Monday, August 10, 2020

बा र दार्जीलिङ - १

 

बा र नयाँ आमासँग पछि लागेर म पनि एक दिन दार्जीलिङ जान घरबाट हिँडे। दार्जीलिङको यात्रा लामै थियो- झापा झरेर, सिलगुडी हुँदै जानु पर्ने। यसरी म आमाबाट टाढिँदै थिएँ। त्यो दिन बेलुका आयाबारी दिदीका घरमा गएर बस्यौँ। खानपिन गरेर लामखुट्टेबाट जोगिन झुलभित्र सुतेँ। झुलबाहिर लामखुट्टेको भुनभुन थियो र झुलभित्र म छटपटिइरहेको थिएँ। आमाको सम्झना असाध्यै आइरहेको थियो। आमासँग धेरै दिन भेट नहुने कुरा सम्झिँदा झन् पिरोलिएँ। आँखाबाट आँसु झरेको झऱ्यै थियो। घरमा आमाको खाटछेउको खाटमा सुत्थेँ। सुतेपछि आमाका गोडा छाम्ने मेरो बानी थियो। आमाका गोडा पाउने आसमा मेरो हात टाउका मास्तिर गएछ। काठको भित्तामा ड्याम्म ठोकियो। मन त दुखिरहेकै थियो हात पनि दुख्न थाल्यो। लाग्यो जिन्दगीमा खुसी हुने दिन सकिए। निदाउन असाध्ये गाह्रो भो।

दुब्लो र पिलन्धरे काया बोकेर म बाले पढाउने गरेको दार्जीलिङ सरकारी विद्यालयमा कक्षा सातमा भर्ना भएँ। करफोक स्कुलका सँगीसाथी सबै छुटे। नयाँ बन्न थाले। झन्डै सय विद्यार्थीको भीडबाट दस बाह्रजनाको टोलीमा मिसिएँ। 'सरको छोरा' भएको नाताले साथीहरूको हेपाईबाट अतिरिक्त सुरक्षा प्रदान गऱ्यो। यसलाई छोयो भने अधिकारी सरले गोद्छ भन्ने डरले साथीभाइले प्रेम गरे(वा गरेजस्तो गरे)।

सात कक्षाबाट प्रथम भएर आठ कक्षामा उक्लिएँ। रिजल्ट भएको दिन बाले लालमोहन ल्याएर ख्वाउनुभयो। नेपालबाट आएर प्रथम भएकामा स्याबासी पनि दिनुभयो। म फुरुक्क परेँ। आमालाई सम्झेँ। आमा पनि त कति खुसी हुनुहुन्छ यो खबर सुन्दा। पखेटा भए उडेर माघे पुग्ने थिएँ। खुसी पनि बाँड्न पर्ने रैछ। बाँड्न नपाउँदा खुसी आधा भएको अनुभव भयो।

आठ कक्षामा बिर्सिनसक्नुको एउटा घटना छ। दुई जना सरहरूले नेपाली पढाउनुहुन्थ्यो। मासिक परीक्षामा बाले पढाउने नेपालीमा मेरो पच्चीस पूर्णाङ्कमा तीन आयो। बाले सातो खानुभो। 'कखरा..' पनि लेख्न आउँदैन ?' मैले त्यस्तो केही बिगारेको त थिइनँ जस्तो लाग्छ। बाले सातो खाएपछि पक्कै पनि ठूलै गल्ती गरेँछु भन्ने लाग्यो। मनमनै अत्तालिएँ। तर उत्तरपुस्तिका हेर्दा चाल पाएँ के गरेको रहेँछु – छ लेख्दा डिको सँग छको घुमेको ठाउँ जोड्ने सानो ठाडो रेखा जोडेर लेख्न सिकेको थियो। त्यसरी छ लेख्दा ठाडो रेखा अलिक पर लेखेँछु अर्थात् छ हुनुपर्ने छा जस्तो भएछ। उत्तरहरूभरि छ को साटो छा लेख्यो भनेर बाले जम्मा १९ अङ्क काटिदिनुभएछ। आउन त मेरो २२ आएको रहेछ। अनि त्यसपछि मैले अक्षरहरूलाई  साह्रै मुसारेर र मेहनत गरेर लेख्न थालेँ। छको समस्याले दुःख दिएन।

