Monday, August 24, 2020

पैसाको रूख

 बालापनको अबोध विश्वास सम्झिँदा अहिले पनि विस्मृत हुन्छु म। सानो छँदा पैसा धेरै पाइँदैनथ्यो। त्यसमाथि गाउँमा बस्ने मान्छे। शहरको जस्तो दिनैपिच्छे पैसा चलाउनु पर्ने आवश्यकता पनि पर्दैनथ्यो। तर साप्ताहिक हाट लाग्ने ठाउँहरू आइतबारे र फिक्कल आदि जाँदा अलिकति पैसा भए, मिठाइ किनेर खान पाइएला कि भन्ने आस हुन्थ्यो। तिनताका हामीलाई सबैभन्दा मन पर्ने मिठाइमा फिक्कलको भरत मोदीले बनाएको बम्बईसन हुन्थ्यो। बम्बइसन किन्ने त पैसा कहिल्यै नहुने र बा-आमाले ल्याएको खण्डमा खाने मात्र गरिन्थ्यो। एक पल्ट खाएपछि छ महिनासम्म, वा भनौ अर्को पटक खान नभेटुल्जेलसम्म त्यसको स्वाद जिब्रामा झुन्डिइरहने। त्यसबाहेक बदाम र पशुपति चकलेट प्रिय थिए। बदाम किन्ने कुरा थिएन किनकि थोरै पैसाले बदाम आउँदैनथ्यो तर थोरै पैसाले दुईचारवटा पशुपति चकलेट र अत्तर मिठाइ किन्न सकिन्थ्यो।

 यिनै साना रहरले अलिक बढी पैसा गोजीमा भए कति राम्रो हुन्थ्यो भन्ने लागिरहने। कुनै दिन एउटा एल्युमिनियमको पाँच पैसो र तामाको दस पैसे ढ्याक लिएर खेलाइरहेको देखेपछि दाजुले भन्नुभयो - "हेर केटा,  पैसा रोप्यो भने उम्रिन्छ र फल्छ पनि। पैसा फलेपछि बाआमासँग माग्नु पनि पर्दैन। मिठाइ खान टन्न पैसा पुग्छ।"

 दाजुले भनेको कुरा नपत्याउने कुरै थिएन। मनमा भरत मोदीको बम्बईसन देखि लिएर पशुपति चकलेटको सिङ्गै बट्टा आएर बसे। मुख रसायो। गोजीभरि छन्‌छनी पैसा बजाउँदै आइतबारे जाने, वा फिक्कल जाने कल्पना आउन थाले। पैसा फलेपछि आनन्दै आनन्द हुने मनले देख्यो। एउटा डर पनि बस्यो, कतै रूख लप्सीको जस्तै अग्लो भयो भने कसरी पैसा टिप्ने? तर फलेपछि जे होला भनेर साँझ परेपछि गल्लीको दुधिलाको बोट छेउमा गएँ। कान्लाको एउटा कुनामा पारीलो ठाउँ हेरी कुटेले खनेँ र तिनै दुइटा सिक्का रोपेँ। माटाले राम्ररी छोपेँ। माटो मिलाएर अरू ठाउँको जस्तै पारेँ।  एउटा सिन्को गाडेर चिनो पनि लगाएँ।

 दिनैपिच्छे पानी हाल्दै गएँ। तीन दिन बित्यो। पैसो उम्रेन। ढिलै उम्रिने रहेछ भनी धैर्य गरेर पानी हाल्दै गएँ। सात दिन नाघेपछि चाहिँ असाध्यै छटपटी भयो। किन उम्रेन भनी साह्रै चिन्ता लाग्यो। सायद कुह्यो कि ? कि टुसा पलाएर भाँचियो कि ? भन्ने लाग्यो र माटो कोट्याएर हेरेँ। पैसाको बिरुवा त परै जाओस् टुसै पलाएको थिएन। पैसाको रूख हुने सम्भावना थिएन। पैसाको फल्ने र फलेको पैसा लिएर भरत मोदीकहाँ गई बम्बईसन किनेर खाने कुरा त फुस्स कता गयो कता। मेरो आशा र रहरको रूख चाहिँ निकै ठूलो भैसकेको थियो। त्यसमा फूल फुल्न र फल लाग्न बाँकी थियो। रोपेका पैसामा ध्यान दिएर हेरेँ, माटो र पानीको चिसोले तामाको पैसामा उगाल आएको थियो। एल्मुनियमको ढ्याक पनि केही खिइएको थियो।

 पैसो खिएभन्दा पनि नराम्ररी मन खिइयो। मेरो आशार र रहरको रूख गर्ल्याम्मै ढल्यो। त्यसैले थिचिएर म निसास्सिएँ, आँखा रसाए र तल बग्न थाले। दाजुले मलाई किन ढाँटेको होला ! पैसो त उम्रिँदो रहेनछ ! त्यसो नभन्दिएको भए म त्यति दुःखी त हुन्नथेँ कि ! मेरो मनमा यति धेरै निराशा आउन्नथ्यो कि ? खल्लो मन र अँध्यारो अनुहार लिएर र गालामा आँसुका धारा पुछ्दै घरतिर लागेँ।

No comments:

Post a Comment