बा
घर आउने सिजन भएपछि सिकुवामा बसेर खेल्नुको मजा बेग्लै आउँथ्यो। आँखा खेलतिर
अलमलिए पनि कान सधैँ आगनका पल्ला छेउतिर हुन्थे जहाँबाट बाटो हाम्रो घरमा पस्थ्यो।
बाटोसँगै पस्थे केही थान खुसीहरू, भयमिश्रित उत्सुकता। धेरै दिनदेखिका सपना केही
साकार हुन्थे, केही बेकार। त्यो बाटो पसेका ठाउँबाट चऱ्याप चऱ्याप छालाको जुत्ता
बजेको आवाज आयो भने पक्का पक्की हुन्थ्यो बा आउनु भयो। ती चऱ्याप चऱ्यापका आवाज
सँगै कहिले आउँथे रसिला लिचीका दाना, कहिले मीठा आँप, कहिले दसैँका लुगा, कहिले
गुलाब जामुन।
चऱ्याप
चऱ्यापसँगै खुसी हाम्रो घरमा पस्थ्यो। आमाको अनुहार ओजिलो बन्थ्यो। बाको ब्याग
खुल्थ्यो। अनि हुन्थे बाआमाका व्यवहारका वार्तालाप। आफूलाई भने ती व्यवहारका
कुराले कुनै असर पार्दैनथे। आफू बाका झोलातिर खुसी खोजी हिँड्ने मान्छे। आमाले भाग
लगाएर दिएका लिचीका दाना खाँदा लाग्थ्यो लिचीभन्दा मीठो फल केही छैन। अनि फेरि
आँपका चाना खाँदा लाग्थ्यो आँपभन्दा मीठो फल केही छैन।
एउटा
कुनै विशेष वर्ष। आफ्नो उमेरले साल महिना नछुट्याएको वर्ष। दार्जीलिङमा बाले बिहे
गरेको खबर कुनै निर्दयी हावाको झोँकाले माघे लिएर आयो। साहिँला बढाबाले समातेको
त्यो समाचार मैले च्याप्प पक्रिएँ र आमालाई सुम्पिन खोजेँ। आमाले पक्रिन मान्नु
भएन तर खबरले आमालाई पीडाको महासागर दिएर अलप भैसकेको थियो। मलाई लागेथ्यो,
बिहेजस्तो कुरामा पनि आमा किन रमाउनु भएन ? मेरा लागि बिहे मीठो खाने र राम्रो
लगाउने नै हो। अनि त्यस पछिका दिन आमाका अनुहारबाट खुसी फुत्किएर कता हरायो कता ?
त्यही
वर्ष, केही हप्तापछि होला, आमा अलैँची केलाउँदै हुनुहुन्थ्यो। आधा सिकुवा अलैँचीले
भरिएको थियो। पानी परेर धुम्मिएको दिन थियो। अचानक बेलुका चऱ्यापचऱ्याप आवाज आयो।
आमा छेउमै बसेर अलैँची खेलाउँदै गरेको म झस्किएँ। चऱ्यापचऱ्यापसँग यस पटक खुसी
आएन। अलैँचीजस्तै कालो, दिनजस्तै कालो, अँगारझैँ कालो उदासी छिऱ्यो। आमाले बाका
अनुहारमा पुलुक्क हेर्नुभो र आफ्नै काममा तल्लिन हुनुभो। मैले बातिर हेरेँ, गाईगोठको
घाँसको टाँढ अगाडिको धारामा गएर चप्पल पखाल्नु भयो, हातगोडा धुनु भयो र झोला टिपेर
भित्र पस्नुभयो। मैले आमाको अनुहारतिर हेरेँ, आँखामा दुःखको महासागर भरिएको थियो।
यो दिन मैले कहिल्यै बिर्सन नसक्ने दिन। मान्छेभित्र के हुन्छ कुन्नि। मैले आमाको
अथाह पीडा अनुभूत गरेँ।
त्यही
दिन राति, म आमाबा सुत्ने खाटसँगै समकोणमा टाँसिएको खाटमा सुत्ने गरेको म राति
अचानक ब्यूँझिएँ। आमा ह्वाँ-ह्वाँ रोइरहनु भएको थियो। 'म अब बाँच्तिनँ, मेरो काम
अब के ?' भनिरहनुभयो। बाका मुखबाट पनि थुप्रै वाक्यहरू निस्किएका थिए। के थिए,
मैले बुझिनँ। यति बुझेँ आमाको रोदन र बाको बर्बराईबीच दुर्जेय सन्नाटा थियो, र
त्यही सन्नाटाले मलाई निदाउन दिएको थिएन। कोल्टे फेर्दाफेर्दै कति समयपछि म
निदाएँछु।
त्यही
वर्ष हाम्रो गोठको माली गाई मऱ्यो। छुच्चो थियो तर मनग्गे दूध दिने। मान्छेले
भनेको सुनेँ – साउनमा बिहे गऱ्यो भने गाई मर्छ। गोठमै गाई मर्नु साह्रै नराम्रो
हो। अनि मैले चाल पाएँ मेरा बाले साउनमा बिहे गर्नुभएको रहेछ। बाले गरेको बिहे
सँगै आमाको रोदन घरमा पसेको रहेछ। अलिकति दुर्भाग्य गोठमा पनि पसेछ र माली गाईलाई
लगेछ।
अनि
एक दिन बासँगै नयाँ आमा आउनु भएको दिन परेछ। त्यस दिन सायद म कतै खेल्न गएको थिएँ,
आगनको पल्लो छेउबाट चऱ्यापचऱ्याप सुन्न पाइएन। चऱ्यापचऱ्यापसँगै बाले नयाँ आमा भित्र्याएर
मास्तिर सुत्ने कोठामा बसाइसक्नुभएको रहेछ। भान्सामा पस्न खोज्दा बालाई देखेर म तर्सिएँ।
खुसी पनि लाग्यो, डर पनि लाग्यो। बाले हँसिलो मुख लगाएर भन्नुभयो, "जा,
मास्तिर जा।" दौडेर काठको लिस्नु बजाउँदै कोठामा गएँ। भित्र पसेर उभिइरहेँ।
नयाँ आमा सुत्नुभएको रहेछ। चकलेट पाउने आस छँदै थियो। थुप्रै बेर झ्यालमा उभिएर
बाहिर रमिता हेर्ने बहाना गरेपछि मात्र नयाँ आमा उठ्नुभो। हेर्दा आमाजस्तो पटक्कै
लागेन। दिदी र भाउजूजस्तै देखिने आमाले मुसुक्क हाँस्दै दुइटा चकलेट दिनुभयो। नयाँ
आमाले रातो सुरुवाल लगाउनुभएको थियो। बडो अचम्मको। खुट्टासम्म पुग्ने, कुर्कुच्चा
मुन्तिरबाट बाध्नेसमेत भएको। पछि चाल पाएँ, त्यस्तो सुरुवाललाई ब्रिचिस
भन्दारहेछन्। म चकलेट पक्रेर तल्तिर कुदेँ।
No comments:
Post a Comment