दार्जीलिङको रकउडमा हाम्रो एकपाखे घर थियो। पण्डितेनी फुपूले किस्ताबन्दीमा पैसा दिने गरी(त्यो पनि भएमा) दिएको चार पोल भिरालो जमिनमा बनेको। लहरै तीन कोठा। सल्लाका काठले बेरा बारेको। भित्तामा चुना लगाएकै भए तापनि, सल्लाको सुगन्धले मीठो आनन्द दिने। सबभन्दा सानो कोठा भान्साकोठा। बा र नयाँ आमालाई पर्याप्त थियो होला, सो घर। तर पढ्ने विद्यार्थी म थपिएपछि घर साँघुरो भयो। घर बढाउने सल्लाह भएछ क्यारे। घर मास्तिरको भित्तो ताछ्‌न थालियो, मुन्तिर खारेर सिमेन्टका पोल ढलाई गर्ने तर्खर भयो। मैले थाहा पाएँ, सिमेन्ट किन्नका लागि म्युन्सिपाल्टीमा छ महिना पहिले निवेदन दिनुपर्ने रहेछ। त्यो पनि जति माग गऱ्यो त्यसको आधा मात्र पाइने। म्युन्सिपाल्टीका अफिस धाउँदा धाउँदा बाका कतिओटा जुत्ता खिइए थाहा भएन। त्यसो जुत्ता खियाउने अरू धेरै काम पनि थिए। बा बजारको कोइला लाइनबाट काठ कोइला र पत्थर कोइला आफैँ बोकेर ल्याउनुहुन्थ्यो। म देख्थेँ धेरै मानिसहरूले घरायसी सामान, कोइला, चामल आदि बोकाउन कुल्ली लगाउँथे। बाँसँग सायद त्यसो गर्ने पैसा थिएन। महिना मर्ने बेलामा हिसाब हुन्थ्यो बाका कोठामा। अगाडि हात्तीको नक्सा भएको इलिफेन्ट कापीमा गरिने हिसाबको एउटा शीर्षक हुन्थ्यो – 'ऋणको किस्ता। रू ७५०/- ।' पछि कुनै दिन केको ऋण भनी सोध्ने आँट गरेँछु। बुझेँ बजारका कैयाँलाई बुझाउनु पर्ने पुरानो ऋणको किस्ता रहेछ। इलामको आइतबारे बजारमा पसल गर्दाताका लुगा उधारोमा लगेको ऋण। पसल छाडेको कैयन् वर्षपछि पनि महिनै पिच्छे किस्तामा तिर्नुपर्ने ऋण। हाम्रो परिवारको खुसी हर्ने त्यो निर्दयी ऋण। एक दिन त कुनै कैयाँ घरमास्तिरको ढिस्कामा आएर कुर्लियो, "ए अधिकारी, मेरो बाँकी नतिरेर तँ यहाँ बिल्डिङ ठड्याउने ? के को औकात्‌ले यत्रो घर ठड्याउँछस्। अर्काको सम्पत्ति डकारेर घर बनाउन तँलाई लाज सरम लागेन ? अहिल्यै पुलिस बोलाएर तेरो घर भत्काउन लगाउँछु। पैसा पचाएर बिल्डिङ ठड्याउने.....?!"

बाले ट्वाँ परेर हेर्नुबाहेक र "तिर्छु तिम्रो पैसा, नतिरी मर्दिनँ" भन्नु बाहेक केही गर्न सक्नु भएन। ऋणभन्दा पनि धेर रमिते गाउँलेका सामु भएको बेइज्जतीले बा असाध्यै गलेको देखिनुभयो। बाको अनुहार औँसीको रातभन्दा पनि अँध्यारो भएको थियो। मेरो मनले भने पुलिस आएर घर भत्काएको, बालाई लछारपछार गर्दै लगेको दुःस्वप्‍न देख्न थालिसकेको थियो। त्यो रात मेरो बालापनको समयको अत्यन्त लामो रात बन्यो। बाको पीडाले भित्रभित्रै भत्किएको थिएँ, पिरोलिएको थिएँ, रोएको थिएँ।

भोलिपल्ट पुलिस आएन। पर्सी पनि आएन। निकोर्सी पनि आएन। पुलिस आउँदै आएन। धन्न रकउडको जीवन सामान्य बन्दै गयो। जीवनयापनका दैनिक काम हुँदै गए। मैले बालाई हप्ताको एक दिन रासिन कार्डबाट पाएको रासिन बोक्न सघाइरहेँ। चामल, चिनी र मट्टितेल हामी रासिन कार्डबाट ल्याउँथ्यौँ। कोइला बोक्न पनि सघाउन खोजेँ, तर बाले दिनुभएन। महिनाको दुई पटक घिर्लिङमुनिको कोइला पसलबाट बाले कोइला ओसारिरहनुभयो। बाको दुःख मिसिएको कोइलाको रापले पकाएको खाना मैले खाएँ, सबैले खायौँ।

