर्न  थालियो। सुटले ल्याएको तो गजक्कपन, त्यो धाक, अहो व्यक्तित्वको त कुरै अर्कै।
स्कुलबाट फर्कि आउँदा माघे स्कुलको ग्राउन्डमा साथीभाइ फुटबल खेल्न थाले। मलाई पनि खेल्न बोलाए। म भने गजधम्म परेर माघे स्कुल उक्लिने बाटातिर उभ्भिएँ। साथीहरू कटाक्ष गर्न थाले - 'ऊ हेर् न। उहाँको सुट मैलिन्छ क्या। सुट लगाएर कसैले फुटबल खेल्छ ?' भन्न त साथीहरूले सही नै भनेका थिए। सुट लगाएर फुटबल खेल्दा मैलिन्थ्यो। अनि सुट मैलाएकामा घरमा गाली खाइने डर पनि त्यत्तिकै थियो। तर जति खेलौँ खेलौँ लागे पनि सुट लगाएको गर्वले साथीहरूसँग फुटबल खेल्न दिएन। सुटले कतै एक्ल्याउने हो कि भन्ने त्रास मनमा पस्न थालेको थियो।
जिन्दगीको पहिलो सुट किनिदिने मेरा दीपक दाजु अब हुनुहुन्न। सम्झिन्छु, कति दुःख सुखका कुरा गर्नुहुन्थ्यो। घरपरिवारका कुरा गर्नुहुन्थ्यो। अप्ठ्यारो परेका कुरा गर्नुहुन्थ्यो। सहज हुँदा कुरा गर्नुहुन्थ्यो। दाजुसँग कुरा गर्न थालेपछि समय बितेको थाहा नहुने। दाजु मलाई इतिहास, संस्कृति, जीवनशैली आदिका कुरा सुनाउने। म उहाँलाई विज्ञानका कुरा सुनाउने, प्रविधिका कुरा सुनाउने। विषय हाम्रा विपरित ध्रुवका थिए। तर हाम्रो कुराको केमिस्ट्री असाध्यै मिलेको थियो। तपाईँ इतिहासको जण्ड विद्यार्थी कति छिटै आफैँ इतिहास हुनुभयो। तपाईँसँग कुरा गर्न, छलफल गर्न भनी राखेका मेरा कुराका पोकापन्तुरा मैले खोल्नै नपर्ने भो। अब म तिनलाई कता पन्छाऊँ ?
अनि मेरो मानसपटलमा झल्झली आउँछ कक्षा पाँचको पूर्व व्यावसायिक शिक्षाको क्लास। जीवनराज पौडेल सरले कक्षामा आएर भन्नुभएको थियो - "ल अब चित्र बनाउन सिक्नुपर्छ, सबैले वाटर कल पेन्टिङ बक्स लिएर आउने।" चित्र  बनाउन त पेन्सिलले अलिअलि आउँथ्यो नै। चित्रकलामा रुचि पनि असाध्यै थियो। तर यो वाटर कलर पेन्टिङ बक्स के हो तुरुन्तै कल्पनामा आएन। किताबमा चित्र पनि थिएनन्। घर आएर पहिले आमालाई भने। आमाले ती अङ्ग्रेजी जस्ता शब्दमा कान्छाले के मागेको बुझ्नुभएन क्यारे। दाजुतर्फ देखाइदिनुभयो। आमाले दाजुलाई देखाएपछि उहाँलाई नै फर्माइस तेर्स्याएँ। त्यो दिन सायद आइतबार थियो। दाजुले 'ल बिहीबार फिक्कल गएर ल्याइदिउँला' भन्नु भयो। मलाई त्यो अनौठो जिनिस बिहीबारसम्म पर्खिन सानो सकस भएन। समय त कटाउनै पऱ्यो। घरी फूलबारीमा गएर टाइगर लिलीका थोप्ला गन्न थालेँ घरी बिरालाका जुँगा तान्न।
त्यो मेरो जिन्दगीको पहिलो वाटर कलर पेन्टिङ बक्स। चित्र बनाउन चाहिने पानीमा घोलिने रङहरू। चित्रकला सिकाउनका लागि नै बनाइएका र बेचिएका। त्यो पेन्टिङ बक्स पाएपछिको खुसी म अहिले पनि शब्दमा व्यक्त गर्न सक्तिनँ। तिनै बट्टाबाट पानीमा रङ घोलेर चित्र बनाउन सिकेँ। पहाडको चित्र, रूखको चित्र, नदीनालाको चित्र, देशको मानचित्र, मानिसको चित्र। चित्रको सुन्दरताले अचम्म ढङ्गले लठ्याएको थियो मलाई। चौध अञ्चललाई बेग्लाबेग्लै रङ लगाएर मैले बनाएको नेपालको मानचित्र देखाउँदै कक्षामा सरले भन्नुभएको थियो - देख्यौ, यस्तो हुन्छ मानचित्र। म खुसी र गर्वले गजक्क परेको थिएँ। त्यो खुसी र गर्वमा आधा चाहिँ तपाईँको प्रेम मिसिएको थियो दीपक दाजु। एक पटक कक्षा पाँचमा पढ्ने कान्छो भाइले भन्नासाथ जुन प्रेमले मलाई वाटर कलर पेन्टिङ बक्स ल्याइदिनुभयो, जुन स्नेहले दिनुभयो, त्यो म कसरी बिर्सूँ ?
चित्र बनाउने त्यही सोखले मैले पछि थुप्रै चित्रहरू बनाएँ। बासँग पढ्न दार्जीलिङ गएपछि चित्र बनाउने कामलाई निरन्तरता दिएँ। चार्ट पेपरमा बनाएका चित्रहरूले दार्जीलिङ रकउडको त्यो काठको घरका भित्ताहरू सजिएका थिए। दीपक दाजु, त्यही वाटर कलर पेन्टिङ बक्सका रङहरू चिनेर चित्र बनाउन सिक्ने क्रममा मैले जीवनका रङहरू चिनेँ। जिन्दगीको इमानदार रङ चिनेँ। छलकपटको रङ चिनेँ। आँसु दुःखले मात्र नभई छलले पनि झर्दा रहेछन् भन्ने चिनेँ। तर ती रङहरू चिन्न मलाई धेरै समय लाग्यो। तपाईँले चिनाएका रङले नै मेरा जीवनमा रङ भरिएका छन्।
तपाईँलाई अरू के भनूँ र ? शब्द नै सकिन्छन्। तपाईँको स्नेह र प्रेमलाई शब्दमा नै व्यक्त गर्न कसरी सकूँला र ?
श्री विष्णुले तपाईँलाई काखैमा राखून्। शब्दाञ्जलीका यिनै हार चढाएँ।




No comments:

Post a Comment