नयाँ घर, पानी थिएन, बिजुली थिएन। माथ्ला घरका घरबेटी मोहम्मद चाचाले दिएको बिजुली काटिएको थियो। साँझ पख टेबल ल्याम्पको सीसा पुछेर, मट्टितेल भर्ने र तीनओटा टेबलल्याम्प बाल्ने जिम्मा मेरो थियो। म आफ्नो जिम्मेवारी खुसीसाथ निभाउँथे। ल्याम्पको सलेदो बलेर आएको उज्यालो बिजुलीको बल्बबाट निस्केको सम्झिन्थे। घर विस्तार भएपछि पुरानो पट्टिको सानो भान्सा मेरो सुत्ने र अध्ययन कक्ष भएको थियो। भित्तामा बिम ठोकेर बनाइएको खाट र त्यस्तै गरी अर्को पट्टि अग्लो बनाइ बनाइएको टेबल। टेबल मास्तिर भित्तामा फलेक ठोकी बनाएका आलमारी। मेरा किताब राख्ने आलमारी। तिनै आलमारीमा राखेका किताब पढेर म यत्तिको लेख्न सक्ने भएको छु। बेलुका पढ्नका लागि टेबलमा मेरो उज्यालो साथी टेबल ल्याम्प हुन्थ्यो। बजारतिर बेलुका डुल्न जाँदा लामा लामा ट्युबलाइट बलेका देखिन्थे। आँखै टिप्ने गरि सेतो उज्यालो बल्ने ट्युबलाइट बाल्न न हाम्रामा बिजुली थियो न पैसा। तर मैले ट्युबलाइटको मोह त्याग्न सकिनँ। बाले चामल राख्न किनेको बिस्कुटको टिनभित्र सेतो अर्धपारदर्शी ट्रेसिङ पेपर भेट्टाएको थिएँ। त्यही ट्रेसिङ पेपर बटारेर टेबल ल्याम्पको व्यासभन्दा ठूलो व्यास भएको लामो सिलिन्डर बनाएँ। बेलुकी टेबल ल्याम्प बालेर त्यही सिलिन्डरले छोपेँ। आहा...!! मेरो सानो कोठाभरि सेतो उज्यालो छरियो। बजारको ट्युबलाइट जत्तिकै नभए पनि, मेरो तृष्णा मेटाउन यो उज्यालो सक्षम थियो। आफ्नो आविष्कारमा आफू मख्ख त थिएँ नै, बाले पनि हेरेर, ए राम्रो भएछ भनेपछि खुसीले फुलेर कुप्पा भएँ। कोठा पनि खुसी भयो, म पनि खुसी भएँ।

पानीको असाध्यै दुःख थियो। पानी थाप्‍न हामी दुई घर मास्तिर रहेको निरौला सरकहाँ जान्थ्यौँ। निरौला सरको एकतले घरको छतमा जस्ता पाताको पानी ट्याङ्की थियो जसमा दार्जिलिङ म्युन्सिपालिटीको पानी खस्थ्यो। ट्याङ्की भरिएरपछि ओभरफ्लो भएको पानी छिमेकीले लान्थे। म दस लिटरका दुइटा बाल्टी बोकेर पानी थाप्‍न जान्थेँ। साथी हुन्थ्यो मोहम्मद चाचाको छोरा समीर। पानी ओसार्ने हाम्रो दैनिकी थियो। एक दिन निरौला सरको साह्रै उग्ररूप देखियो। खै के भएको थियो कुन्नि ! "पर्दैन याँ पानी थाप्‍नु ! हट तिमेरू !" भन्दै जङ्गिए। आधा भरिएको पानी पनि पोखिदिए। रुनु न हाँस्नु हुँदै रित्तो बाल्टी बोकेर घर आएँ। पानीको अभाव त छँदै थियो, अब त्यसमाथि पानीको स्रोतको अर्को चिन्ता थपियो। मोहम्मद चाचाकहाँ पनि पानी थिएन। हाम्रो त घर पूरा भएकै थिएन, पानी जोड्ने कुरै आउँदैनथ्यो। बिजुली पानी जोड्न धुरी भएको घर चाहिन्थ्यो। घर पूरा भए पनि निवेदन दिएपछि अनन्तकाल पर्खिनुपर्ने। कहिले सरकारी पानी बिजुलीआउँथ्यो र ?

धन्न कसैले काकझोडाको खोल्सानजिक पानीको मुहान खोजी पत्ता लगाएको रहेछ। गुहु बग्ने खोल्सा नजिक भए पनि सङ्लो पानीको मुहान थियो, अलिकति भित्तोमा डोऱ्याएर सानो धारो पनि बनाएको रहेछ। यस धाराले थुप्रै घरको पानीको गर्जो टाऱ्यो। बा एल्मुनियमको गाग्रामा यही धाराबाट पानी ओसार्नुहुन्थ्यो, काँधमा हालेर। सक्ने भएपछि बाको काँधबाट त्यो गाग्री मैले आफ्नो काँधमा सारेँ। कति पटक गाग्री पछारेँ पनि, कुच्याएँ पनि। तर बोक्न छोडिनँ। रकउडमा बसुन्जेल मैले त्यस धाराबाट पानी ओसारेँ।  बालाई अलिकति पनि सघाएँ। ............


No comments:

Post a Comment